प्राध्यापक चैतन्य मिश्र
समृद्धिका बारेमा हामी हाम्रा दुईवटा ऐतिहासिक पृष्ठभूमिको चर्चा गर्न सक्छौं, जुनबेलामा दक्षिण एसिया -भन्न मिल्छ भने चीनसहितको दक्षिण एसिया) समृद्ध भएको देखिन्छ । एउटा धेरै अगाडि बुद्धकालीन कालखण्डको दक्षिण एसियाली भूभाग । अर्को कालखण्ड हो, सन् १२ सयदेखि पाँच सय वर्षसम्मको अवधि । म दोस्रो कालखण्डका बारेमा धेर चर्चा गर्दैछु ।
त्यो अवधिमा यो पूरै क्षेत्र सम्पन्न थियो, संसारको सबभन्दा विकसित क्षेत्रमै थियो सायद । यो कुरा पनि विचार गर्नु महत्वपूर्ण छ । किनकि हामी यसरी हुर्केका छौं, हामीलाई नेपाल सधैं गरिब नै थियो जस्तो लाग्छ । त्यसबाट हामीलाई अब पछि पनि यस्तै हुन्छ भन्ने हाम्रो मानसिकता बन्छ । त्यसबाट मुक्ति पाउने हामीलाई कल्पना गर्नसमेत गाह्रो छ ।
तर, हामीले ती ऐतिहासिक कालखण्डहरु, जुनबेला नेपालसहितको सिंगो क्षेत्र समृद्ध थियो, त्यो थाहा पायौं भने हामीले गर्ने समृद्धिको कल्पना पनि अलि राम्रो हुन सक्छ । त्योबेला भारतमा मुगल साम्राज्यको बेला थियो । मुगल साम्राज्य सुरुदेखि उत्कर्षसम्म पुगेको बेला थियो । चीनमा सङ र मेङको समय थियो, जुन बेलामा चीनको सबभन्दा स्वर्ण युग भनिन्छ ।
नेपालमा त्यहीबेला हो, खस साम्राज्यको बेला, मल्ल राज्यको बेला, सेन राज्यको बेला, जुन सायद नेपालको सबभन्दा समृद्ध समय थियो । त्यतिबेला काठमाडौं उपत्यका त संसारको सम्पन्न ठाउँमध्येको थियो । त्यसकारण हामी सबैले त्यो बारम्बार सम्झी राख्नुपर्छ, खास गरेर नेपालका राजनीतिज्ञहरुले सम्झिराख्नुपर्छ जस्तो लाग्छ । त्यसबाट ऊर्जा लिनुपर्छ ।
विगतलाई विश्लेषण गर्ने, त्यसमा पनि राम्रा कुरालाई विश्लेषण गर्ने, त्यसबाट पाठ सिक्ने र वर्तमानलाई विश्लेषण गर्ने र भविश्यलाई ‘रि-इम्याजिनेसन’ गर्ने त्यो सबै कुरा हामीले इतिहासले दिएको छ । यो तीन सय वर्ष मात्र रह्यो । सन् १७ सयपछि यो क्षेत्र ओरालो लाग्यो । सन् १६ सयमा संसारमा जति वस्तु र सेवा उत्पादन हुन्थे, त्यसको ५५ प्रतिशत यही क्षेत्रबाट हुन्थे । ५५ प्रतिशत कुल गार्हस्थ उत्पादन यो क्षेत्रको रहन्थ्यो । त्यो दोहोर्याउँदै सम्झिन लायक छ । त्यसले हामीलाई त्यस्तो फेरि हुन सक्छ, हामी फेरि त्यही हाराहारीमा पुग्न नसके पनि उल्लेख्य उपलब्धि हासिल गर्न सक्छौं भनेर ढाडस दिन्छ ।
के कारणले ओरालो लाग्यो ?
समृद्धिको एउटा चक्र छ । त्यो समृद्धिको कोर एरियाहरु कहिले विश्वको कुनै ठाउँमा त कहिले कुनै ठाउँमा घुमिराखेको छ । सन् १७ सय पछाडि हाम्रो क्षेत्रमा बेलायतको उपनिवेश हावी भएको बेला भयो । त्यो उपनिवेशको अन्तर्गत यो क्षेत्र ज्यादै कमजोर भयो, उद्योगहरु खस्किए । यहाँ ठूलो हदको औद्योगिकरण थियो । भारत र चीनका शहरहरु संसारका सबभन्दा धेरै जनसंख्या भएका शहरहरु थिए । त्यत्रो जनसंख्या कहीँ थिएन संसारमा । तर, त्यसपछि औद्योगिकरण सुस्तायो, बेरोजगारी सिर्जना हुन थाल्यो । क्रमशः ओरालो लाग्यो । त्यो बेलामा चीन, नेपाल र भारतमा पनि ठूलो राजनीतिक उथलपुथल पनि भएको थियो, सायद अन्य एसियाली मुलुकहरुमा पनि ।
उथलपुथलकारी बेला (यसलाई एकथरीले सिर्जनशील विनाश पनि भन्छन्) र विशाल आर्थिक सम्पन्नताको बेला थियो । अनि क्रमशः पूँजीवादी विकासको केन्द्र यताबाट उता (पश्चिममा) सर्यो । अब यतिका तीन चार सय वर्षपछि यो सम्भावना फेरि देखिएको छ, नयाँ युगमा हामी पदार्पण गर्दै छौं । सन् १६ सयदेखि १७ सयसम्म हराएको समृद्धि यो क्षेत्रमा फर्किने सम्भावना अहिले टड्कारो देखिएको छ । भारत र चीनको समृद्धिका फिगरहरु हामीलाई थाहा छँदैछ ।
समृद्धि सजिलो कुरा त छैन । अघि मैले केही वातावरण बन्दैछ, विश्वको ऐतिहासिक परिस्थिति अहिले कस्तो बन्दै छ भनेर भारत र चीनको कुरा गरेको हुँ । त्यसले धेरै कुरा खोले पनि सबै सम्भावना खोल्दैन । हामीले आफैंले गर्ने कुरा हो । गरेर मात्र हुने कुरा हैन, हामीले बुद्धि पुर्याएनौं भने राजनीतिक उथलपुथलकारी बेला पनि हो । त्यहाँ भएको विकासले हामीकहाँ राजनीतिक उथलपुथल र सैन्य उथलपुथल पनि ल्याउँछ ।
भारत र चीनसँग नेपालको तुलना
भारत र चीनको विकास तीव्र हुँदै जाने हो भने र हामीले त्यो वृद्धिसँग प्रतिस्पर्धा गर्न नसक्ने हो भने ठूला संकटहरु आउन सक्ने सम्भावना छ । अहिले नै त्यसका सूचकहरु १०-१५ वर्षयता देखिएको छ भन्ठान्छु म । त्यो चाहिँ पछि बढ्दै जान्छ ।
गरिबीको चापमा नेपाल लामो समय रह्यो । त्यसबाट उम्किन थालेको चीन करिब १९७८ देखि र भारत १९९० देखि हो । १९९० ताका हाम्रो पनि आर्थिक वृद्धिदर सारै कम थिएन । अहिले पनि भारत र चीनभन्दा हाम्रो वृद्धि दर त धेरै पछाडि नै छ, तर विश्वको तुलनामा ३-४ प्रतिशतको वृद्धि सारै थोरै हैन ।
भारत र चीनसँग तुलना गर्ने हो भने चाहिँ सारै थोरै हो । त्यसकारण हामीलाई त छिमेकमा बाँच्नु छ, छिमेकमा बाँच्नलाई त्यहीखालको वृद्धि दर हासिल नगर्दा ठूलो घाटा पर्ने सम्भावना छ । त्यो घाटा आर्थिक मात्र हैन, अरुखालका घाटाहरु पनि, राजनैतिक घाटा, सामरिक घाटाहरु पनि हुन सक्छन् भन्ठान्छु म ।
(एक बर्ष पहिले पोखराम नेपाल साहित्य महोत्सवमा ‘समृद्धि कति नजिक’ विषयमा मिश्रले राखेको धारणा)

