२०४६ सालमा देसमा दोश्रो पटक प्रजातन्त्र स्थापना भए पश्चात कांग्रेस कम्युनिस्टहरुले पुर्व पन्चहरु लाई छि छि र दुर दुर गर्न थाले । कांग्रेस र कम्युनिस्ट मात्र नभएर मदेसी राजनीतिको नाउँमा सद्भावना पार्टीको गठन समेत भयो । राजनीतिक पार्टी खोलेर निर्वाचनमा भाग लिन पाउनु सबैको नैसर्गिक अधिकार हो तर पुर्व पन्चहरु माथि ‘पालाको पैँचो’ भन्दा ढुंगामुढा गर्न थाले । २०४६ सालमा पशुपति शम्सेर राणाको निजि सवारीमा भएको तोडफोड त्यसको साक्षी र प्रमाण बनेर उभिएको थियो ।
आफुहरु माथी कांग्रेस तथा कम्युनिस्टहरुले खेदो खनेको देख्दादेख्दै पनि पुर्व पन्चहरु एकजुट भएर पार्टी खोल्न सकेनन । पुर्बेली रा.प्र.पा (थापा) र पश्चिमेली रा.प्र.पा (चन्द) बनेर सुरु गरेको बहुदले राजनीतिले पार्टीलाई फाईदा भन्दा घाटानै पुगेको महशुस गर्दै एकीकरणको नाटक पनि भएकै हो । बिरगंजको अधिबेसनमा चतुर स्व.सुर्य बहादुर थापाको आगाडी आफ्नो प्यानल पछी परेको देख्न नसकेर लोकेन्द्र बहादुर चन्दले सभामा खुट्टा टेक्ने हिम्मत पनि गरेनन ।
रा.प्र.पा लगाएत सबै रास्ट्रबादी शक्तिहरु एक भएको भए २०६४ सालमा कांग्रेस र कम्युनिस्टको बर्को ओढेका सकुनीहरुले जनता मस्त सुतेको मौका पारेर धर्म निरपेक्ष गणतन्त्रको घोषणा गर्ने हिम्मत पक्कै पनि गर्दैन थिए ।
कांग्रेस हुन या कम्युनिस्ट यिनीहरु जन्मजात नेपाली राजनीतिक पार्टी हैनन । यी दुवै पार्टीको जन्म (कांग्रेस २००४) (कम्युनिस्ट २००६) भारतको कलकत्तामा भएको हो । खाँटी नेपाली पार्टी भएको भए प्रजा परिषदका नेता टाँक प्रसाद आचार्यले जसरि राणा शाहीको जेल नला देखि नडराएर नेपालमै पार्टी खोल्ने हिम्मत गर्थे होलान । बिदेसीको भूमिमा खोलिएको पार्टीले देस र जनताको हित गर्छ भनेर तिनीहरुले चलाएको २००४ साल देखि आजको मिति सम्ममा भएको क्रान्ति देखि आन्दोलनले देस र जनताको हित गर्यो कि बिदेसिको त्यो बताई राख्नु नपर्ला ।
२०६४ सालको घटना पछी सामाजिक संजालमा आफुलाई राजाबादी देखि रास्ट्रबादको अकबरी जलप लगाएर फेरी लगाउने असंख्य समुह छन । सबैको मुखमा रास्ट्रबाद र राजतन्त्र छ तर रानो हराएको मौरी जस्तो भुनभुनाउन बाहेक अरु केहि जानेको छैन ।
रा.प्र.पा अर्थात हिन्दुधर्म र राजतन्त्रको वकालत गर्ने पार्टी । त्यहि पार्टी पनि ३/४ खेमामा विभाजित छन । त्यहि मध्ये कमल थापाको पार्टीले समय समयमा हिन्दु रास्ट्र र राजतन्त्र जिन्दाबाद भन्ने गगनभेदी नारा लगाउन छाडेको छैन तर कमल थापाको पार्टीलाई आफुलाई सच्चा देशभक्त, राजभक्त रास्ट्रबादी भन्नेहरुले धारे हात लाएर सराप्न भने छाडेका छैनन । जुटन नजान्ने तर सराप्न जान्नेले देसमा राजतन्त्र सहितको हिन्दुरास्ट्र नेपाल कसरि बनाउन सक्छन ?
पंक्तिकारसंग दरबार देखि तरबार सम्मको मित्रता कायम छ । गाउँ टोलमा हेर्ने हो भने आफुले पटक पटक मत दिएर जिताएको नेताहरुको विलासी सैली देखि वाक्क भएकाहरु भित्र भित्रै मुर्मुराएको राम्रै संग अनुभव गर्न सकिन्छ । कुनै कार्यक्रममा जानको लागि उर्दी आयो भने पालना गर्छन तर नेताहरुको भाषण सुरु हुना साथ लाज सरम पचाएर उठेर हिड्नेको लर्को पनि कमि छैन । हज्जारौको संख्यामा जुटेको भिड घण्टाभर नपुग्दै सयको संख्यामा पुग्नु भनेको नेताहरुको काम गराई र खोक्रो भाषणको करामत हो भनेर सजिलै लख काटन सकिन्छ ।
‘जसको हातमा तरबार उसैले जोड्छ घरबा’र भन्ने थेगो त्यसै जन्मिएको हैन । यहि थेगो पछ्याएर बडामहाराजाधिराज पृथ्बी नारायण शाले नेपाल राज्यको एकिकारण गरेका हुन । तरबारकै बलले राणाशाहीको उदय भएको थियो । ‘कोतपर्व’ देखि ‘भण्डारखाल पर्व’ साक्षी प्रमाण हुन । राणा देखि पंचायती शासनको बिरुद्धमा जनता उचाल्ने कांग्रेसले पनि पटक तरबार बोकेकै हो । तरबारले मात्र नभएर नेपालमा बम पड्काउन सिकाउने पनि कांग्रेसीहरु नै हुन भने भने कम्युनिस्टले कांग्रेस संग लगन गाँठो कसेर प्रजातन्त्र देखि गणतन्त्र समेत जोडेकै हुन ।
घरबार जोडे पछी ‘प्रजा मोटा भया दर्बार बलियो रहन्छ’ भन्ने हेक्का न राणाले राखे न कांग्रेस देखि कम्युनिस्टकाहरुले राखे । जनताको घरबार जोड्नुको साटो आफ्नो र आफ्नाहरूको मात्र घरबार जोड्दै हिंडेका छन । त्यसो हुनु भनेको ‘भाई फुटे गँवार लुटे’ हुनु हो । पटक पटक बिदेसीहरु बाट ठगिनु त्यसैको पुख्ता प्रमाण हो ।
सामाजिक संजाल फेसबुकको म्यासेन्जर एपमा पंक्तिकारलाई देस डुब्यो, बर्बाद भयो, हामि नामर्द जस्तै भयौ । देस डुबेको टुलुटुलु हेर्न बाहेक अरु केहि गर्न सकेनौ भन्नेहरु थुप्रै छन । के महिला के पुरुष सबैको गुनासो एकै प्रकारको छ ।
पुराना पन्चहरुकै कुरा गर्ने हो भने रा.प्र.पा राणा खेमामा पुराना पाका नेताहरुको बर्चस्व कायम छ । थापा समुहमा दोश्रा पुस्ताका नेताहरु छन । पुरानाहरु अझै पनि सामन्ती सोच बोकेर हिडने गर्छन । कमल थापाको अगुवाईमा जानु भन्दा छुटै पार्टी खोलेर बस्नु राम्रो भन्छन । प्रमाणको लागि पटक पटक जुटन ठिक्क परेको तर जुटने हिम्मत नगरेको पनि देखिएकै हो । जुटन अथवा एकीकरण हुन् नसक्नु भनेको कमल थापा जस्ता जुनियरको मातहतमा हामि बरिस्ठहरु कसरि बस्न सक्छौ भन्ने अहंता हो ।
कम्युनिस्टहरु राजतन्त्रको दुश्मन हुन । धर्म मान्नु पर्छ भन्ने जरुरि पनि छैन भन्छन । गणतन्त्र र धर्म निरपेक्षता कम्युनिस्टको मूल मन्त्र हो तर २००४ सालमा राजा संग मिलेर क्रान्ति गर्ने देखि कांग्रेस पार्टीमा आस्था राख्ने खाँटी कांग्रेसीहरुलाई आफ्नै पार्टीका नेताहरु कम्युनिस्टहरु संग मिलेर देसमा धर्म निरपेक्षता देखि गणतन्त्र लादीएको मन पराएका छैनन तर कांग्रेस पार्टीका बरिस्ट नेताहरुनै बिदेसिको ईसारामा नाचेको देख्दादेख्दै पनि आफ्ना पार्टीका नेताहरुको बिरोध भने चै किन गर्न सक्दैनन ?
यदि नेपालमा हिन्दु रास्ट्र सहितको राजतन्त्र पुनर्स्थापना हुनु पर्छ भन्ने मान्यता राख्ने हो भने कांग्रेस हुन या पुराना पन्च, राजाबादी हुन या रास्ट्रबादी सबै एक जुट भएर ईन्कलाबी नारा घन्काउन सक्नु पर्दछ । एकले आर्कालाई धारे हात लाएर सराप्न छाड्ने देखि एकले आर्काको अस्तित्व स्वीकार्न सके भने देस २०४६ सालकै स्थितिमा फर्किन कर लाग्छ भन्ने यो पंक्तिकारको ठम्याई हो ।
प्रकाशित मिति: २०७६/०१/०५

