काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं पूर्वमन्त्री गगन थापा नेपाली राजनीतिमा लोकप्रिय नेताहरुमध्ये पर्छन् । गलत म्यासेजका कारण उनकी जीवन साथी अञ्जना केसीसँग थापाको पहिलो पटक कुराकानी भएको थियो ।
आज फेब्रुवरी १४, हामीले गगन-अञ्जनाको पहिलो भेटवार्तादेखि विवाहसम्मको विषयमा जानकारी दिँदैछौँ । कसरी भयो त गलत म्यासेजबाट विवाह सम्भव ?
गलत म्यासेजले पहिलो पटक कुराकानी
अञ्जनासँग मेरो संयोगले पहिलो कुराकानी भएको थियो । उनी र मबीच एउटा गज्जबको संयोग छ । दुवैजनाको जन्मदिन एकै दिन हो । उनी मेडिकल डक्टर हुन् । मेडिकल डक्टर सकेपछि उनी केही समयमा अमेरिका बसिन् ।
हाम्रो पहिलो कुराकानी संयोगले भएको हो । आन्दोलनको समयमा एउटा गलत म्यासेजका कारण उनीसँग मेरो पहिलो पटक कुराकानी भएको थियो । त्यसको केही समयपछि अर्जुननरसिंह केसीको छोरी भन्ने थाहा भयो ।
अञ्जनाले मलाई चिने पनि मैले नचिनेको रहेछु । आन्दोलनको समयमा हामी लुकेर बसेका थियौँ । त्यहीँ बेलामा उनले आफ्नो बहिनीलाई अमेरिकामा युएसएमएली भन्ने इक्जामको नम्बर कति आयो भनेर हेर्नका लागि टेक्स पठाएकी रहेछन् । त्यो म्यासेज मेरोमा आइपुग्यो ।
मैले सरी यो गलत नम्बर भनेर टेक्स पठाएँ । तर मलाई उनी को हुन् भन्ने थाहा थिएन । उनको बावुको मोबाइलमा मेरो नम्बर सेभ थियो होला, सायद त्यहीँ भएर झुक्किएको हुनुपर्छ । त्यसपछि उनले थाहा पाइन् यो गगनको नम्बर भन्ने ।
त्यसपछि मलाई जिस्काएर म्यासेज आउन थाल्यो । मैले कहिले काहीँ मात्र रेस्पोन्स गर्थें । मैले फेक भन्ने थाहा पाइसकेको थिएँ । त्यही पनि रमाइलो । यो उमेरमा कोही केटीहरुले फल्ट गरिरहेको छ भन्ने लागेको थियो मलाई । रमाइलो पनि लाग्यो, ठिकै छ भनेँ ।
आन्दोलनकै क्रममा बबण्डर भयो । उनले घरमा टियर ग्यास छिरेर हजुरआमालाई लाग्यो भनिन् । त्यो बेलासम्म मैले चिनेको थिइनँ । त्यो भनेपछि भने मैले अर्जुननरसिंह केसीको घरमा टियर ग्यास लागेको थाहा पाइहालें । किनभने मैले पत्रपत्रिकामा पढेको थिएँ ।
यस घटनापछि उनी अर्जुननरसिंह केसीको छोरी हुन् भन्ने थाहा भयो । तर‚ कति जना छोरी छन् र उनी कुन् भन्ने थाहा थिएन ।
आन्दोलन सकिएपछि हामीबीचमा टेक्स हुँदै फोनमा पनि कुराकानी हुन थाल्यो । बिस्तारै जन्मदिन एकै दिन भएकाले बर्थ डेमा भेटौँ न भन्ने भयो । वैशाखमा आन्दोलन सकियो । साउन ४ गते हाम्रो जन्मदिन हो ।
साउन ४ गते हामीले भेट्यौँ । यो भेट रमाइलो लाग्यो । बिस्तारै नजिकका साथी हुन थाल्यौं । गफ पनि बढ्न थाले । उनी आफ्नो करियर अगाडि बढाउन पढ्न बाहिर गइन् । म यहीँ रहेँ । हामीबीच कुराकानी भने चलिरह्यो । एक समयमा पुगेपछि मलाई मेरो लाइफ पार्टनर हुन्छ भन्ने लाग्यो । उनलाई पनि त्यहीँ लागेको रहेछ ।
हामीले सल्लाह गर्यौं । उनी अमेरिकाको करियर छाडेर नेपाल आइन् । संविधानसभाको निर्वाचनलगत्तै हामीले विवाह गर्यौं । विवाहपछि उनी युके पुगिन् । त्यहाँबाट मास्टर पढेर फेरि उनी नेपाल आइन् । उनी पब्लिक हेल्थमा गइन् । उनी अहिले सेभ द चिल्ड्रेनमा काम गर्छिन् ।
हाम्रो अर्को पनि संयोग छ । पहिलो छोरी गारगी अहिले साढे आठ वर्षकी भइन् । अर्की छोरीको जन्म पनि एकै दिन भयो । मेरी दुईवटै छोरीको जन्म एकै दिन भयो ।
अहिले हामी बाआमासँग बस्छौँ । मेरा बा र आमा मेरो ठूलो शक्ति रहनुभयो । मेरो दाइ, भाइ, मेरो परिवार र मलाइ सबैको सहयोग मिल्यो । आज म जुन ठाउँमा छु, त्यसको ठूलो बल परिवारबाट आएको हो । विवाहअगाडि जुन तागत थियो, अञ्जना भित्रिएपछि दोब्बर भएको छ । धेरै खुसी परिवारमा छ ।
अञ्जनालाई परिवार हेर्ने जिम्मा
जीवनमा कहिले काहीँ अप एन डाउन हुन्छ । त्योसँग कुनै सरोकार हुँदैन । म संसद हुन्छु । मन्त्री हुन्छु । मेरो पार्टीको शक्ति सम्बन्ध, शक्ति अभ्यास आदिसँग अञ्जनाको कुनै पनि सरोकार छैन । उनी आर्थिक रुपमा आत्मनिभएर छे ।
त्यति मात्र होइन । घरपरिवार नै चलाउन सक्ने क्षमता उनीसँग छ । घरपरिवार चलाउनेबारे मैले केही हेर्न नपर्ने गरी उनले काम गरिरहेकी छिन् ।
यसो सोच्छु, मेरा दाइभाइ, मेरो बा अहिले पनि काम गर्नु हुन्छ । बा इन्जिनियर हुनुहुन्छ । न मेरो बाआमालाई न दाइभाइलाई मैले आर्थिक सहयोग गर्नुपर्ने अवस्था छैन । यो अवस्था अञ्जनालाई पनि लागु हुन्छ । सबैको आफ्नै काम छ । आफंै कमाउनु हुन्छ । अञ्जनाले छोरीहरुलाई आफैं हेर्छिन् ।
म मन्त्री हुन्छु कि हुँदिन । सांसद हुन्छु कि हुँदिन । यसबारे अञ्जनालाई मलतब छैन । उनी मैले राम्रो गरोस्, राम्रो भनोस्, र परिवारको महत्व बुझोस् भन्ने मात्र चाहन्छिन् ।
मेरो परिवार आर्थिक रुपमा मसँग आश्रित भएको भए मलाई एक खालको समस्या ल्याउँथ्यो होला । अरिक्त दवाव सिर्जना हुन्थ्यो होला । तर, त्यो मलाई छैन । यही नै मेरा लागि तागत भएको छ ।
राजनीति गर्ने मानिसलाई त झन् परिवार कस्तो छ ? परिवारका सदस्यहरुले के गर्छन् भन्नेले महत्त्व राख्दो रहेछ । यस पक्षमा मेरो एक सुखद संयोग छ । मैले हजुरबा हजुरआमासँग संगत गर्न पाएँ । मेरो आमाको बा ९६ वर्षको हुनुहुन्छ । मेरो घरपटिको हजुरबा ९४ वर्षको हुनुहुन्छ । मैले भाइटीका लगाउने दिदीबैनी नै नौजना छन् ।
अर्कोतर्फ मेरो बा आमा, श्रीमतीको बाआमाले कतै गुनासो गर्नुभएको छैन । मेरो जीवनमा खुसी हुने पाटोमध्ये यो पनि एक हो । नागरिक खबरबाट

