जगन्नाथ काफ्ले – बिकासको निमित्त कुनै पनि आधारशीलाहरु बिकासका प्राथमिकआधारहरु हुन् । देश, काल, परिस्थिति तथा बिकासका चरण अनुसार बिकासका प्राथमिकआधार एबम पुर्वाधारहरु पृथक पृथक हुन सक्छन । हाम्रो जस्तो देशमा ठोस योजना निर्माण गर्नु, साधन तथा श्रोतको उचित ब्यबस्थापन गर्नु, समृद्द समाज मैत्री कानुन निर्माण गर्नु र तथ्यांक डाटाबैंकमा पंजीकरण गर्नु पनि बिकासको पूर्वधार हो ।
यसै गरी हरेक स्थानीय तहमा प्राकृतिक एबम मानव निर्मित उपलब्ध सम्पूर्ण श्रोत एबम साधनहरुको उचित ब्यबस्थापन गर्नु; बिकासका थप आधार स्तम्भहरुको पहिचान र ब्यबस्थापन गर्नु; हरेक स्थानीय ईलाका भित्रको प्राकृतिक सम्पदाको उचित पहिचान र ब्यबस्थापन गर्नु पनि नेपालका निमित्त बिकासका प्राथमिक आधार भित्र पर्दछन् । यसै गरेर आफ्नो गाउँ/नगरमा भौतिक पूर्वाधारहरु ईन्धन(जलविद्युत समेत), सिंचाई, यातायात, ढुवानी/गोदाम, संचार तथा अन्य बिबिध भौतिक संरचनाहरु निर्माणमा व्यापक लगानी गरेर विकास तथा समृद्दिका आधारहरुको यथोचित ब्यबस्थापन गर्नु पर्दछ ।
१. दूरदृष्टि, योजना, रणनीति र कार्यक्रम निर्धारण
सकारात्मक परिवर्तनको निमित्त के, कहाँ, किन, कसरी, कसका लागि, कहिले कसले गर्ने भन्ने कुरामा स्पष्ट हुनु बिकासको निमित्त प्रारम्भिक आधार तयार गर्नु हो । “हामी अहिले कहाँ छौं, अब कहाँ पुग्ने लक्ष राख्छौं, कसरी पुग्छौं, के कस्ता लक्षहरु के कसरी प्राप्त गर्छौँ” जस्ता प्रश्नहरुको उत्तर सम्बन्धमा प्रष्ट योजना, रणनीति र कार्यक्रमहरु निर्धारण गर्नु पर्दछ । यस्ता योजना, रणनीति र कार्यक्रमहरु तय गर्दा प्रचलित कानुनमा यथेष्ट प्रवन्ध छ कि छैन र यदि कानुनको अपर्याप्तता छ भने सम्बन्धित निकायबाटै नीतिगत एबम कानुनी मार्ग खुलस्त गर्नु पनि बिकासको अर्को महत्वपुर्ण प्राथमिक आधार तयार हुनु हो ।आवस्यकता अनुसार आवधिक तथा बिषयगत योजना, रणनीति, कार्यक्रम र परियोजना तयार पर्नु पर्दछ ।
निर्देशित लक्षमा पुग्नका लागि प्रस्तावित विकास निर्माण र ब्यबसायिक मार्गचित्र तथा सोबाट अपेक्षित् प्रतिफल असर तथा प्रभावहरु एकिन गरी नतिजा को समेत खाका तयार गर्नु पर्दछ । निर्देशित लक्षमा पुग्नको निमित्त यदि नीतिगत एबम कानुनी मार्ग खुलेको छैन भने कुनै पनि विकास निर्माण र उद्यमशीलताको अभियानलाई अबरोध गर्दछन, मार्ग खुलस्त गरी योजना, रणनीति र परियोजना तथा कर्यक्र्यम निर्धारण गर्नु पर्दछ ।
३. प्राकृतिक सम्पदाको उचित पहिचान र ब्यबस्थापन
हाम्रो गाउँ/नगर जैविक बिबिधतामा असाध्यै धनी छ, यसमा दुईमत छैन । गाउँ/नगरपालिका ईलाका भित्रको प्राकृतिक सम्पदाको उचित पहिचान र ब्यबस्थापन हुनु पर्छ । जल, जमिन, बनस्पत्ति, जीबजन्तु, खनिज प्राकृतिक सम्पदाहरु, हावापानी र वातावरणको उचित ब्यबस्थापन गर्नु पर्दछ । आवस्यकता अनुसार अधिकांश स्थानीय (रैथाने) प्रजातिका प्राकृतिक सम्पदाहरुको ब्यबसायिक रुपमा अन्वेषण, दोहन, प्रशोचन, संरक्षण, सम्बर्द्धन, ब्यबस्थापन र पुन:नवीकरण गर्नु पर्दछ ।

पानी: पानीको निमित्त संसार भरी नै ठुला ठुला युद्द र राजनीतिक परिवार्तनहरु भएका छन् । पानीका मुख्य ४ वटा श्रोतहरु हुन्छन्: क) जमिनको सतहमा बगेको खोला नाला या तलाउको रुपमा जमेको, ख) भूमिगत अर्थात् जमिन भित्रबाट ईनार/बोरिंग गरी निकालिएको, ग) वर्षाको संकलित पानी र घ) अन्यत्रबाट नाला, कुलो वा ब्यबसायिक उपाय मार्फत ल्याईएको पानी मुख्य हुन् । यी श्रोतहरुलाई लाई उच्च गुणस्तरमा ब्यबस्थापन र प्रयोग गर्नु महत्वपूर्ण हुन्छ । हाम्रो ईलाका भित्र यथासम्भव मुहान संरक्षण, तलाउ\पोखरी ड्याम निर्माण गर्नु र विभिन्न श्रोतबाट उपलब्ध पानीलाई पिउन, सरसफाई, सिंचाई, निर्माण/उद्योग/ब्यबसाय(जलविद्युत समेत), मनोरंजन(पौडी, फिसिंग, पर्यटन समेत), मत्स्य पालन, उर्जा उत्पादन के कति कसरी श्रोत पहिचान, संरक्षण, ब्यबस्थापन र प्रयोग गर्न सकिन्छ ।
आफ्नो गाउँ/नगर ईलाकामा साना एबम ठुला जलविद्युत निर्माण तथा बृहत सिंचाई गर्न सक्ने सम्भावित ठाउँको पहिचान गर्नु पर्दछ । प्रदेश एबम केन्द्र सरकार संग समन्वय गरेर ब्यबसायिक उत्पादनको निमित्त समन्वय र ब्यबस्थापन गर्ने; मुहान बिशेष ब्यबस्थापन गर्न नर्कट/बाँस लगाउने; बन जंगल संरक्षण एबम बृक्षारोपण गर्ने; खोल्सा खाल्सी, सीम या सम्भावित ठाउँमा तलाउ पोखरी ड्याम निर्माण गर्ने; पिउने पानी ब्यबस्थापन गर्ने; पानीको उद्यमशील प्रयोग गर्ने, सिंचाई ब्यबस्थापन गर्ने; मत्स्यपालन केन्द्र निर्माण गर्ने; पौडी/बोटिंग स्थल निर्माण गर्ने र प्रयोग हीन या कम प्रयोग भएको पानीको श्रोतलाई ब्यबसायिक ढंगबाट संरक्षण, ब्यबस्थापन र प्रयोगमा ल्याउनु पर्दछ ।
बनस्पति र जीवजन्तु(Flora and founa): हाम्रो देश जैविक बिबिधतामा सार्है धनी छ भन्ने जान्दा जान्दै पनि उक्त विविधतालाई ब्यबसायिक प्रयोगमा ल्याउन सकेको छैनौं । अधिकांश बनजन्य श्रोत एबम प्राकृतिक सम्पत्तिहरु कि त प्रयोग हीन अवस्थामा, कि त अल्प प्रयोग, या कतिपय त लोपोन्मुख अवस्थामा पुर्याई सकेका छौं, अझ भनौं कतिपय त संरक्षणको अभावमा लोप समेत भई सकेका होलान।हाम्रो गाउँ या नगरको अधिकार क्षेत्र भित्र पाईने बनस्पति एबम बनजन्य सम्पदाहरुमा बन/जंगल पैदावार, काठ दाउरा, जडिबुटी, एरोमेटिक बोट बिरुवा, अनाज, आर्थिक महत्वका बोट बिरुवाहरुको ब्यबसायिक खोज अनुसन्धान, संरक्षण, संबर्द्धन एबम ब्यबसायिक उपयोग गरेर खरबौं खराबका आर्थिक, सामाजिक एबम वातावरणीय ब्यबसायिक क्रियाकलाप सिर्जना गर्न सक्छौं ।
सामान्य उदाहरण– यो हाम्रो गाउँ घरमा जंगलमा जताततै खेर गई रहेको एक किसिमको झाडी प्रजातिको बनस्पति, काली पैंलेटी, अंग्रेजीमा Curry Leaves भनिन्छ; मसलाको रुपमा प्रयोग हुँदोरहेछ; अरब, युरोप, अमेरिकाको बजारमा १०० ग्राम लाई नै $५ देखि १०(अमेरिकी डलर) सम्म बिक्रि भई रहेको छ ।

यो त एउटा सानो उदाहरण हो । हाम्रो गाउँ/नगर क्षेत्र भित्र त हजारौं लाखौँ प्रजातिका अमुल्य आर्थिक महत्वका जडिबुटी एबम् बनस्पतिजन्य श्रोतहरु खेर गई रहेका छन् ।यिनीहरुले हाम्रो ब्यबसायिक उन्नति हेरर उपयोगीताको दिन पर्खी रहेका छन् ।
यसै गरी ब्यबसायिक, सार्बजनिक एबम संरक्षित जमिनको उचित ब्यबस्थापन गरेर रैथाने जंगली जनावर, घरपालुवा पशु पन्छी, चराचुरुंगी, माछा एबम जलाजीव तथा अन्य जीव जन्तुहरुको समेत खोज अनुसन्धान गरी समुचित ब्यबस्थापन गर्नु जरुरी छ । बनस्पति जन्य, जंगली जीवजन्तु, चराचुरुंगी, कीटपतंगहरु अनुसन्धान, पर्यटन र आर्थिक ससंभावानाका आधारहरु हुन् । अन्वेषण, पहिचान, संरक्षण, अधिकार स्थापना, ब्यबसायिक ब्यबस्थापन र उच्चतम उपयोगिता सिर्जना गर्नु पर्दछ ।
माटो : मानव जीवन र माटो एक अर्काका पुरक हुन् । जीवन स्वास्थ्य रहन माटो पनि स्वास्थ्य हुनु पर्छ, तर माटो र जीवनको स्वास्थ्यमा उल्टो सम्बन्ध हुन्छ | मानव जीवन स्वास्थ्य रहन सफा सुग्घर हुनु पर्छ, दिशा, पिसाब, फोहोर, सढे गलेको कीट पतंगबाट जोग्गिनु पर्छ भने माटो लाई स्वास्थ्य रहन त्यहि दिशा, पिसाब, फोहोर, सढे गलेको कीटपतंगको जरुरी पर्दछ । माटो स्वास्थ्य रहन यिनै जैविक पदार्थको जरुरी पर्दछ, जसले आफुले हाम्रा फोहोरलाई स्वस्थ्यकर खाद्य पदार्थमा परिवर्तन गरी हामीलाई स्वास्थ्य खानेकुरा उत्पादन गरेर दिन्छ । त्यसैले माटो सदा उर्वर बनाई रहन हामीले नै उचित ब्यबस्थापन गर्नु पर्छ ।
माटो उर्वर र मानवीय स्वास्थ्य अटल राख्ने हो भने अनुबंशिक परिवर्तन गरिएको बिउ बिजन एबम माटोको गुणस्तरमा ह्रास आउने केमिकल युक्त आयातित मलको प्रयोग बन्द गरी जैविक एबम प्रांगारिक मल प्रयोग गर्नु पर्दछ । हाम्रो गाउँ/नगरका क्षेत्र भित्र हरेक ईलाकको माटो परिक्षण गरेर जुन स्तरको माटो छ सोहि बमोजिमको कृषि उद्यम गर्ने अनि माटोको गुणस्तर अझ बृद्दी गरेर संरक्षण, सम्बर्धन र सदुपयोग गर्नु पर्दछ | हाम्रो गाउँ/नगरपालिका भित्रको भूमीमा हुन सक्ने बढी, पहिरो, भुक्षय एबम नदि कटान रोक्न जे जस्ता उपायहरु हुन सक्छन्, ती उपायहरुको प्रयोग गरेर माटोको संरक्षण गर्नु पर्दछ ।
खनिज पदार्थ: आफ्नो गाउँ एबम नगर भित्र कुनै खनिज सम्पदाहरु फलाम, जस्ता, तामा, सुन, चाँदी, हीरा, शिशा, अभ्रख, पत्थर, मार्वल, चुनढुंगा, स्लेट, गेरु, खरी, गन्धक, कोईला, पेट्रोलियम, प्राकृतिक ग्यास, निकेल, कोवाल्ट, सोडा, बीरेनुन, सिधेनुन, म्याग्नेसाइट आदि भए नभएको खोजी गर्नु जरुरी छ । हाल सम्म पत्तालागेका खनिज एबम खानीजन्य पदार्थहरुलाई कसरी ब्यबहारिक र ब्यबसायिक प्रयोग गर्न सकिन्छ, कुन तहबाट गर्न सकिन्छ, त्यसको लागि पहल र यथोचित ब्यबस्थापन हुनु जरुरी छ । पत्ता नलागेका क्षेत्रहरुमा आवस्यक सम्भाव्यता अध्ययनको निमित्त खानी तथा भूगर्व बिभाग एबम सम्बन्धित निकायको साथै केन्द्र र प्रदेश सरकारसंग समन्वय गरेर उद्यमशीलता सिर्जना गर्नु पर्दछ ।
हावापानी: हावापानीको फरक फरक बिशेषताले हाम्रो ब्यबसायिक र ब्यबहारिक जीवनमा प्रत्यक्ष एबम परोक्ष असर गरिरहेको हुन्छ । हाम्रो गाउँ/नगरमा ठण्डा, जाडो, गर्मी अति गर्मी– कुन प्रकृतिको कस्तो हावापानी छ, सोहि प्रकृतिको भौतिक संरचना र आर्थिक एबम सामाजिक उद्यमशीलता लिनु पर्ने हुन्छ । बिशेष गरी आवास, प्रकृतिजन्य, कृषिजन्य, पर्यटनजन्य जस्ता हावापानीले प्रत्येक्ष प्रभाव पर्ने भौगोलिक बिशेषता बोकेका क्रियाकलापका उद्यमहरुलाई हाम्रो आफ्नो गाउँ/नगरलाई सोही बमोजिम आर्थिक, सामाजिक र प्राबिधिक उद्यमहरुको पहिचान, विकास र ब्यबस्थापन गर्नु आजको आवस्यकता हो । गर्मी याममा चिसो भेगमा र जाडो याममा न्यानो भेगमा अथवा चिसो भेगमा चिसो मुलुकका र न्यानो भेगमा न्यानो मुलुकका पर्यटकहरुलाई लक्षित् गरेर समेत आफ्नो गाउँ नगरलाई बिशिष्टिकरण गर्न सकिन्छ ।
वातावरण: हामी हाम्रो गाउँ/नगरलाई साँच्चै समृद्द चाहन्छौं भने हाम्रा भूमि, पानी, हावा, ध्वनीको प्रदुषण हुन नदिनु एकदमै महत्वपूर्ण हुन्छ । कुनै पनि विकास निर्माण र उद्यमशीलता लिनु अगावै गुणस्तरीय वातावरण कायम गर्न समयमै फोहोर मैला ब्यबस्थापन एबम भुमी, पानी र हावालाई नकारात्मक प्रभाव पर्ने तत्वहरुको पहिचान र प्रभावकारी ब्यबस्थापन गर्नु जरुरी हुन्छ | हामीले गर्ने हरेक क्रियाकलापलाई वातावरण मैत्री बनाउनु हाम्रो सामाजिक कर्तब्य हो, सो पुरा गर्नु पर्ने कुरामा कुनै सन्देह छैन ।
३. जमिनको उचित ब्यबस्थापन
प्रकृति प्रदत्त जमिनको उचित ब्यबस्थापन दीगो बिकासको आधारभूत शर्त हो । वास्तबमा जमीन राज्यको हो । राज्यले आफ्नो जमिन प्रयोग गरे बापत सरकारलाई भाडा (मालपोत) तिरेर आफ्ना नागरिकले आर्थिक क्रियाकलाप गर्ने प्रबन्ध गरिएको हुन्छ । करोडौं बर्षबाट प्राकृतिको सम्पत्ति जमिनलाई नेपालमा १९७९ देखि चन्द्र शमशेरको पालाबाट व्यक्तिगत नाममा रजिस्ट्रेशन पास गरी निजी सम्पत्तिको रुपमा प्रयोग गरिएको छ । यो पद्दतीलाई संरचनागत परिवर्तन गर्ने र सबै जग्गामा सरकारको बास्तबिक स्वामित्व कायम गरी राज्यले प्रयोग र आर्थिक उत्पादकत्वको आधारमा भाडा(मालपोत) निर्धारण गरेर नागरिकलाई सिर्फ प्रयोग गर्न दिने व्यवस्था गर्नु पर्दछ। महत्वकांक्षी र असम्भव जस्तो लाग्छ तर समृद्द नेपाल खोज्ने हो भने जरुरी र सम्भव छ । कोही भुमीहीन र सुकुम्बासी पनि हुनु पर्दैन, आर्थिक वितरण पद्दतिलाई ब्यबस्थापन गरे पुग्छ ।
कुनै पनि व्यक्ति र संस्थाले शारीरिक एबम मानसिक परिश्रमद्वारा आर्जन गरेर कमाएको सम्पत्ति छ भने मात्र व्यक्तिगत सम्पत्ति हुनु पर्छ या मान्छेको बसमा हुनु पर्छ तर कुनै पनि प्राकृतिक सम्पत्तिलाई बैयक्तिकरण गर्नु हुदैन, यसरी ब्यिक्तिकारण गरिएको प्राकृतिक सम्पत्तिलाई बिस्तारै बिस्तारै निश्चित पद्दति बसाली राज्यलाई नै फिर्ता गर्ने ब्यबस्था मिलाउनु पर्छ । प्राकृतिक साधन तथा श्रोतहरु सीमित छन्, जमीनको असीमित वितरण गर्नु हुदैन । मान्छेले बनाउन नसक्ने र बढाउन पनि नसक्ने प्राकृतिक सम्पत्ति व्यक्तिगत स्वामित्वबाट सरकारी स्वामित्वमा लैजानु पर्दछ । अनि मात्र नेपालमा विकासले द्रुत गति लिन सक्छ ।
हाम्रो गाउँ/नगरको साथै समग्र नेपालको जमिनहरु अन्न उब्जाउको हिसाबले परम्परागत बर्गिकरण अबल, दोयम, सीम र चाहार 3 आज आएर गलत साबित भएकोछ । जमीनको प्रयोगको आधारमा पुनर्बर्गीकरण हुनु जरूरी छ । आज आएर हिमालको टाकुरा- पर्वतारोहीको निमित्त अब्बल हो, भने चट्टानी भीर- रक क्लाइम्बरको निमित्त अब्बल हो, अरबका मरुभूमीमा अरबौं मूल्यका बिशाल ब्यापारिक कम्प्लेक्सहरु र पाखो प्यांखरमा भएका अर्बौं मूल्यका होटेल, रिसोर्ट र कटेज एबम ब्यबसायिक खेति गर्नेको निमित्त समेत परम्परागत जग्गाको बर्गिकरण गलत साबित भईसकेको छ ।
“अबल जमिन- बि.सं. १९६० सालमा अन्न उब्जाउको आधारमा भएको जमिन वर्गीकरण अबल, दोयम, सीम र चाहरको आधारलाई हेर्ने हो भने काठमाडौँ जिल्लाको पश्चिम पट्टिको डाँडो चन्द्रागिरी चाहार हुने थियो । अहिले चन्द्रागिरीमा केवलकार बन्यो पर्यटककेन्द्र बन्यो, देश बिदेशका मानिस रमाइलो गर्न जान थाले, तरुणा तन्नेरी पनि त्यहीँ घुम्न जान थाले । त्यहाको जग्गाको मूल्य कैयौं अबलमा दर्ज भएको जग्गाको मूल्य भन्दा धेरै गुणा माथी छ । कुनै दिन हामीले बाँदरको ब्यबसायिक फर्मिंग गरेर आफ्नो गुजारा चलाउने दिन आयो भने कुनै तारे भीर पखेरा पनि अबल हो ।”
परम्परागत जग्गाको बर्गीकरण अबल, दोयम, सीम र चाहर होईन, प्रयोग र उपयोगिताका आधारमा जमीनलाई वर्गीकरण गर्नु पर्दछ।
जमीन बर्गीकरण, उपयोगीता/उद्यमशीलताको आधारमा ब्यबस्थापन, सिंचाई योग्य/अयोग्य, जमिन संरचना र आर्थिक सम्भाव्य भूमी पहिचान र ब्यबस्थापन गर्नु पर्दछ । हाम्रो गाउँ/नगर भित्रको जमिनमा विद्यमान जथाभावी निर्मित भवन एबम बस्ति विकासलाई संरचनागत परिवर्तन गरी बिशेष क्षेत्रहरु तोकेर आवास, प्रशासनिक केन्द्र, सामाजिक सेवा केन्द्र, बजार केन्द्र, सामुदायिक केन्द्र, पर्यटन केन्द्र, सुचना केन्द्र, यातायात केन्द्र, मनोरंजन केन्द्र, बृहत आर्थिक क्रियाकलाप केन्द्रको निर्माण र उचित ब्यबस्थापन गर्नु पर्दछ । हाम्रा मानब निर्मित एबम प्राकृतिक सम्पदाहरुको पूर्ण सदुपयोग हुनु पर्दछ ।
अहिले आएर नेपाल सरकारले भू उपयोग नीति ल्याएर भुमीको बर्गिकरण गरेर उचित ब्यबस्थापन गर्न प्रयास गरेको देखिन्छ । भू उपयोग नीति २०७२ अनुसार:- कृषि क्षेत्र, आवासीय क्षेत्र, ब्यबसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, संस्कृतिक तथा पुरातात्विक क्षेत्र, नदी तथा ताल तलैया क्षेत्र, बन क्षेत्र, सार्वजनिक उपयोग तथा खुला क्षेत्र, निर्माण सामग्री (ढुंगा, बालुवा, गिटी) उत्खनन क्षेत्र, आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्र भनि बर्गिकरण गरेता पनि बिशेष गरी कम्तिमा आवस्यकता अनुसार आवासीय, प्रशासनिक, औद्योगिक, व्यापारिक, व्यवसायिक(कृषि समेत), सार्वजनिक(चरन, उद्यान, पार्क, बगैचा, ट्रयाक, खेल मैदान, सार्बजनिक प्रयोग समेत) र आरक्षित् जग्गामा बर्गिकरण गरी ब्यबस्थापन गर्नु पर्दछ । एउटा प्रयोजनको निमित्त छुट्याइएको जमिनमा अर्को प्रयोजन गर्न पूर्ण बर्जित हुनु नितान्त जरुरी छ | अर्थात् खेतीको निमित्त छुट्याइएको जमिनमा खेति मात्र, आवासको निमित्त छुट्टयाइएको जमिनमा आवास मात्र प्रयोग गर्न मिल्ने गरी ब्यबस्थापन गर्नु पर्दछ ।
हाल कृषि योग्य उर्वर जमिनमा भएको अब्यबस्थित बस्ति लाई बिस्तारै रुखो, चट्टानी र उच्चा भूमीमा प्रतिस्थापन गर्दै लैजानु पर्दछ । कृषिको जमिनमा कृषि मात्रै गर्न पाउने, व्यवसयिक जमिनमा व्यवसाय मात्र गर्न पाउने, आवासको जमिन आवासका लागि मात्र प्रयोग गर्न पाउने बनाउनु पर्छ। त्यसैले समयको माग र प्रयोग अनुसार गाउँ/नगरपालिकाले निश्चित नियम/कानुन बनाई आवस्यता अनुसार प्रयोजनको निमित्तमात्र हाम्रो गाउँ/नगर भित्रको जमिनलाई आवास, बजार, खेतीपाती, उद्योग, मनोरंजन, सार्वजनिक र संरक्षित गरी बिभाजन गरी पुनर्बर्गिकरण र संरचनात्मक परिवर्तन गर्नु पर्दछ ।
यसरी जमिन बर्गीकरण गर्दा उद्यमशीलता एबम प्रयोगको आधारमा चाक्लाबन्दी गर्नु पर्छ । चक्लाबन्दी गर्दा हरेक टुक्रा जमिनलाई बिशेष उत्पादकत्व/आर्थिक क्रियाकलापको आधारमा मुल्यांकन गरेर एकीकरण गर्नु पर्छ । हरेक चाक्लालाई १०० शेयर अंश मानी हरेक टुक्रा जमिनको विद्यमान मालिकलाई के कति प्रतिशत अंश पर्छ सोही आधारमा उक्त चक्लाबंदीको शेयर अंश प्रदान गरेर त्यसमा हुने बृहत आर्थिक क्रियाकलाप/उद्यमको समेत शेयर होल्डर(मालिक) बन्ने हिसाबले ब्यबस्थापन गर्नु पर्छ , ता कि कुनै पनि व्यक्तिको षेश पछी उक्त जमिनको भन्दा पनि उक्त जमिनमा भएको आर्थिक उद्यमको शेयर उसको पुस्तामा हस्तान्तरण हुन सकोस । जमिन सरकारको अधिकारमा आओस र ब्यबसाय उत्तराधिकारीको स्वामित्वमा जाओस । प्रष्ट भन्नु पर्दा अबको बीस बर्ष भित्र सबै भूमीमा राज्यको स्वामित्व हुनु पर्छ र कुनै पनि व्यक्तिलाई निश्चित प्रयोजनको निमित्त आवस्यक परेमा सरकारले जग्गाको ब्यबस्था गर्न सक्षम् बनाओस ।
४. बिकासका पूर्वाधार निर्माण :
प्राकृतिक सम्पदाको पहिचान तथा ब्यबस्थापन र कुन जमिनमा के कति कसरी उपयोग गर्ने सो को उचित ब्यबस्थापन पछिको अर्को चरण पूर्वाधार निर्माण हो । मानब निर्मित बिकासको निमित्त पुर्व आधारहरु यातायात, संचार, ईन्धन, सिंचाई एबम् प्रबिधि आदिको पर्याप्त बिकास बिना समृद्द गाउँ/नगरको परिकल्पना गर्नु बिना अर्थको हुन्छ ।
यसरी पूर्वाधारको निर्माण गर्दा दीगो, मितव्ययी र मर्मत–सम्भार सजिलै गर्न सकिने हुनु पर्दछ । यसै गरी वातावरण मैत्री, बालमैत्री, बृद्द बृद्दा मैत्री, अशक्त मैत्री र बहु उपयोगी पनि हुनुपर्छ।
डिजिटल प्रणाली: आजको समृद्द विश्वमा बिकासको पुर्व आधारको रुपमा विद्युतीय शुशासन स्थापित भई सकेको छ । हाम्रो गाउँ नगरमा पनि कम्प्युटर प्रणाली र इन्टरनेटमा आवद्द गरी हरेक क्रियाकलापको वेबसाइट, सफ्टवेर तथा अन्य डिजिटल प्रणालीमा लैजानु अत्याबश्यक भई सकेको छ । हरेक व्यक्ति एबम संस्थाको आवस्यक काम, तथ्यांक र सुचनालाई डिजिटल प्रणालीमा आबद्द गरेर एक ठाउँमा बसी बसी अधिकांस प्रशासनिक, आर्थिक, सामाजिक क्रियाकलप गर्न तथा आवस्यक सुचनाको प्राप्त गर्न डिजिटल प्रणालीले सहज बनाउछ | कुनै पनि सरकारी कामकाज, ब्यापार ब्यबसाय, विकास निर्माण र उद्यमशीलता लिनु पुर्व डिजिटल प्रणालीमा आवद्द गर्नु पर्दछ ।
यातायात: हाम्रो गाउँ/नगरको आवस्यकता, क्षमता र पहुँचको आधारमा हवाई, स्थल अनि जल यातायातको सम्भावना के कस्तो छ ? केन्द्रसंग स्थल यातायात जोडिएको छ या जोड्नु जरुरी छ ? यातायात संजालको पहिचान गरेर क्षमता अनुसार विकास गर्दै लैजानु पर्दछ । अहिले हवाई मैदान वा हेलिप्याड छ? या बनाउनु जरुरी छ ? यो स्थानीय तहको क्षमता भन्दा बाहिर हुन सक्छ, प्रदेश तथा केन्द्रीय तहहरु संग समन्वय गरेर कम्तिमा हाम्रो बृहत आर्थिक क्रियाकलाप क्षेत्र सम्म मात्र भएपनि ठुला सडक जोड्नु पर्छ | स्थानीय तहमा हरेक आवास, सामाजिक सेवा केन्द्र, बजार, बृहत आर्थिक क्रियाकलाप केन्द्र संग स्थानीय सडकले जोड्नु पर्दछ ।
यसरी जोड्दा साइकल, अशक्त र पैदल यात्रीको निमित्त एउटा छुट्टै लेनको प्रवन्ध मिलाउनु पर्छ । पैदल मार्ग, साइकल मार्ग, विद्युतीय सवारी साधन चल्न सक्ने, सार्वजनिक तथा निजी यातायात मार्ग तथा स्पस्ट लेन छुट्टिएको साथै अशक्त मैत्री आवागमन केन्द्र र यातायात सेवा हुनु पर्दछ । आफ्नो गाउँ/नगरमा जनसंख्या एबम आर्थिक क्रियाकलापको स्तर हेरी निजी एबम सार्वजनिक यातायात साधनको विकास एबम बिस्तार गर्नु पर्दछ । यदि घना जनसंख्या छ भने आन्तरिक तथा अन्तर नगर बृहत सवारी साधन रेल, मेट्रो, ट्रामको विकास र बिस्तार गरेर ब्यबस्थापन मिलाउनु पर्छ भने भौगोलिक विकटता छ भने केबुल कार एवम् रोप वे विकास एबम बिस्तार गर्नु पर्दछ ।
गोदाम/ढुवानी : बृहत आर्थिक क्रियाकलाप र उद्यमशीलतालाई सफल बनाउने ठुलो पूर्वाधार भनेको किरा, मुसा, घुन पुत्ली नलाग्ने चिस्यान तथा सुख्खा गोदाम एबम ढुवानी पद्दति हो । हाम्रो गाउँ/नगरमा बृहत आर्थिक उद्यमशीलता मार्फत बस्तु तथा सेवाको उत्पादन पनि बृहत रुपमै हुनु जरुरी छ भने गाउँ/नगर भित्र आयात निर्यात पनि सोहि बमोजिम हुनु पर्छ अनि मात्र हामि समृद्दी उन्मुख हुन्छौं । संसारको कुनै पनि कुनामा उत्पादित बस्तु तथा सेवा आफ्नो गाउँ/नगर, टोल र आफ्नो टोलमा उत्पादित बस्तु तथा सेवा संसारको कुनै पनि कुनामा सहजै ल्याउन लैजान उचित गोदाम र ढुवानी सेवाको ब्यबस्था गर्नु पर्दछ ।
सामान्य उदाहरण तलको चित्रमा एउटा सामान्य कालो ह्यान्डल भएको पहेंलो लिफ्टर र निलो प्यालेट अनि सोहि बमोजिमको गोदाम पद्दतिको माध्यमबाट एकजना सामान्य व्यक्तिले २४,०००(चौबिस हजार) किलो चामल ३० मिनेट भित्रमा मालबाहक ट्रक बाट गोदाममा र गोदाम बाट ट्रकमा ओसार पसार गर्न सक्छ ।

सुचना/संचार : हाम्रो गाउँ/नगरमा केन्द्रीय संचार मध्यमसंग कत्तिको जोडिएको छ ? सामाजिक सेवा क्षेत्रमा सुचना केन्द्र स्थापना गर्नु पर्छ । देश विदेशकोको सुचना आफ्नो स्थानीय ईलाका र स्थानीय सुचना देश/विदेश सम्म आदान प्रदान गर्ने संयन्त्र स्थापना गर्नु पर्छ । पुस्तकालय र सूचना केन्द्र संगै संचालन पनि गर्न सकिन्छ । आफ्नो क्षेत्र भित्र सम्भव भए सम्म हुलाक, टेलिफोन/मोबाईल, इन्टरनेट, पत्रपत्रिका, रेडियो, टेलिभिजन निजी एबम सार्बजनिक पहुँचमा उचित ब्यबस्थापन गर्नु पर्छ ।
ईन्धन : आफ्नो गाउँ/नगर क्षेत्रभित्र के कस्ता कति ईन्धनको जरुरी पर्दछन ? आफ्नो ईलाका भित्र स्थानीय साधन र श्रोतले नै उत्पादन र उपयोग गर्न सकिने ईन्धनको साधनहरुको पहिचान गरेर उचित ब्यबस्थापन गर्नु पर्छ । यदि स्थानीय निकायले मात्र ब्यबस्थापन गर्न नसकिने छ भने प्रदेश तथा केन्द्र सरकारसंग समन्वय एबम सहकार्य गर्नु पर्छ । आफ्नो गाउँ/नगरलाई आवस्यक खाना पकाउन, ब्यबसायिक प्रयोग गर्न र सार्वजनिक प्रयोग गर्न आवस्य इन्धनको कुशल ब्यबस्थापन गर्नु पर्छ ।| काठ दाउरा, पेट्रोलियम, प्राकृतिक ग्यास, वायोग्यास, सोलार, जलविद्युत, ब्याट्री या अन्य कुनै उर्जाका साधनहरुको सम्भाव्य उत्पादन, संरक्षण, भण्डारण, वितरण र विसर्जनमा उचित ब्यबस्थापन मिलाउनु पर्दछ ।
सिंचाई : आफ्नो गाउँ/नगर ईलाका भित्र सिचाई योग्य जमिन के कति छन् र के कति सम्भाव्यता छ राम्रोसंग केलाउनु जरुरी हुन्छ । विद्यमान सिंचाई पुर्वाधारहरु के कति ब्यबस्थित छन् र के कति थप ब्यबस्थित गर्न सकिन्छ? त्यो गर्नु पर्छ । आफ्नो गाउँ/नगर भित्र प्राप्त पानीको श्रोतहरु जमिनको सतह, भूमिगत, वर्षा, अन्यत्रबाट नाला वा कुलो मार्फत ल्याईने विभिन्न मध्यम हुन सक्छन, तिनलाई श्रोत बाटै उचित संरक्षण, कुलो नहर निर्माण, ड्याम/तलाउ निर्माण अथवा कुनै पनि मध्यम बाट सम्भव हुने ठाउँ सम्म नियमित सिचाई ब्यबस्थापन मिलाउनु पर्दछ ।
प्रबिधि : प्रविधिको विकास र प्रयोगले मानिसको जीवनस्तरलाई साँच्चै समृद्द बनाएको छ । हरेक कामलाई चुस्त (Smarter) बनाएको छ। सजिलो र गुणात्मक बनाएको छ । कुनै पनि मुलुक समृद्द बनेको छ भने हरेक क्षेत्रमा प्रविधिको प्रयोग भएको हुन्छ । कतिपय जटिल भन्दा जटिल कामहरु समेत सामान्य स्विच तथा सेन्सरको सहयोगले सहजै सम्पन्न गर्न सम्भव हुन्छ । आवास, प्रशासन, कृषि, बजार, सामाजिक सेवा, पूर्वाधार विकास, उद्यम एबम सार्वजनिक हीत सबै क्षेत्रमा सम्भव भएसम्म प्रबिधि प्रयोग गरेर समृद्द समाज निर्माणको निमित्त आधारशीला खडा गर्ने पद्दति निर्माण गर्नु पर्दछ ।
प्रविधिको सामान्य भन्दा सामान्य प्रयोग पनि गर्न सकिन्छ- आफैंले टिकट काट्ने मेशिन: सार्वजनिक यातायात चढ्नु अगाडी यात्रु आफैंले आवधिक एबम पटके टिकट काटेर सार्वजनिक यातायात प्रयोग गर्न सकिन्छ, हामीले कल्पना सम्म गर्न नसक्ने प्रबिधि संसारले सामान्य भन्दा सामान्य तवरले प्रयोग गरी सकेको छ ।

कृषिमा औजारको प्रयोग: हरेक कृषि प्रधान मुलुकहरुले आधुनिक प्रबिधि र पद्दिको विकास अनि प्रयोग गरेर देशका केवल ५ प्रतिशतको हाराहारीमा श्रम शक्ति प्रयोग गरेर कृषि उपजमा आत्मा निर्भर बनेर निर्यात समेत सम्भव बनाएका छन् । कृषि क्षेत्रको आधुनुकीकरण गरेरै समृद्दी उन्मुख भएका हुन् ।

यसै गरी हरेक सामाजिक, आर्थिक, प्रशासनिक, राजनैतिक, वातावरणीय, क्षेत्रहरुमा प्रविधिको सामान्य भन्दा सामान्य प्रयोग गरेर समृद्द जीवन जिउन सहज बनाउन सकिन्छ । हामीले कल्पाना सम्म गर्न नसक्ने प्रबिधि संसारले सामान्य भन्दा सामान्य तवरले दैनिक जीवनमा सहजै प्रयोग गरी सकेको छ, हामीले पनि हरेक क्षेत्रमा प्रविधिको प्रयोग गरेर आधुनिकीकरण र समृद्दी तर्फ हुनै पर्छ । हामी पछाडी छोडिनु हुदैन

