बबिता तामाङ- नेपालमा चिनियाँ पर्यटक पठाउन चीन सरकार सकारात्मक देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा जारी संयुक्त विज्ञप्तिमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने विषय पनि समावेश भएको हो। नेपाल–चीन संयुक्त १४ बुँदे वक्तव्यमा नेपाल भ्रमण वर्ष २०२० मा चीनले सहयोगसम्बन्धी उल्लेख छ। संयुक्त वक्तव्यको बुँदा नं. १२ मा नेपाल भ्रमण वर्षका लागि चिनियाँ मिडिया र ट्राभल एजेन्सी प्रतिनिधिले सहयोग गर्न चीन सहमत भएको उल्लेख छ। ‘आगामी भिजिट नेपाल २०२० लाई दृष्टिगत गरी चिनियाँ ट्राभल एजेन्सीको प्रतिनिधि मण्डल नेपाल पठाउने र सम्बद्ध चिनियाँ एजेन्सीहरुले चीन फर्किर नेपालको प्रवद्र्धन गर्नेछन्’, संयुक्त विज्ञप्तिमा उल्लेख छ।
नेपालमा चिनियाँ पर्यटक व्यवस्थापनका लागि आवश्यक पर्ने चिनियाँ भाषाका लागि तालिम दिन पनि चीन सरकार तयार देखिएको छ।
‘नेपाली पर्यटक व्यवसायीलाई चिनियाँ भाषाको तालिम निरन्तर उपलब्ध गराउन चिनियाँ पक्ष सहमत भएको छ’, संयुक्त वक्तव्यमा भनिएको छ, ‘जनशिक्त विकासका लागि प्रत्येक वर्ष करिब ४ सय तालिम तथा अधिक सरकारी छात्रवृत्ति उपलब्ध गराउन पनि चिनियाँ पक्ष सहमत छ।’
चिनियाँ ट्राभल एजेन्सीलाई नेपालको प्रचारका लागि प्रोत्साहन गर्ने पनि दुई देशका सरकार प्रमुखद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा उल्लेख छ। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा बनाउँदैछ। सो वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष छ।
सन् २०१४ शिक्षा मंत्रालय र नेपालका चिनियाँ दूतावासबीच चिनियाँ भाषा प्रशिक्षणका लागि नेपालले सहयोग गर्ने गरी समझदारी भएको थियो।
१४ अर्ब जनसंख्या रहेको चीनले नेपालमा पर्यटकको संख्या वृद्धि गर्न तिब्बत, सिचुवान, युनान र चिङ्थाई प्रदेशमा केन्द्रित हुने विषयमा दुवै देश सहमत भएका छन्। विशाल चीनका यी तीन प्रदेश नेपालबाट तुलनात्मक रुपमा नजिक र सांस्कृतिक हिसाबले मिल्दाजुल्दा मानिन्छन्।
पर्यटन प्रवद्र्धनका लागि चीनले २०१८ मा चीनमा हुने चाइना इन्टरन्यासनल ट्राभल मार्ट (सिआइटिएम) सहभागी हुन नेपाल सरकारलाई निम्ता गरेको पनि संयुक्त विज्ञप्तिमा उल्लेख छ।
पर्यटन मन्त्रालयले गत जेठमा नेपाल भ्रमण वर्ष २०२० घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने उल्लेख गरेको थियो। जेठ २६ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको अध्यक्षतामा गठित नेपाल भ्रमण वर्ष मूल आयोजक समितिले भ्रमण वर्षको लोगो सार्वजनिक गरेको छ।
नेपाल भ्रमण बर्ष २०२० मा प्रति पर्यटक प्रतिदिन ६५ डलर खर्च हुने योजना बनाउने, बसाई अवधि १४ दिन पुर्याउने सरकारको योजना छ। गत साल १० लाख पर्यटक भित्रिएकोमा प्रति पर्यटकले प्रतिदिन ५४ डलर खर्च गरेको तथ्याङ्क छ। २०१७ को तथ्याङ्क अनुसार पर्यटकहरु नेपालमा औसत १२ दिनसम्म बस्ने गरेका छन्।
बढ्दैछन् चिनियाँ पर्यटक
चिनियाँ पर्यटकलाई निःशुल्क भिषा दिन थालेपछि पछिल्लो समय नेपाल आउने चिनियाँ पर्यटक बढ्दै गएका छन्। अध्यागमन विभागको तथ्याङ्कअनुसार सन २०१८ को ४ महिनामा ३ लाख ८५ हजार ८ सय ९ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। ४ महिनाको अवधिमा सबैभन्दा धेरै पर्यटक चीनबाट ५३ हजार ३ सय २२ आएका थिए। अघिल्लो वर्षको तुलनामा चिनियाँ पर्यटकको संख्या १५ हजार ३७ ले वृद्धि भएको हो। २०१७ मा नेपालमा ९ लाख ४० हजार विदेशी पर्यटक भित्रिएका थिए। जसमध्य क्रमसः भारतबाट १ लाख ६० हजार ८ सय ३२, चीनबाट १ लाख ४ हजार ६ सय ६ भित्रिएका थिए।
विश्वमै बढ्दैछन् चिनियाँ पर्यटक
आर्थिक रुपमा सवल बन्दै गएको चीनबाट पर्यटकको रुपमा देश बाहिर जानेहरुको संख्या बढ्दो छ। सन् २०१७ मा १३ करोड चिनियाँ पर्यटक विभिन्न देशमा गएका थिए। ती पर्यटकले १ खर्ब २४ अर्ब २६ रुपैयाँ खर्च गरेको चाइना आउटबोन्ड टुरिजम ट्राभल रिपोर्टमा उल्लेख छ। २०१६ मा भने चिनिया पर्यटक १२२ मिलियन मात्र बाहिरिएका थिए। चाइना आउटबोन्ड टुरिजम ट्राभल रिपोर्टका अनुसार २०१६ को तुलनामा २०१७ मा ७ प्रतिशतले चिनिबाट बाहिरीने पर्यटकको संख्या वृद्धि भएका हो।
नेपाल, थाइल्याण्ड, जापान, दक्षिण कोरिया, भियतनाम, एसिया, माल्दिभ्स, इन्डोनेसिया, उत्तर कोरिया, दक्षिण अप्रिकासहितका देशहरुमा चिनियाँ पर्यटक जाने गरेका छन्।
नेपालखबर

