आइतवार, मंसिर १८, २०७९
आज धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिन “गीता दिवस” भव्य रुपले मनाइँदै

आज धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिन “गीता दिवस” भव्य रुपले मनाइँदै


  • स्वदेश नेपाल
  • आइतवार, मंसिर १८, २०७९

आज वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदैछ ।

श्रीमद्भागवत गीता महापुराणअनुसार मङ्सिर शुक्ल पक्षको एकादशीलाई मोक्षदा एकादशी भनिन्छ । महाभारत युद्धमा अर्जुनले आजकै दिन भगवान् श्रीकृष्णबाट गीताको उपदेश पाउनु भएको विश्वास गरिन्छ । मानवताको परिभाषालाई पुनर्व्याख्या गरेको गीताको उपदेश अर्जुनले पाएकाले यो दिनलाई गीता जयन्तीका रूपमा पनि लिने गरिन्छ ।

पाँच हजार १२९ वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत युद्धको समय पारेर विष्णुको आठौं अवतारका रुपमा पृथ्वीमा जन्म लिएका कृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा गीता ज्ञानको पुनर्जागरण गरेको धार्मिक विश्वास रहिआएको छ ।

कुरुक्षेत्रमा १८ दिनसम्म महाभारत युद्ध हुन लाग्दा अर्जुन आफन्तविरुद्ध लडाइँ गर्न तयार नभएपछि भगवान् कृष्णले उपदेश दिन सुनाएको ग्रन्थ गीता हो ।

पापबाट मोक्ष गराउने भएकोले नै यस एकादशीलाई मोक्षदाु भनिएको हो । मोक्षदा एकादशीको ब्रत बसेपछि पुर्वजहरुले सवै पापबाट मुक्ति पाई स्वर्गको बास पाउने धार्मिक मान्यता रहेको छ ।

मोक्षदा एकादशी व्रतकथा– पौराणिक कथन द्वापर युगमा गोकुल नगरमा वैखानस नाम गरेका राजाले राज्य गर्दथे । राजा वैखानसले एकपटक सपनामा आफ्ना पिता नर्कमा परेको र उद्दारका लागि आफुलाई अनुनय विनय गरेको देखे । यस्तो सपनाले वैखानस चिन्ताले ब्याकुल बने ।

उनले बिहानै उठि राज्यसभाका गुरु पुरोहित तथा ब्राम्हणहरुलाई बोलाएर सपनामा देखेको कुरा सबिस्तार सुनाए । त्यसपछि गुरु ब्राम्हणहरुले पर्वत नाम गरेका एकजना तपश्वि ऋषिमुनिलाई भेटे उद्दारको तरिका थाहा लाग्ने लगाए । वैखानसले पनि पर्वत मुनिकहाँ पुगि सवै बेलिबिस्तार सुनाए । पर्वत ऋषिले ध्यानदृष्टिले हेरि सवै जानी बुझि पूर्वजन्मको पापले गर्दा तपाँईका पिताले नरक भोग्नु परेको हो भनि वैखानसलाई बताइदिए ।

त्यसबाट मुक्तिका लागि सवै विधी पुरा गरी मंसिर शुक्ल एकादशी अर्थात मोक्षदा एकादशीको ब्रत गरेको खण्डमा नरक बासमा परेका पित्रीको उद्दार हुने कुरा पर्वतमूनिले बताइदिए । वैखानसले पनि पर्वत ऋषिले भने अनुसार मोक्षदा एकादशीको ब्रत बसि नरकमा फसेका आफ्ना बुबाको उद्दार गरे । त्यसैबेलादेखि यहि धार्मिक कथा अनुसार अहिले पनि भक्तालुहरु मोक्षदा एकादशीको ब्रत बस्ने गर्दछन् र पापमा फसेका पित्रीहरु उद्दार गर्ने गर्दछन् ।

आजका दिन व्रत लिनाले पितृ उद्धार हुने र मोक्षको मार्ग खुल्ने अवधारणा छ । दानव होस् या दैत्य, आजको दिन मोक्षका लागि उतिकै महत्वपूर्ण मानिन्छ ।

-सुयोग ढकाल/हाम्रोपात्रोबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट