शनिबार, कार्तिक ५, २०७९
पूर्वीपहाडी लोकगीत – माईको शिरैमा माङ्सेबुङ धाम

पूर्वीपहाडी लोकगीत – माईको शिरैमा माङ्सेबुङ धाम


  • स्वदेश नेपाल
  • शनिबार, कार्तिक ५, २०७९

ए पूर्वै इलाम ,माईको शिरैमा माङ्सेबुङ धाम
ए घुम्नु मेलैमा ,नछुट्नु मंसिरे माङको मेलामा ।

बिहिबारे बजार क्या राम्रो चिटिक्क परेको
देशकै लामो झोलुङ्गे हेर्नलाई झरेको
माथि है तिर माङ्सेबुङ तल है माई तिर
आउन नाचौं एकैछिन कति हो लिने पिर
माङको नि दर्शन गरौंला मन्दिरै घुमेर
फुलपाती माथी चढाउंला मालामा उनेर ।

डाँडैमा माथी सिलौटी गुरुको तपोवन
शान्तिले घुम्नु रनवन शितल पार्नु मन
भगवती तल बग्दछिन अमृत बोकेर
खुलेर सास फेरौंन नराखौं रोकेर
चल्दैन यहाँ माँसाहार चल्दैन मदिरा
किन पो खोज्नु वृन्दावन किन पो मथुरा
चप्लेटी ढुँगा अनौठा छिनोले काटेका
देखिन्छ्न् भित्ता उज्याला डोरी झैं बाटेका ।

किराँती यहाँ संस्कृती धर्म नै किराँत
च्याप्रुङ बज्छ खोंचैमा लाग्दैन उराँठ
सेवा छ राम्रो आतिथ्य बोली छ मधुर
खानपान राम्रो सुधारे के हुन्न हजुर
नियम रिति आफ्नै छ चलन आफ्नै छ
रैथाने भन्ने मौलिकता देखिन्छ आफ्नै छ
टोपी छ सेतो मखमल् लाममा देखिन्छ्न्
बिहानै जुट्छ्न् किराँती पूजामा विशेष दिन
सुन्दरी सेता फुलेका गुराँसे गालामा
बुकीफुल टिपी हिँड्दछ्न् अप्सरा चालामा
जुटेका यहाँ कमिला मौरीझैं कलामा
छोडेर सबै दु:ख पिर आउनु यो थलामा ।

– खड्ग प्रसाद दुलाल
विज्ञान शिक्षक , श्री कन्काई मा.वि. माई न.पा.२ ,इलाम

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट