मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

कोरोना महामारीसंग लड्न प्रधानमन्त्री ओलीले पदको मोह नराखी राजीनामा दिएर सत्ता हस्तान्तरण गर्नु पर्छ !

विश्व इतिहास र हाम्रो पुस्ताकै ठूलोमध्ये एक यो युद्धमा देशले सेनापतिबिनै लड्न पर्दा एउटा राष्ट्रवादी नागरिकलाई पक्कै बिझ्ने बिषय हो !


  • स्वदेश नेपाल
  • बिहि, चैत्र १३, २०७६

नारायण गाउँले – सच्चा राष्ट्रियता भनेको यतिबेला प्रधानमन्त्री ओलीले पदको मोह नराखी राजीनामा दिनु र अर्को व्यक्तिलाई सत्ता हस्तान्तरण गर्नु हो ।

व्यक्तिगत स्वास्थ्यभन्दा राष्ट्रको स्वास्थ्य माथि राख्न सक्नु नै राष्ट्रियता हो । नेकपाभित्र अनुभव या नेतृत्वको सङ्कट पनि छैन । तीन-तीन जना पूर्व प्रधानमन्त्री नै सक्रिय राजनीतिमा हुनुहुन्छ । विज्ञ, शिक्षित र दीक्षित जस्तो जनशक्ति चाहिए पनि पार्टीभित्रै उपलब्ध छ ।

यो लड़ाइँ अब एउटा भाइरससँगको मात्रै होइन । विज्ञप्ति निकालेर आज यति जना सङ्क्रमित भए भन्ने कुरा महत्त्वपूर्ण रहेन । यो त दुई चार हप्तामा सकिएला पनि । तर यो ग्लोबल क्राइसिसले अन्तजस्तै हामीकहाँ पनि अभूतपूर्व आर्थिक र सामाजिक सङ्कट निम्त्याउने पक्का छ । यसका लागि एकीकृत रूपमा तत्कालीन र दीर्घकालीन रणनीतिको आवश्यकता हुन्छ । देश केही हप्ता ठप्प हुने लक्षण देखियो ।

दैनिक ज्यालादारीमा जीवन धान्नेलाई के गर्ने ? बाटोमा पोलेको मकै र चटपटे बेचेर गुजारा गर्नेलाई कसरी सम्बोधन गर्ने ? दैनिक गिटी कुटेर छोराछोरीको मुखमा माड़ लगाउने आमालाई के गर्ने ? खलासीलाई के गर्ने ? कपाल काटेर जीविका चलाउनेलाई के गर्ने ? सानो बिजनेश चलाएर छोराछोरी पढाउनेलाई के गर्ने ? सबै राष्ट्रिय महत्त्वका योजना थला पर्ने देखियो, तिनलाई कसरी जीवन दिने ? थला परेको अर्थतन्त्रलाई कसरी ट्ऱ्याकमा ल्याउने ? बढ्दो मुद्रास्फीति रोक्न के गर्ने ? यो सङ्कटको अन्त्यमा विश्वभर उत्पादनभन्दा माग बढ़ी हुँदा हुने मूल्यवृद्धिले निम्त्याउन सक्ने भयङ्कर व्यापारघाटा रोक्न के गर्ने ? वैदेशिक मुद्राको मुख्य आय रेमिट्यान्स नसोचेको गतिमा घट्ने निश्चित छ, त्यो ग्याप भर्न के गर्ने ? यो सङ्कट भारतमा गहिरो हुँदै गयो भने यहाँ खाद्य सामग्रीको चरम अभाव हुन सक्छ, त्यतातिर कसले कदम उठाउने ?

निमोनिया त परको कुरो भयो, सामान्य जरो र खोकी आयो भने पनि मान्छे उपचार नपाएर मर्ने देखियो । न देशका अस्पतालमा ओपीडी खुला छन् न तिनले कोभिड़का शङ्कास्पद बिरामीलाई भर्ना लिन्छन् । यो त सरकारीदेखि निजी स्वास्थ्य संस्थाको चरम अराजकता भयो । छतमा हेलिप्याड बनाउन सक्ने र अरू बेला एम्बुलेन्सलाई विरामी आफ्नोमा ल्याइदिनकै लागि आकर्षक रकम घूस खुवाउन सक्ने हस्पिटलहरूले यो राष्ट्रिय सङ्कटमा दुई चार हजार पीपीईको व्यवस्था गर्न नसक्ने भन्ने हुँदै हुँदैन । किड्नीको सिकिस्त बिरामीलाई समेत रूघा लागेको भरमा सामान्य मेडिकल सुविधा समेत नभएको चितवनको कोरोना हस्पिटल रिफर गरिएको र त्यहाँ तिनको मृत्यु भएको घटना हाम्रो समग्र सिस्टमप्रति ठूलो झापड़ हो ।

अहिले नै हामीले भारत र चीनसँग मास्क र पीपीईलगायतका सामान ‘अनुदान’ मागेका छौं । किन्छु भन्दा समेत सजिलै उपलब्ध नभएका सामान सुरुमैं अनुदानमा माग्नुले देशको इज्जत बढ्दैन । कम्तिमा हाम्रो क्षमताले भ्याउनेसम्म त किन्नु या उत्पादन गर्नुपर्ने हो । त्यतातिर कसले सोच्ने ? एउटा महावीर पुन भन्ने हिम्मतिलो नागरिक एक्लै पीपीई उत्पादन गर्न कस्सिएको छ, सरकारले चाह्यो भने धेरै थोक नमागी कनै पनि चलाउन सकिँदो हो । त्यसमा पनि विगत एक महिना सक्रिय प्रधानमन्त्री भएको भए यतिबेला यी सबै पूर्वाधार जोड़िसकिएको हुँदो हो ।

अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र नागरिकलाई दुई महिना बिजुलीमा निःशुल्क दिन सकिन्छ कि ? दुई महिनाको स्वास्थ्य वीमा-प्रिमियम सरकारले बेहोर्न सक्छ कि ? बिनाधितो एकदेखि बीस लाखसम्मको ऋण दिन सकिन्छ कि ? नेशनल फुडब्याङ्क र हरेक वडामा शाखा खोलेर निःशुल्क या सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउन सकिन्छ कि ? नयाँ उद्योगलाई केही वर्ष ऊर्जा र कर छुट दिएर औद्योगिक वातावरण सिर्जना गर्न सकिन्छ कि ? घोषणा त धेरैले धेरै पटक गरेकै छन् तर काम नै गर्न सकिने गरी यी सबैका लागि स्रोत र साधन जुटाउन सकिन्छ कि ?

आयात निर्यात ठप्प छ, राजश्व कम हुने नै भयो । सबै देश आफै सङ्कटमा छन्, अनुदान माग्ने कुरो पनि भएन । यस्तो बेला गरिने हरेक घोषणाका पछाडि ठोस आर्थिक स्रोतको पहिचान पनि आवश्यक छ ।

यस्तो बेला आर्थिक नीति तय गर्न राष्ट्रब्याङ्कको नेतृत्वदायी भूमिका हुन्छ तर त्यो आफै गभर्नरविहीन छ । चीनसँग अनुभव र सहयोग माग्न सकिन्छ तर यस्तो बेलामा समेत त्यहाँ हाम्रो राजदूत छैनन् । स्थानीय सरकारदेखि प्रदेश सरकारसम्म छुट्टाछुट्टै कोष खड़ा गर्न लागेका छन् तर न तिनसँग प्रयोगशाला छ, न केन्द्रसँग समन्वय छ । उता प्रमुख प्रतिपक्षी दलका नेता त म्याद गुज्रेको पार्टीभित्र कसरी सङ्गठन कब्जा गर्ने भन्ने घटिया रणनीतिमा व्यस्त छन् । अलि बढ़ी मौका मिले एकदुई वटा राजनैतिक भागबण्डामा तिनको नजर छ । सबै भताभुङ्ग जस्तो अवस्था छ । यो त सानो र रफ लिस्टमात्रै भयो । सूक्ष्म तहमा हरेक घण्टा सक्रिय र सचेत भएर गर्न पर्ने हजारौं काम हुन्छन् । र यी सबै काम एउटा ऊर्जाशील प्रधानमन्त्रीकै भिजन, सक्रियता र नेतृत्वमा सम्पन्न हुने हो । मन्त्रिमण्डल भनेको प्रधानमन्त्रीको उपकरण मात्रै हो ।

विश्व इतिहास र हाम्रो पुस्ताकै ठूलोमध्ये एक यो युद्धमा देशले सेनापतिबिनै लड्न पर्नु एउटा राष्ट्रवादी नागरिकलाई पक्कै बिझाउनुपर्ने विषय हो । विज्ञान र चिकित्सा शास्त्रले पनि ओलीजीलाई ६ महिना सक्रिय जीवनमा फर्किन सक्ने देख्दैन । आफ्नो दाँत आफै माझ्न सक्ने या आफ्नो दाह्री आफै काट्न सक्नेसम्मको सक्रियताले यो लड़ाइँ जित्न सकिन्न । आम जनतामा पुनः सरकार र राज्यप्रति विश्वास जगाउन प्रधानमन्त्रीमा यसअघि नदेखिएको ऊर्जा र सक्रियता चाहिन्छ । सिङ्गो देशलाई एक बनाएर अगाडि लैजाने नेतृत्व चाहिन्छ । लागोस्, देशमा सबैभन्दा जिउँदो मान्छे प्रधानमन्त्री नै छ र उसलाई देखेरे हामीभित्र मर्नै लागेको जीवन पनि मुस्कुराउँछ ।

शायद यति धेरै ऊर्जा भएको व्यक्ति नेपालको भाग्यमा अहिल्यै नहोला, तर अहिले त ‘भ्याकुम’ नै भयो । कम्तिमा भ्याकुम चिर्नसक्ने व्यक्ति नेकपाभित्र पक्कै छन् ! यो सङ्कटको समाधान या ओलीजीको स्वास्थ्यमा पूर्ण सुधार जुन पहिले हुन्छ, त्यही मितिमा उहाँलाई फेरि प्रधानमन्त्री पद फिर्ता दिने गरी अहिले उहाँको राजीनामा नै एउटा सच्चा राष्ट्रभक्तिको नमुना हुनुपर्ने हो । ओलीजीको शक्ति र आदर्श पनि त राष्ट्रवाद नै हो !

प्रतिक्रिया
ताजा अपडेट