सरकारले पुस २७ गते सार्वजनिक विदा निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पृथ्वीजयन्तीको अवसरमा पुस २७ गते बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको हो।
सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुनका लागि पुस २७ गते सार्वजनिक विदा हुनुपर्ने शर्त राखेको थियो। सरकारको तर्फबाट सार्वजनिक भएको न्यूनतम साझा कार्यक्रममा पनि पुस २७ गते सार्वजनिक विदा दिने उल्लेख गरेको थियो।
पृथ्वीजयन्तीको सन्दर्भलाई लिएर पत्रकार राजिब खत्रीले यो पौष २७ गते बिनासंकोच प्रधानमन्त्री प्रचण्डले सिंहदरबार मुलगेट अगाडि गएर राष्ट्र निर्माताको तस्वीरमा माल्यार्पण गरेको देख्न पाइयोस् भन्ने कामना गरेका छन ।
यस्तो छ पत्रकार खत्रीको पोस्ट :-
पृथ्वीनारायण शाह प्रति झुक्नुस, भुक्नुस, थुक्नुस त्यो व्यक्तिगत कुरा हो ।
तर, थुक्ने र भुक्नेले यति चै बुझ्नुस सामूहिक हितका लागि गरिने क्रियाकलापलाई व्यक्तिगत इच्छाबाट निरपेक्ष राखेर हेर्न सकिदैन । विश्वभर विगतमा जति पनि राज्य विस्तार वा राज्य निर्माण भएका छन् अधिकांश व्यक्तिगत इच्छा वा महत्त्वाकाङ्क्षाबाटै प्रादुर्भाव भएका हुन्।
पृथ्वीनारायण शाहको मनमा के थियो ठोकेर हामी भन्न सक्दैनौं। त्यसैले शंकाको सुविधा लिँदा पनि, जुन निष्कर्षले हाम्रो सामूहिक हित गर्छ र सामाजिक सद्भावलाई खलबलिन दिँदैन सोही निष्कर्षमा पुग्नु व्यवहारिक र बुद्धिमानी हुन्छ ।
यस हिसाबले पृथ्वीनारायण शाहको विशाल देशको महाराजा हुने व्यक्तिगत चाहना रहेको भए पनि उक्त अभियानलाई एकीकरण अभियान भन्न सकिन्छ।
राज्यले पृथ्वीनारायण शाहको योगदानको उचित सम्मान गर्नुपर्थ्यो । ढिला भएपनि सरकारको चेत खुल्यो । यो पौष २७ गते बिनासंकोच प्रधानमन्त्रीले सिंहदरबार मुलगेट अगाडि गएर राष्ट्र निर्माताको तस्वीरमा माल्यार्पण गरेको देख्न पाइयोस् ।
-पत्रकार राजिब खत्रीको फेसबुकबाट