सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको छ। पहिलो सामाजिक सुरक्षा दिवसको अवसरमा हिजो मंगलबार विशेष समारोह गरेर कार्यक्रम घोषणा गरिएको हो। के हो सामाजिक सुरक्षा ? सरकारले तामझामका साथ घोषणा गरेको यो कार्यक्रमले श्रमिकहरूको लागि के काम गर्छ ? कसरी प्राप्त गर्न सकिन्छ यो सुबिधा लगायत बिषयमा मन्त्रि गोकर्ण बिष्टसंग ऋषि धमलाले गरेको कुराकानी :-
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रम आलोचकका लागि झापड भएको बताएका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँगकुरा गर्दै विष्टले कार्यक्रमको कार्यविधि नै बनिसकेको भन्दै कार्यान्वयन गराएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ८ महिना लगाएर ल्याइएको सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनका लागि सबैको सहयोग चाहिने उनको भनाई थियो ।
सामाजिक सुरक्षा कार्यक्रमको प्रचार प्रसारको सम्पुर्ण खर्च रोजगार दाताहरुले गरेका हुन, रोजगार दाताले स्वस्फुर्त खुसी मनाएका हुन, सरकारले यसमा खर्च नगरेको मन्त्री बिष्टको दाबि छ ।
यसै बीच सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको शुभारम्भ गरेपछि म्याग्दीका मजदुरले खुशीयाली मनाएका छन् । निजी क्षेत्रमा कार्यरत श्रमिक तथा मजदुरलाई लक्षित गरेर ल्याइएको उक्त योजनाको मजदुरले दीप प्रज्ज्वलन गरेर स्वागत गरेका हुन् ।
श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्न नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिम ऐन निर्माण भएको छ। यो ऐनको पूरा नाम ‘योगदानमा आधारित सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन’ हो। यो ऐनको दफा १० मा सामाजिक सुरक्षा योजनाबारे उल्लेख छ। यो दफामा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा, मातृत्व सुरक्षा, दुर्घटना सुरक्षा, अशक्तता सुरक्षा, वृद्ध अवस्था सुरक्षा, आश्रित परिवार सुरक्षा, बेरोजगार सहायतालाई सामाजिक सुरक्षाभित्र राखिएको छ।
सामाजिक सुरक्षा योजना अन्तर्गतको सुविधा प्राप्त गर्न श्रमिक, रोजगारदाता तथा स्वरोजगारमा रहेका व्यक्तिले नियमित रुपमा कोषमा जम्मा गरेको वा गर्नु पर्ने रकमलाई योगदान भनिन्छ। उदाहरणका लागि तपाईँ कुनै प्राइभेट कम्पनीमा काम गर्नुहुन्छ र तपाईँले आफ्नो न्यूनतम पारिश्रमिकको १० प्रतिशत कोषमा जम्मा गर्नुहुन्छ भने यो रकम योगदान हो। यसमा तपाईँको कम्पनीले २० प्रतिशत थप गर्छ। यो रकम नै योगदान हो।
यस्तो योगदान गर्ने व्यक्तिहरूमा सामाजिक सुरक्षा योजनामा सूचीकृत भएर सामाजिक सुरक्षा नम्बर लिएका श्रमिक, स्वरोजगारमा रहेका व्यक्ति, सरकारी सेवामा बहालमा रहेका व्यक्ति वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको सरकारी कोषबाट पारिश्रमिक पाउने व्यक्ति पर्दछन्।
योगदान गरेको ६ महिनापछि योगदानकर्ता सामाजिक सुरक्षा योजनाअनुसारको सेवा पाउन योग्य हुनेछन्। यसअन्तर्गत पेन्सन पाउन तपाईँले १५ वर्ष योगदान गरेको हुनुपर्छ। मानौँ, तपाईँ ५ वर्ष क कम्पनीमा काम गर्नुभयो र काम छोडेर ख कम्पनीमा जानुभयो भने पहिलेको ५ वर्ष सेवा अवधि पनि जोडिएर गणना हुन्छ।
सामाजिक सुरक्षा योजनामा औषधी उपचार तथा स्वास्थ्या सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजना, कोषले तोकेको अन्य सामाजिक सुरक्षा योजना पर्दछन्।
बाँकि कुरा सुन्न र बुझ्न मन्त्रि बिष्टसंगको कुराकानी हेर्नुहोस

