जगन्नाथ काफ्ले – समृद्द नेपालको निर्माण आफैं निर्माण हुदैन । उद्यमी समाज निर्माण गर्नु पर्छ र आफ्नै गाउँ/नगरमा लगानी तथा रोजगारी सिर्जना गर्नु पर्दछ । दीगो रुपमा आर्थिक बिकासको आधार सिर्जना गर्नु पर्छ । देशको कुना कुनामा आफ्नै स्थानीय ईलाकामा ब्यबसायिक उद्यमशीलता लिनु पर्दछ । यस्ता उद्यमशीलता लिनको निमित्त पृष्ठभूमी आफैंले सिर्जना गर्नु पर्दछ । यसको लागि आफ्नो गाउँ/नगर क्षेत्र भित्र उद्यमशीलता लिनको निमित्त के कस्ता सम्भाव्यताहरु छन्, राम्रो संग केलाउनु पर्दछ ।
क. गाउँ/नगरमा विद्यमान आधारहरु के कस्ता छन् ?
कुनै पनि कार्य गर्नुपूर्व उक्त क्षेत्रमा ‘के कस्तो आधारहरु छन् ?’ सो को पहिचान गर्नु जरुरी हुन्छ । आर्थिक क्रियाकलाप सुरु गर्ने भौगोलिक आधार(जलबायु, जमिनको अवस्थिति), केन्द्र या सुगम बजार संगको संजाल, विद्यमान भौतिक पूर्वाधार, पुँजीगत संसाधन, प्राबिधिक संसाधन, प्राकृतिक संसाधान एबम मानवीय संसाधनका आधारहरु राम्रो संग केलाउनु पर्दछ ।
ख. अहिलेको परिस्थितिमा गाउँ/नगरसंग कुन क्षमता छ?
पहिलो कुरा आफुसंग भएको सवल ब्यबहारिक एबम ब्यबस्थापकीय क्षमतालाई उक्त गाउँ/नगरमा लगेर कहाँ बाट, के बाट सुरु गर्ने ता कि आफुलाई सहजै उद्यमशीलता लिन सहज होस् | दोश्रो कुरा, आफ्नो गाउँ/नगर भित्र स्थानीय समुदायसंग के कस्तो क्षमता छ ता कि समुदायलाई आफूसंगै लिएर उद्यमशीलता लिन पनि सम्भव होस् । आफ्नो गाउँ/नगरका सवलपक्षहरु(जस्तै, अनुकुल मौसम, बिशेष आर्थिक पकेट क्षेत्र, कृषि-उद्योग- पर्यटन-अन्यसेवा) के कस्ता छन्? निकट भविष्यमा के कस्ता बस्तु तथा सेवामा उद्यमशीलता बिस्तार गर्न सकिन्छ, सो सम्भाव्यता केलाउनु पर्दछ ।

ग. गाउँ/नगरको परिस्थिति के छ?
अहिले गाउँ/नगरमा के कस्ता उत्पदानका साधनहरु छन् ? के कस्ता आर्थिक उद्यमशीलता र जिबिकोपार्जनको माध्यम छन् ? त्यसमा आफुले कस्तो किसिमको सिर्जनशील भूमिका निर्वाह गर्न सकिन्छ जसले थप नयाँ र प्रभावकारी उद्यमशीलता सिर्जना होस् ।अहिले गाउँ/नगरको सामाजिक रहन सहन तथा आर्थिक निर्वाह कसरी चलेको छ, अथवा के कस्ता बस्तु तथा सेवा बाहिर निर्यात गर्न सकिन्छ ? यो अवस्थालाई कस्तो उद्यमशीलता बढी सक्रीय बनाउन सकिन्छ त्यसको सम्भाव्यता खोज्नु पर्दछ ।
घ. गाउँ/नगरको स्थानीय उत्पादन के के छन्?
अहिले गाउँ/नगरमा के कस्ता कतिमात्रामा अनि कुन गुणस्तरमा उत्पादन भईरहेका छन्, ति के कति बढी या अपुग छन् अथवा उक्त गाउँ/नगरको मौलिक उत्पादन के कस्ता छन् ? ति उत्पादन लाई कसरी गुणस्तर र मात्रा बढाउन सकिन्छ र व्यवसायिकीकरण गर्न सकिन्छ केलाउनु जरुरी हुन्छ ।
ङ. गाउँ/नगरलाई के के को आवस्यकता छ?
गाउँ/नगरमा के कस्ता आधारभूत बस्तु एबम सेवाहरुको सहज उपलब्धता छैन? के कस्ता बस्तु एबम सेवाहरुको मात्र एबम गुणस्तर बढाउन सकिन्छ: त्यो राम्रो संग केलाउनु पर्दछ | त्यस्तै, के कस्ता सेवाहरु आफ्नो गाउँ/नगरको निमित्त अहिले नै आवस्यकता खड्केको छ, सो पनि पहिचान गर्नु पर्दछ ।
च. गाउँ/नगरको उत्पादनलाई बजार र बजारको उत्पादनलाई गाउँ/नगरमा कसरी पुर्याउन सकिन्छ ?
अहिले गाउँ/नगरको उत्पादनले बजार लिएका छन् कि छैनन् अर्थात् बजारबाट बस्तु तथा सेवा टोल टोल कसरी पुगिरहेका छन् र आफुले आफ्नो स्थानीय स्तरमा उद्यमशीलता लिएपछि गाउँ/नगरको उत्पादन बजार र बजारको उत्पादन गाउँ/नगर कसरी पुर्याउन सकिन्छ त्यसको सम्भाव्यता खोज्नु अर्को महत्वपूर्ण काम हो ।
छ. सम्भावित उद्यमशीलता के कसरी लिने?
स्थानीय स्तरमा के कस्ता कति मात्रा र गुणस्तरमा साधन तथा श्रोतहरु उपलब्ध छन् साथै उपलब्ध स्रोत साधनहरुलाई कसरी उत्पादनमुलक काममा प्रयोग गर्न/गराउन सकिन्छ सो को समेत सम्भाव्यता केलाउनु पर्दछ । आफ्नो गाउँ/नगरमा आवस्यक साधन श्रोत एबम प्रबिधि अपर्याप्त हुने भएमा बाह्य क्षेत्रबत् कहांबाट, के, कसरी, कति आयात गर्ने साथै सम्भावित उद्यमी, लगानीकर्ता, लगानीका श्रोतहरु र प्रक्रियाको समेत सम्भाव्यता अध्ययन हुनु पर्दछ ।
ज. अग्र पृष्ठ सम्बन्ध(Forward-Backward Linkage) कसरी स्थापना गर्ने ?
उद्यमशीलता लिएर मात्र हुदैन, उत्पादन गरेर मात्र पनि दीगो हुदैन | कुनै पनि सफल उद्यमशीलताको निमित्त कुनै उत्पादनको निमित्त चाहिने श्रम(शीप, अनुभव, शारीरिक एबम मानसिक क्षमता), पुँजी(कच्चा पदार्थ समेत), भूमी र प्रबिधि समेतको आगत बजार (input market); श्रोत तथा साधनलाई उत्पादनमा बदल्ने प्रक्रिया (Processing) र उत्पादन भई सकेपछी, गोदाम, ढुवानी, बजारीकरण तथा अन्तिम उपभोगता सम्मको बजार (output market) ब्यबस्थापन अथवा अग्र पृष्ठ सम्बन्ध पत्तालागाउनु उद्यमशीलताको जग बसाल्ने अर्को महत्वपूर्ण पाटो हो ।
यसरी उद्यमशील समाज निर्माण गरेर आफ्नै जीवनकालमा समृद्द नेपाल बनाउन सकिन्छ ।

