-मणि भट्टराई
राम्रो केटो देखे भने भलै छोरी १८ पुगेकी होस् नहोस् छोरीलाई उकासेर बाआमाले नै पनि त्यो केटालाई जसरी पनि आफ्नो बना भनेर भन्छन् जस्तो तपाईंलाई लाग्छ ? यो काम नेपाली समाजमा आरामले हुन्छ । बाआमाहरू अक्सर १८ बर्ष भित्रै विवाह भएका हुने हुँदा ऊनिहरूलाई त्यो सामान्य नै लाग्छ ।
बालबिहाह र अनमेल बिबाहको चलन अझै पनि कुनाकानी गाऊँघर तिर होला । कानुनले उजुरी नआई त्यो देख्दैन । त्यसैले पनि होला चेलिबेटीहरू तात्तिंदै मिडियामा आएर सन्दिपको बचाऊ गरिरहेछन् ।
भलै सन्दिप निर्दोष नै होलान् तर अहिले नै नारीहरूले निरन्तर यसरी सन्दिपको पक्षमा वकलात गर्नु यो रिसर्चको पाटो हो । यो कसैलाई गाली गर्ने बिषय होइन । मैले तँलाई पन्ध्र बर्षमा जन्माएको हो – भन्ने आमाहरू हाम्रो समाजमा भइन्जेल यस्ता प्रतिक्रियाहरू आउनु सामान्य हो । ‘हामीले घाँस काट्दा काट्दै बच्चा पाएको, परालको थुप्रोमा जन्माएको, तँ दैलाको ठेलामा जन्मेको, तेरो नाइटो चुलेसीले काटेको ‘ आदि भन्ने आमाहरू भइन्जेल बुहारीहरूलाई म त अस्पताल गएर नानी जन्माउँछु भन्ने आवाज़ उठाउन पनि मुस्किल थियो । फलानी त अस्पताल जान्छे अरे नानी पाउने बेलामा भनेर गाऊँमा बाजा नै बज्थ्यो । यो समस्या पार लगाएर आउने बुहारीहरूलाई भन्दा बढी यस विषयमा मलाई पक्का पनि थाहा छैन । कोही मेरै फ्रेन्ड लिस्टमा भए अबस्य कमेन्ट गर्नु नै हुनेछ ।
मेरो साथीले नै १५ बर्षमा बिहे गरेको थियो उसले बिहे गरेकी हाम्रै छिमेकी बैनी जो १४ लागेकी मात्र थिइन् होला । त्यतिखेर मलाई पनि त्यो कुनै आश्चर्य लागेन । म ऊही उमेरको थिएँ । जन्ती गएँ म पनि । मान्छेहरूले मलाई हेरेर जिस्काऊँथें म लाजले रातो हुँन्थें । यो कुनै दन्त्य कथा होइन । मैले भोगेको हिजो अस्तीको समाज हो । त्यसैले पनि चलेका भनिएका सेलिब्रिटीहरूले पनि खुलेरै आरोपितको बचाऊ गरेका होलान् । कारण : यो कुनै नौलो कुरा थिएन कसैका लागि ।
समाज निरन्तर अघि बढ्ने प्रक्रियामा छ । जे सुनेको हो त्यो सबै सत्य नै हो भने पनि दोष पल शाहको मात्र होइन, सन्दिपको मात्र पनि होइन । ऊनिहरू आमाले – मैले तँलाई १७ बर्षमा जन्माएको -आदि सुन्दै हुर्किएका पात्र होलान् । परम्पराको प्रभाव भयो होला नै । तर कानुन ऊनिहरूको बाटोमा अर्कै उदाइसकेको थियो । जुन समाजका कलाकार, खेलाडी, पत्रकार, राजनीतिकर्मी जस्ता अगुवाहरूलाई थाहा हुनुपर्थ्यो । तर भएन । किनकी हामी यस्तै त हो नि ब्रो ! कानुनको कस्ले ख्याल गर्ने र ? किन पो गर्ने र ! कानुन बनाउनेहरू नै कानुन मान्दैनन् । कानुन पालना गर्ने पनि सँस्कार हुनुपर्यो नि ! नत्र २०२१ सालमा छुवाछुत हटेको होइन र ? खै त ! मान्दा फेरी सबैले माने पो ! ठूलो समस्या भनेकै बिधिको सासनको त हो नि !
कानुन परिवर्तनको कुरा उठाइरहेछन् दिदीबैनी लगायत क्यामेरामा बोल्न सक्छु भन्ने सज्जनबृन्दहरू । कानुन बदल्ने होइन ।समाज बदलिनु पर्छ । तपाईंलाई पनि आफ्नी छोरी, नातिनी, भतिजी, भान्जी आफ्नो करियर सुरू गर्नु अगावै, बैज्ञानिक रूपले पनि गर्भाधारणको निम्ति उचित उमेरमा नपुगी, आफूले परिपक्क निर्णय गर्न सक्ने नभइ, समाजमा प्रतिष्ठित र प्रभावित धनीब्यक्ति, नेता, कलाकार, खेलाडी, समाजसेवी आदिको ब्यक्तित्वमा भुतुक्क भएर ऊनिहरूमा जीवनसाथीको सपना देखेर ऊनिहरूको रात साँट्ने एकराते ओछ्यान बनुन् भन्ने त पक्का लाग्दैन होला नि ? कि लाग्छ ? कि मेरी छोरी नातिनीले पनि त्यतिको मान्छेसँग सुतेर मज्जा लिइ भन्ने लाग्छ ?
विश्वेश्वर प्रसाद कोइरालाको राइटर बाजे भन्ने कथामा एउटा डाइलग छ – ‘त्यस्ता राइटरबाजे त यहाँ कति आउँछन् कति !’ अब तपाईंहरूको खोज पनि राइटरबाजेहरूको हो भने त मैले अरू दुई हलको मेलो लेखे पनि के अर्थ छ र ?
पीडा चेतनालाई हुन्छ । चेतना छ भने त्यो चिमोटियो भने त्यसमा दुख्नु पनि पर्छ । अचेतनमा गरिएको कर्म खराब रहेछ भने त्यो चेतनामा आएपछि दुख्न थाल्छ । हिजोका आमाहरूलाई नदुखेको कुरा आजका नानीहरूलाई दुख्छ भने त्यो युगीन चेतनाकोकारण पनि हुनसक्छ ।चेतनामाथि भएको बलत्कारले आजीवन पीडा हुन्छ । एउटा सत्य – बलत्कार हुन कपडा च्यातिनुपर्छ, स्तन टोकिनु पर्छ, रगत बग्नुपर्छ भन्ने धारणा मात्र तपाईँको हो भने चाहीं तपाईँ शरीरलाई मात्र देख्ने नरपशुको स्तर भन्दा माथि हुनुहुन्न । यति चाहीं म निर्मम भएर भन्छु नै ।
यदि सपना देखाएर ऊनले नाबालिकालाई दुरूपयोग गरेका हुन् भने त्यो ऊनको नायक भित्रको सबैभन्दा ठूलो खलनायक पन हो । मूलत: दन्डित उनले त्यसैको लागि हुनुपर्ने हो । भलै यो घटना केही नहोला । सन्दिप निर्दोष होलान् ।
तर यो घटनाले बिधमान समाजको सोचलाई भने ऐनामा ल्याइदिएको छ नै ।
-भट्टराईको फेसबुकबाट

