भारतसँगको सीमाक्षेत्रमा खनिज उत्खनन् गर्ने कार्यको चीनले बचाउ गरेको छ। आफ्नो भूमिमा जुनसुकै गतिविधि गर्न पाउने अधिकार आफूमा रहेको चीनले स्पष्ट पारेको छ। अरुणाचललाई नियन्त्रण गर्ने बृहत् योजनाअन्तर्गत तिब्बतको दक्षिणपूर्वी काउन्टी लुञ्जमा उत्खनन् तथा पूर्वाधार कार्य तीव्र बनाएको रिपोर्टपछि चीनले सो क्षेत्र आफ्नो सार्वभौमिकताअन्तर्गत रहेको उल्लेख गरेको हो।
साउथ चाइना मर्निङ पोस्टले लुञ्जमा पछिल्लो उत्खनन् कार्यबारे रिपोर्ट प्रकाशित गरेको थियो। रिपोर्टअनुसार चीनले त्यहाँ करिब ६० अर्ब डलरको बहुमूल्य खनिज रहेको र त्यसको उत्खनन् गरिरहेको छ।
यस विषयमा गरिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले सोमबार आफ्नो क्षेत्रमा वैज्ञानिक अनुसन्धान गर्ने अधिकार सुरक्षित भएको बताए।
‘चीनले आफ्नो क्षेत्रमा नियमित भौगर्भिक तथा वैज्ञानिक अनुसन्धान गरिरहन्छ। यो चीनको सार्वभौमसत्ताअन्तर्गतको कुरा हो,’ प्रवक्ता लुले भने, ‘चीन पारिस्थितक प्रणाली संरक्षणप्रति प्रतिबद्ध छ।’
उनले यो विषयलाई आधारहीन रुपमा उचालिएको भन्दै सञ्चारमाध्यमको आलोचना पनि गरे।
उनले भारतले अरुणाचल प्रदेश भन्ने क्षेत्रलाई आफूहरुले मान्यता नदिएको पनि स्पष्ट पारे। ‘भारत–चीन सीमाका बारेमा चीनको धारणा स्पष्ट र तर्कसंगत छ। चीनले कथित अरुणाचल प्रदेशलाई कहिल्यै मान्यता दिएको छैन,’ उनले भने।
उनले भारतले सीमानामा शान्ति र स्थायित्व कायम गर्न सघाउने अपेक्षा पनि व्यक्त गरे।
पोस्टको रिपोर्टमा चीनले अरुणाचल प्रदेशलाई पुनः नियन्त्रण गर्ने महत्वाकांक्षी योजना अन्तर्गत यो गतिविधि गरेको र यसका कारण सो क्षेत्र नयाँ दक्षिण चीन सागर बन्न सक्ने बताइएको थियो।
चीन र भारतबीच गतवर्ष ७३ दिनसम्म दोक्लममा सैन्य तनाव चलेको थियो। सो तनाव मत्थर भएपछि दुवै देशबीच कूटनीतिक आदानप्रदान बढेको छ। यसैक्रममा गत अप्रिल महिनाको अन्त्यमा चीनको वुहान सहर पुगेर भारतीय प्रधानमन्त्री मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग २ दिनसम्म अनौपचारिक वार्ता गरेका थिए।
के चीन अरुणाचल नियन्त्रण गर्ने दाऊमा छ?
भारतसँगको सीमाक्षेत्रमा चीनले सुन, चाँदीलगायतका बहुमूल्य खनिज उत्खनन् कार्यलाई तीव्रता दिएको छ। यससँगै दुई देशबीच पुनः सैन्य तनाव सुरु हुने हो कि भन्ने चिन्ता पनि व्यक्त गरिएको छ। साउथ चाइना मर्निङ पोस्टको एक रिपोर्टअनुसार तिब्बतको दक्षिणपूर्वी काउन्टी लुञ्जमा चीनले खनिज उत्खनन् कार्य तीव्र बनाएको हो। भारतले अरुणाचल प्रदेश र चीनले दक्षिण तिब्बत भन्ने गरेको सो क्षेत्रलाई नियन्त्रणमा लिने महत्वाकंक्षी योजनाको एक हिस्साको रुपमा चीनले उत्खनन् कार्य अघि बढाएको समेत जनाइएको छ।
सुनखानीको काम अघि बढेसँगै सो काउन्टीमा अहिले जनसंख्या ह्वात्तै बढेको बताइएको छ। साथै चीनले पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिएको छ। चीनले सो क्षेत्रको सडक निर्माणमा ठूलो लगानी गरेको छ भने यात्रुवाहक जेट अवतरण गर्न सक्ने विमानस्थल निर्माण कार्य पनि चलिरहेको छ। सो क्षेत्रमा विद्युत र सञ्चार सम्पर्क पनि कायम गरिसकिएको छ।
चिनियाँ वैज्ञानिकहरुले गरेको प्रारम्भिक सर्वेक्षेणअनुसार सो क्षेत्रमा करिब ६० अर्ब डलरको बहुमूल्य धातु रहेको छ। यो उत्खनन् कार्यले हिमाली क्षेत्रमा चिनियाँ जनसंख्या बढाउने बताइएको छ।
चाइनिज एकेडेमी अफ साइन्सेजका हाओ स्यायोगुआङले यो क्षेत्र चीनको नयाँ दक्षिण चीन सागर बन्न सक्ने बताएका छन्। चीनको आर्थिक, भूराजनीतिक र सैन्य शक्ति बढेसँगै अरुणाचल चीनको नियन्त्रणमा पुग्नसक्ने उनको विचार छ।
दक्षिण तिब्बतको धेरैजसो हिस्सा भारतको नियन्त्रणमा छ। त्यहाँ भारतले बलियो सैन्य उपस्थिति जनाएको छ। विमानस्थलका साथै क्षेप्यास्त्र प्रक्षेपण केन्द्रहरु पनि बनाइएका छन्।
सन् १९६२ मा भएको भारत–चीन युद्धमा लुञ्जबाट केही दिनमै चिनियाँ सेनाले भारतीय सेनालाई लखेटेको थियो। ३१ दिनसम्म चलेको सो युद्धमा अरुणाचल प्रदेश चीनले कब्जा गरेको थियो। त्यसपछि युद्धविराम घोषणा गरेर चिनियाँ पक्ष पछि हटेको थियो।
नेपालखबरबाट

