मङ्लबार, अशोज ११, २०७९
स्वतन्त्र उम्मेदवार विजयी हुँदैमा यो देश रामराज्य हुन्छ भन्‍ने भ्रममा नपर्नुस् !

स्वतन्त्र उम्मेदवार विजयी हुँदैमा यो देश रामराज्य हुन्छ भन्‍ने भ्रममा नपर्नुस् !

'उही ड्याङको मुला' बनेर रविन्द्र मिश्रको अवस्थामा पुग्‍नुहुनेछ !


  • स्वदेश नेपाल
  • मङ्लबार, अशोज ११, २०७९

दिलीप प्रकाश कार्की

विभिन्‍न पेशा, व्यवसायमा आबद्ध र सोही पेसा व्यवसायमा दक्षता भएर आगामी निर्वाचनमा स्वतन्त्र चुनाव लड्‍ने तयारी गरेका प्रिय स्वतन्त्र उम्मेदवारका आकांक्षी महोदयहरु :

-तपाईं जुन पेशा व्यवसायमा हुनुहुन्छ, त्यहाँ सबै रामराज्य भइसक्यो र राजनीति सुधार गर्न आउनु भएको हो भने तपाईं भ्रममा हुनुहुन्छ।

– तपाईं स्वतन्त्र उम्मेदवार विजयी हुँदैमा यो देश रामराज्य हुन्छ भन्‍ने भ्रममा नपर्नुस्। हाम्रो बहुमतीय संसदीय प्रणालीमा तपाईंको स्वर सुनिनेवाला छैन। प्रेम सुवाललाई हेरे हुन्छ। तपाईं तपाईंकै ठाउँबाट बरु चर्को स्वरमा बोल्‍न र काम गर्न सक्षम हुनुहुन्छ।

– तपाईं तपाईंको ठाउँमा रहेर राजनीतिमा आउन लगाएको जत्तिकै जाँगर लगाउनुभयो भने त्यहाँ तपाईंले बरु परिणामुखी परिवर्तन गर्नसक्नुहुन्छ। तपाईंको पेसा व्यवसायबाट नै नागरिक बढी लाभान्वित हुनेछन्।

– तपाइँलाई त्यो पेसा व्यवसायमा खतरा गरिसके र अब राजनीतिमा पनि खतरै गर्छु भन्‍ने लागेको छ भने त्यो पनि भ्रम नै हो। हाम्रो लोकतान्त्रिक प्रणालीमा खतरा हुनसक्दैन। यहाँ दलीय व्यवस्था कायम छ र दलले नै सरकार बनाउने हो। स्वतन्त्र व्यक्तिले सरकार बनाउने हैसियत राख्दैन।

– तपाईं राजनीतिमा आउनुभयो भने तपाईं विस्तारै स्खलित हुनुहुनेछ, बनाइनेछ र तपाईंले भनेकोजस्तो काम गर्न सक्नुहुनेछैन। जसका कारण तपाईंप्रतिको जनताको विश्‍वास पनि घट्दै जानेछ। अनि ‘उही ड्याङको मुला’ बनेर रविन्द्र मिश्रको अवस्थामा पुग्‍नुहुनेछ। एक रात भए पनि मिठो निद्रा लाग्‍नेछ।

– तपाईंले चुनाव लड्नका लागि जोहो गरेको रकम बरु सामाजिक कार्यमा खर्च गर्नुस्, अनावश्यक कागज, घोषणापत्रको चाङ, ब्यानर, प्रचार, पेट्रोलमा खेर नफाल्‍नुस्। बरु दुई पेट भोक मेटाउनसक्नु भयो भने नै तपाईंको आत्माले सन्तुष्टि पाउनेछ।

– तपाईं तपाईंकै पेसा व्यवसायमा रहेर सरकारलाई खबरदारी गर्न, सुझाव दिन र रचनात्मक विरोध गर्नसक्नु हुनेछ। जुन तपाईंका लागि राजनीतिमा सम्भव देखिँदैन।

– अब म राजनीतिमा आएपछि रामराज्य हुन्छ, लक्ष्मी र सरस्वती देव्रे दाहिने हुन्छन् र जनतालाई कुवेर बनाउने भ्रमबाट मुक्त हुन सक्दैन भन्‍ने लागेको छ भने आगे आपका मर्जी।

नोट: यसको अर्थ स्वतन्त्र उम्मेदवार खत्तम हुन्, तपाईं नउठ्नुस् भनेको होइन, स्थानीय निर्वाचनमा केही हदसम्म त्यो सही हुनसके पनि संसदीय निर्वाचनमा त्यो सम्भव छैन। धन्यवाद।

-पत्रकार कार्कीको फेसबुकबाट

प्रतिक्रिया
सम्बन्धित समाचार