नारायण अधिकारी -प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले सुन व्यापारमा विवादास्पद व्यक्तिसँग उठबस गरेको पाइएको छ। अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा युनाइटेड अरब इमिरेट्सको दुबईमा मंसिर २ देखि ५ गतेसम्म सञ्चालन भएको इन्टरपोलको ८७औं महासभामा सहभागी हुन दुबई पुगेका आइजिपी खनालले सुन तस्करीमा मुछिएका ठाकुर ढुंगाना र विवादास्पद व्यापारी दीपक मल्होत्रासँग उठबस गरेका हुन्।
महानिरीक्षक खनालले विवादास्पदहरुले आयोजना गरेको कार्यक्रममा भाग लिनुका साथै रात्रिभोजमा ‘रमाइलो’समेत गरेका थिए।
नेपाल लाइभलाई प्राप्त फोटामा ‘सुन तस्करी’का आरोपी ठाकुर ढुंगाना र आइजिपी गैर–आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, युएई च्याप्टरको कार्यक्रममा सँगै बसेको देख्न सकिन्छ। ३८ क्विन्टल सुन तस्करी प्रकरणमा फरार रहेका व्यवसायी ठाकुर ढुंगानाले केही महिनाअघि उच्च अदालत विराटनगरमा आत्मसमर्पण गरेका थिए।
राजनीतिक पहुँचमा बलियो भएका ढुंगाना पछि १० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए। सुन तस्कर ढुंगाना दुबईमा समेत ‘ग्रीन लाइन ट्राभल एजेन्सी’ चलाएर बस्छन्। सुन तस्करीमा मुछिएपछि काठमाडौंमा रहेको ढुंगानाको ‘कान्तिपुर होलिडेज ट्राभल’समेत बन्द गरिएको थियो।

दुबईमा गैर–आवासीय नेपाली संघको कार्यक्रममा आइजिपी खनाल र सुन तस्कर ढुंगानाको भेट भएको हो। आइजिपीलाई दुबई एयरपोर्टमै सुन तस्करका नाइके मानिने ढुंगानाले स्वागत गरेका थिए। इन्टरपोलको महासभामा भाग लिन दुबई पुगे पनि यसकाे अाैपचारिक जानकारी दूतावासले पछिमात्र थाहा पाएकाे थियाे।
‘यसो हेर्दाखेरी निजी भ्रमणजस्तो लाग्ने, श्रीमतीसँग पनि आएका थिए’, स्रोतले भन्याे। आइजिपी आउनेबारे बेखबर रहेकाे दूतावासले एनअारएन मार्फत साे कुरा जानकारी पाएकाे थियाे।
इन्टरपोलको सम्मेलनपछि मात्र एनआरएनएमार्फत दुबईस्थित नेपाली दूतावाससँग आइजिपी खनालले समन्वय गरेका थिए। एनआरएनएको वार्षिक साधारण सभा कार्यक्रममा भाग लिएका आइजिपी खनाल कार्यक्रममा एनआरएनएका आइसिसी सदस्यसमेत रहेका सुन तस्करीमा मुछिएका ढुंगानासँगै थिए।
आइजिपीले एनआरएनएको कार्यक्रममा मन्तव्यसमेत राखेका थिए। पछि त्यही ठाउँमा गएर सुन तस्कर ढुंगानाले मन्तव्य राखे। ढुंगाना मन्तव्य राख्न पोडियममा गएका बेला उनकै ठाउँमा आइजिपी गएर बसेका थिए। सुन तस्कर ढुंगाना बसेको दाँया छेउमा आइजिपी खनालकी श्रीमती बसेकी थिइन्।
कार्यक्रममा सम्बोधन गर्दै आइजिपी खनालले भनेका थिए, ‘नेपालमा भूकम्प जाँदा तपाईंहरूले कति सहयोग गर्नुभएको छ भन्ने मलाई राम्रोसँग थाहा छ। फेरि–फेरि पनि यस्तै सहयोग गर्दै जानुहोला।’

एनआरएनएको कार्यक्रममा सुन तस्करीमा मुछिएका व्यक्ति जान्छन् भनेर कार्यवाहक राजदूत सागरप्रसाद फुयाँल नजाने कुरा थियो। कार्यवाहक राजदूत फुयाँलले आफ्नो ठाउँमा श्रम कन्सुलर भेषबहादुर कार्कीलाई पठाउन खोजेका थिए। तर, अन्तिम समयमा राजदूत बाध्य भएर कार्यक्रममा उपस्थित भए।
एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले आइजिपी दुबई आउनु एक हप्ताअघि नै ‘आइजिपी पनि आउँदै हुनुहुन्छ, थाहा छ कि छैन ?’ भनेर दूतावाससँग सोधेका थिए।दूतावासले यसबारे अस्पष्ट जवाफ दिएकाे स्राेतले बतयाे। स्रोतले भन्यो, ‘आइजिपीले दूतावाससँग समन्वय गर्नेभन्दा पनि एनआरएनएसँग समन्वय गरेर दुबई गएको जस्तो देखियो।’
यसअघि दुबईमा एनअारएनकाे पनि अर्को एक जमघट भएको थियो, जहाँ सुन तस्करीमा मुछिएका अर्का व्यक्तिहरु नै अगुवा भएकाे स्राेतले जानकारी दियाे।
बुधबार नै विवादास्पद व्यक्तिहरूले युएईको ‘रस अल खेमा’मा रात्रिभोजसमेत आयोजना गरेका थिए। त्यहाँ आइजिपी खनालले सुन तस्करी र कर छलीमा परेका व्यापारी दीपक मल्होत्रालाई समेत भेटेको स्रोतले जानकारी दिएको छ।

बिहीबार आइजिपी ‘डेजर्ट सफारी’मा गएका थिए। शुक्रबार एनआरएनएको कार्यक्रममा सुन तस्करका नाइके ढुंगानासँग भेट भएको थियो। शनिबार आइजिपी खनाल स्वदेश फर्किएका छन्। –नेपाललाइभबाट साभार

