मङ्लबार, कार्तिक ८, २०७९
शास्त्र र कुल परम्परा नबुझीकन त्यसै नबोल्नु होला – पूजा पद्धति !

शास्त्र र कुल परम्परा नबुझीकन त्यसै नबोल्नु होला – पूजा पद्धति !


  • स्वदेश नेपाल
  • मङ्लबार, कार्तिक ८, २०७९

पूजा पद्धति वैदिक,तान्त्रिक, लौकिक र आ-आफ्नो कुल परम्परा अनुसारको हुन्छ।श्याङ्जा र पर्वतका गुरुङ र पाल्पाका मगरहरुले कुखुराको भाले- पोथीको भोग दिएर नागको पूजा गर्दछन्।नेवारहरु हाँस,कुखुरा, बोका र राँगा पर्यन्तको भोग दिएर गणेशको पूजा गर्दछन्।

वनारसमा मान्छेले खाँदा खाँदैको जूठो हात, मुखले पूजा गर्ने उच्छिष्ट गणेशको मन्दिर छ।खस- बाहुनका कुलदेवता मष्ट पनि कोही भोग खाने, कोही दूध खाने र कोही बाबर खाने हुन्छन्।

नेपालमण्डलका नेवारहरु बडादशैँमा वलि दिएको हाँस,कुखुरा, भेडा,बोका र राँगाको सुकुटी, माछा,विभिन्न प्रकारका जाँड,रक्सी र ८४ व्यञ्जन अर्पण गरेर तिहारमा लक्ष्मी पूजा गर्दछन्।यो आ-आफ्नो कुल परम्परा हो। त्यसकरण आफ्नो परम्परै नभएकाहरुले अर्काको परम्पराको निन्दा गर्न हुँदैन।

अहिले हिन्दू धर्म र संस्कृतिको नाउँमा भारतीय संस्कृतिले नेपालको रैथाने संस्कृतिलाई किच्न थालेको छ। अहिले नेपालमा कमलको फूलमाथी बसेर हातबाट खररर असर्फी बर्साइरहेको लक्ष्मीको पूजा गरिन्छ।भारतले त्यसप्रकारको लक्ष्मीको फोटो छपाइदिएको छ।हामी त्यही फोटो किन्छौँ र त्यसैको पूजा गर्छौँ, किनभने हामीहरु कुरा गर्दा ठूलो कुरा गर्छौँ तर हामीले आफ्नो प्राचीन मान्यता र कलालाई बिर्स्यौँ।अघि नेपालमण्डलका धर्माचार्य र संस्कृतिविदहरुले ललितासनमा बसेको, आफ्नो पाउलाई कछुवाको पिठ्युँमाथी राखेको, चार हात भएको, चार हात मध्ये एउटा हातमा सिन्हमु-सिन्दूरदानी, एउटा हातमा ज्वल न्हैकं- आदर्श लिएको , एउटा हातले अभय र अर्को हातले वरद मुद्रा प्रदर्शन गरिरहेको लक्ष्मीको ध्यान गरे।कलाकारहरुले तदनुरूपको लक्ष्मीको चित्र र मूर्ति निर्माण गरे तर अहिले त्यो कलाशैली ओझेलमा पय्रो।त्यसकारण हामीले आफ्नो मौलिक परम्पराको पहिचान गरेर त्यसको संरक्षणमा अघि सर्नु पर्छ।

वेदोक्त र तन्त्रोक्त दुवै पद्धतिमा देवी देवताको पञ्चमोपचार पूजा नै प्रचलित छ।पञ्चमोपचार पूजा भनेको पञ्चतत्त्वको प्रतीक हो।वेदोक्त पद्धतिमा हँ आकाशात्मकं पुष्पं, यँ वाय्वात्मकं धूपं , रँ तैजसात्मकं दीपं, वँ आपात्मकं नैवेद्यं, लँ पृथ्व्यात्मकं गन्धं भनेर पञ्चतत्त्वका प्रतीक पञ्चम उपचार अर्पण गरिन्छ।
यसैलाई तन्त्रोक्त पद्धतिमा लँ पृथ्व्यात्मकं मांसं, वँ आपात्मकं मत्स्यं, रँ तैजसात्मकं मद्यं, यँ वाय्वात्मकं मुद्रां, हँ आकशात्मकं मैथुन पुष्पं च यसरी पञ्चतत्त्वका प्रतीक पञ्चमकार अर्पण गरिन्छ।

यसरी यो आ-आफ्नो परम्परा हो।त्यसकारण कुरै नबुझी खण्डन गर्न हुँदैन।अहं सोमपा असोमपाश्च( म सोमपान गर्ने हूँ ,सोमपान नगर्ने पनि हूँँ) यस्तो भगवतीको वचन छ।

त्यसकारण शास्त्र र कुल परम्परा नबुझी कन त्यसै नबोल्नु होला है त !!

-डाक्टर जगमान गुरुङको फेसबुकबाट

प्रतिक्रिया
सम्बन्धित समाचार