युवराज दीपेन्द्रले देवयानीसँगै बिहे गर्ने निश्चय गरिसकेका थिए। रानी ऐश्वर्या भने देवयानी ‘सी’ क्लासको राणा भन्दै बिहे गर्न नदिने अडानमा थिइन्। यही विषयमा दीपेन्द्र र ऐश्वर्याबीच मनमुटाव चलिरहन्थ्यो। हुँदा–हुँदा रानी ऐश्वर्या यति हावी हुन थालिन् कि उनले दीपेन्द्रलाई ‘सी’ क्लासको राणाकी छोरी बिहे गर्ने हो भने युवराजबाट राजीनामा देऊ, निराजनलाई युवराज बनाउँछुसमेत भनिन्।
पहिल्यै भए दीपेन्द्रले खुशीसाथ सुप्रियासँग विवाह गर्थे। तर सुप्रियासँग बिहे गर्नबाट पनि ऐश्वर्याले नै रोकेकी थिइन् । त्यहीबेलादेखि आमाछोराको खटपटक सुरु भएको थियो । पछि देवयानी दीपेन्द्रको जीवनमा आएकी थिइन्। उनलाई पनि रोकेपछि गाँठो झन् उल्झियो।
दीपेन्द्र–ऐश्वर्या आ–आफ्नै अडानमा रहेपछि एकदिन रानी ऐश्वर्याले दीपेन्द्रलाई भनिन्– तिमी युवराजबाट राजीनामा देऊ, तिमीले राजा हुनका लागि ‘ए’ क्लास विवाह गर्नुपर्छ।’
दीपेन्द्रले प्रतिप्रश्न गरे, ‘खै, विधानमा सी क्लास बिहे गर्नुहुन्न भनेर कहाँ लेखेको छ?’
त्यसपछि रानी ऐश्वर्याले विधान (उत्तराधिकारीसम्बन्धी नियम) नै परिवर्तन गर्न लगाएर राजा वीरेन्द्रलाई सही गर्न दबाब दिइन्।
यसबारे राजा वीरेन्द्रको जवाफ सधैँ यही हुन्थ्यो, ‘यो लेडिजहरूको कुरा हो। मुमा (रत्न) र रानीले यसबारे विचार गर्लान्।’ यति भनेर उनी जेन्टलमेन झैं तटस्थ भए।
तर यो त छोराको कुरा हो, अर्काको निर्णयमा छोड्नु हुँदैन थियो। यो वीरेन्द्रको एउटा कमजोरी हो। छोरालाई सहयोग गर्नै सकेनन् । दीपेन्द्र बुबाको सहयोगको आशमा थिए होला।
पछि मैले के सुनेँ भने, त्यो विधानमा अन्ततः राजा वीरेन्द्रले पनि सही गरे । दीपेन्द्रले यो सब थाहा पाए।
यसरी उनका लागि सबै बाटा बन्द भए। अनि यो काण्ड भएको हो। २०५८ जेठ १९ ।

नारायणहिटी दरबारको त्रिभुवन सदनमा त्यसदिनको राति नेपालको इतिहासकै अप्रिय घटना भयो। राजा वीरेन्द्र, रानी ऐश्वर्या, अधिराजकुमारी श्रुति, अधिराजकुमार निराजन लगायतको हत्या भयो। हत्याको जिम्मेवार युवराज दीपेन्द्रलाई नै ठहर्याइयो, जसले आफ्ना आमाबुबालगायतलाई मारेपछि आत्महत्या गरे।
दीपेन्द्रले एसएलसीपछि क्याम्ब्रिज विश्वविद्यालयका लागि तयारी गर्न सुरु गरे। उनले नेपालमै पढ्छन् कि भनेर सेनाले भीमफेदीको सैनिक विद्यालय भक्तपुर सार्यो। सैनिक स्कूलमा आएको केही समयमै २०४४ सालतिर दीपेन्द्रलाई इतिहास पढाउन मलाई बोलाइयो। भूगोल बालकुमार केसी र कम्प्युटर जगन्नाथ श्रेष्ठले पढाउथे। नेपाली पढाउनेचाहिँ रानी ऐश्वर्याकै गुरु थिए।
दीपेन्द्र क्याम्ब्रिज विश्वविद्यालयको तयारी गरिरहेका थिए, त्यसका लागि मैले युरोपेली इतिहास पढाउँथें। मैले पाठ सुरु गरें विश्वयुद्धबाट । त्यसका लागि मैले आर्कड्युक फ्रान्ज फर्डिनान्डको एउटा तस्बिर लिएर गएको थिएँ। उनको मृत्युपछि प्रथम विश्वयुद्ध सुरु भएको थियो। वीरशमसेरका पालामा आर्कड्युक फर्डिनान्ड शिकार खेल्न नेपाल आउँदाको कागजपत्र मैले परराष्ट्रबाट सारिसकेको थिएँ । तस्विरचाहिँ पुरुषोत्तमशमसेर दाइबाट पाएको थिएँ। तस्बिर नै लगेर पढाएँ । त्यसबाट दीपेन्द्र प्रभावित भए ।
दीपेन्द्र शिकार खेल्थे। दुवै हातले उत्तिकै सटिक निशाना लगाउन सक्थे।
दीपेन्द्रले आत्महत्या गरेको विषयमा शंका गरियो – उनी दायाँ–हाते, गोली बायाँतर्फ लागेको छ, त्यसैले आत्महत्या हुन सक्दैन। तर उनी दुवै हातले सटिक निशाना लगाउन सक्थे। दायाँ हातमा ठूलो बन्दुक थियो। बायाँतर्फ पिस्तोल थियो होला, त्यसैले आफैंलाई हान्न सक्थे।
तर अरूले हत्या गर्ने सम्भावनै नहुने भन्ने छैन। किनकि उनले आफैंलाई मारेको भनेर कतै लेखेका छैनन्। यो अनुमानकै कुरा हो।
अरूले विश्वास नगरे पनि मलाईचाहिँ दीपेन्द्रले आत्महत्या नै गरेका हुन् भन्नेमा द्विविधा छैन। सबै मरिसके भन्ने आभास भएपछि उनले आत्महत्या गरे होलान्।
सुप्रियाप्रति प्रेम कच्चा, देवयानीप्रति सच्चा
बेलायत जानुअघि मैले इतिहास पढाउने बेला दीपेन्द्रले कहिलेकाहीँ व्यक्तिगत कुरा पनि गर्दथे। सुप्रिया शाहप्रतिको प्रेम स्वीकार्थे। कहिले सुप्रिया शाहका नाममा कविता पढ्थे। सुप्रियासँगै विवाह गर्छु भन्नेमा दृढ थिए। त्यतिबेला दरबारका कसैबाट पनि सुप्रियाप्रति असहमति थिएन। हजुरआमा रत्नकै आशीर्वाद उनले पाएका थिए। अझ हजुरआमा मात्रै होइन, मलाई के विश्वास छ भने उनका आमाबुबा पनि उनकै पक्षमा थिए।
सुप्रिया शाह को हुन् भन्ने बुझ्न राजा महेन्द्रदेखि कोट्याउनुपर्ने हुन्छ। राजा महेन्द्रको विवाह इन्द्रराज्य लक्ष्मीसँग भएको थियो। इन्द्र राज्यलक्ष्मीले अन्तिम समयमा उनले आफ्ना छोरा–छोरीले सौतेनी आमा देख्न नपरोस् भनेर राजा महेन्द्रलाई आफ्नी बहिनी विवाह गर्न वाचा गराएकी थिइन्।
इन्द्र राज्यलक्ष्मी हरि शमसेरकी छोरी हुन्। उनकी बहिनीको नाम ‘प्यारी महारानी’ थियो। तर उनको विवाह जुम्ली राजखलकका निलेन्द्रविक्रम शाहसँग भयो। अनि पालो आयो, रत्न राज्यलक्ष्मीको। त्यसैले महेन्द्रको विवाह रत्नसँग भयो, त्यो पनि राजा त्रिभुवनको उपस्थितिविनै ।
त्यसबेला युवराज महेन्द्र र युवराज्ञी रत्नको विवाह ‘पुतलीको विवाह’ जस्तो भयो भनेर नरशमसेरले टिप्पणी गरेका थिए।
कता–कता रत्नको मनमा मेरी दिदी (प्यारी महारानी)को ठाउँमा म बडामहारानी भएँ भन्ने पनि थियो होला। सुप्रिया शाह भनेको प्यारी महारानीकी नातिनी पर्छिन्, अर्थात् जुद्धखलककै। तसर्थ, रत्न राज्यलक्ष्मीलाई मेरी दिदीको ठाउँमा उनकै नातिनी बडामहारानी हुन पाओस् भन्ने थियो होला। त्यसैले पनि उनले सुप्रियासँगको सम्बन्धका लागि सजिलै स्वीकृति दिइन्।
तर बेलायतबाट फर्कँदा अवस्था परिवर्तन भयो। किन भयो कतै उल्लेख छैन। कसैलाई थाहा छैन। मेरो अनुमान छ — ऐश्वर्या, कोमल र प्रेक्षासँग राजा वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्रको विवाह गराउनुमा रत्नको ठूलो हात छ। त्यो कुरा ऐश्वर्याले बुझेकी थिइन्, तर पछि सासु–बुहारीबीचको खटपट सुरु भयो। किन भयो, त्योचाहिँ मलाई थाहा भएन।
ऐश्वर्या असाध्यै महत्वाकांक्षी थिइन्। हुर्किसकेको छोरालाई त्यसरी हुकुम चलाउँदै उनले राजा वीरेन्द्र र सासु रत्नमाथि पनि हुकुम चलाउन खोजिन्। राजा वीरेन्द्र त सोझो थिए, त्यसैले सहे । तर रत्नले किन सहन्थिन्? एक त सासु, अर्को तर्फबाट फुपू, अनि विवाह गराएर बडामहारानी बनाइदिएकै रत्नले, किन सहन्थिन् ऐश्वर्यालाई?
ऐश्वर्यालाई के पनि लागेको हुन सक्छ भने यदि सुप्रियासँग विवाह भयो भने आफू एक्लै परिन्छ। किनकि सुप्रिया रत्नको आफ्नै दिदीकी नातिनी हुन्। भोलि राजा स्वर्गे भए सुप्रिया बडामहारानीका रूपमा शक्तिशाली हुन्छिन् र रत्नसँग मिल्छिन्। सासु र बुहारी एकतिर भए भने आफू एक्लो पर्छ भन्ने ऐश्वर्याको मनमा थियो होला। त्यसैले आफूले भनेको केटीसँग विवाह गराइदिन्छु भनेर ऐश्वर्या–रत्नको टक्कर भयो।
त्यसैले ऐश्वर्याले पण्डितहरू लगाएर दिदीबहिनीको नाति–नातिनी विवाह गर्नु हुँदैन भन्ने निहुँ पारिन्। सुप्रियासँगको बिहेका लागि पहिले किन हुन्छ भनिएको हो, अहिले किन हुन्न भनिएको हो भनेर दीपेन्द्र र रानी ऐश्वर्याबीच त्यही बेलादेखि खटपट सुरु भयो। पछि राजाले पनि त्यस्तै भने होलान्। त्यतिबेला रानी ऐश्वर्या निकै शक्तिशाली भइसकेकी थिइन्।
देवयानीसँग सम्पर्क
पछि युवराज दीपेन्द्रको देवयानीसँग सम्पर्क हुन थाल्यो। देवयानीको कुरा आउँदा रत्न त्यति खुशी त थिइनन्, तर पनि उनले स्वीकारिन्। रानी ऐश्वर्याले भने देवयानीको कुरालाई स्वीकार गरिसकेकी थिइन्।
ऐश्वर्या–रत्न मनमुटाव साम्य हुँदै गयो, फेरि दुवैजना मिल्न थाले। अनि कुरा आयो, ‘सुप्रियासँग विवाह गरिदिए पनि हुने!’ कारण देखाइयो — देवयानी भनेको चन्द्र शमसेर खलककी, हामी जुद्ध शमसेरका परिवार। सुप्रिया पनि जुद्ध शमसेरकै हुन्।
पहिले सुप्रिया र दीपेन्द्रको सम्बन्ध केटाकेटीको जस्तो थियो। तर देवयानीसँगको सम्बन्ध त्यस्तो थिएन। सुप्रियालाई मनाएर दीपेन्द्रले देवयानीसँग विवाह गर्ने निश्चय गरिसकेका थिए। पछि फेरि चन्द्रशमसेरको सन्तानमा बिहेबारी नगर्ने भन्नका लागि केही निहुँ त चाहियो। अनि कुरा उठ्यो — देवयानी त ‘सी’ क्लास।
महारानी ऐश्वर्याले दीपेन्द्रलाई भनिन्, ‘देवयानीसँग तिम्रो विवाह हुँदैन, उनी त सी क्लासकी रहिछन् ।’ दीपेन्द्र फेरि आगो भए, ‘पशुपति शमसेरकी छोरी कसरी सी क्लास? पशुपतिशमसेर श्री ३ मोहन शमसेरकै नाति हुन्, विवाहितातर्फ ‘ए’ क्लासकै।
फेरि ऐश्वर्याले ‘सी’ क्लास कसरी भन्ने पुष्टि गर्न लगाइन्। यसको जिम्मा हिमालयशमसेरकी जेठी छोरी जयन्ती शाहले पाइन्।
महारानीको आदेशअनुसार अनुसन्धान गर्दा बुबातर्फ ‘सी’ क्लास हुनै नसक्ने देखियो। अब आमातर्फ खोज्न सुरु भयो। पछि पत्ता लगाउँदै जाँदा ग्वालियरका राजमाता वसुन्धरा राजे सिन्धिया खड्ग शमसेरकी भित्रिनीपट्टिको छोरी (‘सी’ क्लास) भन्ने कुरा आयो।
यहीकुरा जयन्ती शाहले रानी ऐश्वर्यालाई भनिन् । मैले बुझेअनुसार पछि रानीले भनेअनुसार लेखेर नै दिइन्। प्रायः खाना खाँदा दीपेन्द्र र ऐश्वर्याबीच झगडा हुन्थ्यो। त्यही क्रममा रानीले त्यो प्रतिवेदन देखाइन् होला। त्यसैले सबैभन्दा बढी रिस दीपेन्द्रलाई ऐश्वर्यापछि जयन्तीसँग भयो। त्यसैले दरबार हत्याकाण्डमा फर्केर गोली हान्ने क्रममा मृत्यु भइसकेकी जयन्ती शाहलाई बन्दुकले हान्दै, यताबाट उता, उताबाट यता लात हान्दै गरे भन्ने पढेको छु। यो रिसकै कारणले हुनसक्छ।
दीपेन्द्रले देवयानीलाई वचन दिइसकेका थिए। रेष्टुराँहरूमा सँगै जान्थे भनेर हल्ला चलेको थियो। दीपेन्द्र आक्रामक नभई कूटनीतिक भएको भए मिलाउथे होलान् वा महेन्द्रले जस्तै राजीनामा दिन तयार हुने शर्तमा विवाह गर्थे होला।
(स्व. दीपेन्द्र शाहका इतिहासका शिक्षक राणासँग नेपालन्युजकर्मी आभास धरानन्द राजोपाध्यले गरेको कुराकानीमा आधारित)
-नेपालन्युजडटकमबाट

