सबै भन्दा पहिला कलंकी नागढुंगा सडकको प्रसंग । मन्त्री रघुवीर महासेठले कलंकी नागढुंगा सडक कालो पत्र भईसक्छ भनेर गरेको बाचा पुरा हुन ५ दिन बांकी छ । आजको दिन गईहाल्यो, त्यो दिन भईहाल्यो ।
बांकी दिनको हिसाब गर्न जिम्मा मन्त्री ज्युको । मन्त्री ज्युले नभ्याए वरिपरी छरिएका अनगिन्ती सहयोगीहरुको । अब आजको प्रसंगमा जाउँ । आजभोली चर्किदै गरेको आवाज हो, बलत्कारीलाई फाँसी देउ ? दिनानु दिन भैरहेका बलत्कारका घटनाको समाचार सुन्दा पनि मानिसहरु तर्सीसके ।
घर घरमा रहेका छोरीहरु सुरक्षित छन् भनि ढुक्कले आमा बाबु निदाउन सकेनन् कि । बिषय गम्भीर छ । बलात्कारीलाई फाँसीले मात्र के पुग्ला र त्यसमाथी बालिका बलात्कार गर्नेलाई दिइनु पर्ने सजाय कति निर्कम हुनु पर्ला भनेर अन्दाज पनि लगाउन सकिदैन ।
बा आमाको काखमा लुटुपुटी खेल्ने उमेरकी बालिका, तोते बोली बोल्दै गरेकी बालिका, निश्चल, निर्दोष, निष्कपट सानी बालिकालाई आफ्नो शरीरको भोक मेट्ने नरपिचास, दानवलाई फाँसी मात्रै ? यो त सजाय होइन, उन्मुक्ती भएन र ?
एउटा मान्छेलाई फाँसी नै दिइयो भने झुण्ड्याउँदा देखि उसको सास नजाउन्जेलसम्मको समय हिसाब लगाउँदा पनि एक दुई मिनेट भन्दा बढी झुण्डिने बलात्कारी छटपटाउदैन । म्याक्सिमम ३ मिनेट जतिमा उ मरिसक्छ । ३ मिनेट । तर त्यही बलत्कारीले एउटी बालिकालाई कति पीडा दिएर बलत्कार गर्छ ।
सुन्न जति ग्राहो भएपनि सुन्नुहोला है त । पापीले बालिकाको मुख थुन्दो हो, कलिला हात खुट्टा आफ्ना पापी हातले कति दुख्ने गरी समाउँदो हो । जीउभरी कती ठाँउमा घाउ हुने गरी झम्टदो हो, बालिकाकी घाँटीको नशा चुडिने गरी चिच्याउँदी हुन्, कुकर्मीका हातले तिनको मुख थुन्दो हो, कपाल समात्दो हो ।
अधर्मीको घिन लाग्दो शरीरले एउटी सानी, बेकसुर बालिकाको अंग अंगलाई विटुलो बनाउँदो हो । आँशुको भेल बग्दो हो, रगतको आहाल जम्दो हो । एउटी सानी छोरीको । २ वर्षकी, ५ वर्षकी, ७ वर्षकी बालिकालाई ५०/६० नाघेको मानिसले समेत बलत्कार गर्छ, गरिरहन्छन् ।
पत्रपत्रिकामा छापियोस, रेडियो, टेलिभिजनमा बजेको बज्यै गरोस् उसलाई केही असर पर्दैन । यतिखेर पनि देशको कुनै न कुनै कुनामा कुनै न कुनै पापी कुनै न कुनै बालिकालाई आफ्नो पासोमा पारिरहेको छ वा त्यसबारे सोचिरहेको छ । यति ठुलो यातना दिने बलात्कारीलाई ३ मिनेटको फाँसी ?
त्यसमाथि कयौँ बलात्कारीहरुले बलत्कार मात्र गदैनन्, बलत्कारपछि घाँटी निमोठेर हत्या समेत गर्छन । कयौँ बलत्कारका शिकार भएकाहरु आजीवन मानसिक पीडा बोकेर पल पल मरेर बाँच्छन् । सिंगै जीवन पल पल मरेर बाँच्न बाध्य गराउनेलाई ३ मिनेटमै मुक्ती दिनु ठीक होला ?
कञ्चनपुरकी निर्मला पन्तका बाबु एकराज पन्त लाई सोधौ त । एक छिन ती तपाइृकी छोरीको बलत्कार गर्नेलाई तपाईका अगाडि उभ्याइदियो भने के गर्नुहुन्छ । अन्दाज लगाई हेरौँ त्यो दृश्य जहाँ आफ्नो छोरीको बलात्कार गर्ने दानव आफ्नो अगाडि उभिएको छ ।
अनि अनुमान गर्नुस बलात्कारी भनेर उभ्याइएको व्यक्ति सक्कली होइन नक्कली भयो रे ? के नक्कली बलत्कारीलाई पनि सक्कली करार गरी झुण्डाएर, फाँसी दिएर मारी दिने ? मान्नुहोस् फाँसी दिएको एक महिनापछि १ वर्षपछि वा १० वर्षपछि थाहा भयो कि जसलाई फाँसी दिइयो त्यो व्यक्ति त नक्कली बलत्कारी रहेछ ।
अब उसको जीवन फिर्ता हुन सक्छ ? बलत्कारीलाई फाँसी दिनै पर्छ तर कानुन फितलो र अधिकांश दृष्टान्तमा न्यायलयमा समेत चलखेल हुने हाम्रो देशमा फाँसीको व्यवस्था भयो भने कयौैँ निर्दोषहरु बलीबेदीमा चढ्छन्, पक्का छ । एउटा गरिब, अशिक्षित त के, अनुहार र चालचलन लफङ्गा जस्तो भए मात्र नि काफी छ यहाँ, दुई झापड हानेर बलात्कारी बनाएर सुलीमा चडाउन ।
न्यायलयमा पहुँचवालाको हाली मुहाली, प्रहरी प्रशासनमा भनसुन गर्न सक्नेको नाच गान यो मुुलुकमा भएकै छैन भन्ने र प्रमाणीत गर्ने कोही हुनु हुन्छ भने घर घरबाट हात उठाउनु होला र भन्नुहोला कि अँह यो मुलुकमा विधिको शासन छ, यो राम राज्य हो, यहाँका न्यायाधीशहरु न्याय मुर्ती हुन्, यहाँ न्याय विक्दैन ।
यदि होइन भने मान्नुहोला पैसा हुनेले २४ घण्टा मात्र चलखेल गर्न पायो भने साइज साइजका कलर कलरका नक्कली बलत्कारीहरु लाइन लगाएर खडा गरिदिन्छन् । बयान साक्षी, घटना, पीडक, पीडित, दशी प्र्रमाण सबका सब रातारात चेन्ज हुन्छन हजुर तर एस बालिका बलात्कारीलाइ्र्र फाँसीको सजाए मात्रले चाँही पुग्दैन ।
पैसाको लोभमा आमा, दिदी बहिनी र देश बेच्न सक्नेहरुको हुलमा फाँसिको बेवस्था आयो भने कति निर्दोषले सेरिनु पर्दा ? तर एस, अफकोर्स, बालिका बलात्कार गर्नेलाई हुनु पर्ने त मिनिमम पनि फाँसिनै हो ।

