एक सर्भे इन्जिनियरको हिसाबले अहिले देखिएको सीमा विवादलाई कसरी अध्ययन गरिरहनु भएको छ ?
मैले नेपालको सीमाहरु अव्यवस्थित भइरहेको सम्बन्धमा व्यवस्थित बनाउनुपर्छ भनेर २०४९ सालदेखि नै अटूटजस्तै पत्रपत्रिका मार्फत अनुरोध गर्दैआएको छु । अहिले चरम विवादमा रहेको महाकाली नदीको उद्गमस्थल कहाँ हो भन्ने विषयमा हरेक पत्रपत्रिकाले प्रश्न उठाइरहेका छन् ।
महाकालीको उद्गम स्थल कहाँ हो त ?
मेरो भन्नु के मात्र छ भने १८१६ मा भएको सन्धिअनुसार लिम्पियाधुरा नै महाकाली नदीको उद्गम स्थल हो ।
जुन नदीको मुहानको विषयमा नै अझसम्म विवाद छ भने त्यो नदीमा भएको सन्धि वैधानिक हुन्छ कि हुँदैन ?
मेरो विचारमा उद्गमस्थल नै फेला नपरीकन त्यो नदीमा गरिएको सन्धिलाई मान्न बाध्य हुन सकिँदैन । महाकाली नदी भन्नासाथ त्यसको उद्गम कहाँ भन्ने थाहा हुनुपर्यो ।
महाकाली नदीको उद्गमस्थलको किटान नगरी सन्धि गर्दा तपाईँहरु जस्ता प्राविधिक मान्छेहरु किन बोल्नु भएन ?
म त एक नक्शा र नापीकर्मी मात्र हुँ ।
एक नापीकर्मीको हैसियतले भन्नुपर्दा उद्गमस्थल नेपालले देखाउन नसक्नुका पछाडि के कारण छ ?
यो विषय त सम्बन्धित व्यक्तिहरुले समयमा नै निक्र्यौल गरी राख्नुपर्ने विषय हो । उनीहरु सुविधा भोगी बनी कुनै चासो नराखी बसेकोले भारतले हाम्रा सुविधाभोगी अधिकारीलाई बिरालोले मुसो खेलाएझै खेलाइरहेको छ । हामी आनन्दसँग बसेकोले सबै भएको हो ।
तपाईँ नापी विभागको सर्भे इन्जिनियर रहनु हुँदा कालापानी क्षेत्रमा भारतीय सेना छन् भन्ने थाहा थिएन ?

हामीलाई जानकारी थियो । हामीलाई त्यसबेला बाहिर खटाइएको थियो । कालापानीमा भारतले सेना राख्यो भनेर त्यसबेला आवाज उठेको थियो । नापी विभागमा रहेका ४ ओटा शाखामध्ये स्थलगत नापी महाशाखामा म थिइनँ । त्यसबेला महाशाखामा पूण्यप्रसाद ओली हुनुहुन्थ्यो । उहाँले सीमा सम्बन्धमा धेरै लामो समय काम गर्नु भएको थियो । यो विषयमा बोल्ने जिम्मेवारी उहाँको थियो ।
अर्काले त्यो कुरा उठाएन भनेर तपाईँ चाहिँ किन चूप लाग्नु भयो ?
मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने म मौन बसेको छैन । आफ्नो सिमाना प्राणभन्दा प्यारो हुन्छ भन्ने कुरा मैले बराबर लेख्दै गरेको विषय हो । तर सुविधाभोगीहरुले चासो देखाएनन् ।
बारम्बार सुविधाभोगी भनिरहनु भएको छ, त्यो कसलाई इंगित गर्नुभएको हो ?
मैले जुन व्यक्ति पदमा बसेर गर्नुपर्ने काम गरेन त्यसलाई भन्न खोजेको हो । जसले अभिारा लिएर काम गर्दैन त्यसलाई नै इंगित गरेको हो ।
कालापानी सम्बन्धमा यहाँको सरकारको इच्छाअनुसार तपाईहरु नबोल्नु भएको हो ?
होइन, त्यो भन्नु राम्रो होइन । सरकारको किन साथ नदिनु । आफ्नो भूमि यहाँ छ भनेर हामीले १८१६ मा सन्धि भयो । सन्धिअनुसार आफ्नो नाप नक्शा तयार गर्नुपर्ने अथवा भार तनेपालको संयुक्त पहलमा नक्शा तयार गर्नुपर्ने हो । त्यस क्षेत्रको नक्शा तयार पारेका कुरा अहिलेसम जनतामा आएको छैन ।
नापी सम्बन्धी विज्ञता नभएका व्यक्तिलाई नापी विभागमा जिम्मेवारी दिएका कारण यस्तो भएको हो भन्ने लाग्छ कि लाग्दैन ?
लाग्छ । राइट मेन इन राइट पोष्ट भनेर मैले धेरै पटक भनिरहेको छु । पत्रपत्रिकामा भनिरहेको छु । नापी विभागको प्रमुख नापी विज्ञ नै हुनुपर्छ । नापी विशेषज्ञ नै हुनुपर्छ । नापीको इन्जिनियर नै हुनुपर्छ ।
अहिलेसमम नापी विभागमाको आएका छन् ?
मेरो विचारमा २०२९ सालदेखि नापी नराम्रोसँग बिग्रिएको छ । २०२९ सालमा अर्जुनबहादुर बस्नेत महानिर्देशक हुनुभयो । त्यसपछि बुद्धिनारायण श्रेष्ठ, पूण्यप्रसाद ओली र त्यसपछि रामनरेश नापी विभागको महानिर्देशक भए । बुद्धिनारायण र रामनरेश जोग्राफर हुन् । यिनहरु सर्बे इन्जिनियर होइनन् ।
नापी विभागको सबै इन्जिनियरले खेल्नुपर्ने भूमिका तपाईँ आफूले खेलेजस्तो लाग्छ कि लाग्दैन ?
लाग्छ । पूरो खेलेको जस्तो लाग्छ ।
तपाईँहरुलार्य सीमासम्बन्धी काम गर्न नदिएर जोग्राफरहरु अगाडि सार्नुको कारण के छ ?
नापनक्शा गर्नु खेल ठट्टाको कुरा होइन । यो राजनीतिक कुरा पनि होइन । यो विशुद्ध प्राविधिक कुरा हो । त्यसकारण यो राजनीतिकहरुको इन्ट्रेष्टमा भएको हो जस्तो लाग्छ ।
राजनीतिकै इन्ट्रेष्टमा हो त ?
खासगरी भन्ने हो भने त मलाई यस्तो लाग्छ कि यसमा राजनीति घुसेको छ ।
राजनीति घुस्नुका पछाडि के कारण छ ?
रहस्य के छ भने जो मान्छे यस मेन हुँदैन उनीहरुलाई सरकारले टाढै राख्न चाहन्छ ।
सीमा विवाद ज्यूँका त्यूँ रहनुमा एस मेनहरु नै जिम्मेवार हुन् त ?
खास गरेर सीमा सम्बन्ध्मा हाम्रो अडान राख्न नसकेर नै भारतले बराबर अतिक्रमण गरिरहेको छ ।
तपाईँ सीमामा भारतीय टोलीसँग काम गर्न जानुभएको छ कि छैन ?
मैले अहिलेसम्म संयुक्त टोलीमा काम गर्ने अवसर पाएको छैन ।
भारतीय रबैया कस्तो हुन्छ ?
त्यो पनि मैले अध्ययन गर्न पाएको छैन । म २०२३ सालमा झापामा खटिएँ । त्यसबेला भारतीय प्राविधिक टोली नेपालमा आएनन् । उनीहरु चुनावको बहाना देखाएर आएनन् । त्यसबेला परराष्ट्रको भानु थपलिया र नापीबाट म गएका थियौँ । तर दुई सरकार बीचमा कुराकानी भएर नै हामीलाई पठाएको थियो । झापामा हामी पुग्यौँ भनेर भारतमा खबर गरेपछि अहिले आउन सक्दैन भने । त्यसपछि दुःख गरेर आएपछि एकतर्फी सर्वे गर्ने निर्णय गर्यौँ । र, इलामदेखि रौतहटको बाग्मतीसम्म एकतर्फी सर्भे गर्यो । एकतर्फी सर्भे निरीक्षण गरेर सरकारलाई बुझायौँ । फेरि २०२५ सालमा पनि गएँ । २०२५ सालमा काम गर्दा पनि मैले भारतीयको रबैया पत्ता लगाउन सकिनँ ।
अहिले बजारमा देखिएको नक्शा विवाद के हो ?
अहिले सबैले महाकालीको उदगमस्थल लिम्पियाधुरा भन्छन् । मैले पनि भन्ने गरेको लिम्पियाधुरा नै हो । लिपुलेक होइन । काली नदी पीश्चम भारत पूर्वतिर नेपाल भनेर सन्धिमा खुलस्त उल्लेख छ । महाकालीको उदगमस्थल लिम्पियाधुरा हो ।
तीन तीन पटक सरकारले निकालेको नक्शा गलत छ हो ?
त्यसमा श्री ५ को सरकारसँग भएको प्रंमाण र तथ्यांक अनुसार छापिएको छ भनेर लेखिएको छ ।
महाकालीको उदगमस्थल कसरी पत्ता लाग्छ ?
खोलाको अनुसन्धानबाट सम्भव छ ।
नक्शाबाट सम्भव छ कि छैन ?
नक्शामात्र समाधानको प्रमाण हुन सक्दैन । यो अवस्थामा स्पष्टमै जानुपर्छ । नक्शा सन्धिका पत्रहरु दस्तावेज लिएर भारत र नेपालका विज्ञहरु गएर निक्र्यौल गर्नुपर्छ ।
हिजो पदमा बस्दा एउटा काम गर्ने अहिले अर्को बोल्ने काम भएको छ नि ?
बोल्नु हुँदैन । भूल सुधार गर्नुपर्यो । मैले पनि त्यो गर्नुपर्छ । अरुले पनि त्यो गर्नुपर्छ ।
तपाईलाई कमजोरी भएको छ भन्ने लाग्छ कि लाग्दैन ?
लाग्छ । जरुर लाग्छ । किनभने नक्शा साक्षी छ । उनीहरुले लिपुलेक भनेर छापेको छ । अब अहिले बोल्छ लिम्पियाधुरा भनेर ।
नापीसम्बन्धी ज्ञान नभएका व्यक्ति अहिले पनि नापी विभागमा छन् ?
अहिले एउटा ऐतिहासिक कुरा भएको छ । हामीलाई खुसी लागेको छ । पहिले धेरै राजनीतिज्ञको आफ्ना मान्छे भयो कि महानिर्देशक हुने, यसपाली मेरै असिस्टेन्ट भएर काम गर्नुभएका बाबुराम भन्ने व्यक्ति आउनु भएको छ । अब चाहिँ राम्रो काम हुने कुरामा विश्वस्त छु ।
नापी सँग सम्बन्धित व्यक्ति हो त ?
उहाँ विज्ञ हुनुहुन्छ ।
तपाईले केही पनि गर्नु भएन ?
मैले एकपटक खटाउन लागेको बेला सबै खुसी हुने । त्यसबेला एक दुईजना मानिसलाई यताउती गर्न पनि खोजेको थिएँ । किनभने त्यहाँ पूण्य ओलीजीले काम गरिरहनु भएको थियो । उहाँ कस्तो हुनुहुन्छ भने कम बोल्ने तर काम सन्तोषजनक नगर्ने । ओलीजी एस मेन हुनुहुन्थ्यो । एस मेन भएकोले उहाँ धेरै समय टिक्नु भयो । हामी एस मेन नभएकोले धेरै दिन टिकिएन । तपाईँकै पत्रिकामा उनको अन्तर्वार्ता हेरेँ । उनले जागीरलाई बाजी लगाउन नसकेको कुरा स्वीकार गरेका छन् । यसले गर्दा सर्भेमाथि सर्भे गर्नुपर्छ ।
सर्भे गर्नेहरुमाथि …?
हो सर्भे गर्नेहरुमाथि नै पहिला सर्भे गर्नुपर्यो । उनीहरको घरबार सर सम्पत्ति, रहनसहन, संगतको बारेमा सर्भे गरिनुपर्दछ ।
नापी विभागमा घुसपैठ छ भन्नु खोज्नु भएको हो ?
के के हुन सक्छ के के हुनसक्छ, सर्भे गर्नुपर्यो ।
सर्वे इन्जिनियर तथा नापी विभागका पूर्व उपमहानिर्देशकख नारायणकृष्ण न्हुछेँप्रधानसँग नवआवाजले २०५६ साउन ९ मा गरेको कुराकानी । न्हुछेँप्रधान, नारायणकृष्ण, २०६३ कर्म क्षेत्रमा भोगेका खेल तमासाबाट साभार ।

