घनश्याम कोइराला -भारतबाट अतिक्रमित भूमि समेटिएको नक्सा सच्याएर नेपालले पुराना गल्ती सच्याइरहेको छ । छिमेकीहरूसँग सीमा विवाद हुन सक्दछन्, सीमा विवाद हुने भनेकै छिमेकीहरूसँग हो । गल्ती जोसुकैबाट भएको हुन सक्दछ । ठूलो कुरा गल्ती थाहा पाउनु र त्यसलाई सच्याउनु हो । पुराना गल्तीहरू पत्तो लगाउनु, तिनीहरूलाई सच्याउनु, गल्ती दोहोरिन नदिनु त छँदैछ, इतिहासको गर्भमा रहेका अनेकौँ विषयको खोज पनि नयाँ ढंगले गदै जानु आवश्यक हुन्छ ।
खोज र आविष्कार फरक कुरा हुन् । आविष्कारले नयाँ बनाउँछ, खोजले पुरानो पत्तो लगाउँछ । आविष्कार र खोज निरन्तर जारी रहने विषय हुन् । जसका खासै इतिहास छैनन्, तिनीहरू इतिहासको खोजीमा कम र आविष्कारमा बढी लागेका हुनन् । गौरवशाली इतिहास भएकाहरू, इतिहास र संस्कृतिप्रति विश्वास राख्नेहरू इतिहास खोज्छन् । आखिर, जे छ त्यही पाइने हो ।
हाम्रो नेपाल भूमिमा अनेकौँ धर्म, संस्कृति, परम्परा छन् । धर्म, संस्कृति र परम्पराका आधार छन् । यहाँका हिमालय ऋषिमुनिका तपस्थल हुन् । यहाँका गुफाकन्दरा र वन देवीदेवताका क्रीडास्थल हुन् । यहाँका नदी मानव सभ्यताका आधार हुन्, तीर्थ र धाम हुन् । यसरी हाम्रो भूमि धर्म, अध्यात्म, संस्कृति, सभ्यता, तीर्थ, धाम रहेको भूमि हो । वेद, उपनिषद्, पुराणहरू यही भूमिमा रचित हुन् । यिनका रचयिता हाम्रा पुर्खा थिए । ती पुर्खा–पूर्वजमध्ये व्यास, वाल्मीकि, वशिष्ठ, याज्ञवल्क्य, सीता, मैत्रेयी, गार्गी, गण्डर्षि आदि अनेकौँ छन् ।
महादेव, गणेश, कुमार कार्तिकेय, देवी पार्वती, गुह्येश्वरी, वाराही, अन्नपूर्णा आदि अनेकौँ महामाताहरूको स्थल यही नेपाल भूमि रहेका अनेकौँ प्रमाणहरू छन् । यहाँ लेखिएका त केही प्रतिनिधि पहिचान मात्र हुन् । शान्तिका अग्रदूत भगवान गौतम बुद्धका विषयमा लेखिरहनु पर्ने नै छैन । वहाँका वंशका, वहाँका अनुयायी, वहाँका देशना स्थलका बारेमा को नै अनभिज्ञ छ र ?
यी सबै देवीदेवता, ऋषिमहर्षि, यहाँका पवित्र स्थलहरू विगतमा ओझेलमा रहे । साधक तथा अन्वेषक विद्वानहरूको लगनशीलता र छटपटिका बावजुद यस तर्फको खोज–क्रियाशीलता कमजोर रह्यो । हिन्दू राजा र राज्यले पनि भएका स्थलहरूमा आजा–पूजा गर्ने, स्याहार–सम्भारमा योगदान गर्ने गरेका भए तापनि खोज–अनुसन्धान, अन्वेषण गरेर यी प्राचीन, प्रागैतिहासिक, ऐतिहासिक स्थान र पहिचानको विस्तार गर्न सकेको देखिएन । अरुले भगिरथबाट ल्याइएर यहाँका शङ्करको जटामा फन्फनी घुमाएर गङ्गालाई पृथ्वीमा अवतरण गराउँदा पनि हामीले त्यसमा दाबी गर्न सकेनछौँ, चुकेछौँ । गण्डकीबाट नानाथरि लाभ लिइरहँदा पनि गण्डर्षिका विषयमा बेखबर छौँ ! यस्ता अनेकौँ विषय उठान, अध्ययन र अन्वेषण गर्ने काम बाँकी नै छ ।
अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्तको जयन्तिका अवसरमा भानुभक्त, रामायण र रामका विषयमा बोल्दै गर्दा राम जन्मभूमि अयोध्याको विषयमा चर्चा गर्नुभयो । अयोध्यापुरी नेपालकै चितवनमा रहेको मन्तव्य व्यक्त गर्नुभयो । शासकीय तहको यति उच्च व्यक्तित्वले राम, रामायण र रामायणका रचनाकार नेपाली नै भएको दाबी गरिएको यो पहिलो पल्ट हो । यसले हाम्रो नेपाल भूमिको गरिमा बढेको छ । यस विषयमा केन्द्रित रहेर गहनतम खोज–अध्ययन हुनुपर्ने विषय उपस्थित भएको छ । यो हामी नेपालीहरूले गर्व गर्नुपर्ने र थप दायित्वबोध गर्नुपर्ने विषय हो ।
तर, आश्चर्य छ आफ्नो आस्थाका रामका बारेमा, पृथ्वीको अष्ट बैकुण्ठ मध्येको एउटा बैकुण्ठ मानिएको एउटा पवित्र धाम नेपाली भूमिमै रहेकोमा खुसी हुनुपर्नेमा केही मानिसहरूले ‘हो त नि, हो र ?’ सम्म पनि नभनेर प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा वाणी–वाण वर्षाउन सुरु गरे । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर ‘कसैले यसलाई कोरोना र नयाँ नक्सा जारी भएको विषयसँग जोडी यी विषय नटुंगिएसम्म अरु कुरा गर्न नहुने भन्दैछन् । यस्तो बेलामा यसो भन्न नहुने, यसमा टिक्न सक्छन् ? दुई वर्षअघि भारतीय प्रधानमन्त्री मोदी जनकपुर आउँदा किन यसो भनेनन् ? प्रधानमन्त्री बोल्दा यस्तो हलुका हुने कुरा नगर्नु पर्ने, बोलेर मात्र हुन्छ ? खोई बजेट ? भगवान रामको खिल्ली उडाइयो….’ आदि इत्यादि प्रतिक्रियारूपी वाणी–वाण वर्षिरहेका छन् ।
केपी ओलीले प्रधानमन्त्रीका हैसियतले उर्दी जारी गरेको होइन, नेपाल सरकारको निर्णय सुनाइएको पनि होइन । वहाँले फैजावादको अयोध्या नेपाली भूभागमा परेकाले फिर्ता देऊ भनेको पनि होइन ।
उनी देशका अभिभावक हुन्, यस राष्ट्रका कार्यकारी प्रमुख हुन् । उनी कुनै पनि विषयका औपचारिक विज्ञ होइनन्, राजनीतिक नेता हुन् र यस हैसियतले सबै विषयमा सामान्य ज्ञान राख्दछन् र राख्नु पनि पर्दछ । औपचारिक प्रमाणपत्र नै विज्ञता र आधिकारिकताको एक मात्र मापदण्ड हुने हो भने प्रम हुन पनि राजनीतिक शास्त्रमा औपचारिक शैक्षिक विषय र योग्यता हुनुपर्ने माग गरिएला । कृषिका विषयमा किसानले बोल्न नहुने, शैक्षिक डिग्रीधारी विज्ञले मात्र बोल्नुपर्ने होला । केपी ओलीमा दर्शन, साहित्य, संस्कृति, संगीत, इतिहासका विषयमा जिज्ञासु र सामान्य ज्ञान भएको देखिन्छ । हाम्रा प्राचीन प्रवन्धहरूसँग वर्तमान समाजलाई जोड्न पनि केपी ओलीको यो अभिव्यक्ति प्रशंसनीय छ । साथै, प्राचीन विषयका खोज–अन्वेषणकर्ताहरूका लागि यो उत्प्रेरक पनि छ ।
आफ्नो देशभित्रको कुनै भूभागको बारेमा कसैले बोल्न नहुने हो र ? प्रधानमन्त्रीको आफ्नो विचार हुँदैन र ? प्रधानमन्त्रीको अभिव्यक्तिले रामका आस्थावानहरुलाई केही अप्ठ्यारो पर्छ र ? नेपाली भूमिमा जन्मेको पुष्टि हुँदा रामको देवत्व कमजोर हुन्छ ? कि, उनी मर्यादा पुरुषोत्तम रहँदैनन् ? यो राम प्रतिको श्रद्धाभक्तिमा प्रहार होइन र हुन सक्दैन । दुई वर्षअघि जे बोलियो, नयाँ जानकारी पाउँदा पनि त्यही बोलिरहन पर्ने हो ? नयाँ अध्ययन, चिन्तन–मननबाट नयाँ विचार, नयाँ स्थितिबोध गर्न नपाइने हो र ? कुनै ठाउँको नामका पछाडि केही आधार हुन्छ र त्यो इतिहासको विषय हुन सक्दछ । धेरै नयाँ कुरा विगतकै गर्भबाट जन्मिन सक्छन् ।
मन परे वा मन परेको बोले सही, नत्र गलत हुन्छ ? उनी नबोले को बोल्ने त ? खोई त कोही बोलेको ? अरु त छोडौँ सारा संसारलाई थाहा भएको विषय महर्षि वाल्मीकि नेपालका हुन् र रामायणका रचनाकार उनै हुन् भन्ने जानेर पनि खोई त नेपाली बौद्धिक जगतले गौरवबोध गरेको ? खोई व्यासका विषयमा विद्वानहरू बोलेको ? पूर्वीय शास्त्रहरूको अध्ययन गरेकाहरूलाई थाहा हुनुपर्ने हो, कृष्णद्वैपायन व्यास एउटा व्यास हुन्, उनी मात्रै व्यास होइनन्, त्यस्ता अरु २६ जना व्यास पनि भएका छन् । तीमध्ये नेपालमा जन्मेका व्यास कुनकुन थिए ? खोई व्यासभक्तहरूले यस बारेमा सोचेको, बोलेको ?
हामीले सम्बन्धित शास्त्र वा विषयको अध्ययन गरेर, त्यसैका आधारलाई प्रमाण मानेर कुनै स्थानको विषयमा बोल्ने हो । त्यसैका आधारमा पुष्ट्याइँ खोज्ने, पत्तो लगाउने वा गल्ती सच्याउने हो । राम जन्मभूमि अयोध्यापुरीका बारेमा थाहा पाउन रामायण र अयोध्यापुरीको भूगोलको अध्ययन गर्नु पर्दछ । कसैको सातो काढ्नभन्दा यता लाग्न राम्रो हुन्छ ।
राम जन्मभूमि अयोध्यापुरीको सम्बन्धमा वाल्मीकि रामायणमा यस्तो लेखिएको छ:
कोशलो नाम मुदितः स्फीतो जनपदो महान् । निविष्टः सरयूतीरे प्रभूतधनधान्यवान् ।
अयोध्या नाम नगरी तत्रासील्लोकविश्रुता । मनुना मानवेन्द्रेण या पुरी निर्मिता स्वयम् ।
दुर्गगम्भीरपरिखां दुर्गामन्यैर्दुरासदाम् ।
सरयू नदीको तिरमा कोशल नामले प्रसिद्ध एउटा ठूलो जनपद छ । त्यो निकै धनधान्यले सम्पन्न, सुखी र समृद्ध छ । त्यस जनपदमा संसारभरि प्रसिद्ध अयोध्या नाम गरेको नगर छ । यसलाई स्वयं महाराजा मनुले निर्माण गरी स्थापित गरेका थिए । त्यसको चारैतिर गहिरो खाडल खनेर त्यसलाई नाघ्न र नगरमा प्रवेश गर्न कठिन थियो । (वाल्मीकि रामायण) यी श्लोकहरूले संकेत गरेको अयोध्या चितवनको अयोध्यापुरी हुन किन नसक्ने ?
रामायणका आधारमा अयोध्या खोजी गर्ने एउटा सूत्र यो हो । अन्य विषय पनि होलान्, ती पनि हेर्दै जानुपर्छ । हो भन्ने प्रमाण नभएकोले बोल्न हुँदैन भनिरहँदा होइन भन्ने प्रमाण नहुनेहरू पनि बोल्नु हुँदैन । प्राचीन वैदिक, पौराणिक बस्तीहरूको भौतिक उत्खन्बाट तथ्य पत्तो लाग्दैन । मथुरा वृन्दावन, काशी, अयोध्या, जगन्नाथ, रामेश्वरम् आदि स्थलहरूको भौतिक उत्खनन्बाट के प्राप्त भयो भने प्रामाणिक मान्ने हो ? दशरथको मुकुट ? रामको धनुष ? कैकेयीको फरिया ? कृष्णको बाँसुरी या गोपिनीका लहङ्गा ?
भारत उत्तर प्रदेशको फैजाबादमा पर्ने अयोध्यामा सन् १८६३/६३ तिर सर्वप्रथम उत्खनन् भएको भनिन्छ । संभवतः त्यहाँको पछिल्लो उत्खनन् (म सुनिश्चित छैन) सन् १९६९ मा काशी हिन्दू विश्वविद्यालयका अवध किशोर नारायणले गरेका थिए । ती खोजहरूबाट रामकै जन्मभूमि भएको प्रमाण भेटियो भन्ने जानकारी छ र ? यस्ता स्थलहरूको उत्खनन् भनेको सामाजिक तथा शास्त्रीय उत्खनन् हो ।
माथि उल्लेख गरिएका वाल्मीकि रामायणका श्लोकका आधारमा, त्यहाँको अन्य भौगोलिक अवस्थाको अध्ययन, अन्य घटनाका स्थान र तिनीहरूको दूरी यकिन गरेर निष्कर्षमा पुगिने हो । त्यो काम अब थालिहाल्नु पर्ने देखिन्छ । अयोध्यापुरी र यस्ता अनेकौँ शास्त्रवर्णित स्थलहरूको खोजीमा सम्बन्धित क्षेत्रका अध्येताहरू जुट्नुपर्ने देखिन्छ ।
(लेखक : सांस्कृतिक अभियन्ता हुनुहुन्छ)
-चक्रपथबाट साभार

