दशैका मात्र कुरा नगरौं, आज नियमित केही कुरा गरौं । दशैं मनाउने क्रममा किताबहरु पढ्नेहरु पनि धेरै हुनुहुन्छ र किताबहरुमा आजभोली असाध्यै चलेको टे«ण्ड हो, रिटायर्ड मानिसहरुको आत्मकथा । बजारमा एक सा एक व्यक्तिका एक सा एक आत्मकथाहरु पाइन्छन् । सेना, प्रहरी, व्यापारी, उच्च ओहोदाका कर्मचारी, कुटनीतिज्ञ, राजनीतिज्ञ, कलाकार, पत्रकार सबैका आत्मकथाको पुस्तकहरु छानी छानी पढ्न पाइन्छ । अधिकांश आत्मकथाहरु आत्म तारिफ भन्नुपर्ने खालका छन् ।
सीधाकुरा कुरा गर्नुपर्दा प्राय हरेक लेखकले आँफुलाई नायक बनाएका छन्, आँफुले यसो नगरेको भए देश डुब्थ्यो, बर्बाद हुन्थ्यो, खत्तम खलास हुन्थ्यो भन्ने टाइपले घटनाहरु लेखेका छन् । सबैभन्दा पहिले सेना, प्रहरी, कर्मचारीहरुको बारेमा कुरा गरौं । पद तथा गोपनियताको सपथ खाँदा जागिरमा रहँदा वा नरहँदा गोपनियताको पालना गर्छु भनेर कसम खाएको पूर्व राष्ट्रसेवक, सेना, प्रहरी आदी अधिकारीहरुले रिटायर्ड भैसकेपछि देशको गोप्य गोप्य सुचना, आत्मकथा भन्दै सार्वजनिक गर्न मिल्छ ?
आजसम्म पनि राज्यले दिएको भत्ता लिदै रिटायर्ड लाइफ बाँचिरहेकाहरुले सार्वजनिक गरेका सुचनाहरु यसरी बाहिरिदा कतिपय अवस्थामा मुलुकलाई घाटा लाग्दैन र ? त्यो भन्दा पनि महत्वपुर्ण कुरा रिटायर्ड भईसकेपछि आँफैलाई हिरो मात्र होइन, सुपर हिरो बनाएर आत्मकथा लेख्नेहरुको नियत त्यती राम्र्रो रैछ, इरादा त्यती बुलन्द रैछ र क्षमता त्यत्रो अपार रैछ त रिटायर्ड हुनु अघि के हेरेर बस्नु भएको थियो त ?
सत्य बोल्न सक्ने र आदर्शको वकालत गर्न सक्ने मानिस हिजो जागिरे हुँदा किन डराएको त ? यो देश यो समाजप्रति त्यात्रो चिन्ता हुनेले यत्तिका वर्ष नबोल्नु र जागिर सिद्धिएपछि बोल्नु भनेको के हुन सक्ला ? यो मुलुक र यो समाजको शुभ चिन्तकले एउटा जागिरको लोभ गर्र्दैन, ढुक्क हुनुस् ।
अधिकांश पानाहरुमा आफ्नो कार्यकुशलता, सहि निर्णय, उत्कृष्ठ चरित्रको सोझै वा घुमाएर चर्चा गरेका छन् । कतिपयले आफ्ना नराम्रा बानीहरु र गलत कार्यको बारे नलेखेका हैनन् तर कुनै जान्ने लेखकले भाषा, शैलीको वान्की यसरी मिलाइदिएको छ कि उ गलत गर्दा पनि हिरो देखिन्छ । सत्य तथ्य र इमान्दारीको हवाला दिएको देख्दा सत्यवादी राजा हरिशचन्द्र पनि यी लेखकहरुको अगाडि फिका लाग्छन् ।
अधिकांश मानिसहरु प्राय भन्ने गर्छन, कि म त झुठो चाही बोल्दिन, म त फ्र्याङ्क मान्छे, मत अरु जस्तो होइन, अगाडि एउटा कुरा पछाडि अर्को कुरा आली आदी ।
आँफुलाई महान देखाउन जे परे पनि झुठो चाँही बोल्दिन भन्नु गफ हो, सम्भवत् सबै भन्दा ठुलो झेठो नै त्यही हो । व्यक्तिले नचाहेर पनि झुठो भन्ने कुरा बोल्दै नबोली बाँच्न सक्ने समाज कहाँ छ ? सबैले बोल्छन्, झुठो, कसले कति र किन बोल्छन् त्यो मात्र फरक हो । कोही अपवाद हुन सक्लान तिनको आत्मकथा कसले लेख्ने, कसले छाप्ने, कसले पढ्ने ?
आत्मकथा भनेको एउटा इमान्दार दस्तावेज हो, सत्यवादी र आदर्शवादी बन्ने लाइसेन्स होइन । यो देश यति धेरै इमान्दारहरुले भरिएको भए यस्तो बिजोग अवस्थाको हुने थिएन । काम गरुन्जेल, जागिर खाउन्जेल माखो नमार्नेहरुले आत्मकथा लेखेर आफ्नो करियरलाई सुनपानी छर्केको सुहाएको छैन ।
मैले यो गरे र मै त्यो गरे भनेर भाडाका लेखक हायर गरेर तारिफ नै तारिफले पानाहरु भर्ने र आफ्ना परिवार नातागोता र भावी पुस्ताका लागि किताब छपाउनेहरुले आत्मकथालाई आत्म वर्णन भनुन्, आत्मकथा होइन । रिटार्यड भैसके पछि फलानो मन्त्रीले यति पैसा माग्यो फलानोले यसरी पैसाको प्रलोभन देखायो भनेर, भन्नुको के अर्थ !
हिजो पैसा माग्दा नै सार्वजनिक गर्नु पर्दैन ? एउटा पत्रकार सम्मेल गरि सारा कर्तुत उदाङगो पार्न सक्नु पर्दैनथ्यो ? त्यसैले देशको माया भन्दा जागिरको माया हुनेहरुले पैसा खर्च गरि गरि आफ्नो हिरोइजमको मोटो, छोटो किताब नलेखाँै ।
सेवा निवृत्त भैसक्नु भो, गमलामा पानी हाल्नुस्, करेसाबारीमा सागपात रोप्नुस्, नातीनातीना खेलाउनुस् वा प्रायका छोराछोरी विदेशमा छन्, छोरा बुहारी काममा जादा नाती नातीना हेरेर बसिदिनुस्, सरकारले दिएको मासिक भत्ता लिनुस्, लामो कुरा केहि पनि छैन ।
जीवनमा असल हुनु प¥यो, जीवनमा इमान्दार हुनु प¥यो, जीवन आदर्शले भरिएको हुनु प¥यो, जीवनी होइन । लेख्नेहरुले पैसा पाए भने चाल्स सोभरालाई पनि महान बनाइदिन्छन् । जीवन राम्रो बनाउने हो जीवनी होइन ।
आज प्रसारण गरिएको कार्यक्रममा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ, जहाँ एक किशोरीले बलात्कारको आरोप लगाउँदै बार्गेनिङ सुरु गरिरहेकी रिपोर्ट प्रस्तुत गरिएको छ ।
झगडा भएपछि एक किशोरीले बलात्कारको आरोप लगाउँदै बार्गेनिङ सुरु गरेपछि…. बलात्कार जस्तो जघन्य अपराधलाई कतिपय मानिसले रिसइबी साँध्ने र फसाउने अस्त्रका रुपमा प्र्रयोग गर्दै आएका छन् । कतिपय अवस्थमा प्रेममा परेका युवायुवतीबीच सहमतिमै शारीरिक सम्पर्क हुने र पछि परिवार तथा आफन्तको दबाबमा बलात्कार मुद्धा दर्ता गर्ने गलत धन्दा पनि बढ्दो छ ।
यस्तै एक घटनाका कारण अहिले आरोपित युवा डिल्ली बजार कारागारमा छन्, भने यता पीडित भनिएकी किशोरीले आरोपित युवकको आमालाई फोन गर्दै पैसा मागिरहेकी छन् ।
सरकारी गाडीको दुरुपयोग बढ्दै – सरकारी स्रोत साधनको कसेर दोहन गरिन्छ, त्यो सबैलाई थाहै छ । सर्वसाधरण जनताले अन्य सरकारी स्रोत साधनको दुरुपयोग गरेको प्रत्यक्ष नदेखेपनि बिदाका दिन चौरमा घाण्टौ सरकारी सवारी साधन सिकिरहेका देखेका छन् ।
वीर अस्पतालको सामान खरिदमा यसरी गरिन्छ भ्रष्टचार -वीर अस्पताल भित्र एकपछि अर्को गर्दै अनियमितताका घटना बाहिरीरहेका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले खरिद गरेका ४० करोड बराबरका २ वटा सिटी स्क्यान मेशिन प्रकरणमा अहिले सर्वोच्च अदालतमा मुद्धा चलिरहेको छ ।
वीर अस्पतालको फार्मेसीमा अहिले पनि अति आवश्यक औषधिको अभाव कायमै छ । वीर अस्पतालको फार्मेसीले मात्रै खरिद विक्री गर्न पाउने औषधिहरु समेत फार्मेसीमा छैनन् ।
मोरङ मालपोतका कर्मचारीले १ सय ५० परिवारको घर जग्गा अर्कैको नाममा हालेपछि… दाजुभाई अंश मुद्धा विवादको कारण मोरङको रंगेली १ बबिया विर्ताका १ सय ५० परिवार सुकुम्बासी हुने अवस्था सिर्जना भएको छ । २०६० सालदेखि अहिलेसम्म विभिन्न समयमा १ सय ५० परिवारले स्थानीय धाडेवा परिवारबाट १ सय ८२ बिघा जग्गा खरिद गरि भोगचलन गरिरहेका छन् ।
उनिहरुको हातमा जग्गा धनि पुर्जादेखि मालपोत कार्यालयमा कर तिरेको रसीद मात्रै होइन, जग्गा नै भोगचलन गरिरहेका छन् तर अहिले मालपोत कार्यालयमा जाँदा उक्त जग्गा अर्कै व्यक्तिको नाममा नामसारी भएको छ ।

