विश्वको सर्वोच्च शिखर सगरमाथा अहिले अन्तर्राष्ट्रिय सञ्चार माध्यमका समाचारको मुख्य शीर्षकभित्र छ । अमेरिका, बेलायत, फ्रान्स र अष्ट्रेलियादेखि भारतका मुख्य सञ्चार माध्यममा सगरमाथाको सकारात्मक र नकारात्मक कोणबाट चर्चा भइरहेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट सगरमाथा र नेपालकै बद्नाम हुने गरी समाचार सम्प्रेषण भइरहेका बेला सरकारले कुनै औपचारिक प्रतिक्रिया दिइरहेको छैन । बरु एक कदम अघि बढेर नेपाली शेर्पा आरोही नै सगरमाथाको बचाउमा उत्रिएका छन् ।
सगरमाथामा मानव पाइला पुगेको ६६ वर्षको इतिहासमै सबैभन्दा ठूलो संख्यामा यस वर्षको वसन्त ऋतुमा विश्वभरका आरोहीले सगरमाथा शिखरमा पाइला राखेका छन् । शिखरमा पुग्ने बेला ट्राफिक जाम भएको तस्वीर विश्वभर भाइरल भएपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान खिचेको थियो ।
“सगरमाथा, गौतम बुद्ध र पृथ्वीनारायण शाहचाहिँ कहिल्यै छुटाउनुहुँदैन । पृथ्वीनारायण शाह छैन भने हाम्रो नेपाल अहिले हुन्थ्यो ? नेपाल बनाउने त पृथ्वीनारायण शाह हो नि । देश बनाउने राष्ट्र निर्माता हो भनेर मैले पृथ्वीनारायणको शालिक माथि लिएर गएँ।”

सगरमाथामा भीडभाडकै कारण धेरैको ज्यान गएको दाबी गरिए पनि सरकार र सगरमाथाका कीर्तिमानी आरोहीहरुले त्यसको खण्डन गरेका छन् । विश्वभर सगरमाथा र नेपालको सन्दर्भमा अनेक खबर फैलाइएको सन्दर्भमा अनलाइनखबरले कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पासँग वास्तविकता बुझ्ने प्रयास गरेको छ ।
यही सिजनमा एक दिनभित्र दुईपटक सगरमाथा आरोहण गरेका र हालसम्म २० पटक शिखरमा पुगिसकेका कीर्तिमानी आरोही पेम्बा सगरमाथाबाट फर्किएलगत्तै अनलाइनखबरको स्टुडियोमा आइपुगे । उनी हामीसँग कुरा गर्नै लाग्दा अष्ट्रेलियाको एक पत्रिकाले लेख्यो-सगरमाथामा त्रास, लास र फोहोरको चुनौति ।
के सगरमाथा असुरक्षित बन्दैछ ? यो प्रश्न उनीसँग गर्नुअघि पेम्बाले सगरमाथामा कीर्तिमानका नाममा विदेशीहरुले अश्लील हर्कत गर्ने गरेकोमा आक्रोश पोखे । सगरमाथा चर्चाले विश्वका सञ्चारमाध्यम भरिएका बेला सगरमाथामै १० वटा फरक-फरक कीर्तिमान कायम गरेका स्पिड आरोही पेम्बासँग गरिएको भिडियो वार्ता प्रस्तुत छ ।
तपाईले सगरमाथामा करीव एक दर्जन कीर्तिमान बनाइसक्नुभएको छ, अब के गरौं भन्ने रहर छ त्यहाँ ?
मेरो खासै कुनै रहर छैन । कीर्तिमान बनाउन भनेर चढ्ने पनि होइन । परिवार पालनका लागि हिमालमा जाने हो । एउटा रहर चाहिँ थियो, एकै परिवारका सबैभन्दा धेरै सदस्यले आरोहण गरेको रेकर्ड बनाउने । त्यो पनि अघिल्लो वर्ष पूरा भइसकेको छ ।
मेरो घरका ७ जना सदस्यले सगरमाथा चढिसक्यौं । मेरा भाइ, बहिनी, श्रीमती सबैले चढिसके । मेरी श्रीमती कान्छीमाया तामाङ र मैले संयुक्त रुपमा पनि रेकर्ड कायम गरिसकेका छौं ।
अब म ५ वर्षजति हिमाल चढ्छु । त्यसपछि सामाजिक काममा लाग्ने योजना बनाएका छौं । अहिले पनि हामीले २६५ बालवालिकालाई पढाइरहेका छौं । अब ती बच्चालाई पढाएरमात्र होइन, उनीहरुको पनि भविश्य हेर्नुपर्छ भनेर लागेका छौं ।
धेरैजसो आरोही चाहिँ हिमाल चढ्न छाडेपछि अमेरिकातिर सेटल हुने गर्छन्, तपाई चाहिँ सामाजिक काममा लाग्ने ?
म अमेरिकामा गएर फर्किएको मान्छे । मलाई अमेरिका मन पर्दैन । अमेरिकाचाहिँ मानव अधिकार भएको देश भन्छन्, तर बसेर काम गर्न पनि नपाइने । उठेको उठ्यै गर्नुपर्छ ।
मैले अमेरिकाको ग्रीडकार्ड छाडिसकेको छु । धेरै देशले नागरिकता अफर गरे । तर, म बस्न मानिनँ । मलाई मेरै देश प्यारो छ । यही देशमा मैले वर्षमा एक सय जनालाई आरोहणमा रोजगारी दिन्छु । यही माटोमा जीवन बिसाउनेछु ।
साभार -अनलाइनखबर

