जगन्नाथ काफ्ले -आफ्नो गाउँ/नगर पालिकाका हरेक क्रियाकलापहरुको नियमित रुपमा अनुगमन-मुल्यांकन-सुधार गर्नु पर्दछ । हामी जुन लक्ष लिएर समृद्द नेपालको निमित्त आफ्नो गाउँ/नगरपालिकाबाट समाजको हरेक आयाममा पुनर्संरचना, विकास निर्माण र उद्यमशीलताको काम गर्छौँ; पूर्णता कहिल्यै पनि हुदैन किनकि उन्नतिको सीमा नै हुदैन । तैपनि आ-आफ्नो गाउँ/नगर पालिकाको क्षमता अनुसार आफ्नो ईलाका भित्र लक्षित गरिएका कामहरु कुन गुणस्तर र मात्रामा सम्पन्न गरियो, त्यसलाई पछाडी फर्केर कार्यसम्पादनको लेखाजोखा र आवस्यक परेको खण्डमा सुधार गर्नु जरुरी रहेको हुन्छ । यसको निमित्त एउटा लक्षित उद्देश्यमा कत्तिको फरक आयो या बिचलन भयो, त्यसको निमित्त अनुगमन, अवलोकन, मुल्यांकन र सुधार संयन्त्र अथवा पद्दतिको ब्यबस्था गर्नु पर्दछ ।
नेपाल सरकारले सरकारीस्तरबाट गरेको विकास निर्माणको अनुगमन तथा मुल्यांकन सम्बन्धमा एउटा छुट्टै ईकाई एबम गाउँ/नगर पालिकाको प्रमुखको संयोजकत्वमा ५ सदस्यीय अनुगमन तथा मुल्यांकन समिति प्रस्ताब गरी आफ्नै प्रकृतिको संस्थागत संयन्त्र र प्रक्रियाको प्रवन्ध गरेको छ । तर, सरकारी संयन्त्र भन्दा बाहिर रहेका विकास अभियन्ताहरुले सरकारमा मात्र भर नपरी बृहत बिषयगत रुपान्तरणको निमित्त अझ परिमार्जित हिसाबले एउटा स्वतन्त्र र दक्ष व्यक्तित्वहरु रहेको संयन्त्र बनाउनु पर्दछ जसले “रेक्टीफिकेशन र रिकन्सीलिएशन” को काम गरोस । नियमित रुपमा गरिने अनुगमन, अवलोकन, मुल्यांकन र सुधारको काम एउटा निरन्तर अन्त्यहीन प्रक्रिया हो; जसले उन्नतिको हरेक चरणमा समृद्दीको स्तरोन्नति गराउदै लैजान सहयोग गर्दछ ।
दरिलो अनुगमन र मूल्यांकन पद्धतिले नै रुपन्तरणको कार्यलाई बढी प्रभावकारी, मितव्ययी र नतिजामुखी बनाउछ । त्यसैले समृद्दिका सन्दर्भमा गरिएका कुनै पनि परियोजनाहरुको कार्यान्वयन गर्दा अनुगमन कसले, कसरी गर्ने, त्यसको तौरतरिकाहरु के के हुने, अनुगमनबाट देखिएका कुराहरूका आधारमा कार्यान्वयन पक्ष कसरी सुधार्ने जस्ता कुराहरु समेट्नु पर्दछ| नियमित मूल्यांकन कुन निकायले कसरी गर्ने र उत्तरदायित्वको पक्ष कस्तो हुने भन्ने कुरा स्पष्ट हुनु पर्दछ । नियमित अनुगमन, मूल्यांकनको निमित्त विभिन्न बिधि र पद्दति(Model)हरुको प्रयोग गर्ने त छदै छ । तर पनि कम्तिमा के के कुराहरुमा लक्षित भईयो भने राम्रो नतिजा प्राप्त गर्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । मुल्यांकनका आधार र पद्दतिहरु तोकेर कम्तिमा बार्षिक रुपमा आफ्नो गाउँ/नगरमा सरोकारवालाहरुको सक्रिय सहभागितामा मुल्यांकन गर्ने परिपाटी बसाल्नु पर्दछ ।

रुपान्तरणको निमित्त लक्ष निर्धारण गर्नु, निर्धारित लक्ष बमोजिम कार्य सम्पादन गर्नु, कार्य सम्पादनको प्रभावकारिता जांच गर्नु, सामाजिक प्रभाव मुल्यांकन गर्नु र दीगोपनको मुल्यांकन गर्नु चाहिं प्रमुख उद्देश्य रहन्छ । यसै गरी रुपान्तरण मूल्यांकनका आधार तय गर्ने, मूल्यांकनका आधारलाई भार दिने, लक्षित् समुहहरु संग सामुहिक छलफल गर्ने, सरोकारवालाहरुसंग प्रतिक्रिया तथा अन्तर्वार्ता लिने, अन्य आवस्यक सूचनाहरुको संकलन गर्ने, विभिन्न दस्तावेजहरुको प्रतिबेदन हरु अध्ययन गर्ने, सम्पादित परियोजनाहरुको अनुगमन मुल्यांकन गर्ने, मुल्यांकन आधारको भार बमोजिम कार्यसम्पादन जांच गर्ने र रुपन्तरणको लक्ष्य/उद्देश्यमा के कति कस्तो प्रभाव (impact) पर्यो त्यसको मूल्यांकन गर्ने कामहरु मुल्यांकन विधिमा पर्दछन ।
नेपालले अहिले सम्म अभ्यास गरेका अनुगमन तथा मुल्यांकन पद्दति अत्यन्तै परम्परागत प्रकृतिको छ । केवल औपचारिकताको निमित्त प्रक्रिया पुरा गर्ने खालको छ । अबको मुल्यांकन पद्दति बैज्ञानिक प्रविधिको प्रयोग गरेर नियमित आधारमा गर्नु पर्दछ । तल उल्लेखित केहि महत्वपुर्ण तथ्यहरुलाई पद्दतीको रुपमा नै स्थापित गरेर नतिजामुखी अनुगमन र मुल्यांकन गरेर रुपान्तरणको नियमित स्तरोन्नति गर्नु पर्दछ ।
-समग्र गाउँ/नगरको कार्य सम्पादन र सरोकारवालाहरुको समेत कार्य सम्पादनलाई मुल्यांकन पद्दतिमा समावेश गराउने ।
-ई डाटा बैंकका मध्यम बाट नियमित रुपमा व्यक्ति, संस्था या कुनै पनि सरोकारवालाहरुको व्यक्तिगत क्रियाकलाप, संस्थागत क्रियाकलाप एबम समाजका सम्पूर्ण सरोकारवालाहरुको समाजिक-आर्थिक क्रियाकलाप र कार्य सम्पादन नियमन गर्ने ।
-सरकारी कर्मचारी तथा जनप्रतिनिधिहरूका क्रियाकलाप र कार्यसम्पादनलाई नियमन र पारदर्शिता कायम गराउने ।
-सार्वजनिक सरोकार सम्बन्धि सुचना र आर्थिक क्रियाकलापहरुको हदै सम्म पारदर्शिता कायम गराउने ।
-निश्चित संयन्त्र निर्माण गरी कुनै पनि परियोजना तथा विकास निर्माणको गुणस्तर, प्रभावकारिता, उत्पादकत्व र चुहावट जांच गर्ने ।
-लक्षित सूचकांक लाई हासिल गर्न सक्नु पर्दछ, यदि हासिल गर्न सकिएन भने के कस्ता कारण हरु बाधक रहे ती बाधक तत्वहरु एबम बिचलनलाई पत्ता लगाई समाधानका उपायहरु समेत पत्ता लगाउने ।
-कुनै पनि परियोजना कुन ब्यबस्थापक, कुन ठेकदार, कुन जनप्रतिनिधि र कुन कर्मचारीबाट सम्पादन भएका हुन्छन्, यदि विकास निर्माणको गुणस्तरमा प्रश्न चिन्ह आयो भने उनीहरुलाई सामाजिक उत्तरदायित्व बहन गराउने र यदि दोषी पाइएमा क्षतिपुर्ति भरणको पद्दति बसाल्ने ।
-कुनै पनि राजनैतिक, सामाजिक, आर्थिक, प्रशासनिक, प्राबिधिक पक्षका सरोकारवालाहरुको दक्षता, उत्पादकत्व र कमजोरीहरुको सन्तुलन कायम गराउने तथा पुरक निराकरण(suppliment remedies) कायम गराउने संयन्त्रको प्रबन्ध गर्ने अर्थात् एकमा भएको कमिकमजोरी अर्को संयन्त्रबाट पूर्ण गराउने प्रबन्ध गर्ने ।
-कुनै पनि सामाजिक तथा आर्थिक बिचलनहरुलाई सरोकार पक्षहरुलाई नै जिम्मेवार बनाई निराकरण गर्ने पद्दतिको विकास गर्ने ।
-कुनै पनि सकारात्मक परिवर्तनलाई स्वागत र नियमित पृष्ठपोषण गर्ने ।
यसरी अनुगमन र मूल्यांकनका आधारहरु सुरक्षित, सुखी, खुशी, स्वाबलम्बी, सहिष्णु र स्वचालीत समाज निर्माण गर्ने तर्फ केन्द्रित गर्ने र सुधार कार्यन्वयन – सुधार कार्यन्वयन – सुधार कार्यान्वयन नियमित प्रक्रियाको रुपमा पाठ सिक्दै समृद्दिका सूचकहरुमा निरन्तर रुपान्तरण – सुधार – रुपान्तरणमा समर्पित समाजको निर्माण गर्न सहज हुन्छ ।

