-दीर्घराज प्रसाईं

हिन्दुअधिराज्य धर्मको हिसाबले मात्र होइन, नेपालको राष्ट्रियताको स्रोतको अभिन्न अङ्ग हो ! नेपालको सार्वभौमसत्ता र यसका पहिचानहरुलाई जीवन्त राख्न हिन्दुअधिराज्य र संवैधानिक राजसंस्थालाई निरन्तरता दिइयोस् । नेपालमा धर्म निरपेक्षताको मतलव हो– गृहयुद्ध निम्त्याउनु !
नेपाललाई धर्मनिरपेक्ष र गणतन्त्र लाध्न खोजिएकाले विश्वभरमा हिन्दुहरु अत्यन्त दुःखी तथा आक्रोशित छन् । यसको लागि हामी नेपालीहरु ज्यानको बाजी लगाएर मैदानमा उत्रिनुपर्ने अवस्था आएको छ । विश्वको एकमात्र हिन्दुअधिराज्यको रुपमा आफ्नो पहिचान दिएर उभिएको देश हो–नेपाल । नेपालको राष्ट्रिय झण्डा, हिन्दु अधिराज्य नेपालको पहिचान हो । नेपाल हिन्दु र बौद्धको आधिकारिक थलो हो । विश्वमा १ अर्ब हिन्दुहरु सामू विश्वको एकमात्र हिन्दुअधिराज्य एउटा गौरव हो । नेपाल बुद्धको जन्मभूमि हो । विश्वमा रहेका एक अर्ब हिन्दु तथा २ अर्ब बुद्धिष्ट भएकाले नेपाललाई हिन्दु र बौद्धहरुको आस्थाको केन्द्रस्थल बनाउन सकिन्छ । विश्वका धर्महरुमा हिन्दु धर्म अत्यन्त उदार धर्मको रुपमा मानिन्छ । नेपाललाई हिन्दुअधिराज्य घोषित गर्ने कुरा धर्मको हिसाबले मात्र हेर्ने होइन यो त नेपालको राष्ट्रियताको स्रोतको अभिन्न अङ्ग मानिन्छ ।
विश्वव्यापी रुपमा छरिएर रहेका नेपालीहरुको लागि ‘हिन्दु अधिराज्य’ ठूलो प्रतिष्ठा हो । धर्मको नाममा क्रिस्चियन् तथा मुस्लिमहरुलाई पेल्ने पक्षमा हिन्दु अधिराज्य होइन, थिएन, छैन । उनीहरु पनि हिन्दु तथा बौद्धको अस्तित्व मेटाउन नलागेर आफ्नो धर्ममा स्वतन्त्र रहेर बसून् भन्ने हिन्दुअधिराज्यको चाहना हो । धर्ममा हिन्दुवादीहरुको कुनै पूर्वाग्रह हुँदैन । नेपालको राष्ट्रियतालाई सांस्कृतिक रुपले पनि प्रवल हुन सकोस् भन्ने अभिप्रायले मात्र विश्वको एक मात्र हिन्दुअधिराज्यको अस्तित्वको लागि हामी संघर्षरत छौं । २०६३ साल वैशाख ११ गते राजाबाट पुनस्र्थापित प्रतिनिधिसभाले, २०६३ जेठ ४ गत,े नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेर ठूलो भूल गरेको छ ।
नेपालमा संवैधानिक राजसंस्था र हिन्दुअधिराज्यलाई यथावत संविधानमा नराखिञ्जेल देशभक्त नेपालीहरु चुप लागेर बस्ने छैनन् । नेपाली जनताबीच अभिभावकको रुपमा रहेर अनेकतामा एकता कायम गर्ने, दुई ठूला देशबीच सन्तुलित सम्बन्ध कायम गर्ने, हिन्दु तथा बौद्धको अस्मिता जोगाउन संरक्षकको रुपमा अटल रहने, यस्तो राजसंस्था र विश्वको एक मात्र हिन्दुअधिराज्यको विस्थापित गर्नेहरु देशका शत्रु हुन् ।
हिन्दु धर्मभन्दा धेरै पछि जन्मिएका मुस्लिम, क्रिस्चियन् राष्ट्रलाई धर्मसापेक्ष राष्ट्र घोषित गर्ने अनि नेपालले चाहीं धर्मनिरपेक्ष हुनुपर्ने ? क्रिश्चियनहरुले– ‘क्रस’, यहुदीहरुले– ‘षडकोण’, मुसलमानहरुले–‘काबा’ को अस्तित्व त्याग्न तयार हुनसक्नु पर्दछ ।
साउदी अरबमा शिवजी वा अन्य हिन्दु देवता–देवीको फोटो लान बर्जित छ । पाकिस्तानमा हिन्दुले मुसलमानलाई भोट हाल्न पाउँदैन । घोडाको टापको औंठी लगाउनु मुसलमान राष्ट्रमा खतरा मोल्नु हो । त, भन्नुहोस्– क्रिश्चियन्, यहुदी र मुसलमानहरु आ–आफ्नो धर्मका अडानहरुलाई कुनै तलमाथि हुन नदिने अनि हामी नेपालीहरुले चाहीं आफ्नो अस्तित्व समाप्त पार्न विदेशीले उचालेका पार्टीका दलाल नेताहरुले भने अनुसार धर्मनिरपेक्ष र गणतन्त्रको समर्थन गरेर बस्नुपर्ने ?
कुनै कुनै उपमाहरुलाई छोडेर जस्तोसुकै नास्तिक हुँ भन्ने नेपाली र हिन्दु तथा बौद्धहरु पनि जन्मेदेखि मृत्युसम्म कुनै न कुनै प्रकारले आफ्नै हिन्दु तथा बौद्ध संस्कारमा आवद्ध भएका हुन्छन् ।
विश्वको सातौं आश्चर्यमध्ये चीनको विशाल पर्खालको पश्चिमी द्वारमा चौध फुट लामो संस्कृत मन्त्र रहेको र यो मन्त्रलाई मङ्गोल सम्राट कुब्ला खाँले चौधौं शताब्धीमा ‘ॐ नमो भगवते ..’ आदि लेखेका छन्, (पुरुषोत्तम घिमिरे) । चीनको ग्रेटवालको ढोकाहरुमा महाभारतका श्लोकहरु संस्कृतभाषामा कलापूर्ण अक्षरमा लेखिएका छन्, (स्वामी प्रपन्नाचार्य) । अतः नेपालमा धर्म निरपेक्षताको मतलव हो– गृहयुद्ध निम्त्याउनु ।
नेपालमा राई, लिम्बू, मगर, गुरुङ, नेवार, ब्राह्मण, क्षेत्री, कामी दमाईं, सार्की, मैथिली, भोजपुरी, अवधि जो जति छौं हामी सबै हिन्दु हौं । हामीहरुमध्येका कतिपय बौद्ध पनि छौं, जस्मा शेर्पा, तामाङ र केही नेवार बौद्ध धर्मप्रति आबद्ध भए तापनि यो यहींको पशुपतिनाथ र स्वयम्भूनाथभित्रकै उपज हो । यसरी दुईतिहाई जनमतभन्दा बढी जनताको समर्थन भएको मान्यताको विरुद्धमा थिचोमिचो गरेर हिँड्नु कांग्रेस, एमाले, माओवादीका नेताहरुलाई अधिकार छैन । हिन्दु धर्म यति व्यापक र उदार छ कि मूर्ति पूजा गर्ने–नगर्ने, साकारी, मांसाहारी, जनै लाउने नलाउने आआफ्नो इच्छाअनुसार हिँड्न सक्ने कुराहरुमा हरेक हिन्दुहरु स्वतन्त्र हुन्छन् । विश्वभरिका धर्महरुमा यो अत्यन्त उदार र प्रजातान्त्रिक धर्म मानिन्छ ।
दलाई लामाले भनेका छन् –‘म हिन्दु र बौद्धलाई दाजुभाइ मान्छु । यी दुबै धर्मका बीच समाधि, योग र तन्त्रजस्ता कुराहरुमा समानता छ जुन बौद्धहरुले हिन्दुबाट लिएका हुन् ।’ भूटानका राजा जिग्मे सिङ्गे वाङचुकले पनि भनेका छन्– ‘हाम्रो इष्ट देवता महाकाली हुन् र हामी शिव र विष्णुको पनि पूजा गर्छाैं । म सक्रियताकासाथ दशैंमा भाग लिन्छु’ भनेका थिए ।
विश्व सभ्यताको विकासक्रममा हिन्दु तथा बौद्ध दर्शन अत्यन्त उदार, सरल, सहिष्णु भएकाले विश्वब्यापी हुन सकेको हो । यस क्षेत्रको सिङ्गो परम्परा, पहिचान र सभ्यताको अस्तित्व नै समाप्त पार्न खोजेर दलका केही नेताहरु, केही क्रिस्चियन् समर्थक अगुवाहरुबाट कृत्रिम तर्कहरु थोपारेर विश्वले मानेको वैदिक–हिन्दु अस्मिता र बौद्ध परम्परामा चोट पु¥याएर धर्मनिरपेक्षता लाध्न खोजेर यसक्षेत्रमा अशान्ति निम्त्याउन खोजेको कुरा स्पष्ट भइसकेको छ । देशद्रोहीहरले विदेशीको इसारामा हिन्दु अधिराज्यलाई राजनीतिक मुद्दा बनाए । विश्वलाई धर्मयुद्धबाट मुक्त राख्न र विश्वशान्तिको लागि विश्वका सबै धर्महरुको सहअस्तित्व कायम राख्नको लागि नेपालमा राजसंस्था र हिन्दु अधिराज्यको निरन्तरता सबै पक्षका लागि समाधानको बाटो हो ।
विदेशीहरु यहीका दलाल नेताहरुमार्फत संविधानसभाको आडमा धर्मनिरपेक्ष, गणतन्त्र र संघीयतालाई आधार बनाएर वैधानिक रुपबाट नेपाललाई ध्वस्त बनाउन लागे । यो षडयन्त्र अहिले सबैले बुझिसकेका छन् । २०४७ सालको संविधानले के अपराध गरेको थियो ? कसको आदेशमा २०४७ सालको संविधान फालियो ? अब देशभित्र गृहयुद्ध निम्त्याउने देशद्रोहीहरुको नाङ्गो नाच हेरेर देशभक्त नेपालीहरु टुलुटुलु बस्ने छैनौं । हिन्दुअधिराज्य र राजसंस्थाको बिरोध गर्नेहरु देशद्रोही हुन् । यो देश बचाउन र स्थिरताको लागि– अबको विकल्प भनेको– हिन्दु अधिराज्यसहितको राजसंस्थाको निरन्तरता नै हो । यसबाट देशले बाटो पाउँछ, र विदेशीहरुको चलखेल समाप्त हुन्छ ।
गणतन्त्र, धर्मनिरपेक्ष र जातीय आधारको संघीय राज्य कांगे्रस, एमाले, माओवादीको एजेण्डा होइन । नेपाललाई अस्तव्यस्त बनाएर कब्जा गर्ने यी विदेशीहरुकाका बुँदा हुन् । नेपालमा राजसंस्था विस्थापित गर्न खोजिएको बेलादेखि नेपालमा चौतर्फी संकटले सीमा नाघेको छ, देशभित्र आगो लागेको छ । आगो बढदै गएपछि निभाउन सजिलो हुँदैन । अतः मेरो सुझाव छ– नेपालको सार्वभौमसत्ता, एकता र यसका पहिचानहरुलाई जीवन्त राख्न हिन्दुअधिराज्य र संवैधानिक राजसंस्थालाई निरन्तरता दिइयोस् ।
–(दीर्घराज प्रसाईको फेसबुक वालबाट)

