दिपेश घिमिरे -भर्खरै विदेशमा ५५ नेपालीको शंकास्पद रुपमा लगानी रहेको विवरण सार्वजनिक भएको छ। खोज पत्रकारिता केन्द्र र आईसिआईजेले यस सम्बन्धी अनुसन्धानमूलक रिपोर्ट सार्वजनिक गरेका हुन्। नेपालमा निकै लामो समयदेखि विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने कानुनी व्यवस्था छ। यद्यपी कैयौं नेपालीको विदेशमा लगानी रहेको तथ्य सार्वजनिक हुँदै आएको छ।
वैध तथा अवैध रुपमा कमाउने र वैध वा अवैध बाटो हुँदै विदेश पैसा पुर्याउने कामले नेपाल अविकासको दुष्चक्रमा डरलाग्दो गरि फस्दै गएको छ। यद्यपी इतिहासलाई विहंगम रुपमा अध्ययन गर्ने हो भने यसरी विदेश पैसा लैजाने काम निकै अगाडिदेखि नै भएको देखिन्छ।
वि.सं. १९०३ असोज २ गते राती भएको कोत हत्याकाण्डपछि जंगबहादुर कुँवर (राणा) सर्वाधिक शक्तिशाली व्यक्तिका रुपमा नेपालको राजनीतिमा उदाए। यस अघि वि.सं. १८९४ मा तत्कालिन मुख्तियार भीमसेन थापामाथि नावालक राजकुमार देवेन्द्र विक्रम शाहलाई विष दिएको झुठो मुद्दा लगाइएको थियो। जंगबहादुरका बाबु काजी बालनरसिंह कुँवर भीमसेन थापाको पक्षमा लाग्दा जागिर खोसिएर सर्वस्वहरण भएको थियो। यसपछि वि.सं. १९०१ मा तत्कालिन प्रधानमन्त्री माथवरसिंह थापाले उक्त सम्पत्ति फिर्ता दिलाई दिएका थिए। कुँवर राणाजीहरुको वृहत वंशावली अनुसार जंगबहादुर कुँवरले सर्वस्वको क्षतिपूर्ति स्वरुप २१ हजार ६८ रुपैयाँ पाएका थिए। सर्वस्वहरण फिर्ता भएको तीन वर्ष भित्रै जंगबहादुर कुँवर नेपालको प्रधानमन्त्री बने। सर्वस्व फिर्ता हुँदा जम्मा २१ हजार सम्पत्ती भएका जंगबहादुर शासनमा पुगेको केहि समयमै करोडौंका मालिक भएका देखिन्छन्। उनी मात्र नभएर उनका आफन्तहरु समेत अकुत सम्पत्तीको मालिक बन्न सफल भए।
राणा शासन सुरु भएपछि राज्य श्रोत माथिको दोहन निकै बढ्यो। कोतपर्व गर्न जंगबहादुरलाई साथ दिएकी तत्कालिन रानी राज्यलक्ष्मीसँग शासनका केहि कुरामा असहमती भएपछि उनलाई जंगबहादुरले कैद गरे। र, वि.सं. १९०३ मंसीर ३ मा देश निकाला गरि काशी पठाउने निर्णय गरेका थिए। यहि निर्णय अनुसार उनले ३१ लाख रुपैयाँ नगद र १५ लाखको गरगहना सँगै लगेकी थिइन। जसमध्ये १३ लाख रुपैयाँ र गरगहना रानीको आफ्नै थियो भने बाँकी १८ लाख सरकारी ढुकुटीबाट पठाइएको थियो। यति ठूलो रकम त्यसबेलामा विदेश गएको देखिन्छ।
राजनीतिक अस्थिरता र संक्रमणको कारण राज्य कोषको ठूलो रकम नीजि काममा खर्चिइयो। जंगबहादुरले आफ्नो शासनसत्ताको बागडोर बलियो बनाउन राज्य कोषको ठूलो रकम दुरुपयोग गरे। त्यसबेला करिब ४६ लाख रुपैयाँ विदेश पलायन भयो। नेपालको इतिहासमा त्यो रकम यसबेलासम्म विदेसिएको सबैभन्दा धेरै सम्पत्ति थियो। यसपछि राज्यकोषमा अनियमितता गर्ने र विदेशमा लगेर थन्क्याउने क्रम निकै बढेर गयो। शासनसत्ता बलियो बनाएपछि जंगबहादुरले राज्यकोषमा निरन्तर हस्तक्षेप गर्न थाले। राज्यकोषबाट निर्वाध रुपमा यथेष्ट सम्पत्ति निकाल्ने र आफ्नो परिवारको लागि खर्च गर्न थाले। राणा शासनकालमा राणाहरुलाई खर्चको कुनै मतलब थिएन। राष्ट्रको आय र व्यक्तिगत आयमा कुनै फरक थिएन। राणाहरुले राष्टिय स्वार्थलाई पारिवारिक स्वार्थको रुपमा लिएका थिए।
वि.सं. १९३३ माघ १६ (२६ जनवरी १८७७) मा जंगबहादुरको मृत्यु भयो। यसपछि रणेद्धिप सिंह कुवँर राणा प्रधानमन्त्री बने। यिनी धार्मिक प्रवृत्तिका मानिस थिए। यिनको पालामा नेपाल र तिब्बत बीचको विवाद निकै चर्कियो। वि.सं. १९३९ चैतमा विवाद उत्कर्षमा पुग्यो र युद्धको तयारी भयो। तिब्बतसँगको आसन्न युद्धका लागि भनेर राज्य कोषबाट ४० लाख रुपैयाँ झिक्ने आदेश राजाले प्रधानमन्त्रीलाई दिए। युद्धको तयारी गरिरहेका बेलामा नेपाल र तिब्बत बीचमा सहमती भयो। सो सहमततीपछि यसरी झिकिएको रकम राज्यकोषमा फर्किएन।
यद्यपी रणोद्धिपको शासनकालमा अरु भ्रष्टाचारका काण्डहरु घटेका देखिँदैनन्। यिनीबाट अन्य राणाहरुले आफ्नो र परिवारको स्वार्थ पूरा हुने नदेखेपछि वि.सं. १९४२ साल कार्तिक १५ गते निर्ममतापूवर्क हत्या गरे। यसपछि बीरशमशेर प्रधानमन्त्री भए। चालीस बर्ष लगाएर जंगबहादुर र रणोद्धिप सिंहहरुले सञ्चित गरेको अकुत सम्पत्ति एकै रातमा बीरशम्शेरका हातमा पर्न गयो। यिनले जंगबहादुरका छोराहरुलाई देशनिकाला गरे र सबै सम्पत्ती आफ्नो हातमा लिए। पछि अरु कसैले शासनसत्ता हत्याएमा आफ्ना सन्तानहरुको पनि जंगबहादुरका सन्तानकै जस्तो सडकमा बास हुन्छ कि भन्ने डरले बीर शम्शेरले देशको आम्दानी देश बाहिरको बैंकमा लगेर राख्ने नयाँ परिपाटी चलाए।
बीरशम्शेर सत्तामा आउनासाथ राष्टि«य शोषणको नयाँ अध्याय शुरु भयो। यिनले तराईको उब्जाउ जमिनको निकै ठूलो भाग आफ्नो र परिवारको बिर्ता बनाए। वि.सं. १९५० मा ब्रिटिश भारतमा सुनको भाउ बढेर चर्को मोलमा बिक्रि हुन थाल्यो। त्यसपछि बीरशम्शेरले नेपालका सोझा जनताबाट सस्तोमा सुन किने र सरकारी ढुकुटीमा रहेको समेत गरी करिब १२–१३ मन सुन कलकत्ता पठाएर चर्को मोलमा बेचे। यसबाट राज्यकोषलाई ठूलो घाटा लाग्यो भने बीरशम्शेर र उनका नातेदारहरु भने मोटाए।
वि.सं. १८५७ फागुन २३ मा बीरशम्शेरको मृत्यु भयो। यसपछि उनका भाई देवशम्शेर प्रधानमन्त्री भए। यिनी उदारवादी र तुलनात्मक रुपमा प्रजातान्त्रिक थिए। जसले गर्दा यिनी आफ्नै भाई भतिजाबाट ३ महिनामै सत्ताच्युत हुन पुगे। उनको समयमा उल्लेखनीय आर्थिक गतिविधि हुन पाएन। देवशम्शेरलाई पदच्युत गरेपछि चन्द्रशम्शेर नेपालको प्रधानमन्त्री भए। बालक राजा त्रिभुवनको कुनै डर नभएको कारण चन्द्रशम्शेरले देशको व्यापक आर्थिक शोषण गरे। यिनले करिब ४० करोड रुपैयाँ विदेशी बैंकहरुमा जम्मा गराएका थिए। आफ्ना छोरानातीको लागि बनाउन लगाएका विभिन्न दरबारहरुमा पनि चन्द्रशम्शेरले झण्डै ७ करोड रुपैयाँ खर्च गरेका थिए। यिनले आफ्नो शासनकालमा राज्यकोषलाई आफ्नो र परिवारको हित र मोजमस्तीका लागि मात्र खर्च गरे। व्यक्तिगत र पारिवारीक लाभका लागि गैरकानुनी काम गर्नेमा चन्द्रशम्शेरलाई भेट्ने नेपालमा कुनै प्रधानमन्त्री भएनन्।
चन्द्रशम्शेरको शासनकालमा ठूला ठूला आर्थिक अनियमितताका घटनाहरु घटेका थिए। सन् १८८५ को एक सन्धी अनुसार तिब्बतले नेपाललाई वार्षिक १० लाख रुपैयाँ बुझाउनु पर्ने थियो। सो रकम नबुझाएपछि वि.सं. १९८६ तिर नेपाल र तिब्बतको सम्बन्ध चिसियो। चन्द्रशम्शेरले तिब्बतसँग युद्ध गर्ने निर्णय गरेर हतियार किन्नका लागि भनेर कौशी सरकारी ढुकुटीबाट वि.सं. १९८६ सालमा २ करोड ५० लाख रुपैयाँ झिके र तत्कालिन प्रधानसेनापति भीमशम्शेरलाई दिए। पछि हतियार किन्नु परेन। तिब्बतसँग युद्धनै भएन। तर आफ्नो हात परिसकेको अढाई करोड रुपैयाँ भीमशम्शेरले राज्यकोषमा फिर्ता गरेनन्। इतिहासकार सरदार भीमबहादुर पाँडेले त्यो रुपैयाँ कौशी सरकारी ढुकुटीबाट भीमशम्शेरको दरबार टंगालमा लैजाँदाको घटनालाई यसरी चित्रण गरेका छन्, ‘रातारात मुलुकीखानाबाट टंगाल दरबारमा गाडाका गाडा चाँदीका रुपैयाँमा तोडा ओसारियो।’
चन्द्रशम्शेरपछि भीमशम्शेर नेपालको प्रधानमन्त्री बने। प्रधानसेनापती हुँदा राज्यकोषको रकम फिर्ता नगरी भ्रष्टाचार गरेका उनीमाथि समयमा कारबाही नहुँदा प्रधानमन्त्री नै बन्न भ्याए। भीमशम्शेर पैसा भनेपछि ज्यादै आशक्त थिए। यिनले राज्यको सम्पत्तिमा ब्रम्हलुट मच्चाएर आफ्नी श्रीमती, छोरा र नातीहरुका लागि अनेक महल बनाए।
वि.सं. १९८८ मा भीमशम्शेरको मृत्यु भयो। यसपछि जुद्धशम्शेर प्रधानमन्त्री भए। जुद्धशम्शेर पनि आर्थिक रुपमा भ्रष्ट थिए। यिनले राज्यकोषको रकम आफ्नो र परिवारको फाइदाका लागि खर्च गरे। यिनले राज्यकोषको रकमबाट जर्मनीबाट लाखौं रुपैयाँमा विलासी फर्निचर आफ्नो लागि मगाएका थिए। आफ्नो शासन अवधीमा जुद्धशम्शेरले राष्टि«य सम्पत्तिलाई आफ्नो व्यक्तिगत सम्पत्ति झैं गरी व्यवहार गरेका थिए। पूर्ववर्ति राणा प्रधानमन्त्रीहरुले झैं यिनले पनि आफ्नो र परिवारको निमित्त यथेष्ट रकम जोडेका थिए र भारतमा लगेका थिए।
जुद्धशम्शेरपछि क्रमशः पद्मशम्शेर र मोहनशम्शेर नेपालको प्रधानमन्त्री भए। ‘म राष्ट्रको नोकर हुँ’ भन्ने पद्मशम्शेर पनि राष्ट्रिय ढुकुटीमा लुट मच्चाउन पछि परेनन्। प्रधानमन्त्री हुनासाथ उनले राज्यकोषको रकमबाट भारतमा आफ्नो लागि घरजग्गा किने। पदबाट बाहिरिनासाथ राज्यकोषको ठूलो रकम लिएर यिनी भारत पलायन भएका थिए।
राणा शासन कालमा राजनीतिक भ्रष्टाचारको एक प्रमुख कारण परिवारको अपेक्षा र स्वार्थ थियो। चन्द्रशम्शेरले मर्ने बेलामा दिएको ईच्छापत्रले यसलाई थप प्रष्ट पार्दछ। सो इच्छा पत्रमा चन्द्रशम्शेर आफुले कमाएको सम्पत्ति र आफ्नी कान्छी रानीको भागको सम्पत्तिको सुरक्षामा उनी बढी चिन्तित भएका देखिन्छन्। उनले आफु मरेपछि छोरा र स्वास्नीले दान धर्म गरेर सम्पत्ति सक्छन् कि भन्नेमा चिन्ता व्यक्त गरेका थिए। आफुले छोराछोरी, श्रीमती र परिवारको भलाइका लागि कमाएकोले उनीहरुले नै त्यो लिन पाउन भन्ने उनको इच्छापत्रमा उल्लेख थियो। यसैगरी बीरशम्शेरले पनि आफ्नो सन्तान र परिवारका अन्य सदस्यहरुले दुख पाउँछन् कि भनेर अकुत सम्पत्ति कमाएर विदेशी बैंकमा राखेका थिए। – नेपालखबरबाट

