–प्रवीण अधिकारी
गुणहिन भै जन्मिएको वालकलाई द्विजत्वको चिह्न धारण गराएर हामी ऋषिमुनिका सन्तान हौँ भनेर परिचयदिने चाड हो ” जनै पूर्णिमा ” र हामी सनातानीहरुलाई धर्म ,अर्थ, काम, मोक्ष प्राप्तगर्न मार्ग खुलाउने ज्ञान धारण गराउन उत्प्रेरित गर्ने चिन्ह हो , जनै । ऋग्वेदको शाकल शाखाको ब्राह्मण एतरेय ब्राह्मण अनुसार प्राचिनकालमा ब्राह्मणहरु गायत्रीसंग सम्वन्धित रहेको मानिन्थे ,त्यसकारण ” गायत्रो वै व्राह्मण:” (ऐ/१/१८ ) भनिएको थियो । यसको भनाई के हो भने , गायत्रीको एकपाद आठ अक्षरको हुन्छ , त्यसैले द्विजाति वर्गीय व्राह्मण केटाकेटीहरुको व्रतवन्ध ८ बर्षमा गरिदेउ । त्यै ब्राह्मण अनुसार क्षत्रियहरु तृष्टुप छन्दसंग सम्बन्धित हुन भनिएको छ अर्थात ” तृष्टुप छन्दौ वै राजन्य : ” ( तै. १/१/९/६ ) भन्नुको अर्थ त्रिष्टुप छन्दको पाद ११ अक्षरको हुन्छ तसर्थ क्षत्रियहरुको व्रतवन्ध ११ बर्षमा गरिदेउ । वैश्य जातिहरु जगति छन्दसंग सम्बन्धित छन् “त्रैश्टुभो वै राजन्य:” ( ऐ.१/२८/८/२ ) यो भनाई अनुसार जगति छन्दको १ पाद १२ अक्षरको हुन्छ त्यसैले वैश्यहरुको व्रतबन्ध १२ बर्षमा गरिदेउ । हाम्रो सनातनी समाजमा यै कुरो मान्य भएर जाँदा तत् तत् वर्णले सो अनुरुप व्रतवन्ध गर्ने चलन बसेर गएको थियो । तर अहिले बुझ्ने र बुझाउने वर्गको कमि भएर जाँदा यो गुह्य रहष्य़ हराएर जाने तरखर गर्दैछ ।
भाद्रमै जनै पूर्णिमा किन ?
अब भाद्र महिनाकै शुक्ल पक्षको पूर्णिमा तिथिमै यो जनै पूर्णिमा र रक्षाबंधन चाड किन मनाइयो त् ? भन्दा यसको उत्तर हामीले तत्कालिन रुपमा यस क्षेत्रको जनजीवन र भौगोलिक परिस्थिति अनुरुप खोज्नु पर्ने हुन्छ । तत्कालिन समयमा हाम्रो यो क्षेत्र ” आर्यावर्त ” पूर्ण रुपमा कृषिप्रधान क्षेत्र थियो । जुन आज पनि छ र कृषिप्रधान क्षेत्र भएको कारणले याँहा कृषक पेशामा संलग्न समुदाय बढी रहन्थे । जो मान्छे कृषिसंग प्रत्यक्ष या अप्रत्यक्ष रूपमा जोडिएका थिए तिनको कृषिकाम अर्थात बाली लाउनेकाम आषाढदेखि भाद्र महिना सम्ममा रोप्ने ,गोड्ने सकी सकेको हुन्थ्यो । यो क्रम आजको दिनमापनि तद अनुरुपनै चलन चल्तीमा छ । वैदिक कालमा ॠषि-मुनिहरु जंगलमा बढी वर्षा हुने कारणले गर्दा बर्षा कालमा गाउँ छेउछाउ आएर बस्ने गर्थे । त्यो फुर्सदिलो समयमा गाउँलेहरुलाई वैदिक धर्मको शिक्षा दिन्थे । कृषक समाज फुर्सतिलो भएको कारण ऋषि मुनिहरुले आयोजना गरेको धार्मिक कृत्यमा सामेल हुन पुग्थ्यो । जसका कारण देश र धर्म दुबैको कल्याण भै रहन्थ्यो ।
हेर्नुहोस्, यस सम्बन्धमा पारस्कर गृह सूत्रले भनेको छ : “अथातोSध्यायोपाकर्म। औषधिनां प्रादुर्भावे श्रावण्यां पौर्णमासस्यम् “ (२ /१० /२ -२ )
यो मन्त्रको पछि जे रहष्य़ थियो , त्यसलाई मैले माथि उल्लेख गर्ने प्रयास गरिसके । वर्षा ऋतुमा वेद पाठको विशेष आयोजना यसकारण गरिएको हुन्थ्यो कि त्यस मौसममा बीमारीहरु फैलाउने जीवाणुहरु बढि उत्पन्न हुने गर्छन त्यसबाट मूक्ति पाउनकोलागि यज्ञहरु बढि गराइन्थ्यो । त्यो यज्ञमा विशेष सामग्रिहरु यज्ञ कुण्डमा राखिन्थ्यो । यस ऋतुमा आयोजित यज्ञमा रक्षाबंधन नै एउटा यस्तो उपाय थियो जसद्वारा यज्ञ र मानव जीवनको सम्बन्ध स्थापित हुनपुगि यस सम्पूर्ण चराचर जगतको रक्षा गर्न सम्भव हुन्थ्यो । स्वाध्यायको आधारमा यज्ञ गरिन्थ्यो जसद्वारा वर्षा ऋतुमा उत्पन्न भएका अनेक विषाणुहरु जसले गंभीर रोग उत्पन्न गर्दथे ती सबै कुरा तिनै यज्ञद्वारा नष्ट हुनपुगि सम्पूर्ण जीव र प्रकृतिको रक्षाहुन् सम्भव हुन्थ्यो । स्वाध्यायद्वारा नित्य औषधि युक्त सामाग्रीहरुको निर्माण गर्नु र यज्ञ गर्दै प्रकृति, कृषि र जीव जन्तुको रक्षा गर्न रक्षा बंधनलाई ऋषिहरुले उपयुक्त सम्झिन्थे र सबैलाई तद अनुरुप ज्ञान दिन्थे ।
आजपनि थुप्रै गुरुकुलहरुमा यही पूर्णिमा कै दिन विद्यार्थीहरुको प्रवेश गराईने चलन अद्द्याबधी छ । यो दिन विशेषतः विद्यारंभ दिवसको रुपमा मनाईन्छ भने उपनयन गरिसकेका चूडा गर्ने , भगवान रुद्र ,ऋषि मुनिहरूको पूजा आराधना गरी यज्ञोपवित मन्त्रणा गर्ने , बटूकहरुको चुडाकरण गर्ने तथा पुरानो यज्ञोपवीत फ्यालेर नयाँ यज्ञोपवीत धारणगर्ने परम्परा आजसम्म जस्ताको त्यस्तै भएपनि यो पवित्र परंपरा ज्ञानको अभावमा ,जानेर वा नजानेर बिर्सिदै गएको देखिन्छ किनभने अहिले मान्छेहरु बैदिक कृत्यबाट पूर्णतः बिमुख हुँदै गएका छन् । अनार्ष ग्रंथहरुको अचाक्ली अध्ययन अध्यापन हुँदै गएको कारण यी कुराहरु ओझेल भएका छन् , तर केही खाश समूहहरुको कारण ती मान्छेहरुले पूर्ण रुपमा आफ्नो सिद्धांत बदलिन सकेको देखिन्न , खानेपिउने कार्यमै सीमित भएपनि यसलाई मूख्य चाड मानेर आजसम्म मनाईंदै आईएको छ ।
जनै के हो ?

यो पर्व तिनबटा कृत्यहरुको समष्टि स्वरुप हो ,जसमा यज्ञोपवीत, रक्षाबन्धन र ऋषितर्पणी समावेस रहेको हुन्छ । यहाँ यज्ञोपवीत , उपवित , ब्रह्मसूत्र ,यज्ञसूत्र ,जनै एउटै अर्थमा प्रयोग हुने गर्दछ । कुनैपनि जनै र त्यसमा रहेका तन्तुहरु कुनैपनि द्विजका जीवनको १६ संस्कारसंग सम्बन्धित रहेका हुन्छन । जनै धारण गरी सकेपछि यसले काँधदेखि नाइँटोसम्मको भागगरी मान्छेको शरीरलाइ दुई भागमा छुट्याउने हुँदा यसलाई द्विजत्वको चिन्ह मानिएको हो । एउटा जनैमा नौबटा तन्तुहरु ( धागो ) हुन्छन र यो त्रिवृत ३ ,३ वटाको दरले बाटिएको हुन्छ । यसका प्रथम नौ तन्तुहरुले त्यसलाई धारण गर्ने व्यक्तिको जन्मदेखि ब्रतबन्ध गर्नुभन्दा अघिसम्मको नौबटा संस्कारहरु गरीसकिएको छ अर्थात गर्भादान ,पुंसवन ,सिमन्तोनयन ( गर्भ दशाको संस्कार ), जातकर्म , नामाकरण , सिमन्तोनयन ( स्तन्य जीवनदशाको संस्कार ) तथा अन्नप्राशन ,चूडाकरण ,कर्णबेध ( अन्नाधार दशाको संस्कार ) जनाउने गर्दछ ।
यी संस्कारहरु ब्रह्मचर्य आश्रमसंग सम्बन्धित भएको कारणले गर्दा हाम्रो समाजमा कुनैपनि जातकलाई उसको समाबर्तन संस्कार गर्नुपूर्व एउटा मात्र जनै लगाई दिने चालम आजको दिनसम्मपनि विद्दमान रहेको छ । ब्रतबन्ध कालमा समाबर्तन संस्कार गरिंदा अर्को जनै लगाइदिईन्छ । त्यो दोश्रो जनैमापनि नौबटा तन्तुहरु हुन्छन । त्यो दोश्रो जनैको पहिलो तीन तन्तुले ब्रह्मचर्य ,वेदारम्भ र केशांत संस्कार ,दोश्रोले समावर्तन ,बिबाह (गृहस्थाश्रम ),अग्नि परिग्रह तथा तेश्रो तन्तुले अन्तिम संस्कार , कृयमाण हविर्यग्य ,सोमयज्ञ आदिलाई जनाउने गर्दछ । यसैलाई कुनैपनि द्विजको पुरुषत्वको परिचायक हो भन्ने गरिएको छ । सनातन हिन्दू बैदिक परम्परा मान्ने वैष्णव सम्प्रदायले जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मान्ने गरेको देखिन्छ , जो यथार्थ होईन उनीहरुको पन्थे सोच मात्र हो कारण उनीहरु शिवजीलाई स्विकार्दैनन ।
ब्राह्मण ग्रन्थहरुको परिभाषा अनुसार जनै त्रिवृत हुनेभएकोले यो तृवृत्त नौ संख्याको द्दोतक हो । त्यै त्रिवृत एक स्तोमपनि हो । त्यो स्तोम भनेकै अग्निसंग सम्बन्धित हो भन्नुको अर्थ अग्निको अंश हो । यही कुरो औंल्याउँदै ब्राह्मण ग्रन्थहरुले भन्छन – अग्नि र ब्राह्मण जगद्विज पुरुषका मुखका शृष्टि हुन् , त्यसकारण इनिहरु सजातीय हुन् । सजातीय भएकै कारणले अग्निले ब्राह्मणसंग समिपता राख्न पुगेको हुन्छ । वेद अर्थात श्रुतिले भन्छ “अग्नेयौ वै ब्राह्मण ” ब्रह्म बर्चश्व प्राप्त गर्न तथा अग्निको समानता तथा त्रिवृत स्तोम प्राप्त गर्नकलागि तथा उपासनाकोलागि यज्ञोपवित् धारण गर्नु पर्छ । दोश्रोकुरो तमाम वेद,उप्वेद,ब्राह्मण ग्रथानुसार जनै धारण नगरीकन श्रौत वा स्मार्तकर्म गर्न अग्नि स्थापना गर्न मिल्दैन ।
ऋषि तर्पणी र रक्षा बन्धन
नेपाल परापूर्वकालदेखि वैदिक चाडपर्वको संस्कृति बोकेर यो विश्वमा उभिएको मुलुक हो । नेपालमा जीवित वैदिक र पौराणिक संस्कृति नेपाली वीचको मानवीय संबंधहरुको विकास र उदात्त भावनाहरुको अभिव्यक्ति हो । हामीले मनाउने चाडपर्वले वैदिक युगदेखि स्थापित शिक्षा, स्वास्थ्य, सौंदर्य तथा साँस्कृतिक मूल्यहरुको पुनःस्मरण गराउँछ । नेपालमा मनाईने श्रावणी अथवा उपाकर्म , रक्षाबंधन चाड पूर्णतः वैदिक कालिन धरोहर हुन । यो रक्षावन्धन शुरु गर्दाको कुरो माथि भनिएजस्तै थियो तर अहिले हाम्रो युग फेरिन पुगेको कारण यसका प्रतिमान र परिवेशपनि फेरिन पुगे र आजको दिनमा ” जनैपूर्णिमा ” भन्दा क्वाँटी खानेदिन भनेर सीमित हुनपुगेको छ । यो श्रावण पूर्णिमा मनाउनुको अर्को पक्ष- श्रावणी अर्थात् उपाकर्म विधान हो । अब यो उपाकर्म भनेको के भन्दा त्यस्तो वैदिक कर्म जसमा द्विजहरु पवित्र नदी, जलाशय या समुद्र तटमा पुगि सामूहिक रूपमा विधिपूर्वक स्नान,रुद्राभिषेक , यथाविधि होमादी गरि यज्ञोपवीत बदलिने गर्दछन ।
शास्त्र वचन अनुसार –

भबिष्योत्तर पुराणमा उल्लेख भए अनुसार ऋग्वेद ,यजुर्वेद ,सामवेद र अथर्ववेद ब्राह्मण ,क्षत्रिय ,वैश्य आ आफ्ना वेद शाखा अनुसार जो ब्रह्मचैर्य ,गृहस्थ वा वानप्रस्थ आदि कुनैपनि आश्रमका भेलाभई प्रातः काल नदी तीर वा जलाशयमा गई बिधि पूर्वक (तुलसीको माटो , गाइको गोबर ,खरानी ,अपामार्ग ,जौ ,तिल ,कुश आदि सामाग्रीहरु) साथै लिई स्नान गरेर देह शुद्धगरी पूर्बाभिमुख भै बाबुआमा नहुनेले हातमा कुशलिई यस वैबश्वत मन्वन्तरका वैदिक सप्तऋषिहरू यथा ” कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र ” स्थापना गरी तिनको पूजा ,तर्पण ,मार्जन गर्नुपर्ने भएकोले यस पर्वलाई ऋषितर्पणी भनिएको हो । साथमा जनै तथा ऋषि डोरो मंत्रनकोलागि रुद्राभिषेक , ऋषि पूजन , रुद्रीको नौ अध्यायको शान्ति पाठ आदि गरिन्छ । यो दिनको मुख्य भनाई बिहानै श्रुति-स्मृति विधानानुसार स्नानादि गरि आत्मशोधन गर भन्ने हो ।
यस कार्यकोलागि आचार्य हेमाद्रिले श्रावणी प्रायश्चित महासंकल्प लेखिदिएका छन , जुन संकल्प पढ्दै स्नान गरिए कोहीपनि मान्छे आफूले गरेका ज्ञात-अज्ञात विविध पापहरुबाट मुक्ति पाउनेछ भन्ने कल्पना गर्दै माटो , गोबर ,भष्म , पंचगव्य, अपामार्ग, कुशयुक्त जल आदिद्वारा स्नान गरी शारीरिक शुद्धि ऋषिपूजा , देवपूजा गरेर आध्यात्मिक शाँतिलिने प्रयाश गरिएको हुन्छ । यसरी आत्मशुद्धि गरिसकेपछि वेदाध्ययन गर्नु भन्ने विधान छ । श्रावणीको नुहाउने विधि वैज्ञानिक आधार सहित रहेको छ – माटो , भष्म , गोबर , कुश, दूभो स्वास्थ्यवर्द्धक एवं रोगनाशक वस्तु हुन , यी पंचगव्य पदार्थ भएकोले यसको महत्व आयुर्वेदाले बुझेको छ । यो चाडको मुख्य उद्द्येश प्रमाद या अज्ञानतावश गरिन पुगेका दुष्कर्महरुको प्रायश्चित गर्नु , जीवन-मूल्यको सुरक्षा , शुभ कर्मप्रति प्रेरणा दिनु हो ।
रक्षावन्धन
वैदिक र पौराणिककालमा भएको देवासुर संग्राममा देउताहरूको समूह पराजित भएपछी देवराज इंद्र देवगुरु बृहस्पतिकोमा गनगनिन पुगे । त्यो दिन श्रावण पूर्णिमाकै दिन भएकोले वृहस्पतिले आँकको फूलको डोरो बनाई इन्द्रलाई रक्षा कवच बाँधि दिए , जसका प्रभावले इन्द्र विजयी हुन पुगेको मात्र होईन , देवगुरु पदमा आसिन हुन पुगेका थिए । नेपाली संस्कृतिमा चाडपर्वको महत्व कति छ सर्वविदित नै छ । एतिहांसिकतालाई हेर्दा स्कंदपुराण, पद्मपुराण र श्रीमद्भागवतको वर्णन अनुसार वामनावतारको वेला दानवेन्द्र बलिको अहंकार मेट्न भगवान विष्णुले वामन रूप धारणगरि ३ पाईलो माटो माग्दा उसको टाउकोमा चरणस्पर्श गरि बलिलाई रसातलमा पुर्याएका थिए । त्यतिखेर बलिले सन्धी वामन समक्ष रहन पाउँ भनेर वर मांगे ।
त्यतिखेर नारदले बताए अनुरुप लक्ष्मीले बलिलाई रक्षासूत्र बाँधी दिंदा बलिले भगवान विष्णु सानिध्य पाएका थिए । विष्णुपुराण अनुसार श्रावण पूर्णिमाकै दिन भगवान विष्णुले विद्या-बुद्धिको प्रतीक हयग्रीव अवतार लिएर ब्रम्हाकोलागि वेद पुनः प्राप्त गरिदिएका थिए । भविष्योत्तर पुराण अनुसार देव-दानव युद्धमा पराजय भोगि थाकेका इंद्रलाई उनकी पत्नी शशिकला (इन्द्राणी)ले तपस्या गरि पाएको रक्षासूत्र श्रावण पूर्णिमाकै दिन इंद्रलाई बाध्न लाउँदा इन्द्र निकै शक्तिशाली बन्न पुगेका थिए । गीतामा श्रीकृष्ण भन्छन – ‘मयि सर्वमिदं प्रोक्तं सूत्रे मणिगणा इव’ अर्थात जसरी धागोले माला उन्छ त्यसरी नै रक्षासूत्रले मान्छेलाई उन्छ । तसर्थ श्री कृष्णले महाभारत युद्धमा विजय पाउन युधिष्ठिरलाई सेना सहित सबैलाई समेटी रक्षाबंधन पर्व मनाउन निर्देशन दिएका थिए ।
रक्षासूत्र कतिखेर बाँध्ने ?
दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामनअवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको घटना संग रक्षाबन्धनको सम्बन्ध जोडिएको छ । यसरी विधिपूर्वक मन्त्रिएको जनै आजको दिनमा प्रत्येक तागाधारीहरुले धारण गर्नुपर्दछ । ऋतु परिवर्तन, उदात्त मूल्य संस्थापन तथा विश्व साहचर्य भावना जागृत गराउनु हाम्रा चाड पर्वको उद्देश्य रही आएको छ । श्रावणी पूर्णिमाका दिन श्रवण नक्षत्र पर्ने भएकोले विहानको दुई प्रहर छोडि रक्षाबंधन बाँध्नु भनेर कतै कतै लेखेको देखिन्छ । जेसुकै लेखिएको भएतापनि ” या श्रावणे विमलमासि बिधान बिग्यो रक्ष्या बिधान मिद्माचरते मनुष्य । आस्ते सुखेण परमेण स बर्षमेकं पुत्र प्रपौत्र सहितः ससुह्रिज्जनः स्यात ।” रक्षा बन्धन पूर्णिमाको दिन पूर्वाह्नकालमा भद्रा हुनेभएकोले अपराह्नकालमा भद्रा सकिएर रक्षा बन्धन बाध्नु भन्ने शास्त्र निर्देश रहेको छ । बिधि पूर्वक बाधिएको रक्षा विधानलेमात्र पुत्र पौत्रादी सहित उनका मान्छे सुखी औ खुशी रहन सक्तछ भन्ने पौराणिक बचन रहेको छ । विधिच्यूत कर्म गरिन खोज्दा त्यस्ताका घरभित्र ब्याधि छिर्छ भनेर पनि शास्त्रले नै निर्देश गरेको देखिन्छ -” विधि च्यूत कर्मणि व्याधय जायन्ते ” ।

म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ जनैपुर्णिमाको दिन बांधिएको रक्षाबन्धन गाइतिहारका दिन गाईको पुच्छरमा बांधि दिएमा मृत्युपछि वैतरणी नदी पार हुने जन विश्वास छ । सिद्धार्थ गौतमले आजकै दिनमा काम शक्तिमाथी विजय प्राप्त गरेको स्मरण गर्दै बौध धर्मावलम्वीहरूले पवित्र तिर्थहरूमा गई मेला भर्ने गर्दछन् । परम्परानुसार यस दिन नौ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ ।
नेपालमा राखीको कुनै साईनो छैन
भारतमा मुगल कालमा महिलाहरुको सुरक्षागर्न रक्षाबंधन बाँधेर आफ्ना दिदी वहिनीहरुको सुरक्षा गर्ने उपाय अपनाईएको थियो । त्यै चलन आज झाङ्गिन पुग्यो र नेपालमापनि देखासिकिमा आयात गरी सकिएको छ , तर सत्य सनातन वैदिक मत के हो भने हामी वेद र विज्ञानमा आधारित कृत्यहरु सम्पादन गर्न चाहान्छौं भने त्यसको मर्म बुझेर मात्र गरौँ किनभने वैदिक र पौराणिक कृत्य मात्र सत्य हुन् अरु सबै फजूल । रक्षा बंधनलाई अचेल दिदी – भाई , दाजु – बहिनीको सम्बन्धसंग जोडेर हेर्ने गरिएको छ । एउटा धागोले कस्सीने दिदी , भाई , दाजु , बहिनीको नाता किन बनाईएको हो ? यसको जवाफ कसैसंग छैन ।
भाद्र शुक्ल पूर्णिमाको दिन बजारबाट किनेर ल्याएको एउटा कलात्मक धागो एउटी दिदी वा बहिनीले आफ्ना दाजु भाईको नारीमा बाँद्धा , हामी एक अर्काको रक्ष्या गर्छौ भन्दैमा यो चाडको प्राचिनता ,वैदिकता र पौराणिकता प्रष्टिदैन । ” राखी ” भनिने चलन चल्तीको आयातित रक्ष्या बन्धन र प्राचिन सनातनी वैदिक रक्षाबन्धन बीचको फरक पनि प्रष्टिदैन । यो दिदी भाईको रक्षाबन्धन हाम्रो सनातनी वैदिक कृत्य कसरी हुन पुग्यो ? किनभने चलन चल्तीको आयातित ” राखी ” सनातन संस्कृतिको अंग होइन ,भारतको मुगलकालाको एतिहाँसिक कृत्य हो । यस पछाडीको ऐतिहासिक तथ्य के देखिन्छ भने भारतमा अंग्रेजहरु आउनु अघि मुगलहरुको साम्राज्य थियो ।
त्यतिखेर हिन्दू सनातनी महिलाहरुको अस्मिता मुगलहरुको कारण सुरक्ष्तित रहन सकेन । त्यो खतरामा हिन्दू बाहुल्य ठाउँका स्वास्नी मान्छेहरुलाई आस्वस्त तुल्याउन भारतीय मुगल साम्राज्यमा माथिको एतिहाँसिक तथ्य बिचार्दै मुगलहरुबाट जोगिन राखीको प्रचलन दाजुभाई दिदी बहिनीकोलागि चलाइयो ताकि सामाजिक रुपमा प्रत्येक हिन्दू जातीका महिलाहरुलाई सुरक्षित तुल्याउन सकियोस । त्यो सुरक्ष्या भावना भित्रको तथ्य मुगलहरुसंग मात्र सम्बन्धित नभई प्रत्येक पर पुरुषहरु संग सम्बन्धित हो ।
-प्रवीण अधिकारी धर्म दर्शनका ज्ञाता हुन् ।

