सरिता हुमागाईं – भनाइ नै छ बालवालिका भनेका काँचो माटो हुन् । जसरी कुमालेले काँचों माटोलाई जस्तो पनि आकृति दिन सक्छ त्यसैगरी बालवालिकालाई पनि एउटा स्वस्थ्य,सक्षम,योग्य नागरिक तयार गर्न सकिन्छ ।
बालबालिकाको पहिलो पाठशाला भनेको अभिभावकों काख र घर आँगन नै हो । त्यसैले बालबालिकाको आनीवानीको अध्ययन गरेर उनीहरूको मनोभावना,इच्छा,आवश्यकता वुझेर व्यवहार गर्न सक्यौ भने भोलिका कर्णधार वालवालिकाको मानसिक,शारीरिक,वौद्धिक विकासमा पूर्णता प्राप्त गर्न सकिन्छ र परिणाम स्वरूप स्वस्थ, सक्षम नागरिक तयार गर्न सकिन्छ ।
बालबालिकाको अधिकारका बारेमा जेनेभामा घोषणा पत्र १९२४, संयुक्त राष्ट्र संघ १९५९ पारित गरेको बालबालिकाका अधिकारकारको घोषणा पत्र, विश्व व्यापि मानवअधिकार घोषणा पत्रमा मान्यता दिइएको एवं नागरिक र राजनीतिक अधिकार सम्बन्धी अन्तराष्ट्रिय अनुबन्ध (विशेष धारा २३ र २४) मा उल्लेख भएको एवं आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अनुवन्ध (विशेष धारा १०) मा उल्लेख भएको र बालबालिकाको कल्याणमा समर्पित विशिष्टीकृत संगठन तथा अन्तर्राष्ट्रिय ऐनहरू तथा सम्वद्ध आलेखहरूमा समेत उल्लेख भएका तथ्यलाई ह्रदयंगम गर्दै सन् १९५९ नोभेम्बर २० मा संयुक्त राष्ट्र संघको महासभाद्वारा पारित बालबालिकाको अधिकार सम्बन्धी घोषणा पत्रमाू शारीरिक तथा मानसिक अपरिपक्वताका कारणले बालबालिकालाई गर्भावस्थामा र जन्मे पछि पनि विशेष हेरचाह र स्याहारका साथै उचित कानुनी संरक्षणको आवश्यकता पर्छ भन्ने उल्लेख भएको कुरालाई ह्रदयंगम गर्दै राज्य पक्षहरूले भाग ३ धारा ५४ मा हस्ताक्षर गरेका छन्।
यस्तै संविधानको भाग ३ को मौलिक हकको धारा २९ मा बालबालिकाको हकको व्यवस्था गरिएको छ। यी माथिका महासन्धि र संविधानका कुरालाई आत्मसात गर्दै सरकारी, गैरसरकारी संस्थाहरुले बालबालिकाका हकका विषयमा कुरा उठाउनुका साथै दिवा खाजा, निःशुल्क खोप, औषधि, छात्रवृत्ति वितरण, अभिभावकको लागि सीपमूलक कार्यक्रम गर्दै आएका छन्।

लेखिका हुमागाई श्री नन्दी रात्री माबि, नक्सालकि शिक्षिका हुन्।
दीगो विकासका १७ वटा लक्ष्य उद्देश्यहरुमा बालबालिकाका हितका कुरा उठेको आभास हुन्छ । दीगो विकासकै चौंथो लक्ष्यको उद्देश्य १.मा सन् २०३० सम्ममा सान्दर्भिक र प्रभावकारी सिकाइका उपलब्धिहरू हासिल हुने गरि सबै वालबालिकाले निःशुल्क, समतामूलक र गुणस्तरीय प्राथमिक र माध्यमिक शिक्षा पुरा गरेको सुनिश्चत गर्नेू ।
उद्देश्य २. मा सन् २०३० सम्ममा प्राथमिक शिक्षा हासिल गर्न तत्पर होउन् भन्नाका लागि गुणस्तरीय बालविकास, स्याहार र पूर्व प्राथमिक शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चत गर्ने उद्देश्य अनुरुप सरकारी तथा गैरसरकारी संघ संस्था बालबालिकाका हक हितका लागि परेका छन्।
२०७२ को भूकम्प बिर्सिन नपाउँदै कोरोना भाईरस (कोभिड १९) को महामारीले ल्याइएको समस्याले बालबालिकामा पर्ने असरको सामना गर्न सरकारी, गैरसरकारी संघ संस्था लगायत शिक्षालयमा चुनौती थपिएको छ। प्राकृतिक विनाशले हाम्रो माझ एक पछि अर्को असहज परिस्थिति आइरहेको छ।
विनाशकारी भूकम्प पछि कोरना भाइरस (कोभिड १९) को महामारीले मानब समुदाय आक्रान्त छ । जसको मार लकडाउनसंगै हामीले पनि खेपिरहेका छौँ। फलस्वरुप विद्यालय समयमा पनि बालबालिका विद्यालयको ढोका भन्दा बाहिर आ-आफ्नो अभिभावकसंग बसिरहेका छन्।
उमेरगत हिसाबले हेर्ने हो भने यो उमेरमा घुम्न, खेल्न, समाजका साथीहरूसंग रमाउन, विद्यालय जान बानी पारेका बालबालिकाहरुमा घर आँगनको चौघेरामा बस्दा पक्कै नरमाइलो, खल्लो महशुस भैरहेकै छ र यो स्वभावाविकै हो।
त्यसैले यस्तो अवस्थामा अभिभावकहरुले आफ्नो काम, तनाव, पिर, चिन्ता, दुःख पिडालाई थाती राखेर बालबालिकाहरुसंग साथी जस्तै उमेर अनुसारका खेलहरूमा सहभागी हुने,ससाना लुगा धुने, खाना बनाउने, सरसफाइ गर्ने, करेसा बारीका काममा सहभागी गराउने, घरायसी कामका विषयमा,सामाजिक वातावरणका विषयमा छलफल गर्ने, बालबालिकाका कुरा सुन्ने, सहमति जनाउने वालबालिकाका रुचिका काममा प्रोत्साहन गर्ने जस्ता काम गरेर डर र धम्कीले होइन माया ममताले व्यवहार गर्न आवश्यक छ।
हरेक विपत्ति अवसरको रुपमा पनि आउने कुरालाई दृष्टिगत गर्दै बालबालिकाले २०७२ भूकम्पमा समाजमा मिलेर बस्ने, अप्ठ्यारोमा परेकलाई सहयोग गर्ने, प्राकृतिक विपत्तिले धनि गरिव, जाति, भाषा, धर्म भन्दैन सबै एकै हौं भन्ने भावना जागृत गर्दै कोरना भाइरस (कोभिड १९) ले सरसफाइ गर्न सिकाएको छ । नयाँ बस्तु, व्यक्ति छोए पछि हात साबुन पानीले नधोइकन हात, मुख, नाक र आंखामा लान नहुने जस्ले गर्दा कोरना भाइरसबाट मात्र नभई अन्य रोगबाट पनि बच्न सकिन्छ भन्दै ‘स्वास्थ्य नै धन हो’ भन्ने कुरामा जोड दिनुपर्छ।
किताबीज्ञानले मात्र व्यक्तिमा गुणस्तरीय शिक्षा प्राप्त भएको मानिँदैन। विशिष्टश्रेणीको सर्टिफिकेटले मात्र पनि समाजमा अघि बढ्न कठिन हुन्छ। त्यसैले पढे, जाने, सुने, देखे भोगेका कुरालाई व्यवहारमा ल्याउन सक्नु नै गुणस्तरीय शिक्षा हो ।
आज जे छ भोल त्यो नहुन सक्छ त्यसैले यी बालबालिका भनेका काँचो हुन् के नै बुझ्न सक्छन् भन्ने मानसिकतालाई पन्छाएर अभिभावकले, समाजका सचेतक व्यक्तीले, शिक्षकले विपत्ति पछिका अनगिन्ती वाटाहरूका बारेमा सचेत गराउन आवश्यक छ। हैन भने भोलिका दिनमा विद्यालय जानुपर्ने वालबालिका, विद्यालय नजाने साथीहरूसंग घुलमिल नहुने सामान्य अवस्थामा पनि अत्तिने रोईकराई गर्ने हुन सक्छन्।
भूकम्पले समाजिक मेलमिलाप सिकाएको ४ बर्ष पनि वित्न नपाउँदै कोरना कहरले समाजमा होइन आ-आफ्नो घर परिवारसंगै बस्ने,समाजका व्यक्तिसंग भौतिक दुरी टाढा राख्न सिकाइरहेको छ। यसरी समाजमा देखिएको प्राकृतिक प्रकोप र महामारीले बांच्न र बचाउन दिएको शिक्षालाई सन्तुलित रूपमा लानु अबका दिनमा शिक्षक, अभिभावक र सिंगो समाजलाई चुनौती थपिएको छ।
हिजोका दिनमा सामाजिक संस्कारमा, बिद्यालयको प्रांगणमा रमाउने बालबालिकालाई इष्टमित्र, साथीहरूसँग हिड्दा, खेल्दा, बस्दा पटक पटक हात धुन सिकाउनु पर्ने भौतिक दुरी टाढा राख्न सचेत गराउनु पर्ने कुराले नकरात्मक असर त पर्दैन भन्ने चुनौती थपिएको छ।
तत्काल लकडाउन खोले पनि लामो समय बिद्यालय खुल्न असहज परिस्थिति हुने भन्ने सरकारी निकायबाट सुन्दै आएका छौं। त्यसैले यो खाली समयमा सरकारी तथा गैरसरकारी संघ संस्था जो संविधान, महासन्धि, संयुक्त राष्ट्र संघका लक्ष्यहरुलाई आत्मसात गर्दै विविध कार्यक्रम लिएर अघि वढिरहेका छन्।
त्यस्ता संस्थाहरूले अनलाइन, इन्टरनेट, भौतिक दुरी कायम गरी शिक्षक अभिभावकहरुसंग सल्लाह, सुझाव लिने, बालबालिकाका अवस्था बुझ्ने र भोलिको दिनलाई सहज वातावरणमा ल्याउन अभिमुखिकरण तालिम दिन आवश्यक छ हाम्रो जस्तो कृषिप्रधान देशमा किताब कापी बोक्नेले कुट्टो, कोदालो, डोको नाम्लो बोक्नै हुन्न भन्ने जुन धारणा विकसित भएको छ त्यो धारणा हटाउन आवश्यक छ जसका लागि प्रदेश सुहाउँदो केन्द्रीय पाठ्यक्रमका आधारमा पाठ्यपुस्तक, पाठ्यवस्तु तयार गर्न आवश्यक छ ।
हाम्रो जस्तो उवडखावड जमिन हिमाल, पहाड र तराईको भूगोलको आधारमा पाठ्यपुस्तक र पाठ्यवस्तु निर्माण गर्न आवश्यक छ। जहाँ विजुलीवत्ति आदिलाई सहजताका साथ पुर्याउन सकिन्छ त्यस्ता ठाउँमा प्रविधि मैत्री शिक्षालाई जोड दिन आवश्यक देखिन्छ भने जहाँ यस्ता प्रविधि तत्काल पुर्याउन असम्भव प्रायः छ त्यहाँको आवश्यकता हेरी पाठ्यपुस्तक र पाठ्यवस्तु तयार पार्नु पर्छ।
सरकारी, गैरसरकारी निकायहरूले अभिभावकहरू, युवा समुदायलाई रोजगारमूलक तालिम, सिप दिन सकेमा मात्र आजका बालबालिका अँध्यारोमा रुमलिंदै। छटपटीदै। तड्पिंदै कहाँ जाने, के गर्नेको अवस्थामा रुमलिनु पर्ने छैन।

