चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित भएको छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनसम्म अनशन बसेका डा केसीलाई स्वास्थ्य अवस्था खराब भएपछि जीवनरक्षा र उपचारका लागि बिहीबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइए पनि मागका सम्बन्धमा वार्ताबारे अन्योल देखिएको छ । थप वार्ताबारे छलफल भएपनि अर्को निर्णय भइनसकेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बताएका छन् ।
यसअघि केसी पक्षले प्रतिनिधिसभामा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने अडान राखेको र सरकार त्यसमा सहमत नभएपछि वार्ता स्थगन भएको हो । डा केसीले अधिकारसहितको वार्ता टोलीको पनि माग गरेका छन् ।
सरकारले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । डा केसी र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको अघिल्लो सरकारले ल्याएको १० वर्षसम्म काठमाडौँ उपत्यकामा नयाँ मेडिकल कलेजको सम्बन्धन रोक्काको व्यवस्था भएको चिकित्सा शिक्षा अध्यादेशको मर्मअनुसार नै विधेयक आउनुपर्ने अडान छ भने सरकार विधेयकलाई संसदीय प्रक्रियाबाट टुंगो लगाउने पक्षमा छ ।
डा केसीलाई ल्याउनु अत्यावश्यक भएकाले विहीबार बिहान हेलिकोप्टर पठाइएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिएका छन् । अनशनरत डा केसीलाई हाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
डा. गोविन्द केसीको अनशनको विषयलाई लिएर चिकित्सकहरूबीच नै ध्रुविकरणभएको छ । केसीको माग सम्बोधन गराउन देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने चिकित्सक संघको निर्णयसँगै चिकित्सकहरू दुई ध्रुवमा विभाजित भएका हुन् ।
डा. केसीको माग सम्बोधन गर्न सरकार उदासीन भएको भन्दै संघले बिहीबार आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयमा कांग्रेसनिकट चिकित्सकबाहेक अरूले अस्वीकार गरेपछि देशभरका अस्पतालमा आंशिक प्रभाव प-यो ।
शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल र पाटन अस्पतालमा बिरामीलाई सामान्य सेवा दिइयो । शिक्षण अस्पतालले दिनभर सामान्य सेवा सञ्चालन भएको बतायो । यस्तै पाटन र वीरमा पनि सामान्य रूपमा सेवा सुचारु रह्यो । धादिङबाट उपचार गर्न शिक्षण अस्पताल महाराजगन्ज आएकी सरिता धमलाले ढिलै भए पनि सेवा पाएको बताइन् । ‘बिहान केहीबेर लफडा भएको थियो, त्यसपछि आन्दोलनकारी अस्पतालबाट लखेटिए र सेवा सुरु भएपछि जाँच गराएँ,’ उनले भनिन् ।
यसै बीच शिक्षण अस्पताल महाराजगन्जमा हिजो बिहीबार बिहानैदेखि चिकित्सकहरूबीच नै दोहोरो भनाभन चल्यो । बिरामी भर्ना भएको वाडैपिच्छे केसी समर्थक चिकित्सक सेवा बन्द गराउँदै थिए । उता सरकारले पनि हरेक वाडमा प्रहरी तैनाथ गरेको थियो ।
केही चिकित्सकले बिरामीलाई सेवा दिन नसक्ने बताउन थालेपछि नर्सहरूले भने सेवा रोक्न नहुने बताए । यही कुरामा दुई पक्षबीच भनाभन भयो । भनाभनकै क्रममा नर्सहरूले चिकित्सकको कठालो समाए । प्रहरीले पनि रोक्न सकेन । नर्सहरूले लछारपछार गर्दै चिकित्सकलाई अस्पतालको कम्पाउन्डसम्म पु-याए । प्रहरीको उपस्थितिमा दिनभर सेवा सञ्चालन भयो, बन्द गराउनेहरू अस्पताल हाताबाहिर रहे ।
समस्या समाधान गर्न सरकार माथेमा कार्यदलसँग बस्नुपर्छ – डा. लोचन कार्की, महासचिव, नेपाल चिकित्सक संघ :- चिकित्सक संघ यस्तो विषम परिस्थितिमा मध्यस्थकर्ताको भूमिका खेल्न चाहन्छ । यो अवस्थामा केसी पक्ष र सरकार मिल्नुको अर्को बाटो देखिँदैन । तर, त्यसका लागि दुवै पक्ष लचक बन्नुपर्छ । सरकारले पनि केसीलाई कहिल्यै अनशन बस्न नपर्ने हिसाबले सहमति कार्यान्वयन गर्नुपर्छ । हामीले गरेको हडताल केसीको जीवन रक्षा र उनले उठाएका स्वास्थ्यका जायज मागको विषयमा हो । केसीले शिक्षा र स्वास्थ्यभन्दा बाहिरका विषय पनि उठाउनुभएको छ, त्यसमा चिकित्सक संघ सहमत जनाउँदैन ।
समस्या समाधान गर्न सरकार र केसी पक्ष माथेमा कार्यदलसँग बस्नुपर्छ । कार्यदलले प्रतिवेदन बुझाएको तीन वर्ष भइसकेको छ । त्यसलाई परिमार्जन वा जस्ताको त्यस्तै पास गर्ने भन्ने विषयमा विवाद छ । यो अवस्थामा केही विषय अवश्य नै परिमार्जन गर्नुपर्ने देखिन्छ । तीन वर्षअघिको प्रतिवेदन हुबहु लागू गर्नुपर्छ भन्ने कुरामा डा. केसीले पनि लचकता देखाउनुपर्छ । यो प्रतिवेदन माथेमा कार्यदलले बनाएका कारण यसमा केसीभन्दा पनि माथेमासँग छलफल गरेर निकास निकाल्न आवश्यक छ ।

