–डा. अरुणा उप्रेती
समाजमा परिवर्तन भइरहेछ । ३५ वर्षअघि मेरो बुबाको मृत्यु हुँदा मेरा दाइ र आमा बडो दु:खपूर्वक किरिया बसेका थिए । सुकुलमा सुतेर, एक छाक दाउरामा पकाएर, नुन नखाएर, कसैलाई पनि नछोएर शारीरिक र मानसिक रूपमा थकित उनीहरूले १३ दिने संस्कार पुरा गरे ।
त्यसपछि एक वर्षसम्म मेरी आमाले सेतो लुगा लगाएर बसिन् । एक वर्षसम्म घरबाटै बाहिर निस्किनन् । त्यसको १५ वर्षपछि मेरो ठूलो बुबाको मृत्यु हुँदा उनको छोराले ग्यासमा पनि खाना बनाएर खानुपरेन । रोटी र तरकारी घरको भान्साबाटै गयो । ठूली आमाले नाकको फुली पनि फुकालिनन् । १३ दिनपछि ४५ दिनसम्म हल्का निलो, पहेँलो रंगको लुगा लगाइन् । ४५ दिनपछि त उनले लसुन, प्याज, मासु सबै खान थालिन् । वास्तवमा त्यो हाम्रो सामाजिक जीवनमा आएको ‘क्रान्ति’ नै थियो ।
काजकिरियाको कठोर संस्कार समयक्रमसँगै परिवर्तन हुँदै आएको छ । किरिया बस्दा दाउराको चुलोको सट्टा ग्यासमा भात पकाउने चलन आयो । सुत्दा पनि सुकुलको सट्टामा खाटमै पराल विछ्याउन थालियो । मोबाइलको प्रयोग सुरु भइसकेपछि किरिया बस्नेले मोबाइल चलाउने छुट पनि पाए । पति मरेपछि महिलाले एक वर्षसम्म सेतो लुगा लगाएर घरमै कुँजिएर बस्नुपर्ने चलन हटिसकेको छ ।
एकल महिलाले थरीथरी रंगको लुगा लगाउन थालेका छन् । अहिले समाज झन् ठूलो परिवर्तन आउँदैछ भन्ने डा. उपेन्द्र देवकोटाको परिवारबाट देखियो । डा. देवकोटाको दागबत्ती श्रीमती र छोरीहरूले दिए । ‘छोरा नभएर दागबत्ती दिने कोही हुँदैन’ भन्ने पिरलो गर्नेहरूलाई सायद डा. देवकोटाका छोरीहरूले शव उठाएको र अन्तिम अग्नि दिएको घटनाले निकै शीतल पारेको हुनुपर्छ ।
मेरा दुई छोरी छन्, नजानिँदो पाराले समाजले मलाई सोधिरहन्छ, ‘तिम्रो मृत्युपछि किरिया को बस्छ ?’ मैले भन्ने गरेकी छु, ‘आँखा दान गरिसकेकी छु । शरीर पनि केही समयपछि दान गर्छु । मलाई त जलाउनै पर्दैन । मेरो किरिया बस्नै पर्दैन भनेर छोरीहरूलाई भनिसकेकी छु ।’
डा. देवकोटाको देहावसानपछि डा. मधु देवकोटालाई भेट्न उनको घरमा गएकी थिएँ । सेतो कुर्ता–सुरुवाल र सेतो चप्पलमा आँगनमा उभिरहेकी डा. मधुले आफूलाई निकै सम्हालेकी अनुभव भयो । आउने–जाने मानिससंँग उनी सहज भएर कुरा गरिरहेकी थिइन् । मैले डा. उपेन्द्र देवकोटाले हामीलाई महाराजगन्जमा पढाउँदाका केही रमाइला संस्मरण डा. मधुलाई सुनाएँ । उनको अनुहारमा मुस्कान पनि आयो । नजिकै सेतो कुर्ता–सुरुवाल लगाएर उभिरहेकी छोरीको हात समातेर मलाई चिनाउँदै उनले भनिन्, ‘उहाँ तिम्रो बाबाकी विद्यार्थी ।’ डा. मधुलाई सहानुभूति दिन आउनेहरूको लर्को थियो । डा. देवकोटाको काजकिरिया १३ दिनबाट छोट्याएर ७ दिनमै सकियो ।
केही दिन अघिमात्र २ छोरीले कपाल खौरेर बाबुको किरिया बसेको फोटो मिडियामा आयो । छोरीले किरिया बसेको भनेर कतिले नाक पनि खुम्च्याए होलान्, तर धेरै मानिसबाट ‘यो राम्रो काम हो’ भनेर कुरा गरेको सुनियो ।

मृत्युपछि काजकिरिया ७ दिन, ५ दिनमा छोट्याउने कि भन्ने बहस चलिरहेका बेला डा. मधुले पनि किरियाकर्ममा परिवर्तन ल्याइदिइन् । ‘चुपचाप क्रान्ति’ भनेको यही होला । डा. मधुलाई सहानुभूति दिँदै मैले भनेँ, ‘यस्तो शोकको समयमा तपाईसंँग भेट्न आउँदा पनि एउटा कुरामा चाहिँ मेरो चित्त शान्त भएको छ । तपाईले कतिपय अन्धविश्वास तोड्नुभयो ।’
समाजमा प्रतिष्ठित व्यक्तिहरूले गलत संस्कार परिवर्तन गर्न साहस देखाए सामान्य मानिसमा पनि आत्मविश्वास बढ्छ । कति ठाउँमा त श्राद्धकर्ममा कम मान्छे बोलायो भने लोभ गर्यो भनेर टिप्पणी पनि गर्ने गरिन्छ र त्यही डरले धेरैलाई निमन्त्रण गर्ने चलन छ । मृतकको आत्मा शान्तिका लागि परिवारजनले सम्झेर श्राद्ध गर्ने हो भने विवाहको भोज गरेजस्तो किन धेरै मानिसलाई बोलाउनुपर्यो र भनेर विचारै गरिँदैन ।
घिमिरे थरकी ४० वर्षीया एक महिलाले मलाई सुनाएकी थिइन्, ‘मेरो परिवारमा एक वृद्धाको मृत्यु हुँदा श्राद्धमा झन्डै १२०० जनालाई बोलायौं । त्यही अनुसार प्रसाद पनि तयार गर्यौं । तर ३०० जनामात्र प्रसाद ग्रहण गर्न आए । अरु खाना खेर गयो । मानिसहरू बोलाउँदा पनि श्राद्धमा आउँदैनन् भन्ने थाहा त थियो । तर फेरि आए भने त भोजन नपुगेर लाज हुन्छ भन्ठानेर बनाएका थियौं । भोलिपल्ट खाल्टो खनेर पुर्नुपर्यो । थोरै मान्छेमात्रै बोलाउँ भन्ने कुरालाई घरपरिवारले अस्वीकार गरे ।
बरु त्यो खानाको पैसा त कुनै स्कुल, वृद्धाश्रममा दिएको भए पो आत्माले बढी शान्ति पाउँथ्यो होला । तर मेरो कुरा सुनेनन् । तर कमसेकम म मरेपछि चाहिँ मेरो श्राद्धकर्म नगरिदिनु भनेर मेरा छोराछोरीलाई भन्छु । आत्मालाई किन भोजन चाहियो र ?’ साधारण लेखपढ गरेकी ती महिलाको विचार सुनेपछि मलाई लाग्यो, वास्तवमा हामीले थाहा नै नपाइकन समाजमा परिवर्तन भइरहेछ ।

