राम ढुंगाना -जोसँग असामान्य वा अद्धभूत शक्ति हुन्छ।उस्ले गर्न नसक्ने कुरा केही हुन्न। धेरै चामत्कारिक काम गर्न सक्छ।सामान्य मानिसको सोच भन्दा परको कुरा गर्ने क्षमता राख्छ त्यो हो सुपर म्यान,सुपर हिरो अथवा यस्तै अरु कुनै नाम।तर,यी सब फिल्मको पर्दामा देखाइने,कितावमा पढिने काल्पनिक रुपमा खडा गरिएका पात्र हुन्।वास्तविक जीवनमा यस्ता मानिस हुँदैनन् र भेटिदैनन्।
हाम्रो वरिपरी पनि सुपर हिरो/सुपरम्यान छन्।हाम्रो समाजका सुपरम्यानले काल्पनिक सुपरम्यानले जस्तो क्षण भरमै अनेकौं किसिमका चमत्कार त देखाउँन सक्दैनन् तर उनीहरुको मिहिनेत,परिश्रम,दुर्दर्शीता र इमान्दारीताले एक जनाको होइन केहि सिमीत व्यक्तिहरुलाई मात्र पनि होइन हजारौं,लाखौं र करोडौंको जीवनमा वहार,खुशीयाली र जीवन नै परिवर्तन गराइदिन सक्छन्।
नेपालमा पनि यस्ता केही सुपर हिरोहरू छन्।जस्ले यो देश र समाजमा अनेकौ किसिमका असल काम गरेका छन्।समाज र देशलाई ठूलो गुण लगाएका छन्।
डा.गोविन्द केसी :डा.केसी बरिष्ठ हाडजोर्नी विशेषज्ञ हुन्।उनी भन्दा जुनियर र उनका सहकर्मीहरुको काठमाडौंमा भव्य बंगाला छ।विलासी जीवन बाँच्छन्।सम्पत्तीको कमी छैन।तर,डा.केसीको एउटा सामान्य बस्ने घर मात्र होइन आफ्नै कमाईले गतिलो कपडा समेत लगाउँदैनन्।आफ्नो कमाईले सम्भव भए सम्म गरिब र उपचार पाउँन नसकेकाहरुलाई उपचार गर्छन्।न मिठो खान्छन् न मोजमस्तीको जीवन बाँचेका छन्।नेपालको स्वास्थ्य क्षेत्रलाई माफियाले ध्वस्त पारेको छ यो निर्मुल पार्न पर्छ भनेर आफ्नो ज्यान दाउँमा लगाएर थुप्रै पटक अनसन बसे।
त्यसअघि स्वास्थ्य क्षेत्रमा रहेका बिकृती, माफियाको घेराबन्दीको बारेमा धेरैलाई थाँहा थिएन।सिंगो देश र जनतालाई नेपालको स्वास्थ्य क्षेत्रको भद्रगोल र बेथिती बारे चेतना जगाइदिए।गरिब र पैसा नहुनेले पनि औषधी उपचारबाट बन्चित हुन हुँदैन।राज्य सबैको लागी बराबरी हो।राज्य माफियाको पक्षमा नभई जनताको पक्षमा हुनपर्छ भनेर निरन्तर आवाज उठाइरहेका छन्।
अहिले अवकाश प्राप्त जीवनमा पनि आराम गरेर बसेका छैनन्।दुर्गमा गरिबहरुको उपचारमा दिनरात खटिएका छन्।न आफ्नो बारेमा प्रचारप्रसार गर्छन् न त यिनले मानसम्मान नै खोज्छन्।असामान्य मानिस हुन् डा.गोविन्द केसी।

कुलमान घिसिङ-विश्वमै जलस्रोतको धनी देश भनेर चिनिने हाम्रो देशलाई केहि बर्ष अघिसम्म मात्र अन्धकारको देश भनेर पनि चिनिन्थ्यो।अठार घण्टा त्यो भन्दा धेरै लोडसेडिङ हुन्थ्यो।विद्युत नभएपछि कलकारखाना,उधोगधन्दा केही चल्न सक्दैन।देशमा केहि उत्पादन नभएपछि आयात बढ्छ निर्यात गर्ने कुरा केही हुन्न यस्ले देश झन्-झन् गरिब हुँदै जान्छ।उज्यालोमा बसेर पढ्न नपाएपछि विधार्थीहरुको भविष्य कहाली लाग्दो हुने भईहाल्यो।उतिबेला देश अस्तव्यस्त थियो,जनताहरु निराशामा बाँचिरहेका थिए।हरेक दल तिनका नेताका राजनीतिक मुद्धा देशलाई उज्याँलो बनाउँने हुन्थ्यो तर सत्तामा पुगेपछि तिनै लोडसेडिङ हटाउँने,घटाउँने होइन बढाउँने तालिका सार्वजानिक गर्थे।
देशमा बिजुली बत्ती नभएर अन्धकारले ठप्प भएको बखत नेपाल विद्युत प्राधिकरणको कार्यकारी अध्यक्ष बनेर कुलमान आएपछि सारा नेपालीहरुको घर मात्र होइन अनुहार समेत उज्याँलो बनाउँने गरेर कुलमानले लोडसेडिङ मुक्त देश बनाए।देश लोडसेडिङ मात्र मुक्त भएन सिंगो देशको अर्थतन्त्रलाई नै माथी उकास्ने काम गरेको छ।अहिले देशमा कसैले केही राम्रो काम गर्न लाग्यो भने दोस्रो कुलमान नाम दिइन्छ।धेरैको प्रेरणाको पात्र बनेका छन्।कुलमान मान्छे मात्र नभएर चामत्कारिक मान्छे हुन्।
डा. सन्दुक रुइत – सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पाउने प्रख्यात नेपाली आँखाका डाक्टर र तिलगंगा आँखा केन्द्रका निर्देशक हुन। बिश्वविख्यात सरल र कम लागतको मोतिबिन्दुको चिकित्सापध्दति ‘रुईतेक्टोमी’का सुरुवातकर्ता पनि हुन। उनले आपनै हातले एक लाखभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गरेका छन्। पूर्वी पहाडी जिल्ला ताप्लेजुङको चिनियाँ सीमावर्ती गाउँ ओलाङचुङगोलामा जन्मिएका डा. रूइतलाई आज देश–दुनियाँमा ‘दृश्यका देवता’ (गड अफ साइट) भनेर चिनिन्छ ।(विकिपिडिया)
नेपालमा मात्र होइन विदेशमा समेत हजारौं विदेशीलाई यो सुन्दर संसार देख्न सक्ने बनाएका छन् रुइतले।रुइत नेपालको धर्तीमा जन्मिएका सुपर हिरो हुन्।
विनोद चौधरी– नेपालमा गरिबहरु मात्र बस्छन्।नेपाल गरिब देश हो भनेर कुनै विदेशीले सोधे भने हामीले हो भन्न पर्ने अवस्था थियो।किनकी कोहिपनी नेपालीहरु विश्वमा धनाढ्य व्यक्तिको सूचीमा सूचिकृत भएका थिएनन्।अहिले हामी फोर्व्स पत्रिकामा सूचीकृत नेपाली अर्बपती छन् भनेर विनोद चौधरीलाई देखाएर भन्न सक्छौं।
उनको उद्योग-व्यवसायमा हजारौं नेपालीले रोजगार पाएका छन्।नेपालमा केहि हुन्न सबैतिर अस्तव्यस्त छ।कुनै व्यापार-व्यवसाय गर्ने वातावरण नै छैन भनेर निराश हुने युवापुस्तालाई नेपालमा पनि अवसर छ है नेपालमा पनि धेरै कुरा गर्न सकिन्छ भनेर आत्मविश्वास जगाउँने,प्रेरित गर्ने व्यक्ति हुन् चौधरी।
यी माथी उल्लेखित चार व्यक्तिहरु वास्तविक जीवनका हाम्रो देश र समाजका सुपर हिरो हुन्।जस्लाई अथक परिश्रम, मिहिनेत,लगन र इमान्दारीताले सुपर हिरो बनायो।
देशको शासन सत्ता सम्हालेका र सरकारी उच्च ओहदामा पुगेका केहि व्यक्तिहरुले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने हो भने देश र जनताले पनि पक्कै मुहार फेरिन्थ्यो भने जनताको नजरमा उनीहरु पनि सुपर हिरो हुन्थे।

