शुक्रबार, कार्तिक ४, २०७९
तपाईं हामी जस्ता यस्ता पाखण्डी रहेसम्म नेपाली समाज सुध्रिदैन !

तपाईं हामी जस्ता यस्ता पाखण्डी रहेसम्म नेपाली समाज सुध्रिदैन !

चेपागाँडा हामी ! यो पुस्ता रहुन्जेल देश सुध्रिन्न !


  • स्वदेश नेपाल
  • शुक्रबार, कार्तिक ४, २०७९

डिल्लीराज आचार्य-अस्ति साँझ म जरङ्खु जाने बसमा चढेँ। यो ठाउँ काठमाडौँको वायव्य (पश्चिम-उत्तर कोण)मा पर्छ। नयाँ सडकबाट १० किलोमिटर र माछापोखरीबाट साढे ३ किलोमिटर जति दूरी पर्छ। नयाँ सडकबाट ७:४० बजेतिर बस गुड्यो। बसमा बाटो, नेता, प्रहरी, बालेन, डेंगी, अहिलेका उम्मेदवार सबैका बारेमा कुरा भयो।

त्यस क्षेत्रका वर्तमान उम्मेदवार अस्मिता सिंह (मानुषी यमी भट्टराई) र उनका मातापिता, उम्मेदवार रामवीर मानन्धर (वामदेव गौतमलाई सांसद बनाउन आफूले राजीनामा दिई सिट खाली गरिदिन्छु भन्ने सांसद र अष्टनारायण हलका मालिक) का विषयमा समेत कुरा भए। सबका सब जान्ने भयौँ। यात्री, चालक, सहचालकले विसंगति र भ्रष्टाचारका कुरा उठायौँ। देशमा अराजकता बढेको र कानून उल्लंघन भएको भनेर सबै चिन्तित देखिन्थ्यौँ।

१०-१५ मिनेट बस माछापोखरीमा रोकियो। यो सबै काठमाडौँ महानगर क्षेत्र हो। काठमाडौँ महानगर सकिएपछि ५०० मिटरमा शेषमती पुल भन्ने ठाउँ छ। त्यहाँ बस स्टप छ। यो तारकेश्वर नगरपालिकामा पर्छ।

शेषमती पुलमा बस रोकियो। एकजना प्रौढ (विकासेहरूले senior citizen को अनुवाद ज्येष्ठ नागरिक भन्ने शब्द बनाएका छन्।)ले आफ्नो कार्ड देखाउनुभयो। सहचालकले राति ८ आठ बजिसक्यो। यो कार्ड लागू हुन्न भन्ने जवाफ दिए। उनले राज्यले प्रौढलाई दिएको कार्ड पनि आठ बजेपछि चल्दैन भनेर हठ गरे। चालकले पनि छुट हुँदैन भनेर अड्डी कसे‌।

मैले यो हेरिरहन सकिनँ।

म : भाइ! सरकारले दिएको प्रौढ कार्ड ८ बजेपछि नचल्ने हुन्छ?

सहचालक : हुन्छ। राति ८ बजेपछि यो कार्ड चल्दैन।
म : किन चल्दैन? कसले भन्यो?

सहचालक: हाम्रो समितिले भनेको चल्दैन।
सहचालकले चालकलाई भने- दाइ! भाडाको लिष्ट दिनुस् त। यसलाई देखाइदिम्।
खोजखाज गरे। त्यहाँ भाडा मात्रै उल्लेख थियो। हुने नै त्यही हो।
सहचालक ढोका बन्द गरेर बसेको छ।

म कराएँ – भाइ! तिमीहरू मान या नमान। राज्यले प्रौढ भनेर दिएको कार्ड यतिखेर चल्ने र यतिखेर नचल्ने हुन्न भनेर प्रतिवाद गरें।
चालक र सहचालक ‘: अर्काको कार्डमा किन चासो?

म: बाजेको उमेरका मान्छेलाई यसरी दु:ख दिँदा किन नबोल्ने?
उनीहरू: अरूसँग फूल भाडा माग्दा बोल्ने, अर्काको कुरामा जान्ने ठहरिने।

बसका अरू मान्छे कोही बोल्दैनन्। अघिसम्म देशमा अराजकता बढेको र बलियाले कमजोरलाई दबाएको भन्नेहरू पनि यतिखेर सबै मौन थिए।
जति सम्झाउँदा पनि प्रौढलाई गरेको व्यवहार देखेर रिस उठिसकेको थियो। एक झोक त सहचालकलाई तानेर एक दुई चोटि धक्याइदिऊँ अनि चालक पनि डराउँछ भन्ने पनि लाग्यो। आखिर यस्तो ठाउँमा नियम कानून कहिले लागू हुने होइन। नियम कानून लाग्ने भए सिंहदरवारको १० किमी दूरीमा यिनीहरूले यत्रो आँट पनि गर्दैनथे।

फेरि हातै चलाएपछि कानूनले उनीहरूको दोष देख्दैन, मैलाई अपराधी देख्छ भनेर रिस निलेरै बसेँ।
एक-दुईजना मान्छे अरूको विषयमा नबोल्नु भनेर विस्तारै मसँग साउती गर्दै थिए।

धेरै दगलफसल भएपछि सहचालकले गाडीको ढोका पुनः खोले। म पनि झरें। वयोवृद्ध पनि झर्नुभयो। त्यही बसभित्र बैसाखीको सहारामा हिँड्ने अर्को एकजना पनि हुनुहुँदो रहेछ। उहाँ पनि झर्नुभयो।

तपाईं हामी जस्ता यस्ता पाखण्डी रहेसम्म समाज सुध्रिएला भन्ने मलाई लाग्दैन।

(कोही जान्नेबुझ्नेहरू होक्काँ गर्दै जुध्न नआउनु होला- यत्रो विवाद गर्नुभन्दा वृद्धको छुट हुने १० रुपैयाँ तैंले तिरिदिएको भए भइहाल्थ्यो। तैंले गर्दा विवाद भयो। अरूलाई ढिलो गराइदिस्।)

आचार्यको फेसबुकबाट 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट