विश्व फुटबलमा ब्राजिललाई फुटबल खेलाडी उत्पादन गर्ने कारखानाका रूपमा लिइन्छ । ब्राजिलियन टिममा स्थान बनाउन निकै संघर्ष गर्नुपर्ने हुन्छ । विश्वस्तरका खेलाडीहरू उत्पादन गर्ने ब्राजिललाई फुटबलले नै चिनाएको छ । ब्राजिलले पेले, रोनाल्डो, रोनाल्डिन्हो, रोबर्टाे कार्लाेस, जर्जिन्हो, काका, काफु र अहिलेका नेयमार जस्ता विश्वस्तरका खेलाडीहरू उत्पादन गरिसकेको छ । त्यसैले, त सबै संस्करणमा छानिने एक्लो टोली ब्राजिलले सर्वाधिक पाँचपटक विश्वकपको उपाधि जित्न सफल भएको छ । १९५८ मा पहिलोपटक उपाधि जितेको ब्राजिलले १९६२, १९७० र १९७४ मा विश्वकप जित्न सफल भएको थियो । ब्राजिलले पछिल्लोपटक २००२ मा विश्वकप आफ्नो पोल्टामा पार्दै सर्वाधिक पाँचपटक विश्वकप जित्ने टोली बन्यो । सन् १९३० मा पहिलोपटक विश्वकपमा सहभागी भएर ब्राजिलले विश्वकपको यात्रा सुरु गरेको थियो । २००२ यता भने ब्राजिलले उपाधि चुम्न सकेको छैन । १६ वर्षदेखिको उपाधिको भोक यसपटक पूरा गर्ने ब्राजिलको सपना छ । २० सहभागितामा ११ पटक सेमिफाइनलमा पुगेको ब्राजिलले सातपटक फाइनल खेलेको छ । त्यसमा पाँचपटक त विजेता नै बनेको छ ।

रसिया विश्वकपमा छनोट हुने एक्लो टोली ब्राजिल रसिया विश्वकपमा पनि छानिने पहिलो टोली बनेको थियो । घरेलु मैदानमा भएको चार वर्षअघिको विश्वकपमा बिर्सनलायक प्रदर्शन र कोपा अमेरिका कपमा गरेको कमजोर प्रदर्शनलाई बिर्संदै ब्राजिलले अहिले सुधारिएको खेल पस्कँदै सो पीडा भुल्ने प्रयास गरिरहेको छ । यही पीडा भुल्ने प्रयास अनि आफ्नो पुरानो साख फर्काउने प्रयासमा ब्राजिल हुनेछ । ब्राजिलको साख फर्काउने सारथीको रूपमा प्रशिक्षक टेटे र युवा स्टार खेलाडी नेयमार हुनेछन् । उनीहरूलाई अन्य खेलाडी तथा अफिसियलहरूले साथ दिनेछन् । लगातारको खराब प्रदर्शनपछि नयाँ प्रशिक्षकका रूपमा टेटेले जिम्मेवारी सम्हालेपछि ब्राजिलले सुधारिएको प्रदर्शन गर्दै विश्वकपको दाबेदार टोलीका रूपमा उभिएको छ । एक साताअघि मात्र भएको मैत्रीपूर्ण खेलमा क्रोएसियालाई २–० ले पराजित गरेर ब्राजिलले आफ्नो समर्थकलाई सुखद सन्देश दिएको छ । उसो त ब्राजिललाई उपाधिको सदाको दाबेदार टोलीका रूपमा हेरिन्छ । टेटे प्रशिक्षक भएर आएपछि ब्राजिलले १४ खेलमध्ये एक खेल मात्र हारेको छ । ३ खेल बराबरी खेलेको थियो ।
घरेलु मैदानमै आयोजना भएको विश्वकपमा पनि ब्राजिललाई उपाधिको दाबेदार मानिएको थियो । ब्राजिल सेमिफाइनलसम्म पुग्न सफल भयो । तर, क्वार्टरफाइलमा कोलम्बियाविरुद्धको खेलमा मुख्य खेलाडी नेयमार नै चोटग्रस्त भएपछि ब्राजिलको विश्वकप जित्ने अभियानमा धक्का लाग्यो । तर, संयमित बनेको ब्राजिल जर्मनीसँगको खेलमा निरीह नै हुन पुग्यो । ब्राजिल जर्मनीसँग ७–१ ले पराजित भयो । यो हारले ब्राजिलको टिमसँग उसका विश्वभरका फ्यानलाई पनि निराश बनायो । चार वर्षपछि अहिले अवस्था फेरिएको छ । ब्राजिलको टिम रुस विश्वकपमा आफ्नो पुरानो इतिहास फेरि लेख्ने दृढ लक्ष्यमा रहेको छ । कप्तान थिएगो सिल्भाले आफूहरू उपाधिका लागि वाचा नगर्ने तर हरेक खेल उत्कृष्ट बनाउने बताएका छन् । यसको अर्थ हरेक खेल उत्कृष्ट भएपछि जित सायदै पर नहोला ।
ब्राजिलका प्रशिक्षक टेटे र खेलाडीमा अपार क्षमता छ भन्नेमा कुनै शंका छैन । त्यसैले, ब्राजिलियन प्रशिक्षक टेटेले तीन महिनाअघि नै विश्वकप खेल्ने सुरुवाती–११ को घोषणा गरेको थियो । यसको अर्थ ब्राजिल यस विश्वकप जित्दै ब्राजिलको इतिहासको पानामा या जर्सीमा अर्काे तारा थप्न तयार छ । टेटेले यसअघिका प्रशिक्षक डुंगा र लुइस फिलिप स्कोलारीको उपेक्षामा परेका खेलाडीलाई टोलीमा समावेश गरेको छ । ब्राजिलको अग्रपंक्तिमा नेयमारसँगै फिलिपे कौटिन्हो र गाब्रियल जेसस रहेका छन् । मिडफिल्डमा क्यासमिरो, फर्नाडिन्हो, पौलिन्हो, फ्रेड, रेनाटो अगुस्टो, विलियन र डगलस कोस्टा रहेका छन् । डिफेन्समा डानिलो, मार्सेलो, थियागो सिल्भा, मिरान्डा र मार्किन्योस रहँदा गोल रक्षकमा एलिसन र एन्डरसन रहेका छन् । यी सबै खेलाडीको उत्कृष्ट प्रदर्शनले रुस विश्वकपलाई रोमाञ्चक बनाउने पक्का छ । ब्राजिल विश्वकपका लागि समूह ‘ई’ मा छ । यो समूहमा ब्राजिलसँगै कोस्टारिका, सर्बिया र स्वीट्जरल्यान्ड रहेका छन् । ब्राजिलले १७ जुनमा स्वीट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्दै विश्वकपको सुरुवात गर्नेछ ।
ब्राजिल रहेको समूहमा कोस्टारिका पनि रहेको छ । कोस्टारिका चार वर्षअघि ब्राजिल विश्वकपमा पाएको सफलता रसिया विशवकपमा दोहो¥याउने लक्ष्यमा हुनेछ । कोस्टारिकाले त्यतिबेला इटाली, इंग्ल्यान्ड र उरुग्वे रहेको समूहबाट आश्चर्यजनक रूपमा क्वार्टरफाइनलसम्म पुग्न सफल भएको थियो । यही प्रदर्शनले हौसिएको कोस्टारिका अहिले पनि पनि उपाधिको दाबेदार ब्राजिल र युरोपका स्वीट्जसरल्यान्ड र सर्बियाजस्ता बलिया टोली रहेको समूहमाथि आउँदै अर्काे आश्चर्यजनक नतिजा निकाल्ने अभियानमा कोस्टारिका हुनेछ ।
प्रशिक्षक ओस्कार रामिरेजले पाका र भेट्रान खेलाडीलाई समेट्दै रुस भ्रमणलाई निकै सन्तुलित टोली बनाएको छ । स्पेनिस क्लब रियल मड्रिडका पहिलो रोजाइका गोलरक्षक केलर नाभास टिममा रहनु पनि टोलीका लागि खुसीको कुरा हो । नाभास विश्वस्तरका सबै विपक्षी स्ट्राइकरसँग जानकार रहेकाले पनि यसको फाइदा कोस्टारिकाले उठाउन सक्नेछ । तर, टिमका मुख्य खेलाडी ब्रायन लुइज र जोइलक्याम्पवेलको चोट कोस्टारिकाका लागि घातक हुन सक्छ ।
यसै समूहको सर्बिया ८ वर्षपछि विश्वकपमा पुनरागमन गर्न सफल भएको टोली हो । सर्बिया युरोपेली छनोटको समूह ‘डी’को विजेताको हैसियतमा रुसको टिकट पक्का गर्न सफल भएको हो । युगोस्लाभियाको नामबाट १९३० देखि नै विश्वकपमा सहभागिता जनाएको युरोपेली टोलीले पहिलोपटक २०१० मा सर्बियाको नामबाट विश्वकप खेलेको थियो । त्यतिबेला सर्बियाले समूह चरण पार गर्न सकेन । त्यसपछि सर्बिया ब्राजिल विश्वकपलाई पनि छनोट हुन सकेन । ब्राजिल विश्वकपलाई छनोट नभए पनि विश्वकपका लागि संघर्ष गरिरहेको सर्बियाले रुस विश्वकपको टिकट काट्न सफल भएको हो । ब्राजिल, कोस्टारिका र स्वीट्जरल्यान्ड सम्मिलित समूहमा सर्बियाको प्रदर्शन कस्तो हुनेछ । त्यो हेर्न बाँकी छ ।
यता स्वीट्जरल्यान्डले पनि रुस विश्वकपमा नकआउट चरण पुग्ने लक्ष्य बनाएको छ । यो समूहबाट ब्राजिललाई समूह विजेताका रूपमा लिइँदा तीन टोलीबीच समूहमा दोस्रो हुन रोमाञ्चक प्रतिस्पर्धा हुनेछ । ( राजधानी दैनिकबाट)

