सन्दर्भ ‘मेरो सरकार’को– किन सँधै विवादमा तानिन्छन् राष्ट्रपति भण्डारी
प्रेम पूर्वक, आदर पूर्वक, सम्मान पूर्वक, पूर्ण सकारात्मक सोच राखेर आज फेरि एक पटक सम्माननिय राष्ट्रपतिज्यूको विषयमा बोल्नै पर्ने गरि कथाले माग्यो । यो कथा यति दरिद्र छ कि बेला बखतमा मागी रहन्छ । यस अघि स्वतस्फूर्त र यस पटक कथाले मागेको हुनाले अति आदरणीय र अति सम्मानित राष्ट्रपति कार्यालयबारे टिप्पणी गर्न बाध्य भएको छु । नीति तथा कार्यक्रम प्रस्तुत गर्दा महामहिम राष्ट्रपतिज्यूले मेरो सकारले भनेर गर्नुभएको सम्बोधन र त्यसले उब्जाएिको विवादमा विद्धानदेखि भारेभुरे पटमुर्खसम्मले जिब्रो पड्काई पड्काई इच्छा अनुसारको स्वादमा आफ्नो विचार राखिसके ।
हाम्रो विचार त्यो भन्दा आकाश पातल नै फरक त हुने वाला छैन । तर नेकपा तथा गैर नेकपा गरी दु्ई भागमा विभाजित भिडले यो भुल्यो कि राष्ट्रपति नेकपाकी नेतृ होइनन् । एकाँध नेकपा नेतालाई छोडेर मेरो सरकार भन्ने अभिव्यक्तिका लागि सबै जसो नेकपा समर्थकहरुले राष्ट्रपतिको बचाउ गरे ।
यो नविर्सौ कि राष्ट्रपति हिजो तत्कालीन एमालेको नेतृ थिइन् आज देशकी राष्ट्रपति हुन् । त्यसैले नेकपाले आफ्नो नबनाओस । कांग्रेस लगायत अन्य दलले पराई नबनाओस् । जनसंख्या, भुगोलका हिसाबले हाम्रो देश सानो चिटिक्क परेको देश हो । दुई जना अपरिचित मानिसहरु १५ मिनेट कुरा गर्न थाले भने नाता पर्ने सम्भावना हुन्छ । समाज त्यति जोडिएको छ ।
यो समाजले आफ्ना राष्ट्रपति प्रधानमन्त्री, मन्त्रीहरु एकै पटक झुपडीबाट महलमा गएको रुचाउँदैनन् । यो देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु अस्ति भर्खरसँगै बस चढेका हुन्, कलेज क्यान्टिनमा सँगै उधारो खाएका साथीहरु हुन्, चप्पल चुँडिएर किलाले अड्काएका जु्त्ता फाटेर तलुवा टालेका, कोठा भाडा तिर्न नसक्दा घरबेटीसँग लुक्दै हिँडेका र भोजमा गएर मोज गर्न साथीको कोट सापट लिएकाहरु मध्ये कै एक हुन् ।
त्यसैले हिजो सोरेको भकारो अझै गन्हाउने साथीहरु मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति भएकोमा दुःख लाग्या, औडाह भएको होइन कि त्यस्तो दुःख गरेर राजनीति गरेकाहरु पनि सत्तामा पुगेर राजा–रानीझैँ फाइफुट्टी लगाएको देखेर कन्सरीका रौ तातेका हुन् ।
हुनलाई त अमेरिकाको राष्ट्रपती पनि राष्ट्रपति हो नेपालको राष्ट्रपति पनि राष्ट्रपति नै हुन् तर यो गरिबी अभाव, बेथितिले थङ्थिलो पारेको समाजमा हिजो भैंसी चराउनेले मन्त्री भएर पनि भैंसी नै चराओस् भनेको होइन् । तर, भैंसी चराउनेलाई चटक्कै विर्सेर विलाशिता नदेखाओस् भन्ने सिम्पल चाहना मात्रै हो ।
२० बर्ष अगाडि सुकुम्बासीका रुपमा जग्गा प्राप्त गर्ने धेरै नेताहरु मन्त्री भैसके । तिनको प्रगतिमा रिस गरेको होइन तर राजनीतिलाई हतियार बनाएर धन थुपार्नेहरुले यो देश बनाउँछन् भनेर कम्तीमा विश्वास गर नभनिदिनुहोला । राजनीति सेवा हो पेशा होइन । भएको सम्पत्ति त सकिन्छ निष्ठाको राजनीतिमा नभएको सम्पत्ति कहाँबाट आउँछ ?
बस जनताको दुख नै यहि हो । हिजो राजाको भाषणमा मेरो सरकारले भनेर सम्बोधन गरेको सुनेका हामीले आज ठ्याक्कै उस्तै दुरुस्तै जनताबाट चुनिएको राष्ट्रपतिबाट पनि मेरो सरकारले भनेको सुन्दा कर्ण अप्रिय लाग्दैन र ?
उता व्यवहार पनि राजाकै जस्तो, सवारी चल्दा सबका सब ठप्प रोकिने । टिका लगाइदिने बेला घुडा टेक्न लगाउने । १८ करोडको गाडी चाहिने । भाषण पनि मेरो सरकार भन्ने भएपछि जनता झस्किने स्वाभाविकै हो ।
हेलिकप्टर सरकारले दियो लिए, करोडौको गाडी सरकारले दियो लिए, तालिमकेन्द सरकराले हटाइदिने निर्णय ग¥यो लिए, मेरो सरकार भनेर सरकारले दियो भनिदिए भन्नुको साटो मलाई किन यसरी नेपाली जनताले पटक–पटक विवादमा पारिरहेका छन् भनेर सोध्न र सोच्न सके राष्ट्रपतिज्यूको सम्मान बढ्छ ।
राष्ट्रपतिले मेरो सरकार भन्न पाउनु हुन्छ होला । तर त्यसको साटो नेपाल सरकारले यो सरकाले वा सरकारले मात्रै भनिदिदा बिग्रने के थियो र ? सम्माननिय राष्ट्रपतिज्यूलाई मेरो विनम्र अनुरोध छ । अत्यन्त जरुरी भ्रमणहरु बाहेकका हिड्डुलमा सामान्य नागरिक जस्तै १ घण्टा जाममा परेर यात्रा गर्दा केही बिग्रदैन । सके जनताको मर्का बुझ्न सार्वजनिक सवारी नै चडेपनि हुन्छ, तपाईको सम्मान बढ्छ ।
विदेश भ्रमणमा सकेसम्म रात्रिकालीन उडानहरु लिन सके आलोचनाबाट बच्न सकिन्छ । यहाँ बजार भाउ बढेको, भिषा नलागेको जाँचमा फेल भएको, लाइसेन्स निकाल्न नसकेको, बाटोमा खाल्डो परेको सारा टेन्सनको रिस पोख्नुछ जनतालाई । त्यही रिस पोख्न तपाईले सजिलो पारिदिनु भएको मात्र हुनसक्छ ।
सार्वजनिक पद धारण गरिसकेपछि यो समाज सुहाउँदो गतिविधि भएन भने यो समाजले ‘उ हेरन यसको चुरीफुरी’ भन्छ नै भन्छ । नेकपा समर्थकहरुले त तपाईका राम्रा नराम्रा हरेक गतिविधि, आनीबानी, भाषण, भ्रमणको ज्यान फालेर बचाउ गर्छन् । तपाईका सल्लाहाकार जति दम नभएका त कसैका सल्लाहकार छैनन्, ठोकेर भन्छु ।
तर हामी जस्ता आलोचक मात्रै बाँकी छौं, जो व्यक्तिगत रुपमा तपाईको होइन । यो राष्ट्रकै सम्मानित र गरिमामय पदको कद बचाउन खरो बोल्छांै । मेरो सरकार भन्न तपाईलाई संविधानले नरोक्ला तर यो शब्दावलीले तपाईको विरोध हुन्छ भन्ने अनुमान गर्न नसक्ने आलाकाचाहरुबाट अब चाँही बच्नुहोला । भक्त त झन् भैहाले नि, तिनले त तर्क कुर्तक तेस्र्याएर तपाईको बचाउ गर्छन् नै गर्छन् ।
मेरो सरकार मात्रै होइन अन्त्यमा श्री पशुपति नाथले हामी सबैको कल्याण गरुन् पनि भनि हेर्नुस् । भक्तहरुले त्यसको पनि बचाउ गर्नेछन् र भन्ने छन कि पशुपति नाथ राजाको मात्रै पेवा हो ? पशुपति नाथले जनताको कल्याण गरुन् नभनेर सत्यानाश गरुन् भन्नु पर्ने हो जस्ता छेउ टुप्पै नमिल्ने तर्क कुर्तक गर्नुबाहेक यिनको अरु काम नै छैन ।
यस्ता फुर्सदिलाहरुको कुरा सुनेर र यिनलाई राज्यको तलब दिएर पालेर पदको गरिमा नघटाइदिनुहोला । त्यो सीधाकुरा चलाउनेले आज पनि हजुरलाई गाली ग¥यो भनेर भोलि बिहान कुकुरले ब्रेक फाष्ट नखादै कुनै हनुमानले कुरा लगाइदेला । यस पटक यो मेरो सुझाब त्यसका मुखबाट होइन आफ्नै कानबाट सुन्नुहोला ।
आजको एपिसोडमा निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः
१. एक रुपैयामा ‘ह्विल–चेयर’ यसरी सम्भव छ !
काठमाडौं । वीर अस्पतालमा एक पैसामै ह्विलचेयर लगायत दर्जन बढी सामग्री दिने गरी आशय स्वकृति भएको श्रेष्ठ साइन्टिफिक टे«डर्सले अन्य सामानको मूल्य भने बजार भाउ भन्दा दोब्बर राखेको छ । बजारमा २ हजारमा पाइने डे«सिङ ड्रमको मूल्य ३२ सय राखेको छ, भने बजारमा १३ सयमा पाइने न्युब–लाइजर मेशिनको मूल्य २४ सय राखेको छ । यस्तै बजारमा ८ हजारमा पाइने पोर्टेेबल सक्शन मेसिनको १८ हजार राखेको छ ।
२. महारानीले आफ्नै ग्रुपका दर्जनौ युवा युवतीलाई ठगेपछि…
काठमाडौं । बेरोजगार युवाहरुलाई रोजगारी दिने नाममा ठग्ने गिरोह शहरमा जताततै छन् । बालुवाटारमा कार्यालय रहेको रानी डाइना विजनेश ग्रुपले रोजगारीका नाममा श्रम शोषण गर्दै दर्जनौ युवाहरुलाई ठगेको पाइएको छ । रानीराज्य लक्ष्मी राणा संस्थापक अध्यक्ष रहेको यस कम्पनीले ४० जना युवाहरुलाई रोजगारी दिने नाममा ठगेको भन्दै पीडित कर्मचारीले प्रहरीमा जाहेरी दिएका छन् । कम्पनीले उनीहरुलाई ट्रेनिङपछि रोजगारी दिने भन्दै पर्सनालिटी एण्ड लिडरशीप टे«ेनिङका लागि सुुरुमा १४ देखि १६ हजार रुपैयासम्म लिएको रहेछ । पछि काम दिलाउने भन्दै पार्टी प्यालेसमा भाडा माझ्ने, भान्सा सफा गर्ने सम्मका काम गराएको छ ।
३. पाल्पामा सामुदायिक विद्यालयले लिन्छ निजी विद्यालय सरह शुल्क !
पाल्पा । सरकारले निःशुल्क आधारभुत शिक्षा भन्दै सरकारी विद्यालयमा भर्ना अभियाननै चलाइरहेको छ । विद्यालयमा विद्यालय सञ्चानल खर्च बाहेक विद्यार्थीका लागि पोशाक, किताब पनि सरकारीले नै उपलब्ध गराउँदै आएको छ । तर, पछिल्ला दिनमा सामुदायिक विद्यालयले समेत अंग्रेजी माध्यममा गुणस्तरिय शिक्षा दिने बहानामा अभिवावकसँग निजी विद्यालय सरह शुल्क असुलीरहेका छन् । गाँउपालिका अध्यक्षनै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेको पाल्पा रम्भा गाँउपालिका १ स्थित जनकल्याण मावि पनि यस्तै विद्यालय हो जसले विद्यार्थीसँग चर्को शुल्क असुलिरहेको छ ।

