देशमा दशैंको उल्लास भरिएको छ । शहरमा भएकाहरु गाँउ जादैछन्, विदेशमा भएकाहरु स्वदेश फर्कदैछन् । आमालाई भेट्न, बालाई ढोग्न, दाजुभाइसँग अंगालो मार्न, दिदी बहिनीसँग रम्न र डण्डीवियो, गुच्चा, स्नुकर, क्यारेम खेल्ने साथीहरुसँग दिल खोलेर कानदेखि कानसम्म हाँस्न धेरै मानिसहरु दशैमा घर आउने क्रम चलिरहेको छ ।
दशैको त मौसम नै राम्रो, रमाइलो । हावा पनि मगमग दशै वास्ना आउँदै बहन्छ । देशमा दशैको माहौल बारे परदेशमा भएका दर्शकहरुलाई खबर गरौँ भनि सोचेर यस बिषयमा केही बोल्न मन लागेको छ । विदेश बसेर पनि छुट्टि पाएकाहरु झोेला गुडाउँदै प्लेन चडेका फोटोहरु सामाजिक सञ्जालमा राखिरहेका छन् ।
विरानो मुलुकको तातो चर्को घाम र रगत पसिना सोस्ने कामबाट केहि दिन भएपनि मुक्ति पाउँदा सन्तुष्टीको लामो सुस्केर हालनेहरुको सुसेलीले बन पाखा गुञ्जीएको छ । तर आज म ती नेपाली दाजुभाई दिदीबहिनिहरुलाई सम्झन र सम्झाउन चाहान्छु जो बाध्यताले परदेशमै बस्न विवश छन् । मेरो सम्झना ती युवा साथीहरुलाई जो घरको छानो र पेटको मानो को जोहो गर्न विदेशिनु भएको छ । भर्खरै विहे गरेकी जीवन साथी, जीवन संगिनीलाई छोडेर जाने रहर भएको एउटा मान्छे पनि छैन तर कलेजो चिरा परेसरी दुख्छ थाहा छ ।
तोते बोली बोल्ने बालख छोरा छोरीलाई छोडेर परदेशमा पसिना बगाइरहनु भएकाहरु लाई पनि म सम्झी रहेको छु । तिनलाई छोडेर ठुलो हवाई जहाज चड्दा तपाइको घाँटी मरिन्छ कि झै गरि सुकसुकाएको थियो होला । आँखा भरी छोराछोरीको तस्वीर आउँदै गर्दा तपाईलाई त्यो जहाज चडेको पनि मजा भएन । बृद्ध बा आमालाई छोडेर जानेहरुको पीडालाई पनि सम्झीन चाहान्छु ।
जीन्दगी भर काम गर्दा पनि तिर्न नसकेको ऋण तिर्न पनि देश छोड्नु परेको पीडा बाआमाले बुझेका छन् । स्वदेशमा काम गर्न पाएको भए यी सब पीडाको सामना गर्नु पर्ने नै थिएन तर के गर्नु भोट हाल्नेहरु कहिले पनि धनी नहुने तर भोट पाउनेहरु रातारात धनी हुने व्यवस्था र अवस्थको अन्त्य नभएपछि कसैको केही लाग्दो रहेनछ ।
तपाई हामीले भोट दिएकाहरु कत्रा कत्रा महलमा दशैको जलपानको निम्तो गर्दैछन् । भोट पाएकाहरु महलमा भोट हाल्नेहरु मलमा, दुवई, साउदी, कतार, मलेशिया, कोरियाका सपिङ मलमा, भुँई पुच्छदै पसलहरु रुङदै । महल र मलको खाडल पुर्न नसक्ने दशैहरु हरेक वर्ष आउँछन् र यस बर्ष पनि आउन तयार देखिन्छ ।
विदेशी भुमीबाट दशैमा घर आउँदा बाकसका बाकस सामान र पैसा ल्याउन नसके भैगो नल्याउनुहोला तर आँफै रातो बाकसमा चाँही कोही कसैले पनि आउन नपरोस । काल गतीले, दिन दशाले को कहाँ बित्छ थाहा छैन तर विदेशमा बसेर काम मात्रै गर्ने र एकै पटक थुप्रै पैसा कमाउने सपना र चरम महत्वकांक्षा त्यागिदिनुहोला । यसले तपाईको आयु घटाउँछ ।
डिप्रेशनको शिकार भई आत्महत्या समेत हुने गरेको छ । डिप्रेसनको शिकार भएका विदेशमा रहुन हुनेहरुलाई एउटा सल्लाह दिन चाहान्छु । मनमा गलत विचार आएको छ, भने एक पटक तपाईलाई कुरेर बसेका ससाना छोराछोरी, सम्झिनुहोला, आफ्ना सारा रहरहरु कुल्चिएर तपाई आउने दिन गन्दै गरेकी जीवन संगीनीलाई सम्झिनु होला, छोरा फर्कने दिन कुरेर मुत्युलाई जितेर बसेका बा आमालाई सम्झिनुहोला ।
छाती भरी पीडा बोकेर आँफैलाई सिध्याउने गरी धन कमाउन विदेश बस्नु पर्दैन । देशमै बसी जाडोमा बदाम र गर्मीमा मकै पोलेर घडेरी जोड्नेहरु कति जनालाई भेट्न चाहानु हुन्छ ? केही समय धैर्य गराँै । सिंगापुरले लि क्वानयु पायो, मलेशियाले महोमद महाथीर पायो, पाकिस्तानले इमारान खान पाउला पाउला जस्तो छ ।
हामीले पनि कोही न कोही त पाउला नि । जो आफ्नो उन्नती भन्दा आफ्नो देश र जनताको उन्नती नगराई नमर्ने कसम खाएर आओस् । जसलाई आफ्नो भान्जा भान्जी, भतिज भतिजी भन्दा बढी जनताको पिरले सताओस्, जसलाई श्रीमतीका नाममा सम्पत्ती जोड्ने भन्दा जनताको मनसँग आँफुलाई जोड्ने चाहना होस्, जो जाबो छोराछोरीको स्कलरसीपको लोभमा डुबेर विदेशी राजदुतावाससँग आफ्नो र सिंगो देशको शिर झुकाउने लोभलाई ठाडै अस्वीकार गरोस ।
त्यतिखेर यो देशमा सारा म्यानपावर बन्द हुनेछन् र हाइड्रो पावर नै हाइड्रो पावर खुल्ने छन् । त्यतिखेर यहादेखि त्यहासम्म टिका र जमरा लगाएर देशमै दशै मनाउला, ४० कटेसी होइन, ४० नकट्दै रमाउला । (न्युजट्वान्टी फोरबाट)

