तत्कालीन माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अति निकट मानिने नेता लेखराज भट्ट अहिले केपी शर्मा ओलीसँग छन्। ओलीका पक्षमा प्रखर रुपले मुखर भइरहेका छन्, भट्ट। तर भट्टसमेत सहभागी कार्यक्रममै ओली पूर्वमाओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’को उछितो काढ्छन्। भट्टले किन छाडे आफ्नै सहयोद्धाहरुलाई? अनि प्रधानमन्त्री ओलीका यस्ता अभिव्यक्ति सुन्दा उनलाई कस्तो लाग्छ? हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत रहेका भट्टसँग नेपाल लाइभका डिबी खड्का र वीरेन्द्र ओलीले गरेको कुराकानीको ।
सहकर्मी, सहयोद्धाहरु त बन्छन्, छुट्टिन्छन्। तर तपाईं त एउटा मान्यता, एउटा विचार र एउटा आन्दोलनसँगै टाढिनुभयो भन्छन् नि!
मलाई त्यस्तो लाग्दैन। हिजोको लक्ष्य, हिजोको उद्देश्य, हिजोको विचार त हिजै छोडिसकियो। ती छाडेर प्रचण्डले जहाँ ल्याइपुर्याउनुभयो, त्यहाँ आइपुगेपछि मेरा केही प्रश्न मात्रै छन् प्रचण्डसँग। ती प्रश्न हुन्, हिजो केपी ओली र एमालेसँग के सोचेर, के प्राप्त होला भनेर एकता गर्नुभयो? विचारको सन्दर्भमा त्यो एकता के थियो? राजनीतिको सन्दर्भमा के थियो? सांगठिनक पक्षमा केके पाउनुभयो? कहिले के गुमाउनुभयो?
अहिले सडकमा चर्कै कुरा गरिरहनुभएको छ। टाउको चिलाएको छ भन्नुहुन्छ, ननभेज आन्दोलन गर्न मन लागेको छ भन्नुहुन्छ। आक्रोशित मुद्रामा देखिनुहुन्छ। विचार, दृष्टिकोणबाट लक्ष्य र उद्देश्य हिजै छाडिसकेपछि यी सबको सान्दर्भिकता कहाँ रह्यो? सहिद परिवारलाई कहिले सम्झनुभयो? घाइतेलाई कहिले सम्झनुभयो? बेपत्ताका परिवारलाई कहिले सम्झनुभयो? ती इमान्दार कार्यकर्ताहरु जो झोला बोकेर पछि लागे, ती मान्छेहरु जसलाई केही नेताले ‘भाते र झोले’ भन्थे, आफूलाई हरेक मोर्चामा उभ्याउने ती संगठन बनाउने मान्छे कहाँ छन्? यी त भइहाले। एकता गरिहालियो, एकता गरेपछि त्यसैको पक्षमा डट्ने हो। उहाँले अहिले किन एकता चुँडाउनुभयो? यो प्रश्नको चित्तबुझ्दो उत्तर मैले पाइसकेको छैन। म लगायत बादलजी, प्रभु साह, टोपबहादुरजी र मणि थापाले उत्तर खोजिरहेका छौं। हामी अहिले पनि एकताकै पक्षमा उभिएका हौं। एकीकृत पार्टीकै पक्षमा छौं।
तपाईं पुष्पकमल दाहाललाई ‘के पाउन एकता गर्नुभएको थियो, के नपाएपछि छुट्टिनुभयो?’ भनेर प्रश्न गर्दै हुनुहुन्छ। तपाईंले चाहिँ प्रधानमन्त्री केपी शर्मा ओलीबाट केही पाउनुभो? अथवा केही पाउने आशाले उहाँलाई साथ दिइरहनुभएको छ?
सुदूरपश्चिमको लिम्पियाधुरा, कालापानी र लिपुलेकका विषयमा हामीले आवाज उठाउँदै आएका थियौं। त्यो आवाजलाई केपी शर्मा ओलीले सुनिदिनुभयो। उहाँले सम्बोधन गर्नुभयो। कूटनीतिक नोट पठाउनुभयो।
यो हाम्रो हो, तिमीहरुले ५८ वर्षदेखि कब्जा गरेका छौं, फिर्ता गर्नुपर्छ भन्नुभयो। त्यसपछि मैले उहाँभित्र राष्ट्रवाद देखें। राष्ट्रियता त्यहाँ देखें। एउटा आँट देखें। एउटा साहस देखें। एउटा शक्तिसम्पन्न राष्ट्रसँग हिजो कोही बोल्न सकेको थिएन, आज उहाँ बोल्नुभयो। उहाँले नक्सा देखाउनुभयो। संसद्मा राष्ट्रिय एकता देखाउनुभयो।
प्रचण्ड दुईपल्ट प्रधानमन्त्री हुनुभयो, तर यस विषयमा एक शब्द पनि उच्चारण गर्नु भएन। जब सत्ता छाड्नुभयो, हामीलाई लिएर टनकपुर, ब्रह्मदेवमा उभ्याउनुभयो। छांरु, तिंकरमा, बझाङको धुलीमा सुरक्षाकर्मी राख्नुपर्यो भनेर मैले उहाँलाई प्रधानमन्त्री भएको बेला धनगढीको साथी होटेलमा भनेको थिएँ।
अहिले ओलीले त्यो ठाउँमा सुरक्षाकर्मी खटाउनुभयो। राज्यको उपस्थिति भयो नि त्यहाँ। आज सीमा क्षेत्रमा कति बिओपी पोस्ट छन्? भजाइखानु र नाराको रुपमा प्रस्तुत गर्नु राष्ट्रियता होइन, वास्तवमै जसले काम गर्छ, उसको पक्षमा जो पनि उभिन्छ। अहिले ओलीको पक्षमा नेपाली जनता उभिएको जस्तो लाग्छ।
सुदूरपश्चिममा अस्ति जुन सागर थियो, त्यो त यही राष्ट्रियताका कारण देखियो। त्यति अरुले ल्याउन सकून्, अनि भनौंला। त्यो प्रधानमन्त्रीका पक्षमा उर्लिएको हो, मेरो पक्षमा उर्लिएको हो। त्यसकारण अहिले म उहाँसँग छु। यदि उहाँका कदम भोलि गलत सावित हुन्छन् भने म उहाँसँग हुन्न।
-नेपाललाइभबाट

