यो मुलुकमा प्राय जस्तो नेताहरुले प्राय सबै संचार माध्यममा अन्तर्वार्ता दिइसके । मुलुकको विकासको स्थीति जस्तो भएपनि यो देशका हिजोदेखि आजसम्मका सबका सब नेताहरुलाई कुनै पत्रकारको डर फिटिक्कै छैन ।
नभ्याउँदाको कुरा वेग्लै हो तर समय मिलेसम्म सबले सबलाई मजाले इन्टरभ्यु दिन्छन् । र कुनै नेतालाई कुनै पनि बेला कसैलाई भेट्न र अन्तरर्वार्ता दिन कुनै तयारीको पनि जरुरत पर्दैन । वरिष्ठदेखि कनिष्टसम्मका हर पत्रकारका हर प्रश्नको जवाफ हर हमेशा हरेक नेतासँग छ ।
तर कसैको प्रश्नको जवाफ कुनै नेतासँग छैन भने त्यो हो आफ्नो कार्यकर्ताको । विडम्बना राजनीतिक दलका कार्यकता साथीहरु आफ्ना नेतालाई प्रश्न सोध्ने मुटु नै राख्नु हुन्न । बरु गलत बोले पनि गलत गरेपनि आफ्नो नेताको बचाउ गर्नतिर लाग्नु हुन्छ । कार्यकर्ता मित्रहरु, तपाईहरु कति भाग्यमानि हुनुहुन्छ, हिजो विभिन्न आन्दोलन र क्रान्तिमा तपाईसँगै आन्दोलन र क्रान्ति गर्ने तपाईका साथी तपाईकै अगाडि गोली लागेर ढलेका होइनन् ? अंगभंग भएका होइनन् ?
त्यस्तो विभत्स दृश्य आँखै अगाडि देखेर पनि तपाई आफ्नो नेताको अंधभक्त कसरी हुनु भो । जे बोले पनि ताली पिट्ने कसरी हुनुभयो । देशको मुहार सर्लक्कै फेर्छु भनेर निलकाडा बिझेका गोडा लिएर गाँउ गाँउमा परिवर्तनको विगुल फुक्ने तपाईको नेता करोड माथीको गाडीमा बसेर साइरन बजाउँछन् ।
नेता ज्यु, तपाईले हिजो जनतालाई गरेको वाचा यहि हो भनेर सोध्न के ले रोक्छ ? हिजो भ्रष्टाचार गरेर मुलुकलाई हरितन्नम बनाउनेहरु विरुद्ध गाँउबाट उठ बस्ती बस्तीबाट उठ भनेको होइन । गाँउ गाँउबाट उठे बस्ती बस्तीबाट उठे तर भ्रष्टाचारीहरु वा शोषक, सामान्ती भनिएकाहरु को को समातिए त ?
एउटा राजालाई प्रजा बनाइयो ठिक छ, बदलामा सयाँै अन्य राजाहरु महाराजा बनेका छन् जो ठुला ठुला कर छलि गर्छन, पदको चरम दुरुप्रयोग गर्छन्, अकुत अकुत सम्पत्ती जोड्छन्, तिनको करप्सनको लिष्ट खोइ ? को सँग छ ? टप १० भ्रष्टाचारीहरुको नाम सार्वजनिक हुनु परेन । तपाईको अगाडि गोली लागेर ढलेको साथीको आत्माले तपाइ्र्रको नेताले मात्र सुविधा पाएको कुरा स्वीकार्छ ?
पार्टी भित्र विद्रोह गर्नु परेन तर जुन नेतालाई आफ्नो आदर्श मानेर तपाई तातो गोली खाना पछाडि होइन, अगाडि छाती थापेर उभिनु भो, उसले तपाईको साथीको सपना साकार ग¥यो कि आफ्नो र आफ्नतको सपना साकार पा¥यो ? यत्रो व्यवस्था परिर्वतन गरिदियाँै, यो भन्दा ठुलो उपलब्धी के चाहियो भन्दा तररर् ताली पिटेर बस्ने हो र ?
भ्रष्टाचारी नसमातिएसम्म व्यवस्था परिर्वतन भएर कुनै लछार पाटो लाग्दैन । समस्या व्यवस्था होइन समस्या भ्र्रष्टाचारमा छ । किन नबुझेको । चिनमा कम्युनिजममा छ, विकास रोकियो ? युएईमा राजतन्त्र छ, विकास रोकियो ? भारत लगायतका देशमा लोकतन्त्र छ, बिकास रोकियो ?
समस्या व्यवस्थाको होइन । भ्रष्टाचारी जेल नजाउन्जेल जनताको अवस्था बदलिदैन । देशमा केही भएको छैन भनेको होइन तर मानिसको रगतले सिंचिएको आन्दोलनको औचित्य पुर्वरुपमा पुष्टी हुन पाइरहेको छैन । नाङ्गा जनता अझै नाङगा छन् ।
तिनलाई नाङगो पार्ने भ्रष्टाचारीहरु केही मरिसके धेरै अझै पनि नांगो नाच देखाउँदै छन् । आफ्नो नेतालाई सोधी हेर्नुस त हिजोका नेताले जस्तै तपाईहरुले पनि आज मुलुकका भ्रष्टहरुलाई किन जोगाएको ?
किन काखी च्यापेको ? हिजोको वाचा सम्झाइदिने कार्यकर्ता खोइ ? हिजो संघर्ष गर्दा, नाक ठोकिने ठाडो उकालो काटिसकेपछि गाँउकी बुढी आमाले दिएको चिसो मोइ, कल्क कल्क गरी करुवाबाट पिउदा जुन आनन्द आएको थियो आज आइस नै आइनसले भरिएको ग्लासमा विदेश ह्विस्की चिर्यस गर्दा, त्यो मजा कहाँ ?
तपाईहरुलाई दिएको सल्लाह त पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पो लिएछन् । सरकारी सुविधाका भब्य महल छोडेर तिन कोठे घरमा सरे । हाम्राहरु एक कोठे डेराबाट आएर पनि महलको सुविधामा लिप्त छन् । इमरान खान सारा गाडी बेचेर आएको पैसा राष्ट्रको ढुकुटीमा हाल्दैछन् ।
हाम्राहरु ऋण लिएर पनि खाली भएको सरकारी ढुकुटीबाट गाडी किन्ने पैसा झिक्दैछन् । राम्रो कुराको सिको हामीले पनि गरे भैहाल्छ नि । कुनै पनि दलका कार्यकर्ताहरु आफ्नो लागि होइन देशको लागि राजनीति गरिरहनुभएको छ भने अब स्टेजमा नेतालाई राख्ने भाषण सुन्ने ताली बजाउने होइन, उल्टो गरी हेर्नुहोस ।
स्टेजमा आँफु उभिनुहोस, तल दलका नेतालाई राख्नुहोस् र माइकको भोल्युम ठुलो बनाएर भन्नुहोस् नेता ज्यु, तपाइको घरलाई अस्पताल बनाइदिनुहोस्, तपाईको सारा सम्पत्ती राष्ट्रियकरण गरिदिनुहोस्, आफन्तका नाममा रहेको जग्गा जमिन बेचेर दुर्गम क्षेत्रमा विद्यालय बनाउनुस् ।
उहाँले हावादारी कुरा बोल्दा पनि आजीवन तपाईले ताली पड्काउनु भो । तपाईले सहि कुरा बोल्दा उहाँहरुले ताली बजाउनु हुन्छ कि बजाउनु हुन्न त्यो हेर्नुहोस् । बल्ल थाहा हुन्छ कि तपाई कस्तो नेताको पछि लागेर देशको भविष्य कोर्दै हुनुहुन्छ ?
वाई द वे मन्त्री रघुविर महासेठले कलंकी नागढुंगा सडक कालो पत्र भइसक्छ भनेर गरेको बाचा पुरा हुन ७ दिन बाँकी छ । आजको दिन गईहाल्यो, त्यो दिन भईहाल्यो ।

