नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल पार्टी र सरकारसँग पछिल्लो समय असन्तुष्ट छन्। उनले संसद बैठकमा ‘देश डुब्न लागेको’ प्रतिक्रिया दिए। अनि भौतिक पूर्वाधार मन्त्रीसँग सडकको अवस्थाबारे तथा गृहमन्त्री रामबहादुर थापासँग निर्मला बलात्कार-हत्या प्रकरणमा परिणाम मागे। अर्को दिन नेता नेपालले स्थायी समितिको भेला डाकेर प्रदेश इन्चार्ज र अध्यक्ष चयन प्रक्रियामा असन्तुष्टि जनाए।

उनले नेकपाको सचिवालय प्राविधिक कार्यालय मात्र रहेको तर्क गर्दै राजनीतिक निर्णयमा स्थायी समितिलाई बाइपास गरेको आरोप लगाए। ईश्वर पोखरेलसँग गरेको कुराकानीको सम्पादित अंश:
पूर्वप्रधानमन्त्री माधव नेपालसहित सत्तापक्षका सासंदहरू सरकारप्रति आलोचनात्मक देखिएका छन्। निर्मला पन्त बलात्कार-हत्या प्रकरण होस् या सडकका खाल्डा पुर्नेमा, सरकारमाथि प्रश्न उठेका छन्?
पहिलो कुरा, हामीले कुनै पनि चिजको हिसाब किताब सापेक्षतामा गर्नुपर्छ। निरपेक्ष ढंगले होइन। त्यो भनेको यो सरकार बन्दाको स्थिति हेक्का राख्नुपर्छ। दोस्रो, यो सरकारमा आउनेले के-के प्रतिवद्धता गरेका थिए र कार्यान्वयनका लागि के गरे हेर्नुपर्छ।
दैनन्दिनका काममा केही कमजोरी भएका हुन सक्छन्। ‘रिदम’ नमिलेको हुनसक्छ। गीतमा सुन्दर शब्द छन्। बाजागाजा पनि राम्रा छन्। तर कता-कता लय नमिलेको अवस्था छ। हामीले आउने दिनमा गीतसँग मिल्दो संगीत भरेर गीत गाउनुपर्छ। अर्थात् प्रतिवद्धताअनुसार लयमिल्दो तरिकाले जानुपर्छ।
माधव नेपालले पनि गीत गाउनुभयो?
(हाँस्दै) त्यो गीत हो कि के थियो। थाहा छैन।
माधव नेपालले सरकारबारे भएकै कुरा भन्नुभएको होइन र?
देखिएका कुरा राख्न पाउनुपर्यो। राख्नुपर्छ, त्यसलाई अन्यथा लिनु भएन। तर जिम्मेवार नेताले आफ्ना कुरा कुन ठाउँमा भन्ने, कसरी भन्ने, कहिले भन्ने थाहा पाउनुपर्छ।
ढंगले पुर्याएर गर्नुपर्छ।
उदाहरणका लागि सडकका समस्याहरू केपी ओली सरकारमा आएपछि सिर्जना भएका होइनन्। हिजो देखिएका भद्रगोल चिजको डंगुर छ। हामी त्यसको माथि बस्न पुगेको हो।
कुनैपनि नेताले आफ्नो प्रतिक्रिया व्यक्त गरिरहँदा पार्टी भित्रको होस् या सरकारका कुरा, कुन ठाउँमा कसरी भन्ने त्यो बुझ्नुपर्छ।
सरकारको आलोचना गर्न त संसद नै ठिक होला नि? कि पार्टी रक्षात्मक भयो भन्ने चिन्ता हो?
म त्यो (संसदमा मावध नेपालले धारणा) प्रस्तुत गरिरहँदा त्यहीँ दिए। प्रमुख प्रतिपक्षीका तर्फबाट विजय गच्छदारले उहाँपछि बोल्नुभयो।
‘हामीले बोलौं भनेका कुरा केही बाँकी रहेन, सत्तापक्षकै नेताले बोल्नुभयो’ भनेर पाँच पटक भन्दा बढी पटक भन्नुभयो। हाम्रो काम पनि गरिदिनुभयो भनेर भन्नुभयो। यो कस्तो सुनियो? कस्तो देखियो? मैले बुझिराखेको छैन।
सरकारको कुरा छन् भने पनि सरकार सञ्चालन गर्ने माथिल्लो तहको संयन्त्रमा बसेका नेताहरूले त्यहाँ कुरा गर्ने, छलफल गर्ने गर्नुपर्छ। माधव नेपालले गर्नुभएको कामले शोभा दिँदैन। त्यो गलत तरिका हुन्छ।
म सरकारले कमी गरेको छैन भन्दिनँ। गर्नुपर्ने जति कुरा नगरेको होला। त्यो आफ्नो ठाउँमा छ। त्यसलाई सम्बोधन गर्ने ठाउँ हुन्छ, तरिका हुन्छ। राम्रा कुरा हुन् भने पनि ठाउँ र समय ख्याल गरिएन भने नराम्रो सुनिन्छ।
सरकार अल्झिएको हो?
अल्झिएको होइन। गर्नुपर्ने काम गर्दैछ।
स्थायी समितिका सदस्यहरूको भेलामा माधव नेपालले दुई शीर्ष नेताले कुरा नसुनेको भन्नुभयो नि?
उहाँले चियपानमा के भन्नुभयो मलाई थाहा छैन। म गएको थिइनँ। बाहिर आएको सुनेको हो। तर उहाँ पार्टीको सचिवालय, जो पार्टीको लिडरसिपको कोर टिम हो, त्यो कोर टिमको पनि अझ माथिल्लो हैसियतको नेता हो।
सचिवालय बैठकमा म पनि छु। त्यहाँ त्यस गम्भिरताका साथ कुरा आएका छैनन्। समस्याहरू सामान्य हिसाबले उठेका छन्। अचानक साँध-सीमाभन्दा बाहिर गएर उहाँ बोल्नुभयो। उहाँले त्यसरी बोल्ने अवस्था कसरी आयो, मैले बुझेको छैन।
तपाईंलाई जुन ठाउँ जिम्मा दिइएको छ। त्यो ठाउँमा अधिकारसहित भन्न सक्नुहुन्छ। पार्टी त्यहाँ छ। नेताहरू भेटघाट गर्दैमा पार्टी हुँदैन। पार्टीका सम्बन्धित चार/पाँच जना, पन्ध्र जना बोलाउँदैमा पार्टी हुँदैन। पार्टी हुने वैधानिक परिभाषित ठाउँ चाहियो नि। मन परेको मान्छे भेटेर कुरा गर्नेबित्तिकै पार्टी त हुँदैन।
नेकपाको सचिवालय प्राविधिक समिति हो कि राजनीतिक निर्णय गर्ने थलो?
पार्टीको विधान पनि, नियमावली पनि उहाँले नै पास गर्नू भएको हो।
तर विधानको मस्यौदा बनाउँदा सुरूमा सचिवालयले राजनीतिक निर्णय गर्ने अधिकार सचिवालयलाई थिएन पछि थपियो भन्ने आएको छ नि?
पार्टीको विधान र नियमावली पारित गर्ने अग्रपंक्तिमा उहाँ नै हुनुहुन्थ्यो त। हामी नेताहरूमा कस्तो कमजोरी हुँदो रहेछ भने अरू बेला नबोल्ने आफूलाई केही कारणले छोएको बेलामा भने विधि र पद्दति भएन भन्ने। यो हामीभित्रको समस्या हो पार्टीको एउटा प्रक्रिया छ। त्यसमा कमी भए समीक्षा पनि होला। उहाँले यी कुरा त्यसबेला पनि सम्झेको भए हुने। आफूलाई परेको बेला मात्र सम्झने?
मेरो एउटै कुरा हो- धारणा राख्न पाइन्छ। आलोचना गर्न पाइन्छ। कस्सिएर विमति जनाउन पाइन्छ। तर ठाउँ र समय ध्यान दिनुपर्छ।
नेकपाको स्थायी समिति बैठक लामो समयदेखि बसेको छैन। कतिपयका विचारमा केन्द्रीय सदस्य र सांसदहरू दुई अध्यक्षसँग डराउने अवस्था छ, किन?
बैठक नबस्ने कुरा होइन। विधानमा हामीले जे किटान गरेका छौं, त्यो हामीले गर्छौं। विधानमा तीन महिनामा बस्ने भनेको छ। तीन महिना हुँदैछ। अब बस्छ। हामीले व्यवस्था गरेको कति ठिक, कति बेठिक अध्ययन गरौंला।
-साभार- सेतो पाटी

