शुक्रबारबाट सुरु हुने यूएईविरुद्धको एकदिवसीय र टि-२० अन्तर्राष्ट्रिय श्रृंखला खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्दैछ। एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले खेल्न लागेको यो दोस्रो एकदिवसीय श्रृखंला हो। नेपालले यही माघ ११, १२ र १४ गते एकदिवसीय शृङ्खला र माघ १७, १८ र २० मा टी–२० शृङ्खला खेल्नेछ। युएई भ्रमणका लागि पारस खड्काको कप्तानीमा १६ सदस्यीय नेपाली टोली यसअघि नै घोषणा भैसकेको छ।

यूएईतर्फ प्रस्थान गर्नुअघि मंगलबार नेपाली टोलीका कप्तान कप्तान पारस खड्कासँग गरिएको कुराकानी:
शृङ्खलाकालागि नेपालको तयारी कस्तो छ?
तयारी राम्रै भएको छ। १६ जनाको टिम गइरहेका छौं। अर्को एउटा एकदिवसीय अन्तर्राष्ट्रिय (वान डे) खेलेपछि हामी वान डेको विश्व वरियतामा पनि आउने भएकाले र भविष्यमा पनि हरेक म्याचको प्वाइन्ट कलेक्ट हुने भएकाले हामीलाई जतिसक्दो बढी प्वाइन्ट कलेक्ट गर्ने अवसर छ। देशका लागि खेलिने प्रत्येक म्याच महत्वपूर्ण हुन्छन्। नेपालले अबको तीन चार वर्षसम्म खेल्ने हरेक सीरिज अन्तर्राष्ट्रिय हुने भएकाले प्रत्येक म्याच महत्वपूर्ण छन्।
वान डे राष्ट्र भइसकेपछि हरेक रिजल्टहरु रेकर्डमा जान्छन्। प्रत्येक रिजल्ट चाहीँ संसार भरको क्रिकेटिङ राष्ट्रले हेर्छ। हामी आशा गर्छौ कि अर्को दुईवर्षमा ठूलो टेस्ट खेल्ने राष्ट्रसँग पनि म्याच खेल्नेछौं। त्यसका लागि हामीले अहिले हाम्रा लेभलका राष्ट्रसँग राम्रो खेल्नैपर्छ। यो लेभलमा राम्रो गरे ठूला राष्ट्रहरुसँग खेल्ने अवसर मिल्ने हो।
एकदमै युवा टिम छ। अनुभवी खेलाडी शरद भेषावकरको अनुपस्थिती युवा खेलाडीले पूरा गर्लान त?
शरदको अनुपस्थिती हुनु दुर्भाग्य हो। बिरामी भएपछि कुनैपनि खेलाडीले केहीपनि गर्न सक्दैन। तर, अनुभवी खेलाडीलाई मिस त गरिन्छ।
मैले सधै भन्ने गरेको छु, व्यक्तिगत रुपमा खेलाडी आउने-जाने भैरहन्छ। टिमवर्क महत्वपूर्ण हो। टिममा प्रतिस्पर्धा बढेको छ। जुन युवा खेलाडीलाई हामीले लिएका छौं। उनीहरुलाई पनि राम्रो बनाउँदै लैजानुहुन्छ। मिडियालाई पनि उनीहरुका विषयमा अहिलै धेरै आलोचना नगरिदिन अनुरोध गर्दछु। किनभने उनीहरु ग्रुमिङ स्टेजमा छन्। एकै चोटी कोही राम्रो खेलाडी बन्दैन्। अहिलेदेखि नै बिल्डअप गर्दै आगामी वर्षमा भन्न सक्छौं को खेलाडी कस्तो छ भनेर। घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेका जति खेलाडीलाई हामीले पोटेन्सिल, क्यारेक्टर हेरेर लिएका छौं। त्यसले टिममा स्वास्थ्य प्रतिस्पर्धा बढेको देखाउँछ। टिममा प्रतिस्पर्धा बढ्छ भने प्रत्येक खेलाडीले टिममा आफ्नो स्थान सुरक्षित गर्न प्रदर्शन गर्नैपर्छ। त्यसले टिमलाई फाइदा पुग्नेछ। हामीले छानेका खेलाडीहरुले चाहीँ आफूले आफूलाई व्यवस्थापन गर्न सक्नेछन् भन्ने आशा गरौं।
सधै हाम्रो ओपनिङमा समस्या देखिएको छ। यसपटक त्यसको समाधानका लागि के प्रयास भएको छ?
ओपनिङलाई लिएर धेरै प्रश्न छन्। मलाई लाग्छ, ओपनिङ गर्नु सजिलो कुरो हैन्। हामीले धेरै ओपनर ट्राइ गरौं। यसअघि प्रतियोगिताको दबाब कस्तो हुन्थ्यो भने हामीले राम्रो गरेनौं भने हामी प्रतियोगिताबाट बाहिरिनुपर्ने अवस्था रहन्थ्यो। तर यसपटक त्यस्तो छ। अब भने ओपनरले रन हानोस, नहानेस या मिडिल अर्डरले रन हानोस् टिमले जित्नु आवश्यक हुन्छ। हामीले ब्याटिङ, बलिङ र बलरमा राम्रै गर्नुपर्छ। हामीले ब्याटिङ र ओपनिङमा हाम्रो उत्कृष्ट दिनैपर्ने हुन्छ। खेलाडीका रुपमा जे जति सक्छौं हामी क्षमताअनुसार हरेकले व्यक्तिगत रुपमा सक्दो प्रयास गरिरहेका छौं। हामीलाई पनि ब्याटिङका रुपमा निरन्तर शशक्त प्रदर्शन गर्न मन छ र त्यसका लागि सक्दो प्रयास गर्नेछौं।
सधैँ मिडिल अर्डरमा खेल्ने तपाई आफैले यसपटक ओपनिङ आउने गरि तयारी गर्नुभएको हो?
सायद… हेरौं। कस्तो खालको अवस्था आउँछ। टिम व्यवस्थापनले त्यो अवसर(ओपनिङ) मलाई दिन्छ भने म टोलीको लागि जुन स्थानबाट पनि खेल्न तयार छु। मैले मेरो करिअरमा सधैँ मिडिल अर्डरबाट खेलिरहेको थिए। गतवर्ष नामिबियाविरुद्धको खेलपछि भने तेस्रो नम्बरमा खेलिरहेको थिए। तेस्रोबाट पहिलोमा गएर रोल पूरा गर्नुपर्छ भने म तयार छु। सबैभन्दा महत्वपूर्ण कुरा भने हामीले जहाँबाट खेलेपनि रन बनाउँनुपर्छ। टिमलाई चाहेको बेला रन बनाउँन सकिन्छ भने त्यो महत्वपूर्ण कुरा हो। यदि त्यो अवसर(ओपनिङ) आउँछ भने म दुवै हातले स्वीकार्न तयार छु।
नियमित कप्तान रोहन मुस्ताफा लगायत यूएईका महत्वपूर्ण खेलाडीहरु निलम्बनमा छन्। त्यसले नेपाललाई फाइदा पुग्ने हो?
यूएई राम्रो टिम हो। चार जना खेलाडीहरु निलम्बनमा परेर केही खेलाडी नयाँ भएपनि उनीहरु निरन्तर क्रिकेट खेलिरहेका हुन्छन्। उनीहरु क्रिकेटिङका हिसाबले नयाँ हुदैँनन्। यूएईका लागि पहिलोचोटी प्रतिनिधित्व गर्ने तीनचार जना होलान। हामीले ती नयाँ बाहेक बाँकीसँग खेलिरहेका छौं। हेड टू हेड हेर्ने हो भने पनि नेपाल र यूएईबीचको प्रतिस्पर्धा बराबरीको नै छ। यो पाली भने हामीसँग पहिलो वान डे सिरीज जित्ने अवसर छ। विपक्षीले के गर्छ, कस्तो छ भन्दा पनि हामीले टिमका रुपमा हाम्रो पोटेन्सियल बमोजिम खेल्नुपर्छ। शुक्रबारबाट जब सिरिज सुरु हुन्छ, हामी आफ्नो उत्कृष्ट प्रदर्शन दिन सक्षम हुनेछौं भन्ने आशा छ।
सधैँ हाम्रो बलिङ भन्दा ब्याटिङ निकै कमजोर देखिएको छ। यसपटक पनि हामी बलिङको शक्तिमा रुपमा हामी जादैँछौं कि नेपाली ब्याटिङ पनि मजबुद बनेको छ?
अब हामीले त्यो ब्याटिङ कमजोर, बलिङ बलियो भन्ने jहस बन्द गर्नुपर्छ। २०२३ सम्म हामीसँग एक दिवसीय मान्यता छ। यसबेला सम्म हामीले ब्याटिङ कमजोर, बलिङ कमजोर, फिल्डिङ कमजोर भन्नुभन्दा पनि टिमका रुपमा हामी कसरी राम्रो गर्न सक्छौं भन्नेमा केन्द्रीत हुनुपर्छ। ब्याटिङ भन्ने कुरा एकै रातमा राम्रो बन्ने कुरा होइन। समय लाग्छ। तर कडा मेहनतले त्यो अवश्य सुध्रिनेछ। क्रिकेटमा सबै पक्षको तालमेल मिल्नुपर्छ। यदि बलिङ, फिल्डिङ राम्रो गर्न सकेन् भने व्याटिङले कभर गर्नुपर्छ। यदि व्याटिङ सोचेको जस्तो चल्न सकेन् भने बलिङ र फिल्डिङले कभर गर्नुपर्छ। यस्तो भएमा क्रिकेटमा राम्रो नतिजा निस्कन्छ। हामी यस्तै दृष्टिकोणबाट अगाडि बढ्नेछौं। र राम्रो नतिजा निकाल्ने पक्षमा छौ। हाम्रो व्याटिङ तपाइले भनेजस्तै अलि सुधार्नु पर्नेछ। हामी त्यसमा ध्यान दिन्छौं।
यो शृखंलाबाट नेपाली टोलीको पुस्तान्तरण पनि भएको हो?
मलाई लाग्छ एकवर्ष अघिदेखि नै हामी नयाँ पुस्तामा पुगिसक्यौं। यो धेरै युवा टोली छ। चारपाँच जना भन्दा बाहेक सबै युवा खेलाडी छन्। हामीसहित नयाँ पुस्ताका खेलाडीका लागि चुनौती ठूलो छ। हाम्रो क्रिकेटको स्तर बढेको छ। हामीलाई हरेक राष्ट्रले हेरिरहेको छ। आगामी दिनमा राम्रो गर्नुपने दबाब छ। हामी वल्र्ड क्रिकेटिङ जाइन्टसँग खेल्ने इच्छा राख्छौं भने यो लेभलमा राम्रो प्रदर्शन गर्नुपर्छ। नेपाल भर्सेस अस्ट्रेलिया होस् या नेपाल भर्सेस यूएई, यो ओडिआई हो। प्रत्येक रेकर्ड काउन्ट हुन्छ र सबैले प्रदर्शन दिनैपर्छ। त्यसले हाम्रो राष्ट्रको स्तर बढाउँछ। हामीले एकत्रित भएर खेल्नुपर्छ। नयाँ तथा पुराना खेलाडीको संयोजनले टिम बलियो बन्छ। यसरी हामीले आगामी दिनमा राम्रो गर्न सक्छौं।
-साभार- नेपाल खबर

