महाधिवेशनको सरगर्मी बढेसँगै कांग्रेसमा विवाद थप झांगिएको छ। सभापति शेरबहादुर देउवाले निर्णय गर्दै जाने अर्को पक्षले विरोध जनाउँदै जाने क्रम निरन्तर छ। विभाग गठनको निर्णयप्रति आपत्ति जनाएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले क्रियाशील सदस्यता वितरणप्रति समेत असन्तुष्टि व्यक्त गरेको छ।
देउवाका निर्णयले सभापतिमा पुनः उनै दोहोरिने चिन्ता पौडेल पक्षमा छ। पौडेल पक्षमा भने सभापतिका लागि आकांक्षी आधा दर्जन छन्। सहमतिमा एकल उम्मेदवार दिने उक्त पक्षको भनाइ छ। आसन्न महाधिवेशनमा सभापतिका आकांक्षी रहेका नेता प्रकाशमान सिंहसँग नेपाल लाइभका लिलु डुम्रे र पुष्पा केसीले गरेको संवाद।
विभाग गठनको विषय विवादको खास मुद्दा बनेको छ। कार्यतालिका र विभाग गठनका नाम प्रकाशित भएको थियो। विभाग गठनविरुद्ध उतिबेलै उजुरी नदिएर किन अहिले?
अघिल्लो विधानअनुसार पार्टी सभापति शेरबहादुर देउवा सभापति बन्नुभयो। त्यही विधानमा सभापतिको काम,कर्तव्य र अधिकार दिएको छ। महाधिवेशन सकेको २ महिनाभित्र विभाग र पार्टी निकाय सबै गठन गरिसक्नुपर्ने व्यवस्था थियो। दुई महिनाभित्र गर्नुपर्ने काम अहिले आएर गठन गरिएको छ।
व्यक्तिगत रुचिले विरोध गरिएको होइन। लोकतान्त्रिक पार्टीको तिथिमिति तोकिइसकेपछि आचार संहिता त लागू भइसक्यो नि। अर्को बुझ्नुपर्ने कुरा, १३औं महाधिवेशनबाट निर्वाचित भएका सबैको कार्यकाल ४ वर्ष हो। ४ वर्ष सकिसक्यो। संकट परेको बेलामा महाधिवेशन हुन सकेन भने एक वर्ष थप्ने व्यवस्था विधानमा छ। ४ वर्षमा गर्नुपर्ने काम केही नगर्ने? महाधिवेशन गर्न चार वर्षको समयमा केही पनि भएन। ‘क्राइसिस’ त त्यसै पनि भयो नि। एक वर्ष थपेको समय फागुन पनि नजिक आइसक्यो।
लोकतान्त्रिक पार्टीको नेतृत्व गरेको मूल व्यक्ति नै सबैभन्दा बढी अनुशासनमा बस्नुपर्छ। विधिअनुसारको क्षमता आफैंले दिनसक्नुपर्छ। पार्टी सभापतिले विधानलाई एकातिर लत्याएर आफू मनोमानी गर्न खोज्नु लोकतान्त्रिक आचरण पनि भएन।
व्याख्या कस्तो गरिंदैछ भने भागबण्डा नमिलेर विवाद गरिएको हो। भागबण्डाको सवालै छैन। शेरबहादुर जी त अब कामचलाउ सभापति हो। निर्वाचन घोषणा भइसकेपछि सरकारले ‘मेजर डिसिजन’ गर्न पाउँदैन। संसारभरिकै अभ्यास हो। त्यो अभ्यास पार्टी भित्र पनि लागू हुनुपर्यो नि।
महाधिवेशनमा नेताहरू केन्द्रित भएका छन्। देउवा पक्षबाट उहाँ नै सभापतिको उम्मेदवार हुने देखिन्छ। तपाईंंहरुको पक्षबाट सभापतिको प्रत्यासी को हो?
शेरबहादुर देउवाको नेतृत्ववाट पार्टी राम्रोसँग चल्न सकेन भन्नेहरू एक स्थानमा छौं। देउवाको नेतृत्वले भएन भन्ने जो जो छौं सबै हामी एक ठाउँमा छौं। हामी यही भित्र नेतृत्व खोजिरहेका छौं। शेरबहादुर देउवाको विकल्प समयमा प्रभावकारी टिम बनाउने छौं।
तपाईंंको नाम सभापतिको आकांक्षीका रुपमा आउँछ। सभापतिको दाबी गर्नुभएको हो?
मेरो आकांक्षा नभएको होइन। मैले दाबी गर्नु त प्राकृतिक नै भइसक्यो। सत्याग्रहदेखि २०४६ सालमा सक्रिय भएँ। कांग्रेसको काठमाडौं जिल्ला सभापति पनि भएको व्यक्ति हुँ। मैले पार्टी एकतामा पनि धेरै भूमिका खेलेको थिएँ। उपसभापति भइसकेकोले म पनि नेतृत्वका लागि योग्य छु।
तलदेखि खारिएर आएको निर्वाचनमा चुनिएको महामन्त्रीसमेत भएकाले अब स्वतः सभापतिको दाबेदार हुँ। संसदीय दलको नेताका लागि पनि प्रतिस्पर्धा भइसकें। तर, सहमति र सक्षम नेतृत्वका लागि म सधैं सहयोग गर्न तयार छु।
अर्को पक्षविरुद्ध बोल्न तपाईंंहरु एक हुनुहुन्छ। तर, एकल व्यक्तिलाई नेतृत्व सिफारिस गर्न किन सक्नु भएन?
सबैको आकांक्षा हुन्छ। अहिलेको अवस्थावाट आगामी दिनमा झन राम्रोमा पुर्याउन योगदान दिन सक्ने मान्छेको खोजी त हुन्छ नि। सहमतिमा सबै मिलेर एउटा टिम बनाउने पक्षमा म छु। तर अब शेरबहादुर देउवाबाट पार्टी नेतृत्व चल्दैन भन्ने हाम्रो मुख्य अहिलेको कुरा हो। नेपाली कांग्रेसले अबको आर्थिक विकास र स्थायित्वको लागि नेतृत्व लिने छ भन्ने सन्देश जनतालाई दिने कुरा १४औं महाधिवेशन हो।
अन्त्यमा, सरकारका कामप्रति तपाईंंको धारणा के छ?
करिब दुई तिहाई प्राप्त सरकारले गरेको काम देखेर जनता नै वाक्क भइसकेका छन्। कोभिडको यत्रो महामारीमा भ्रष्टाचारमा व्यस्त हुनुभएको छ। औषधि खरिदमा भ्रष्टाचार गरेको छ। यो सरकारले समग्रमा काण्डबाहेक केही पनि गरेको छैन।
-साभार नेपाललाइभबाट

