लुम्बिनी बौद्घ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. नरेशमान वज्राचार्य बौद्घ धर्म–संस्कृतिका विद्वान हुन्। नेपाल परम्परागत बौद्घ धर्मसंघका अध्यक्ष वज्राचार्य सरकारले ल्याएको गुठी विधेयकले स्थानीय जनताको धर्म-संस्कृतिमाथि अतिक्रमण गरेको जिकिर गर्छन्।
इसाइकरणलाई बल पुग्ने गरी यो विधेयक ल्याएपछि कम्युनिष्ट नेतृत्वको शक्तिशाली सरकारको असली नियत छर्लंग भएको उनको ठम्याइ छ। गुठी विधेयककै सेरोफेरोमा प्रा.डा. वज्राचार्यसँग नेपालन्युजका छत्र कार्कीले गरेको कुराकानी :
गुठी विधेयकको विरोध किन गर्नुभएको हो ?
सरकारले ल्याएको गुठी विधेयकमा स्पष्ट उल्लेख छ–विधेयक पारित भएपछि जग्गामा गुठियारको हक लाग्ने छैन। गुठी चलाउनका लागि आर्थिक मेरुदण्ड जग्गा–जमिन हो, त्यहीँको आयस्ताले वर्षौदेखि उपत्यकाका मठमन्दिर चल्दै आएका छन्।
विधेयकमा यो पनि छ कि यस अघि अदालतले जे आदेश दिए पनि गुठीको भनिएको जग्गामा गुठियारको अधिकार रहने छैन। यो त सरासर वर्षौदेखि चलिआएका बौद्घ, हिन्दू संस्कृति मास्ने षड्यन्त्र हो। त्यही भएर हामीले गुठी विधेयकको सशक्त विरोध गर्नुपरेको हो।
गुठीमाथि आक्रमण चाहिँ कहिलेदेखि सुरु भएको हो ?
गुठीमाथि आक्रमण धेरै पहिलेदेखि भएको हो। शाह वंशको पालादेखि नै विभिन्न ठाउँका गुठीमाथि आक्रमण भएको पाइन्छ। राणाकालमा पनि गुठीमाथि आक्रमण गर्ने क्रम रोकिएन। यहाँ जेजति व्यवस्था परिवर्तन भए। हरेक कालखण्डमा गुठीमाथि अतिक्रमण जारी रह्यो। मुलुकमा संघीय गणतन्त्र आएपछि पनि गुठी ध्वस्त पार्ने क्रम रोकिएको छैन, जुन दुःखद पक्ष हो।
सरकारले गुठीलाई व्यवस्थित गर्न भनेर गुठी संस्थान बनाएको छ। गुठी संस्थानले संरक्षणका नाममा केही काम पक्कै गरेको होला, तर संस्थानले मठमन्दिरका जग्गालाई उचित व्यवस्थापन र संरक्षण गर्न सकेको देखिँदैन।
पछिल्लो समय नेपालमा ‘जबरजस्ती धर्म परिवर्तन’ गराउने क्रम बढ्दै गएको देखिन्छ, सरकारले हठात् ल्याएको गुठी विधेयकले यसलाई बल पुर्याएको भन्ने गुनासो छ नि ?

पक्कै हो। मठ,मन्दिर, गुम्बा, विहार, चैत्य मासिँदा यसको असर हिन्दु अनि बौद्घ धर्मावलम्बीलाई पर्ने हो। क्रिश्चियनहरूको मठमन्दिर हुँदैन, उनीहरूले पनि पूजाआजा पनि गर्दैनन्। गुठी विधेयकको पछाडि ठूलो षड्यन्त्र छ, गुठी रोकेपछि यहाँका स्थानीय जनताको परम्परादेखि चलिआएको धर्म-संस्कृति नष्ट पार्न सकिन्छ भनेर एकथरी लागिपरेका छन्।
उपत्यकाका जीवन्त पर्व, जात्रा नष्ट गर्न सके इसाइकरणलाई सजिलो हुन्छ भन्ने उनीहरूको दाउ छ। यो त ‘ग्रान्ड डिजाइन’ हो, यदि विधेयक पारित भयो भने यसले जबरजस्ती धर्म परिवर्तन गराउन चाहनेलाई मलजल पुग्छ।
कम्युनिष्टलाई धर्मविरोधी भन्ने आरोप छ, यही सरकारका पालामा यस्तो विधेयक आएको छ, कस्तो सन्देश जाला ?
कम्युनिष्टहरूले समाजवादको कुरा गर्छन्, जुन सुन्दा राम्रो लाग्छ। हो, कम्युनिष्टहरू धर्म-संस्कृति मान्दैनन् भन्ने आरोप विश्वभर लाग्ने गरेको छ। नेपालका कम्युनिष्टले केही फरक काम गरेका पनि हुन्।
उनीहरूले ‘धर्मनिरपेक्षता’ ल्याएर सबै धर्मलाई सम्मान व्यवहार गर्ने सन्देश दिएकै हुन्। एमाले, माओवादी सत्तामा गएपछि उनीहरूले हामी धर्म–संस्कृति, सम्पदा संरक्षण गर्छौ भनेकै हुन्।ओलीजी प्रधानमन्त्री भएपछि अन्तर्राष्ट्रिय बौद्घ सम्मेलन भयो।
तर, अहिले एमाले र माओवादी एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शक्तिशाली सरकारले गुठीमाथि प्रहार गर्यो, जुन खेदजनक छ। यसले कम्युनिष्ट धर्म–संस्कृति विरोधी हुँदा रहेछन् भन्ने फेरि एकपटक चरितार्थ भएको छ।
आगामी दिनमा परम्परागत बौद्घ धर्मसंघ कसरी अगाडि बढ्छ ?
हामी गुठी विधेयकको विरोधमा उत्रिएका छौं। विभिन्न संघ-संस्था आन्दोलित छन्। सरकारले शान्तिपूर्ण प्रदर्शनमाथि जुन बल प्रयोग गर्यो, भत्र्सनायोग्य छ। हामी अन्य संघ-संस्थासँग ऐक्यबद्घता जनाएर गुठी बचाउने अभियानमा लागिरहन्छौं।
-साभार नेपालन्युजडटकमबाट

