आइत, चैत्र १६, २०७६
Sun, March 29, 2020

अरबौंको कमिसनको डिलमा हेर्दा गोकुल देखिए पनि यसको पछाडि बालुवाटार नै पो रहेछ !

४ अर्ब कमिसन ताकेको ओली सरकारलाई ७० करोड सामान्य लागेर पो ७० करोडको डिल अघि नबढेको रहेछ !


  • स्वदेश नेपाल
  • शनि, फाल्गुन १०, २०७६

नारायण गाउँले – सत्तरी करोड़ साह्रै थोरै भएकाले यो डिल अघि नबढेको देखिन्छ । यो गोकुलजी र ओलीजीलाई मात्रै भाग लगाउने कुरो पक्कै थिएन । मन्त्रिपरिषदबाट पास गर्नुपर्ने र संसदको सार्वजनिक लेखा समितिको समेत चित्त बुझाउनुपर्ने हुनाले सत्तरी करोड़मा सरकारले चित्त बुझाएन । गोकुल त कन्भिन्स्ड़ नै देखिए पनि ओलीजी खुशी नभएको बुझियो । कम्तिमा ३-४ अर्ब ताकेको सरकारलाई ७० करोड़ मामुली लाग्यो । यो सरकार बन्नेबित्तिकैको कुरो रहेछ ।

अनेक प्रयास, वार्ता र कमिशनको निर्धारणपछि पनि हुनै लागेको डिल नभएपछि दलालहरूलाई ठूलो क्षति भयो । १५ करोड़ जति कमिशन आउने लोभमा डिल गर्न एकदुई करोड़ पक्कै पहिल्यै खर्च भएको हुनुपर्छ । देशविदेशको दौड़धूप, एक्सेस बनाउन स्वकीय सचिबदेखि आसेपासेलाई चियापानी र उपहारमैं त्यति रकम जाँदो हो । तिनले यो चौधपन्ध्र महिना निरन्तर ताकेता गरिरहे । कति चिया पिलाइरहे । तर अरब र करोड़ एउटै नभएकाले ठूलो दलालका अगाडि छोटे दलालको केही लागेन ।

जब ठेक्का अर्कै कम्पनीमा जाने निश्चित भयो, तिनले अडियोलाई हतियार बनाए । प्रधानमन्त्रीलाई सुनाए । केही मूलधारका मिडियासम्मले पनि यो सुनेको देखियो । भनिन्छ त्यसमा स्याटेलाइट खरिदसम्मका अझ ठूला कमिशनको डिलका कुरा पनि छन् । यो देश बचाउन पक्कै सुनाइएको थिएन । आफ्नो स्वार्थका निम्ति सुनाइएको थियो, धम्क्याउन देखाइएको थियो । तर ओली टसमस भएको देखिएन ।

झन उग्रपमा उनले आफू भ्रष्टाचारविरुद्ध भएको र गोकुल सबैभन्दा क्षमतावान् मन्त्री भएको भाषण गरे । ओलीले गोकुललाई त्यो अडियोबारे जानकारी गराए । गोकुलले मान्छेहरू करोड़को र अरबको कमिशन बोकेर आफूकहाँ आउने गरेको भाषण गरे । उनलाई लाग्यो, त्यो अडियो एक त सार्वजनिक नहोला । कुनै अन्य क्षेत्रमा भाग दिने आश्वासनले काम गर्ला, केही गरी आइहाल्यो भने पनि दलालले दिएको कमिशनको लोभमात्रै हो भनेर टार्न सकिन्छ भनेर उनले बाल नदिएको जस्तो देखियो ।

कुनै उपायले काम नगरेपछि यो अडियो बाहिर आयो र मूलधार भनेर नपत्याइएका एक साहसी पत्रकारले यो अडियो सार्वजनिक गरे । विज्ञापन, कमिशन र सत्ताका कतिसम्म ताबेदार छन् मूलधारका मिडियाहरू भन्ने पनि यो प्रकरणले देखायो ।

यस्ता दलाल ‘दलाल’का पनि दलाल हुन्छन् । विदेशी कम्पनीका आधिकारिक ‘दलाल’ यी पक्कै होइनन् । आधिकारिक दलालले ट्ऱ्याक बाहिर गएर कमिशनको कुरा गर्न गाह्रो हुन्छ । आफ्नो प्रतिष्ठाका कारण पनि ती कम्पनीले देखिने गरी यस्तो डिल गर्दैनन् । बाहिर आएको अडियोमा सेक्युरिटी प्रेसको मात्रै कमीशनको कुरो छ । दलालले आफूलाई देशभक्त देखाउन अन्य भाग काटेका छन् । त्यसमा स्याटेलाइट खरिदको कुरो पनि रेकर्डेड छ भनिन्छ । यदि यी दलाल, यो पुरानो र अहिले हुन लागेको नयाँ डिलमा सहभागी सबैलाई अनुसन्धानको दायरामा ल्याउने हो भने ठूलो ऱ्याकेटको पर्दाफास हुनसक्छ । तर, ल्याउने कसले र कसको पर्दा उठाउने ? देशका सबैजसो शासक र नेता त्यही पर्दापछाडि छन् ।

हेर्दा गोकुलजी देखिए पनि यसको पछाडि बालुवाटार नै छ 

त्यो अडियो त्यहाँसम्म दुई महिनाअघि नै पुगेको पनि रहेछ । अख्तियारका भ्रष्ट आयुक्त राज नारायण पाठकको भिडियो बालुवाटारसम्म पुगेर तीन महिना गुपचुप बसेको थियो, मिडियामा आएपछि बल्ल कारबाही भयो । चर्चित वाइडबड़ी काण्डमा पनि बालुवाटारले नै सफाइ दिएको थियो । बालुवाटारका मुख्य दुई हात यतिबेला विष्णु पौडेल र गोकुल बाँस्कोटा नै थिए । पौडेललाई कसरी बचाइयो भन्ने सबैलाई थाहै छ ।

दरबारले उपयोग गर्दै आएका सम्पत्तिलाई शिक्षा र स्वास्थ्य जस्ता सार्वजनिक क्षेत्रमा मात्रै उपयोग गर्ने गरी नेपाल ट्रस्ट अन्तरगत ल्याइएको थियो । गोकर्ण रिसोर्ट लगायतका केही महत्त्वपूर्ण क्षेत्र निश्चित अवधिको लीजमा व्यक्तिले उपभोग गरिरहेकाले लीज सकिएपछि स्वत: ट्रष्टको भोगचलनमा आउने र त्यसलाई शिक्षा या स्वास्थ्यको अनुसन्धानमा उपयोग गर्न सकिन्थ्यो या सार्वजनिक उद्यानका रूपमा विकसित गरेर सास फेर्ने ठाउँ दिन सकिन्थ्यो ।

उदाहरणका लागि अबको छ वर्षमा गोकर्ण रिसोर्टको लीज सकिन्थ्यो र त्यो भवन र जग्गा त्रिभुवन विश्वविद्यालयलाई वनविज्ञान अध्ययन या अनुसन्धानका लागि दिन सकिन्थ्यो । चितवनमा क्रिकेट रङ्गशालाका नाममा कृषि अनुसन्धानका लागि राखेको जग्गा खोटिएको थियो, यता क्षतिपूर्ति दिन सकिन्थ्यो । यसको लाभ समग्र देशले लिने थियो । राष्ट्रिय ट्रष्टको सम्पत्ति व्यक्तिगत व्यापार या मुनाफाका लागि प्रयोग हुनु उचित थिएन र कानुनले पनि त्यही भन्थ्यो । नत्र त कर तिर र तिमी नै राख भनेर राजपरिवारका सदस्यलाई दिन सकिन्थ्यो । सार्वजनिक हितमा उपयोग गर्न नै ट्रष्ट बनेको थियो ।

तर, गोकर्ण रिसोर्ट जसरी पनि कुनै व्यक्तिलाई सुम्पन सिङ्गो संसद नै दुरुपयोग गरेर कानुन नै फेरियो । शिक्षा, स्वास्थ्य मात्र होइन व्यक्तिगत व्यापारका लागि पनि दिन सकिने भन्ने बनाइयो । नाथे एउटा कम्पनीको लीज बढाउन संसदले कानुन नै बदल्नु पर्ने, मन्त्रीदेखि प्रधानमन्त्रीसम्म सक्रिय बन्नुपर्ने दृश्य देखियो । कुनै व्यापारिक लिज छ वर्ष बाँकी छँदै मन्त्रिपरिषदबाटै निर्णय गरेर थप्ने निर्णय दुर्भाग्यपूर्ण थियो र यो बालुवाटारकै सक्रियतामा भएको थियो ।

मन्त्रिपरिषदका निर्णयमाथि अख्तियार नलाग्ने हुनाले यो बाटो रोजिएको थियो । गोकर्ण त गयो, अब यही बदलिएको कानुन टेकेर देशभरका जग्गामा व्यक्तिगत रजाइँ चल्न सजिलो हुनेछ । किनकि कानुन नै फेरेर ट्रष्टको सम्पत्ति व्यक्तिगत भोगचलन गर्न पाइने बनाइएको छ र मन्त्रालयका सचिबहरू रहने ट्रष्टको सञ्चालक समिति संशोधन गरेर प्रधानमन्त्रीले तोकेका व्यक्ति त्यसमा रहने व्यवस्था छ । उनले ‘यति’ ग्रुपका सदस्यलाई तोकेका छन् ।

भोलि नेपाल टेलीकमको 4G खरिदमा भएको भनिएका अरबौंका अनियमितताहरू पनि बाहिर आउलान् । आफ्ना आसेपासे कनिष्ठ कर्मचारीलाई हाकिम बनाएर त्यहाँ कतिसम्म खेल खेलिएको छ भन्ने पनि भोलि बाहिर आउला । कति कुरा त आएकै छन् ।

तर, जरोमैं समस्या भएपछि एक दुई हाँगा र पात फेरिएरै पनि खास केही हुँदैन । सदस्यता लिएकाले गर्दा तपाईंलाई बोल्न अप्ठेरो होला, तर सिङ्गो सरकार माफियाको कब्जामा पुगिसकेको कुरा तपाईंले पनि अनुभव गर्नुभएकै छ । गोकर्ण बिष्टसँगै बिदा भएका मातृका यादवले भनेका पनि थिए, ‘माफियाको कुरा सुन्न र माथिसम्म कमीशन बुझाउन नचाहेकाले मलाई हटाइएको हो ।’ राजीनामाले पनि आशावादी हुने ठाउँ एकदम कम छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट