-भाई किराती
“आफ्नो उत्पत्ति कालदेखि नै राज्य, सदा ती वर्गहरुको आधिपत्य कायम राख्ने, हतियार बन्दै आएको छ । जसले उत्पादनका साधनहरु माथि आफ्नो प्रभुत्व कायम राखेका हुन्छन् ।” – एङ्गेल्स
प्रजातान्त्रिक व्यवस्था भनेको ब्यक्ति प्रधान शासन प्रणाली हो । यो व्यवस्थाले राज्य र समाजलाई गौण मान्दछ । यसको आधार साम्राज्यवादी पुँजीवाद हो । अर्थात राज्य निरीह, ब्यक्ति सम्पन्न र शक्तिशाली हुने व्यवस्था हो । दोश्रो विश्वयुद्धको अन्त्यसँगै अन्धकार युगको अन्त्य भइ आधुनिक युगमा प्रवेश गरियो । यत्ति ठूलो क्रान्ति पछि, विश्वमा जे जत्ति सोभियतहरुद्वारा स्थापित समाजवादी क्रान्तिको आधारमा साम्राज्यवादको पूर्णध्वंस र समाजवादमा आधारित नयाँ पुँजीवादी ब्यवस्था स्थापना हुनुपर्ने थियो । जस्ले समकालीन विश्वमा राष्ट्रिय पुँजी निर्माणको बलियो आधार सम्भव थियो ।
तर ठिक त्यसको बिपरित साम्राज्यवादको नेतृत्व अमेरिकाले हत्याउन सफल भयो । त्यसले केन्द्रित पुँजीवादद्वारा साम्राज्यवाद र सामन्तवादलाई नयाँ ढंगले नवीकरण गर्दै विश्वमा सशक्त र अझै बर्बरता साथ पुँजीवादी सिन्डिकेट खडा गर्यो । पुँजीवादी ब्यवस्थाको विशेषता, निश्चित एउटा केन्द्रको निर्माण हो । जहाँ एउटा प्रमुख केन्द्र हुन्छ । त्यसले गरिब र साना मुलुकहरुलाई वाध्यात्मक परिस्थिति सृजना गरि आफुतिर खिच्ने र आफ्नो निति तथा कार्यक्रम लाद्नको निम्ति दलालहरुको जन्म गराउँछन । केन्द्रको वरिपरि समान वर्ग-स्वार्थ मिल्नेहरुको मात्र घेराहरु हुन्छ्न । वास्तविक जनता र राज्यसत्ता बीच लामो दुरी हुने गर्दछ ।

अहिले बजारमा “समृद्ध” भन्ने शब्द यस्तो लोकप्रिय छ । मानौँ, नेपालमा समृद्ध भन्ने एउटा यस्तो आकर्षक शब्द फेसनकै रुपमा भित्रीयो । जुन जनजिब्रोमा झुन्डिएको छ । किन कि नेपालमा यस्ता फजुली शब्दजालले उच्च स्थान पाउँदै आएको, इतिहास साक्षी छँदैछ । आखिरमा “समृद्ध” हो चाहिँ के ? त्यस्को आधार के हो ? कुन अवस्थालाई समृद्ध मान्ने हो ? प्रजातान्त्रिक व्यवस्थामा समृद्ध भन्ने मुना कुन ठाउँबाट पलाउँछ ? प्रजातन्त्र भनेकै समृद्ध हो ? होइन, प्रजातन्त्र भनेको ब्यक्ति मात्र धनीहुन पाउँने, समाज धनीहुन नपाउने एकात्मक तन्त्र हो । यसै सन्दर्भमा बर्नस्टाइन भन्छन् “समाजको तिब्र बिकासको कारण उत्पादनको तत्कालीन व्यवस्थामा, सामान्य र पूर्ण बिकास असम्भव हुन्छ । यस्को तात्पर्य पुँजीवादी बिकासले एकातर्फ अनुकुलनको क्षमता वृद्धि गर्दछ भने अर्को तर्फ व्यवसायीकहरु मा विभेदिकरण वृद्धि गरिदिन्छन ।”
अत: यसतो अवस्थामा समृद्ध नेपाल निर्माणको नारा असम्भव मात्र होइन अनर्थ सिद्ध छ । नेपालमा राजनीति दलका महान नेतागणले भन्ने गरेका छन । कि अब तिब्र गतिमा बिकास निर्माण हुन्छ, जस्ले देशलाई समृद्ध बनाउछ ! तर त्यो कुरा सत्य छैन । बिकास निर्माण भनेकै समृद्धि हो भन्न थालियो भने हामी ठिक ठाउमा पुग्दैनौं । बिकास निर्माण त समृद्धिको विशेष आधार मात्र हो । खासमा त्यो भौतिक संरचनाको फेरबदल हो । यदि भौतिक संरचनामा फेरबदल मात्रै गर्ने हो भने त, बम विस्फोट भएको ठाउमा पनि स्वरुप त फेरिएकै छ । तसर्थ एकतर्फी बिकास निर्माण मात्र समृद्ध होइन ।
समृद्ध :– समृद्ध भनेको जनताको आधारभूत आवश्यकताहरुमा समान अवसर प्राप्ति र समान हैसियत कायम गर्ने भनिएको हो । समाजवादी चरीत्रको क्रान्तिकारी व्यवस्था मात्रै यस्को आधार हो । जसले राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउछ, आम जनताले बेरोजगारी पिडा खेप्नु पर्दैन, पूर्णरूपले राज्य, जनता प्रति उत्तरदायी बन्छ, आर्थिक बिपन्नताको अन्त्य हुन्छ, राज्यद्वारा, जनताले प्राप्त गर्ने सम्पूर्ण सेवा सुविधाहरु सहज ढंगले नजीकबाट उपभोग गर्न सक्ने अवस्था बन्छ, अर्थात मार्क्सको भाषामा “मात्र ब्यक्ति धनी हुँदा राज्य धनी हुँदैन, राज्य नै धनी भएको खण्डमा ब्यक्ति स्वत: धनी हुन्छ ।” भनाइको तात्पर्य अर्थतन्त्रको बागडोर राज्यको अधिनमा हुनुपर्दछ । जस्ले राष्ट्रिय गौरवका योजनाहरु, उद्योग, कलकारखाना, शिक्षा, स्वास्थ, ट्रेडमार्क र जलविद्युत आयोजना लगायतका क्षेत्रहरु, राज्यको नियन्त्रणमा समान बितरण हुन्छ । त्यस अवस्थालाई मात्र समृद्धको अवस्था भन्न सकिन्छ ।
समृद्ध नेपाल तब मात्र हुन्छ, जब राज्यमा पुँजीको सत्ता खारेज हुन्छ । पुँजीवादी सत्ताले आम जनता समृद्ध भएको देख्न चाहँदैन । उसको दृष्टिकोणमा पनि समानता त हुन्छ नै तर उसले चाहेको समानता, यथास्थितिमा हो । त्यसले आम जनतालाई उपयोगी साधन मात्रै ठान्दछ । उसको धर्ममा, आफ्नै वर्ग चरित्र भएकाहरु बाहेकका जनता सम्पन्न भएको अनिष्ट सिद्ध छ । नेपालमा राज्य गरिब, सिमित ब्यक्ति धनी छ्न । तिनीहरुले राज्य शक्तिशाली हुनु दिँदैनन् । तसर्थ देशमा त्यो प्रणालीको अन्त्य गरि वैज्ञानिक विधिमा आधारित राज्यको मार्गचित्र निश्चित नगरी, अहिलेकै चरीत्र बोकेर “समृद्ध” नेपाल निर्माणको नारा, भ्रम मात्र हो ।

