ओलीदेउवाको नाम लिएका घुस्याहा पाठकलाई समाउन सकिदैन निष्ठावान राष्ट्रसेवकलाई जेल कोचौं
कुनै दिन मानिस अचम्ममा परेर ढलेर बेहोस् भएछन् भने त्यसमै अचम्ममा नपर्नु होला । एउटा मान्छेले घुस खाएको अडियो भिडियो प्रमाण छताछुल्ल भइसक्यो । उनले स्वीकार गरिसके तर उनलाई कारवाही कसरी गर्ने र के आधारमा गर्ने भन्ने निर्णय कसैले गरेको छैनन् ।
प्रसंग अख्तियारका आयुक्त राजनारायण पाठक घुस काण्डको । सरले कति खानु भो त्यसको हिसाब नभएपनि ७८ लाख घुस खाएर नपचेको कुरा त क्लियर नै छ नि । राजपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र झाले २ पटक गरेर पाठक सरको घरमै पैसा बुझाएको कुरा पनि क्लियर छ ।
भिडियो फुटेज बाहिर नआओस भनेर पाठक सरले माओवादी कार्यकर्ताको प्रयोग गरेको कुरा पनि क्लियर छ । पाठक सरका भाई, पुर्वाञ्चल विश्व बिद्यालयका डिन शुभनारायण पाठकको संलग्नता पनि क्लियर छ । पैसा खुवाउने व्यक्ति लम्बोधर न्यौपाने नै हुन भन्ने पनि क्लियर छ ।
उक्त भिडियो खिच्ने विचौलिया तत्कालीन माओवादीका नेता कार्यकता हुन भन्ने पनि क्लियर छ । अखिल क्रान्तिकारीका नेता कैलाश मगरको नाम आएको कुरा क्लियर छ । केलाशले उपराष्ट्रपति पुत्र दिपेश पुनको नाम पटक–पटक लिएको पनि क्लियर छ । उपराष्ट्रपति पुत्र दिपेशले ७८ लाख दिएको रेकर्ड गर्ने र बीचको विचौलिया सबै भूमिका खेल्ने आफ्नै पार्टीको माओवादी कामरेड नै हुन भन्ने पनि क्लियर छ ।
यी उल्लेखित क्लियर भएका मानिसहरु यतिखेर कहाँ छन्, तपाईलाई थाहा छ ? आ–आफ्नै घरमा । राजनारायण पाठक र लम्बोधर न्यौपाने २ जना घुस लिने र दिने व्यक्ति हुन् । यिनले घुस लिएको र दिएको सारा प्रमाण पुगिसक्दा पनि यो देशको कानुनले यिनलाई नियन्त्रण गर्नसक्दैन, खोरमा जाकेर अनुसन्धान गर्न सक्दैन भने यो देशलाई भ्रष्टाचार मुक्त बनाउँछु भन्ने एक एक मानिस गफाडी हो ।
घुस खाएका प्रमाण पेश गर्दा पनि घुस्याहा नसमातिने हो भने आउनुहोस्, लाज पचाउनुहोस र मलाई समात्नुहोस । संसारको कुन देशमा भ्रष्टाचार गरेको प्रमाणसहितका भिडियो रेकर्डिङ बाहिरिएपछि त्यसमा संलग्न मानिस, प्रत्यक्ष–अप्रत्यक्ष नाम आएका मानिस, हान्ने राँगो, छाडा साँढे र मत्ता हात्ती जसरी बाहिर घुम्न पाउँछ ?
राजनारायणले भिडियोमा माधव नेपाल, शेरबहादुर देउवा, उपेन्द्र यादव, महन्थ ठाकुर र स्वयं प्रधानमन्त्री केपी ओलीको नाम लिएका छन् । कतै लहरो तान्दा पहरो गर्जिने भएर त होइन ? एउटा घुस्याहा समाउन कट्टु मै मलमुत्र चुहाउनु पर्ने कारण के हो ? छानविन हुँदैछ, मान्यौ तर प्रमाण प्राप्त बिषयको छानविन गर्ने कानुन नै यही हो ?
विधि नै यही हो त ? पत्ता लागेको घुस्याहालाई त समाउनै नसक्ने व्यवस्थामा उभिएर लुकेका भ्रष्टाचारीलाई कसरी पत्ता लगाउने । काण्डमा संलग्न सबैलाई तुरुन्त नियन्त्रणमा लिनु पर्दैन । उपराष्ट्रपतिका छोरा दोषी छैनन्, होला तर उनीबाट पनि थप जानकारी आउन सक्छ ।
नाम आइसकेपछि जो सुकैको छोरा होस, जो सुकैको नाती होस् यदि यो जनताको शासन हो भने सबलाई नियन्त्रणमा लिएर छानबिन गर्नुपर्छ । उसैपनि नेताका छोराछोरीहरु काम धन्दा, व्यापार, व्यवसाय ठेक्का–पट्टा, साँठगाँठ पहिलेका राजाका छोराहरुलाई नै माथ गर्ने खालको भैसक्यो ।
यो बिषयमा पछि सीधा भन्दा पनि सीधाकुरा गरौँला । तर पावर र पहुँचवालाहरुको नृत्य हेर्न यो देशमा हजारौँले बलिदान दिएका होइनन् । सयाँैको सिउदो पुछेर, कयौलाई टुहुरा र अपांग बनाएर ल्याइएको व्यवस्थामा लड्ने नेता र तिनका सन्तान र आफन्तले व्याज खाएको देखिन्छ ।
सेनाको भ्रष्टाचार हेर्नै नमिल्ने, अख्तियारको भ्रष्टालाई फेर्नै नमिल्ने, अदालतमा फर्जि डकुमेन्ट पेश गरी बेन्च सपिङ गर्ने न्यायाधिशलाई छुनै नमिल्ने, नेताका छोराछोरीका ठेक्का पट्टाको जालो तोड्नै नमिल्ने, कांग्रेस त कांग्रेस भैगए कम्युनिष्ट नेता पनि धनाढ्य हुने, सम्पती नै सम्पत्ती जोड्ने, ठुल्ठुला कम्पनीको शेयर किन्ने तर पार्टीले चुइक्क बोल्नै नमिल्ने, कर्मचारी टुप्पिएर उधुम छ, खटाएको ठाँउमा जानै नमिल्ने ।
हैन, हाम्रो मुलुकमा राजा हटेको एक दशक पनि नबित्दै कति धेरै राजा, महाराजा जन्मिएका हुन ? नव युवराज र नव शाह ज्यादहरु अति नै ज्यादा भए । नियन्त्रण गर्न नसक्ने हो भने बरु विभिन्न संघ संगठन खुले जस्तै नेपाल भ्रष्टाचारी तथा घुसखोरी महासंघ खोलाँै ।
खुल्लम खुल्ला चलेको लुटलाई बरु संघ नै खोलेर खुला गराँै । नियन्त्रण गर्ने ह्याँकुला छैन भने रसिद काटेरै घुस खान दिआँै । कमसेकम घुसैको खाजश्व उठाएर पनि देशको अर्थतन्त्र उकास्न सकिन्छ कि !
सप्रमाण चिनेका घुस्याहालाई पनि समाउन टाउको कन्याउने हो भने एक एक गर्दै निष्ठावान राष्ट्रसेवकलाई जेल कोचाँै । नेपालमा बसेर इमान्दार बन्ने ? एक एकलाई ठीक पारियोस् ।
कार्यक्रमको आजको एपिसोडमा निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः १. काठमाडौंको बसपार्कमा बर्दिवाला गुण्डाको दादागिरी !
काठमाडौं । कार्यक्रममा काठमाडांै बसपार्क क्षेत्रमा रातको समयमा चिया बेच्ने व्यक्तिहरुलाई प्रहरीले धरपकड गर्ने गरेको भन्दै केही युवाहरुले गुनासो गरे । रातिको समयमा थर्मस बोकेर चिया बेच्दै हिँडदा पनि प्रहरीले थर्मस खोसिदिएको भने पछि हाम्रो टिम विहीबार राति उनीहरुले चिया बेच्दै गरेको स्थानमा पुग्याँै ।
२. एयरपोर्ट इमिग्रेसनका कर्मचारीको चरम लापरवाही !- काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भित्र रहेको इमिग्रेसन डिपाटमेन्ट चरम लापरवाही हुने गरेको देखाउदै आएका छौं । केही दिन अघि मात्रै स्टुडेन्ट भिषामा साइप्रस जाने विद्यार्थीहरुलाई उनीहसँग भएको भिषा नक्कली भएको भन्दै इमिग्रेसनका कर्मचारीले रोकिदिए । विद्यार्थीहरुको भिषाका बारेमा हामीले काठमाडौंमा रहेको साइप्रसको काउसिलर डिपार्टमेन्टमा सोध्दा भिषा सक्कलीनै भएको भेटियो ।
३. पर्साका प्रमुख जिल्ला अधिकारीको आफ्नै नियम !- पर्सा । वीरगञ्ज (आईसिपि)–पथलैया निर्माणाधीन सडकमा मापण्ड विपरित ओभरलोड सवारी गुडिरहेका छन् । पर्साका सिडियो नारायणप्रसाद भट्टराईले यातायात व्यवस्था सम्बन्धी ऐन नै मिचेर आफ्नै नियम लागु गरेपछि निर्माणाधीन सडकको क्षमता भन्दा दोब्बर भारवहन गरेर सवारी आवागमन भैरहेको छ । जसका कारण सडकमा असर पर्न गएको विज्ञहरुले बताएका छन् ।
४. घुसलिने झापाको नापी कार्यालयका कर्मचारीले मागे माफी- झापा । नापी कार्यालय झापा अन्र्तगतको २ नम्बर नापी टोली कार्यालय गरामनीमा भएको घुस लेनदेनका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । कार्यालयका सर्वेक्षक अनिल शाह र अमिन मानबहादुर चौधरीले सेवाग्राहीसँग घुसरकम लिदै गर्दा रंगेहात फेला परेको रिपोर्ट सीधाकुरा जनतासँगमा प्रशारण भएपछि अख्तियारको क्षेत्रीय कार्यालय इटहरीले घुस लेनदेन बारे चासो देखाउदै प्रारम्भिक अनुसन्धान सुरु गरेको हो ।

