एक बर्षमा ५ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको सरकारले त्यसको आधार भने तय गर्न भने सकेको छैन । लाखौं युवा रोजगारीका लागि विदेशीएको कहालीलाग्दो तथ्यांक र समृद्धीको सरकारी नाराबिच कुरो मिलिरहेको छैन । विभिन्न मुलुकसँग श्रम समझदारी गर्दै हिडेको सरकारले रोजगारीको प्रमुख गन्तव्य मलेसियामा १३ महिनादेखि कामदार पठाउन सकेको छैन । सरकारले ठुला ठुला कार्यक्रम घोषणा गर्ने तर कार्यान्वयन किन भैरहेको छैन ? आज श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग लामै कुराकानी गरिएको छ ।
नेपालको श्रमशक्तीको तस्विर कस्तो छ ?
हामिसँग तथ्यांक छ । पछिल्लो समय नेपाल श्रमशक्ती सर्वेक्षण २०७५ ले केहि आँकडा प्रस्तुत गरेको छ । मोटामोटी २ करोड ७ लाख छ । काम गर्न सक्ने उमेर समुह १५ देखि ५९ देखिको उमेर हेर्दा यो देखिएको हो ।
विदेशमा कति छन् ?
श्रम स्विकृती लिएर जाने देश तेस्रो मुलुकमा ४३ लाख गएको तथ्यांक छ । भारत जानेहरुको तथ्यांक छैन, यद्यपी एकिनका साथ विदेशमा कति छन् भनेर भन्न सकिन्न । तर, झण्डैं ६५ लाखले भारतसहित अन्य देशमा काम गर्न गैरहेको देखिन्छ ।
१ करोड पुगेको छैन ?
१ करोड भन्न मिल्दैन । ६५ लाखको हाराहारीमा बाहिर छन् भनेर अनुमान गर्न सकिन्छ ।
बेरोजगारीको तथ्यांक के छ ?
करिव ९ लाख बेरोजगार छन् भन्ने आँकडा छ । ७ लाख शहरमा बस्ने र २ लाख गाउँमा बस्नेहरु बेरोजगार छन् ।
नेपालमा जति बेरोजगारीको तथ्यांक देखिन्छ, त्यो त डरलाग्दो स्थिती हो नि हैनर ?
विभिन्न किसिमका समस्याहरु छन् । खासगरी प्रविधिको विकास, जलवायु परिवर्तन, जनसख्यांको संरचनामा आउने परिवर्तन लगायतले विश्वव्यापी रुपमै कामको प्रकृती र प्रवृत्तीमा फरक किसिमको अवस्था उत्पन्न हुँदैछ । केहि सम्भावना पनि देखा पर्दैछन्, चुनौती पनि । यो अवस्थामा नेपालले भविष्यमा आउने चुनौतीलाई सामना गर्नका लागि नयाँ तयारीका साथ अगाडि बढ्नुपर्नेछ । यसका लागि हामिले मानव विकासमा अलिकति धेरै ध्यान दिनुपर्ने आवश्यकता छ । श्रम सँग सम्वन्धित संस्थाहरुको सुध्रिणीकरणको लागि ध्यान दिनुपर्नेछ । रोजगारीको अधिकतम सिर्जनाका लागी कामको सिर्जना गर्नुपर्नेछ । अहिले जनशक्तीले काम गरिरहेको छ, प्रविधीको विकाससँगै उ पछि परेको हुन सक्छ, उसलाई पुनः दक्ष बनाउने अथवा रुपान्तरण गर्ने सन्र्दभमा नयाँ ढगंले अगाडी बढ्नुपर्नेछ । यसकारण विश्वव्यापी रुपमा देखा पर्ने सम्भावनाहरुलाई उपयोग गर्नका लागि नेपाल भित्र आउने संकटहरुलाई सामना गर्दै सम्भावनालाई उपयोग गर्न नयाँ तरिकाले अगाडी बढ्नुपर्ने आवश्यकता छ ।
तपाइहरुले ५ लाख रोजगारी सिर्जनाको घोषणा गर्नुभएको छ, यो कार्यक्रम के मा आधारित छ ?
झट्ट हेर्दा नेपालमा रोजगारी कामको केन्द्र भागमा थिएन । पछिल्लो पटक प्रधानमन्त्री केपी ओली सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत काम गर्ने उमेर समुहको जनशक्तीलाई कामको अवसर प्रदान गर्नेगरी प्रधानमन्त्री रोजगार कार्यक्रम अगाडी सारेको छ । यो कार्यक्रमले न्युनतम कामको अवसर प्रदान गर्नेगरी कार्यान्वयन हुने क्रममा छ । त्यस्तै, नेपालमा रोजगारीका सम्भावनाको खोजि गर्ने, आवश्यक कानुन, निति, तयारी तथा रोजगारीको क्षेत्रमा रहेका सम्भावनाका लागी समेत यो आवश्यकता थियो । निर्माण, पर्यटन, औधोगिक लगायतका क्षेत्रमा हेर्दा आउँदो बर्ष ५ लाखलाई रोजगार प्रदान गर्ने सम्भावना देखेका छौं । रोजगारीका सम्भावना भएका क्षेत्र धेरै छन् तर केहि क्षेत्रले १ बर्ष, ५ वर्षमा कति रोजगार दिन सकिन्छ भन्ने किसिमको डाटा दिएका थिए, उनिहरुका अनुसार पनि साढे ६ लाखलाई रोजगार दिन सकिन्छ भन्ने किसिमको संकेत पनि दिनुभएको छ । सोहि कारण खासै अचम्मको विषय होइन, यो सम्भव छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम बाँदर धपाउने, घाँस काट्ने, कुलो खन्ने जस्ता काममा केन्द्रित छ भनिन्छ, सफल भएको देखिएन नि ?
एकदमै सहि प्रश्न सोध्नुभएको छ । यथार्थ कुरा के हो भन्ने कुरा कान्तिपुरदेखि भन्ने अवसर पाएको छु । प्रधानमन्त्री रोजगार कार्यक्रम भनेको सामाजिक न्याय प्रदान गर्ने कार्यक्रम हो । उत्पादन र उत्पादकत्व वृद्धी गर्ने कार्यक्रम हो । सामाजिक सुरक्षामा आधारित कार्यक्रम हो । यसले न्युनतम १ सय दिनको रोजगारीको प्रत्याभुत गर्ने गरेर ग्यारेन्टि गरिएको छ । १०–११ महिनामा करिव ७१ वटा काम निकै चाँडो सुरु गरिएको हो । हामिले सबै प्रदेशमा कार्यक्रम राख्ने, प्रशिक्षण दिने, सम्झौता गर्ने लगायतका कुरा सबै गरेर काम सुरु गरेका छौं । प्रत्येक स्थानिय तहमा जनसंख्या, गरिवी, भौगोलको बिकटता लगायतका आधारमा ७ सय ५३ वटै तहमा विभिन्न यावत कुरालाई कार्यविधिमा तय गरेर पठाएका छौं । कहिँ कतै समस्या भएको खण्डमा हाम्रो ध्यान जान्छ । झार उखल्ने, कुलो खन्ने लगायतका जुन कुरा छन्, कामको प्रकार अनुसार भएका हुन् । यो बर्ष आवश्यक संरचना निर्माण गरिसकेका छौं । आगामी बर्ष जनताको गुनासो नरहने गरी यो कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्न गरिनेछ ।
मन्त्री मण्डलको एउटा सदस्य भएका नाताले एउटा कुरा भनिदिनुस् न, यो सरकार बलियो छ ?
सरकारले सहि ढगंले काम गर्न खोजिरहेको छ । जुन प्रकारले बाहिर हल्ला पिटाइएको छ, जनतामा निराशा पैदा गर्न खोजिएको छ, यसमा कुनै सत्यता छैन । सरकारले काम गरिरहेका बेला कहिलेकाहि जनताका अपेक्षा पुरा गर्न नसक्ने किसिमको अन्तर हुन सक्ला तर निष्ठाका साथ जनताका अपेक्षा पुरा गर्न लागि परिरहेको छ ।
विभिन्न देशको श्रम सम्झौता गरिरहनुभएको छ, तर मलेसियामा १३ महिनादेखि कामदार पठाउन सकिएको छैन । के भन्नुहुन्छ ?
आजको दुनियाँमा जंगलमा बस्ने जनावरको लागि समेत उनिहरुको अधिकारलाई मध्येनजर राखेर कानुन बनेका छन् । जंगली जनावरका लागि अन्तराष्ट्रिय कानुन बनेका छन् । हामी नेपाली नागरिकहरुकै लागी सोचेर श्रम सम्झौता गर्न खोजिरहेका हौं । उनिहरुले काम गर्ने पारिश्रमिक, स्थान, विदा, सामाजिक सुरक्षा, हवाइ टिकटको सुविधा तथा गन्तव्य मुलुक जाने क्रममा भएका ठगीका कुरालाई ध्यानमा दिएर काम गर्न खोजिरहेका छौं, श्रमिकको अधिकारका लागी अडान राखेका हौं । सम्झौता भएको छ । हामि छिट्टै एउटा निष्कर्षमा पुग्दैछौं । मलाई लाग्छ, केहि दिन भित्रै मलेसिया जाने प्रक्रियाको सुरुवात हुनेछ । बाध्यताले वैदेशिक रोजगारमा जाने बेलासम्म उनिहरुको जिवनको सुरक्षा प्रदान गर्न चाहान्छौं ।

