मङ्सिरमा हुने कास्की २ को उपनिर्वाचन जित्ने धनराज गुरुङको उद्घोष (भिडियो)

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार

बाँकेमा कांग्रेस सभापति किरण कोइरालासहित कांग्रेस कार्यकर्तामाथि नेकपा कार्यकर्ताबाटै आक्रमण हुनुलाई कांग्रेसले गणतन्त्रमाथिकै आक्रमणका रुपमा अथ्र्याएको छ । सत्तारुढ दल भएर प्रतिपक्षी कांग्रेसको नितान्त आन्तरिक मञ्चमा गएर नेता कार्यकर्तामाथि आक्रमण, तोडफोड गर्नु सत्ताको उन्मादन मात्र होइन, यो व्यवस्थालाई समेत कमजोर बनाउन खोजिएको कांग्रेसको निष्कर्ष छ ।

कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ भन्छन्, ‘सत्तारुढ दल नेकपा र यो सरकारका गतिविधिले गणतन्त्र कमजोर भइरहेको छ । यिनका क्रियाकलापले यो व्यवस्था माथि नै जनताको वितृष्णा बढिरहेको छ । गणतन्त्र भनेको जनतालाई पहिलो स्थानमा राखिने व्यवस्था हो । यिनीहरुले त जनतालाई पैतलामुनि कुल्चेर त्यो माथि आफू रजार्र्इं गर्न थाले । हुँदाहुँदा विपक्षी कांग्रेस मात्र होइन, आफ्नो आलोचना जो सुकै होस, त्यसलाई सिध्याउन राज्यशक्ति लगाउन थाले । यो गणतन्त्रका लागि सुहाउने विषय होइन, यसले विनाश निम्त्याउँछ । ’

नेकपामा मण्डलेकरण- नेकपाका कार्यकर्तामा मण्डलेकरण भएको छ । मण्डलेकरण भनेको सत्ताको उन्माद लाग्ने हो । आलोचना सुन्नै नसक्ने हो । नेकपाका नेताहरु त्यही स्कुलिङबाट आएकाले उनीहरुका कार्यकर्ताले पनि त्यही सिकेका छन् । फरक विचारको सम्मानको त कुरै छोडौं यिनीहरु आफनो प्रशंसाबाहेक अन्य कुरा सुन्नै सक्दैनन् । वास्तवमा अहिले गणतन्त्रमाथि कसैले तरवार झुण्ड्याएको छ भने त्यो नेकपा पार्टीले हो ।

श्रीपेच बुझाएर नारायणहिटी छोडेका पूर्वराजाबाट गणतन्त्रमाथि खतरा भनेर नेकपाका नेताहरु हल्ला गरिरहेका छन् । यो कुप्रचार मात्र हो । पूर्वराजा र राजावादीबाट गणतन्त्रमाथि कुनै खतरा छैन ।

राष्ट्रपतिको आलोचना- ‘राष्ट्रपति विद्या भण्डारीको सुविधामुखी सोचले पनि गणतन्त्रप्रति वितृष्णा बढाएको छ । उनलाई प्रहरी तालिम केन्द्र हटाएर शितल निवास किन फराकिलो चाहियो ? खसी बोका बेच्ने किसानबाट कर उठाउने देशमा राष्ट्रपतिलाई अरबौंको हेलिकप्टर र करोडौंको कारगेड किन चाहिने ? सरकार त गैर जिम्मेवार भयो भयो, अब राष्ट्रपति पनि देश र जनताप्रति चिन्तित नहुने ?’ गुरुङको आक्रोश छ ।

राष्ट्रपतिले जनताको भावनाको पनि सम्मान गर्न सकेकी छैनन् । हिजोका राजा महाराजा जस्तै आकास, सडकमा पनि जाम गरेर किन सवारी गर्नुपर्यो ? जनतालाई कुनै पनि मर्का नपर्ने गरी चल्नुपर्ने व्यवस्था नै गणतन्त्र होइन ?

राष्ट्रपति र सरकारका यस्तै व्यवहारले संघात्मक लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था खतरामा पर्न थालेको छ । प्रधानमन्त्रीले बालुवाटारमा सर्वदलीय बैठक बोलाएर पूर्वराजा वा विप्लवतीर औंला तेस्र्याएर जिम्मेवारीबाट पन्छिन मिल्दैन ।

कांग्रेसको त्रुटी- प्रमुख प्रतिपक्षी दल भएर पनि सरकारका गलत क्रियाकलापको डटेर सामना गर्न सकेका छैनौ । सडक र सदनबाट गरिएको प्रयास प्रभावकारी हुन सकेको छैन । दोस्रो चरणको जागरण अभियानमा छौं, यसले केही मद्दत अवश्य पु¥याउने छ ।

कतिपयले भ्रष्टाचारको विषयलाई उठाएर सत्तापक्षसंग कांग्रेस मिलेको आरोप लगाउने गरेका छन् । यो गलत हो । वाइडबडी, न्यारोवडी, एनसेल, मेलम्ची, फोर जी सबै विषयमा भएको भ्रष्टाचारलाई जोडतोडले उठाउने निर्णय कांग्रेसले गरिसकेको छ । यो सत्तापक्षले आफ्नो कमजोरी लुकाउन विपक्षीलाई लगाएको आरोप मात्र हो । हामी त यी मुद्दामा छिटो भन्दा छिटो छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरिरहेका छौं ।

नागरिकता विधेयक- राज्य व्यवस्था समितिले नागरिकतामा विषयमा निर्णय दिन सक्नु पथ्र्यो । सहमति नभए मतदानबाट भएपनि यो विषयको टुंगो लगाउँदा हुन्थ्यो । लोकतान्त्रिक व्यवस्थामा बहुमतको कदर गर्नुपर्छ । जसरी नागरिकता विधेयकबारे सहमति गर्न शीर्ष नेताहरुलाई जिम्मेवारी दिइएको छ, त्यो गलत काम हो । यसले शीर्ष नेताहरुमा निरंकुशताको भावना विकास गराउँछ ।

नागरिकताका सवालमा कांग्रेसले लिएको अडान जायज लागेको छैन । व्यक्तिगतरुपमा भन्नुपर्दा यसमा सत्तापक्षीय प्रस्ताव नै उचित छ । विदेशीलाई विहा गर्ने वित्तिकै नागरिकता दिनुपर्ने व्यवस्था संसारमा कहीँ पनि छैन । २०६३ सालमा दलीय सहमतिबाट राखिएको प्रस्ताव खारेज गर्नु उचित हुन्छ ।

सरकार अपारदर्शी- सरकार केही गम्भीर मुद्दामा अपारदर्शी देखिएको छ । खासगरी अमेरिकाको ‘इण्डोप्यासेफिक रणनीति र चीनको बिआरआई’ का सवालमा सरकारले सूचना लुकाएको छ ।

इण्डोप्यासिफिक रणनीतिमा नेपाल संलग्न हो वा होइन ? भन्ने प्रश्नको सीधा उत्तर नदिइ प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले ढुलमुले जवाफ दिएर जनताको आँखामा छारो हालिरहेका छन् ।

यसरी यता पनि ठिक्क उता पनि ठिक्क हुने नीतिले ठूलो दुर्घटना निम्त्याउन सक्छ । यसलाई असंग्लग्न परराष्ट्र नीति भनिदैन । यो सरकार पञ्चशील र असंग्लग्न परराष्ट्र नीति अनुसार चलेको नै छैन । यसले विदेशीहरुले हेप्ने स्थितिको सृजना मात्र गराउँछ ।

जीतजंग र भुपेन्द्रलाई कारवाही- तरुण दलका अध्यक्ष जीतजंग बस्नेत र महामन्त्री भुपेन्द्रजंग शाहीले पार्टीकै लाज गरे । दुवै गैर जिम्मेवार देखिए । आफनो कार्यकालमा फेसबुकमा लेख्नु बाहेक कुनैपनि रचनात्मक काम गर्न सकेनन् । अहिले कार्यकालको अन्तिममा आएर जग हँसाए ।

बस्नेत र शाहीको अनुशासनहीन क्रियाकलापप्रति अनुशासन समितिको ध्यानाकर्षण भएको छ । समितिको बैठकमा यो विषयमा गम्भीर छलफल गरी आवश्यक निर्णय लिइनेछ । अब तरुण दलको अधिवेशनका लागि नयाँ व्यक्तिलाई जिम्मा दिनुपर्छ ।

तरुण दल, नेविसंघ मात्र होइन कुनैपनि भातृ संगठनको अधिवेशन समयमा गर्न नसक्ने, गर्न नचाहने व्यक्ति नेता होइन, नालायक हो ।

उम्मेद्वार हुन दवाव- आगामी मंसिरमा हुन गइरहेको उपनिर्वाचनका लागि कास्की २ बाट उम्मेद्वार हुन सो क्षेत्रबाट अनुरोध आइरहेको छ । कांग्रेसका मात्र होइन अन्य दलका नेता कार्यकर्ताहरुले समेत दैनिक सन्देश पठाएर उम्मेद्वारका बनिदिन आग्रह गरिरहेका छन् ।

यो विषयमा पार्टीले कुनै निर्णय नगरेकाले तत्काल केही जवाफ फर्काउने अवस्था त भएन, तर पार्टीले आफनो नाममा निर्णय गरेमा जीत हासिल गर्छु भन्नेमा शंका छैन । माहोल राम्रो छ । यदि, आफू बाहेक अरु कसैले टिकट पाउँछ भने पनि गुनासो हुने छैन । म झोला बोकेर प्रचारमा दोस्रो दिनबाटै खटिनेछु ।

महामन्त्रीको तयारी- पार्टीको आगामी महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुने तयारी गर्दैछु । यसका लागि पार्टीका नेता कार्यकर्ताहरुसंग छलफल भैरहेको छ । कांग्रेसमा सधैं नेतृत्व हस्तान्तरणको कुरा हुन्छ, तर अब हस्तान्तरण होइन, पुस्तान्तरण हुनुपर्छ । नेतृत्व पुस्तान्तरण नभएसम्म कांग्रेसलाई सुधार्न मुश्किल छ ।

नेपालआजबाट

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu