जगन्नाथ काफ्ले – फोहोरमैलाको उचित ब्यबस्थापन तथा वातावरण संरक्षण गर्नु समृद्द समाजको एउटा अर्को महत्वपूर्ण सूचक हो । घर, टोल सफा भए मन सफा हुन्छ । फोहोर ब्यबस्थापन भए रोग पनि ब्यबस्थापन हुन्छ । हाम्रो घर परिवार, बजार, उद्योग र सार्वजनिक क्षेत्रबाट उत्पन्न हुने फोहोर सामान्यतया ९५ प्रतिशत प्रोशाधन गरी आम्दानीको श्रोत बनाउन सकिने प्रकृतिका हुन्छन भने ५ प्रतिशतलाई मात्र बिसर्जन गर्नु पर्ने हुन्छ । यसरी उत्पन्न हुने फोहोर मैलालाई श्रोतबाट नै विभिन्न रंगका बास्केट वा डस्टविन राखेर बर्गिकरण गर्न सकिन्छ । आफ्नो गाउँ/नगरपालिका भित्रबाट उब्जिने कुनै पनि फोहोर मैलालाई श्रोत बाटै विभिन्न बास्केट एबम ढ्वांग मार्फत बर्गीकरण, संकलन र उचित ब्यबस्थापन गर्नु पर्दछ । थप प्राबिधिक एबम बैज्ञानिक दक्ष जनशक्ति र उच्च प्रविधिको प्रयोग गरेर ब्यबस्थापन गर्नु त छंदै छ । आफ्नै घर, परिवार, टोल, अफिस र वातावरणका फोहोर मैलालाई स्थानीय तहसंग समन्वय गरेर आधारभूत ब्यबस्थापन गर्न आजैबाट शुरु गर्नु पर्दछ ।
फोहरमैला बर्गीकरण:- फोहोर मैला बर्गीकरण गर्दा ब्यबस्थापन गर्न सहजताको आधारमा मुख्यत : ठोस र तरल पदार्थ नै हुन्छन ।
१. ठोस: हाम्रो वातावरणबाट उत्पादनहुने ठोस फोहरको श्रोतबाटै बर्गिकरण गरेर आधुनिक प्रबिधि मार्फत प्रशोधन गरी पुन: उपयोग र बिसर्जन गर्नु पर्दछ । ठोस फोहोरलाई मुख्य रुपमा चार प्रकारले बिभाजन गर्न सकिन्छ : १. जैविक २. अजैविक ३. मिश्रित र ४. घातक
जैविक: मानव स्वास्थ्य एबम प्राणी जगतलाई घातक नहुने र सहजै सड्ने/गल्ने एबम प्रांगारिक/कम्पोष्ट मल हुने जैविक पदार्थहरु यस भित्र पर्दछन । यस्ता फोहोरलाई प्रशोधन गरेर इन्धन, मल र दाना उत्पादन गरेर फोहोरलाई मोहोरमा परिणत गर्न सकिन्छ ।

अजैविक: सहजै नसड्ने नगल्ने प्रकृतिका अजैविक पदार्थहरु तथा फोहोर मैला कवाडी समानहरु यस बर्ग भित्र पर्दछन । प्लास्टिक, धातु, शिशा, कागज/कार्ड बोर्ड, काठका टुक्राहरू, झुत्रा कपडा र अन्य अबर्गिकृत तर नघातक(सिमेन्ट, ईटाको टुक्रा या अन्य ) प्रशोधन गरी पुन: प्रयोग गर्न सकिने लाई प्रशोधन गर्ने र प्रशोधन गर्न नसकिनेलाई केमिकल जाम गरी बिल्डिंग ब्लक बनाउने र त्यो पनि नसके उचित स्थानमा बिसर्जन गर्ने ब्यबस्था मिलाउनु पर्दछ ।
मिश्रित: नघातक तर एक भन्दा बढी प्रकृतिको फोहोर मिश्रित भएको श्रोतबाट छुट्टयाउन कठीन भएको फोहोर मैला यस भित्र पर्दछन । घर परिवार एबम श्रोतबाट बर्गिकरण गर्न नसके पनि उच्च प्रविधिको प्रयोग गरेर फोहोर मैला प्रशोधन केन्द्रमा यस्ता फोहोर मैलालाई बर्गिकरण र प्रोसधन बर्गिकरण गर्नु पर्दछ ।
घातक: प्राणी जगतलाई घातक हुने ब्याट्री, गिला ब्याट्री, बारुद, ड्राग, खतरनाक रासायनिक पदार्थ, निडल, प्राणघातक सरुवा एबं आणबिक पदार्थ, बिषादी आदिलाई श्रोत बाटै बर्गिकरण गर्दा अन्य फोहोरमैलासंग मिसाउनु हुदैन । नसड्ने, नगल्ने र सहजै पुन: प्रशोधन गर्न कठीन हुने खतरनाक काम नलाग्ने बस्तुहरुलाई बैज्ञानिक ढंगबाट ब्यबस्थापन तथा बिसर्जन गर्नु पर्दछ ।

ख. तरल : हाम्रो वातावारणबाट उत्पादनहुने तरल फोहरको आधुनिक प्रबिधि मार्फत तरल पदार्थलाई बर्गिकरण गरी ढल व्यवस्थापन, ढल निकास र शुद्धिकरण गर्न सकिन्छ । तरल पदार्थलाई बर्गीकारण तीन समुहमा बर्गिकरण गर्न सकिन्छ ।
१. फोहोर पानी २. तेलजन्य चिल्लो पदार्थ ३. रासायनिक एबम पेट्रोलियम पदार्थ
अधिकांश चर्पीबाट उत्पन्न हुने फोहोरलाई बिशेष प्रबिधि मार्फत मल र ग्यास उत्पादन गर्दा बिशेष आर्थिक लाभ प्राप्त गर्न सकिन्छ भने ढल निकासलाइ सिधै नदीमा मिसाउने प्रबृत्तिलाई अन्त्य गर्नु अत्यन्तै जरुरी छ । बस्तीको तल्लो इलाकामा ढलको पानी छानेर ठोसलाई मल बनाउने; हानिकारक केमीकल पदार्थ र तरललाई प्रशोधन गरी निकास गर्ने । यसै गरी वातावरण बाट निस्कने ढललाई प्रशोधन गरेर मात्र निकास दिनु पर्दछ ।
ल्यान्डफिल्ड साइटको व्यवस्थापन– हरेक गाउँमा होस् या शहरमा, फोहोर ब्यबस्थापन गर्नै पर्दछ । घर, टोल टोल अनि बजार जता सुकैबाट होस् सङ्ककलित फोहोर मैलालाई श्रोतबाटै संकलन र बर्गिकरण गरेपनि प्रशोधन र ब्यबस्थापन गर्नको निमित्त बस्तीबाट अलग्ग ल्यान्डफिल साइटको ब्यबस्था गर्नु पर्दछ । फरक फरक प्रकृतिका फोहोर ब्यबस्थापन गर्न फरक फरक प्रविधिको आविस्कार भएका छन् । हरेक ल्यान्डफिल साईटहरु फोहोरलाई मोहोर बनाउने उद्यमको रुपमा ब्यबसयिकता सिर्जना गर्ने पद्दति निर्माण गर्नु पर्दछ ।
सार्वजनिक शौचालयको उपलब्धता -गाउँ/नगरको हरेक सार्वजनिक क्षेत्र तथा सर्वसाधारणको बढी आवत जावत र जम्मा हुने ठाउँमा कम्तिमा एउटा सार्वजनिक शौचालयको व्यवस्था हुनु अनिवार्य छ । हरेक गाउँ/नगरपालिका इलाकालाई खुल्ला दिशा पिसाब मुक्त बनाएर वातावरण सफा राख्नु सबै नागरिकको कर्तब्य हो । सार्वजनिक सौचालयबाट पनि मिथेन ग्याँस उत्पादन गर्न सकिन्छ । साथै दीगो संचालनको निमित्त अति न्यून शुल्क निर्धारण गरेर त्यहाँबाट भएको आम्दानीले सरसफाइ र दीगो ब्यबस्थापन गर्न सम्भव होस् ।
एकपल्ट सोचौं ! “के म समस्याको कारक हुँ या समाधानको?” के हामीले हाम्रो नागरिक नैतिक जिम्मेवारी पुरा गरेका छौं त ?

दुवै फोटोहरु नदीका किनारमा बसाइएको सहरबाट लिईएको हो । माथीको फोटो हामीले हाम्रो राजधानी काठमाडौँबाट बहने बागमती नदी र शहर ब्यबस्थापनको हो, भने तलको फोटोमा हाम्रो निकट छिमेकी मुलुक भुटानको राजधानी शहर थिम्पुबाट बहने थिम्पु चु(थिम्पु नदी) र शहरको ब्यबस्थापनको हो । के फरक छ त ? हो, फरक छ त केवल विवेक र ब्यबस्थापनको; अनि समस्या र समस्य समाधन गर्ने पद्दतीको ।

बहन गर्नु पर्ने हाम्रा व्यक्तिगत, पारिवारिक र सामुदायिक दैनिक कर्तब्यहरु :
आफ्नो घर बगैचाको जैविक फोहरलाई घरमा नै कम्पोष्ट गरी मल बनाउने । हाम्रो घर/ब्यबसायबाट उत्पन्न भएका फोहोरलाई श्रोत बाटै बर्गिकरण गर्ने ।अजैविक फोहरहरु जस्तै- धातु, प्लाष्टिक, कागज, शिशा आदिलाई छुट्टै ब्यबस्थापन गर्ने । किनमेल गर्न बजार जाँदा प्लाष्टिक झोलाको सट्टा कपडाको झोला प्रयोग गर्ने । नगरपालिका तथा सामुदायिक समुहहरुले सञ्चालन गरेका वातावरणीय तथा सरसफाई सम्बन्धी कार्यक्रमहरुलाई सक्रिय रुपले समर्थन गरी सहभागी बन्ने । आफ्नो घर वरीपरी फुल बगैंचा तथा बोट विरुवा रोपौं र त्यसको संरक्षण गर्ने । आफ्नो सास्कृतिक सम्पदाको संरक्षण र स्याहार गर्ने ।आफ्नो टोल फोहरमैला मुक्त बनाउने । पानीको मुहान तथा श्रोतमा फोहोर मैला हुन नदिने । विभिन्न चेतनामुलक कार्यक्रमहरु आयोजना गर्ने ।
फोहोरमैला व्यवस्थापनका लागि आवस्यक साधनर जनशक्ति व्यवस्था गर्ने ।फोहोरबाटै मोहोर निकाल्न सकिन्छ, आर्थिक क्रियाकलाप सिर्जना गर्ने ।फोहोर ब्यबस्थापन गर्न प्रेरणा प्रदान गर्न उत्कृष्ट काम गर्ने लाई पुरस्कारको प्रवन्ध गर्ने ।फोहोर ब्यबस्थापन असहयोगीलाई दण्डको ब्यबस्था गर्ने ।खतराजन्य फोहरका लागि छुट्टै रातो भाडोमा राखी बैज्ञानिक ढंगबाट ब्यबस्थापन गर्ने ।स्वास्थ्य संस्थाहरुबाट उत्पादन हुने मेडिकलजन्य फोहर केमिकल, सुई, खतराजन्य एबम मानबीय पदार्थलाई बिशेष पृथक ढंगबाट दहन एबम ब्यबस्थापन गर्ने । निश्चित क्षेत्र तोकी ल्यान्डफिल साईट एबम फोहोर प्रशोधन केन्द्रको ब्यबस्थापन गर्ने । क्षेत्र बिषेशज्ञको सहयोग लिएर आवस्यक प्रक्रिया अनुसार ब्यबस्थापन गर्ने । टोल टोलमा वातावरण सुधार समूहहरू गठन गरी वातावरण सुधारको कार्यक्रम संचालन गर्ने । विविध जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्ने ।सार्वजनिक निजी साझेदारी अवधारणामा निजी क्षेत्रको सहभागिताका लागि जोड दिने ।आफ्नो क्षेत्रलाई खुला दिशा/पिसाब मुक्त क्षेत्र बनाउने ।
वातावरण संरक्षण: फोहोर मैला ब्यबस्थापनका साथै हाम्रो वातावरणको गुणस्तर सुधार सुधार गर्नु हामी सबैको कर्तब्य हो । हाम्रो गाउँ/नगरपालिका क्षेत्र भित्र हुने बन एबम बन्यजन्तु बिनाशलाई रोकेर बृक्षा रोपण एबम हरित क्रान्ति गर्नु अत्याबस्यक छ प्राकृतिक संसाधनको प्रयोग पुनर्नविकरण गर्न सकिने हद सम्म पुनर्नवीकरण गराउने संयन्त्र स्थापना गर्नु पर्दछ । जुन प्राकृतिक संसाधनहरुको भण्डारण रित्तिने सम्भावना हुन्छ, त्यस्ता प्राकृतिक संसाधनको सके सम्म कम प्रयोग गर्न स्थानीयवासीलाई चेतनशील बनाउनु आवस्यक हुन्छ । आफ्नो गाउँ/नगरपालिका क्षेत्र भित्र जैविक बिबिधता संरक्षण तथा ब्यबस्थापन गर्न बिशेष रणनीति अबलम्बन गरेर निश्चित क्षेत्रमा किल्ला तोकी संरक्षित् क्षेत्रको ब्यबस्थापन गर्नु पर्छ । संभावित बन बिनास, भुक्षय, डढेलो नियन्त्रणको निमित्त बिशेष कार्यक्रम तयार गरी स्थानीयलाई नै जिम्मेवार बनाउनु पर्दछ । हाम्रो वातावरणमा हुन सक्ने जमिन, हावा, पानी र ध्वनीको प्रदुषणलाई समयमै नियन्त्रण गरी आफ्नो र सन्ततिको भबिष्य सुन्दर र स्वास्थ्य बनाउन वातावरण संरक्षण गर्न हामी आफैं जिम्मेवार बन्नु पर्दछ ।
हरित पेटिका निर्माण र यसको संरक्षण: समृद्द मुलुकहरुमा बाटोघाटो निर्माण गर्दाको सडकको दायाबायांको केही भाग खुला हरित पेटिका (मध्यवर्ती क्षेत्र) छाडिन्छ । हामीले पनि आफ्नो गाउँ/नगरपालिका ईलाका भित्र विकास निर्माण र औद्योगिकरणका क्रममा जति पनि नयाँ संरचना निर्माण गरिन्छ हरेक ठाउँमा प्रसस्त खुल्ला हरित पेटिका र सम्भव भए सम्म फुल तथा बोट बिरुवा लगाएर वातावरण जोगाउन सकिन्छ । उअसै गरी मुख्य एबम सहायक राजमार्ग तथा स्थानीय बाटोघाटो बनाउदा सडक किनारमा प्रसस्त बृक्षा रोपण गर्ने; सम्भव भएसम्म मध्यवर्ती क्षेत्र र हरित पेटिका निर्माण गर्ने; यस्ता हरित पेटिकाले हाम्रो वातावरण स्वास्थ्य, सफा तथा सुन्दर बनाउन र दीगो विकास गर्नको निमित्त ज्यादै ठुलो काम गर्दछन ।
चीन सरकारले काठमाडौमा चक्रपथको निर्माण गर्दा पर्यावरणमा परेको असर कम होस् भनेर त्यसको दायाँ बायाँ तारवार घेरेर त्यो आफनै खर्चमा विभिन्न जातका रुख बिरुवा रोपेर नेपालको सरकारलाई हस्तान्तरण गरेका थिए । त्यसपछि सारा नेपालीहरुले यस बाट सुन्दरता एबम वातावारनीय फाइदा लिइरहेका छन् । पछिल्ला दिनहरुमा नेपालमा विभिन्न भागहरुमा केही मात्रामा हरित पेटिका निर्माण गरेपनि थप्रै सडकमाहरु प्रसस्त मात्रामा हरित पेटिका निर्माण नभएको विद्यमानअवस्था देख्न सकिन्छ । हाल एकमुठी ताजा स्वास लिन र हरियाली देख्न पनि शहर बजारवासीहरुलाई मस्किल भैरहेको परिवेशमा छ जसको कारणले गर्दा हामीहरु वातावरणीय रुपमा दिगो भविष्यतिर उन्मुख हुन र शहर बजार नजिक खुला अनि हरियालीको श्रृंखला हेरेर अनि ताजा स्वास लिएर बांच्न पाउनको लागि हरित पेटिकाको निर्माण र संरक्षणको महत्व हालको विद्यमान अवस्थामा झनै बढेर गएको छ ।
बृहत जिम्मेवारी : पृथ्वी हामी सबैको साझा घर हो । हाम्रो साझा घरलाई जोगाउनु हामी सबैको कर्तब्य हो । सामाजिक सद्भाव बढाउने क्रियाकलाप र हाम्रो वातावरण मैत्री ब्यबहारले यो साझा घरलाई जोगाउन सकिन्छ भन्ने कुरा हामी सबैले बुझ्नु जरुरी छ । हाम्रो दैनिक ब्यबहारमा समाजिक मानवीय सह अस्थित्व र सम्पूर्ण प्राणी जगतको सह अस्थित्व स्वीकार गर्न सक्नु नै यसको समाधान हो । पहिलो पक्ष हो सामाजिक सद्भाव बढाउनु । जुन स्तरको सामाजिक सद्भाव खलल हुन्छ, त्यहि स्तरको घातक हातहतियार, खतरनाक केमिकल, आणबिक विषाक्त प्रयोग हुन्छन्; द्वन्द, युध्द र बिनाश हुन्छ । चाहे स्थानीय समाज होस् , चाहे क्षेत्रीय समाज होस्, चाहे राष्ट्रीय समाज होस् या अन्तर्राष्ट्रीय समाज होस्, सोही अनुसारको सामाजिक सद्भाव सिर्जना गर्न नेतृत्वदायी भूमिका खेलौं दो।श्रो हो वातावरण मैत्री ब्यबहार गर्नु । आधुनिकीकरण र औद्योगिकरणको नाउँमा हाम्रो वातावरणलाई घात पुग्ने बिषादी तथा केमिकलको प्रयोग गर्नु, पर्यावरणीय/ओजोन तह क्षयीकरण गर्नु, प्राकृतिक संसाधनको बिनास गर्नु, वातावरणीय गुणस्तरमा ह्रास आउनु, फोहोर मैला उचित ब्यबस्थापन गर्न नसक्नु जस्ता मुख्य कारक तत्वहरु हुन् । समयमा नै आफ्नो घर, टोल, समाज, राष्ट्रीय र अन्तर्राष्ट्रीय वातावरणीय मैत्री(Eco Friendly) व्यवहार गर्न गराउन
नैत्रित्वदायी भूमिका निर्वाह गर्नु पर्दछ ।

