सोमवार, साउन १६, २०७९
नेपाल एकिकरण महायोद्धा राष्ट्रिय विभूति अमरसिंह थापाको २७१ औँ जन्मजयन्ती तथा २०६ औँ स्मृति दिवस सम्पन्न (भिडियो)

नेपाल एकिकरण महायोद्धा राष्ट्रिय विभूति अमरसिंह थापाको २७१ औँ जन्मजयन्ती तथा २०६ औँ स्मृति दिवस सम्पन्न (भिडियो)

राष्ट्रको लागि मरिमेट्ने योद्धालाई राष्ट्र नै अर्कोले खान खोज्दा अनि धनसम्पत्तिको लोभ देखाउने अंग्रेजलाई भने - 'म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ'


  • स्वदेश नेपाल
  • सोमवार, साउन १६, २०७९

नेपालको राजनैतिक इतिहासमा साउन महिनाको आफ्नै महत्व छ । अझ साउन १२ र साउन १६ गते एक बिशेष दिन हो अर्थात् नेपाल एकीकरण एक महान योद्धा राष्ट्रिय विभूति अमर सिंह थापाको जन्मजयन्ती र स्मृति दिवस हो ।

अमरसिंह थापा, पिता उमराव बाघ भीमसिंह थापा र माता उमादेवी थापाको माहिलो छोराका रूपमा विसं. १८०८ साल साउन १२ गते तनहुँ वतनचोकमा जन्म भई १८७३ साउन १६ गते मा जनै पूर्णिमाका दिन गोसाईंकुण्डको हिमालयतिर नै ब्रह्मलीन भएका थिए ।

सिरानचोक गाउँपालिका हिजो साउन १६ गते अमर सिंह थापाको २०७ औं स्मृति दिवसमा सार्वजनिक विदा दिएको थियो । राष्ट्रिय विभूति अमरसिंह थापाको २०७ औ स्मृति दिवसको अवसरमा सिरानचोक गाउँपालिकालेवडा नं ६ गाँखु स्थित अमरसिंह पार्कमा विविध कार्यक्रम गरी थापाको स्मृति दिवस मनाएको छ। ।

आफ्नो इच्छा विपरीत भएको राष्ट्रघाती सुगौली सन्धिको पीडाबाट मुक्ति पाउन उनी युद्ध मैदान (काँगडा) बाटै वि.सं. १८७३ जेठ २५ गते बुधबारदेखि साउन ६ गते पूर्णिमासम्म सरकारसँग विदा स्वीकृत गराई पत्नीसहित हिमवत क्षेत्र गोसाइँकुडतर्फ लागेका उनको मृत्यु वि.सं. १८७३ साउन शुक्ल पञ्चमी आदित्यवारको राति गोसाइँकुण्डमा निधन भएको थियो ।

(सन् १९७७ मा जारी गरिएको बडाकाजी अमरसिंह थापाको सम्मानमा जारी हुलाक टिकट )

इतिहास अनुसार चौबिसे राज्यको आक्रमणबाट गोर्खा राज्यलाई बचाउन सिरानचोक कोटको महत्वपुर्ण भुमीका रहेको सिरानचोक गाउँपालिकाका अध्यक्ष गुरुङले जानकारी दिए । ‘सिरानचोक कोट गोरखा राज्यलाई चौबिसे राज्यको आक्रमणबाट बचाउने कोटका रुपमा इतिहासमा पाईयो’ उनले भने ‘ चौबिसे राज्यले १८१२ र १८३८ सालमा गोरखा राज्यलाई आक्रमण गर्दा सिरानचोक कोटबाट नै परास्त गरेको पाईन्छ । यदि त्यसो नभएको भए गोरखा राज्यको सीमाना हेरफेर पनि हुन्थ्यो होला ।’

लमजुङ, तनहु, पर्वत, कास्कीका राजाहरु मिलेर चौबिसे राज्यले १८१२ मा सिरानचोक कोटमा आक्रमण गर्दा काठमाण्डौ बाट तुरुन्तै पृथ्वी नारायण शाहको आदेशमा उनका भाईको नेतृत्वमा आएको सेनाको समुहले चौबिसे राज्यसँग लडाई गरि उनिहरुलाई भगाएको इतिहास छ । सो सेनाको समुहमा कालु पाण्डेको नेतृत्वमा लडाई गरेर चौबिसेलाई सिरानचोकबाट परास्त गरेको गाउँपालिका अध्यक्ष गुरुङले बताए ।

यस्तै, १८३८ मा चौबिसे राज्यले आक्रमण गर्दा अमसरसिंह थापा नेतृत्वको सेनाले लमजुङका फौजलाई परास्त गरेको थियो । लमजुङ सेनाको नेतृत्व गरेका भक्ती थापालाई अमरसिंह थापाको समुहले सिरानचोकमा कब्जा लिएपछि उनि गोरखाको सेनामा भर्ति भएका थिए । इतिहास अनुसार अमरसिंह थापाको जन्म सिरानचोकमै भएको पाईएकाले यस बिषयमा पनि खोज तथा अनुसन्धान शुरु गरेको गाउँपालिका अध्यक्ष गुरुङले बताए ।

अमरसिंह थापा वीर इमान्दार भएकोले राजा रणबहादुर शाहको पालामा अङ्ग्रेजहरूसँगको युद्धमा सूदुर पश्चिमान्चनको रक्षाको जिम्मा पाएका थिए।

त्यस ताका अमरसिंह थापालाई अङ्ग्रेज तर्फका जनरल अक्टरलोनीले ठुलो प्रलोभन देखाउदा पनि अनि त्यस्तो लोभ लालचमा नफसी राष्ट्रिय हितलाई सर्वोपरी ठानी वीरता पुर्वक अङ्ग्रेजसँग लडेकाले हामी उनीलाई राष्ट्रिय विभूतिको रूपमा सम्मान गर्दछौं।

उनले गरेका प्रमुख योगदानहरू यस प्रकार छन्।

नेपालको एकीकरणमा योगदान पश्चिम नेपालका जुम्ला, डोटी, कुमाउँ, गढवाल, देहरादुन तथा कांगडालाई नेपालमा गाभ्ने काममा नेतृत्व गरे।

पाल्पालाई नेपालमा गाभे, महाकाली नदी भन्दा पश्चिमका राज्यहरूको संरक्षकको रूपमा सेवा प्रदान गरे।

पंजावका राजा रंजीत सिंह बिरूद्ध युद्ध छेडे। अंग्रेजले नेपाल बिरूद्ध युद्ध शुरू गरे पछि नाहान, चम्बा, अल्मोडा, कांगडा, देहरादुन आदि ठाउँमा युद्ध लडे।

उनको इच्छा विपरीत सुगौली सन्धि भएपछि उनी निर्वासमा गोसाइँकुण्ड गए। त्यहीँ यिनको निधन भयो।

अमरसिंह थापाबारे शचीन्द्रबहादुर थापाको आलेख

राष्ट्रिय अखण्डतालाई सर्वोपरि ठानी अक्षुष्ण राख्न र राष्ट्रको गौरवमय संस्कृतिको जगेर्ना गर्नु आम नागरिकको जिम्मेवारी हो । पुर्खाको अस्तित्व जोगाउँदै ऐतिहासिक, प्रतिभाशाली, राष्ट्रभक्त, राष्ट्रपे्रमी, वीर योद्धाजस्ता महान् व्यक्तिको सही र महत्वपूर्ण पहिचान राख्नुपर्छ । त्यही भएर हिजोको कामको आज महत्व हुने हो । भोलिका दिनमा अझ बढी खाँचो पर्ने हुँदा त्यसलाई अमर बनाइराख्न जरुरी छ । राष्ट्रका त्यस्ता विभूतिको अनुसरण र अनुकरण गर्नु आवश्यक छ । ती दुर्लभ तथा वैभवशाली व्यक्तिहरूलाई पाउन कठिन हुन्छ ।

आजका ज्ञानवीर, दानवीर तथा शुभचिन्तकले खोजी र जगेर्ना नगरे लोप हुँदै जाने निश्चित छ । ती व्यक्तित्वहरूले आफ्नो कर्म, बुद्धि, वीरताको योगदान राष्ट्रलाई छाडी गएका छन् । त्यसलाई हामीले सधैंका लागि, सबैका सामु नासोको रूपमा राष्ट्रियताको गौरव बनाउनुपर्छ । भावी पुस्ताका लागि जोगाइराख्नु हाम्रो कर्तव्य हो । इतिहास हेरेर आज काम गर्ने र भोलिको पुस्तालाई हस्तान्तरण गर्नुपर्ने सर्वमान्य सिद्धान्तलाई बिर्सनु हुँदैन । सामाजिक मान्यतासहित राष्ट्रलाई सही बाटोमा डोर्‍याउने अग्रपंक्तिमा लाग्नुपर्छ ।

आज विश्वमा त्यस्ता व्यक्ति प्रतिभाशाली व्यक्तिको उदाहरणका रूपमा लिइन्छन् र इतिहासको पानामा मात्र नभई सबैले दैनिक दिव्यदृष्टिमा पर्ने गरी प्रतिस्थापन गरिएका छन् । अमेरिकाका अब्राह्म लिंकन, भारतका महात्मा गान्धी र नेपालका पृथ्वीनारायण शाह आदि त्यस्ता महापुरुष हुन् ।

अग्रपंक्तिमा आएका र पछि आउने सम्भावना भएका राष्ट्रिय व्यक्तिलाई समयमै पहिचान र खोजी गरी संरक्षित गर्न सबैलाई सूचित गर्नुपर्छ । नेपालमा विकास र परिवर्तनका इतिहास छन् । समयसँगै परिवर्तन र विकास नभएको होइन । त्यसका लागि राष्ट्रनिर्माण, राष्ट्ररक्षा, राष्ट्रियता, अखण्डताको रक्षाका खातिर ज्यानको आहुति दिने व्यक्ति जहाँ जन्मिए पनि इतिहासको पानामा अमर र अजर छन्।

त्यस्ता वीर विरंगना शताब्दीयौंसम्म जीवित रहने काम हामीले गर्नुपर्छ । देशको लागि मरिमेट्ने मूर्धन्य व्यक्तिको इतिहास लेखन र उनीहरूको योगदान स्पष्ट देखिने गरी जोगाउन सकेनौं भने ती व्यक्तिहरूलाई आगामी पुस्ताले चिन्ने छैनन् । त्योसँगै हाम्रो अस्तित्वसमेत रहने छैन । त्यस्ता दुर्लभ व्यक्तित्वलाई अलंकारको रूपमा स्थायित्व दिई अमर बनाउनु आवश्यक छ ।

नेपालको सन्दर्भमा यो झन् महत्वपूर्ण छ । नेपाल राष्ट्र एकीकरण गर्न, जोगाउन, संरक्षण गर्न, विखण्डनबाट रोक्न, राजा, सरकार र जनता सबैले प्रयास गरेको कुरा इतिहास साक्षी छ । आधुनिक नेपालका निर्माणका सुरुवात शाहवंशबाट नै भएको थियो । पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म सीमा पुर्‍याउन नेपाली वीरवीरंगनाहरूको अथक प्रयास र योगदानले सम्भव भएको हो । योगदान गर्ने व्यक्ति विरलै पाइन्छन् । ती व्यक्तिहरूमध्ये उल्लेखनीय छन् बडाकाजी अमरसिंह थापा ।

अमरसिंह थापाले आपूmलाई इमानदार, कुशल, साहसी, निर्भीक योद्धा, वीर पुरुषको रूपमा नेपालको मात्र नभई विश्वसामु स्थापित गराएका छन् । उनलाई किताबी पानामा मात्र सीमित गर्दा इतिहासकार र इतिहासका अध्यताले मात्र जानकारी पाउनेछन् । उनले गरेका कामको प्रतिफल त सबै वर्ग र तप्काका जनताले देखेका र पाएका छन् । तर त्यो कुरा सबैका नजरमा हुने गरी इतिहासको इतिहास राख्नुपर्ने आवश्यकता छ । यी कुरा आज ओझेलमा पर्दै गएका छन् । राष्ट्रिय विभूति राष्ट्रको चासो र सरोकारसँग जोडिएको विषय भएकोले राष्ट्रले कुनै पनि हालतमा यस्ता विभूतिलाई बिर्सनु हुँदैन।

पढ्ने इतिहासभन्दा देखिने इतिहास आजको आवश्यकता भएको कुरा राष्ट्रिय विभूतिले नै बनाएका र बनाउन लगाएका किल्ला, गढी, मठ-मन्दिर, देवल, शतल आदिबाट स्पष्ट हुन्छ ।

उनको अवशानपछि त्यस्ता देखिने इतिहास बडाकाजी अमरसिंह थापाको राष्ट्रियता झल्कने गरी सालिक स्थापना गर्नु गराउन पनि आवश्यकता ठानिएको छ । अमरसिंह थापामात्र होइन देश र जनताको लागि मरिमेट्ने जो कोही पनि यस्ता मान्यताको श्रेणीमा पर्नुपर्दछ । अमरसिंह थापा, पिता उमराव बाघ भीमसिंह थापा र माता उमादेवी थापाको माहिलो छोराका रूपमा विसं. १८०८ साल साउन १२ गते तनहुँ वतनचोकमा जन्म भई १८७३ मा गोसाईंकुण्डको हिमालयतिर नै ब्रह्मलीन भए । त्यस्ता वीरयोद्धाको मरणका बारेमा राष्ट्रको चासो भने कमै देखिन्छ । उनका बाबुको नेपाल एकीकरणका समयमा पलाञ्चोकमा जेठी तरबार गर्दा वीरगति प्राप्त भएको थियो ।

बाबुको अवसानका समयमा अमरसिंह आठ वर्षका थिए । बाबुको मृत्यु र देश एकीकरणमा होमिएका राजा र वीर वीरंगनाहरूको प्रयासमा बाइसे र चौबीसे राज्यको एकीकरणबारे उनले आवश्यक जानकारी लिइसकेका थिए । आफ्नो बाबुको मृत्युपछि आठ वर्षको उमेरदेखि नै सैनिक तालिम प्राप्त गर्ने, जन्मजात देश र जनताको लागि मरिमेट्ने सिपाही अमरसिंह थापा हुन् । तिनलाई हामीले राष्ट्रिय विभूतिको रूपमा पाएका छौं र जो आजसम्म अमर छन् । अमरसिंहको नाम र काम नै अमर भएकोले उनी युगौं अमर नै रहिरहनुपर्छ । अमरसिंह थापा इतिहास बनाउन मात्र लागेनन् ।

इतिहास आफैं बन्दैन, राष्ट्रिय विभूति कसैले त्यसै बनाउँदैन, वीरता, इमानदारिता, देश र जनताप्रतिको विश्वासिलो, देशवासी सन्तति, समाजको गौरवान्वित हुने काम गरेको देशका भावी सरकारलाई विश्वास र भरोसा लागेर इतिहासको जगेर्ना गर्नु नै राष्ट्रिय विभूतिको नाम दिनु हो ।
हामीले गर्ने भनेको आउँदा शताब्दीयौंसम्म सबैका नजर र सम्झनामा रहने गरी नाम र कृतिको जानकारी गराउनु हो । एकीकरणको समयमा अमरसिंह थापाजस्ता अन्य योद्धाहरू पनि थिए ।

सबैले आ-आफ्नो क्षेत्रबाट लडे पनि । अमरसिंह थापाले १७ वर्षको कलिलो उमेरमा नै कान्तिपुर विजय गरेपछि सरदार पद पाए । उनले अझ बढी जिम्मेवारीपूर्वक कार्य गरे । त्यो जिम्मेवारी पूरा गर्न ४८ वर्षसम्म राष्ट्रको सेवा गरे । आफ्नो ६५ वर्षगाँठसम्म उनले सारा तन, मन देश र जनताप्रति लगाए । उनको अधिकांश जीवन सैनिक सेवामा बित्यो । उनले देश बाहिरका फौजीसँग लड्नु परेको थियो ।

‘बाघको छोरो बाघ नै हुन्छ’ भने झैं वीरका छोरा वीर र योद्धा नै हुन्छन् भन्ने कुरा अमरसिंहका छोराहरूको देश र जनताप्रतिको कामबाट नै स्पष्ट भएको छ । अमरसिंह थापाका १० भाइ छोरामध्ये काजी रणध्वजले देश रक्षा र धार्मिक धरोहरका कार्य उत्कृष्ट तरिकाबाट गरेको इतिहासले बताउँछ । इतिहास पुराना कुराको हुन्छ, तर वर्तमानको लागि उदाहरण जहिले पनि ताजा नै हुन्छ । इतिहासकारले इतिहासकारसँग, कविले कविसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । योद्धाको रूपमा चिनिएका अमरसिंह थापा नेपालको एकीकरण लगत्तै अंगे्रजको युद्धमा आफ्नो प्रतिभा देखाउन लाग्नु पर्‍यो । त्यसो नगरेको भए एकीकरण गरेको नेपाल महत्वहीन हुन सक्थ्यो ।

पहिले एकीकरण नगरेको भए र अमरसिंह थापाले त्यो प्रतिभाशाली योगदान अंगे्रजसँग देखाउन पाउने आशा पनि कम हुन्थ्यो । आधुनिक नेपालको परिकल्पना नै हुने थिएन । आज नयाँ नेपाल भन्ने त कुरै आउने थिएन । आए पनि अर्कै ढंगमा हुन्थ्यो होला ।

त्यसैले राष्ट्रको लागि मरिमेट्ने योद्धालाई राष्ट्र नै अर्कोले लिन र खान खोज्दा सिंहको जस्तो आक्रमक शैलीमा अंगे्रजसँग लडाइँ गर्न तम्सिए ।

रगत तातेको समयमा अंगे्रजले धन, दौलत, मानसम्मानको लोभ देखाएर समर्पण गर्न आउ भनेको पछि कर्मवीर योद्धालाई असह्य भयो । उनले भने, ‘म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ ।’

नेपाली सेनापतिका रूपमा उनले देखाएको वीरताको कारण नै विभिन्न नाटककारले, कथाकारले कथा आदि मञ्चन गराएर इतिहासलाई अझ दरो बनाएका छन् । योद्धाको संगत योद्धासँग नै हुने हुँदा अमरसिंहको पालामा जति टक्कर र ठक्कर खाए पनि वीर योद्धा भक्ति थापापछि पारिवारिक र व्यावहारिक रूपमा नातामा सम्धि हुन पुगेका थिए । भक्ति थापा ७४ वर्षको उमेरमा अमर सहिदका रूपमा इतिहासको पानामा अटाए । वीर बडाकाजी अमरसिंह थापाले देशको लागि विभिन्न जिल्लाका किल्ला, गढ, भन्ज्याङ आदि स्थानमा नै शत्रुलाई रोक्ने काम गरे । यसरी दुस्मनलाई थर्काइ, फर्काइ दिएकाले नै अमरसिंहको वास्तविकता उजागर हुन गएको छ ।

देश जोगाउन र बनाउन, विदेशी शत्रु भगाउने र देश बचाउने योद्धा वीर बडाकाजी अमरसिं थापा नेपालमा सधैं अमर ररिहनेछन् । यसका लागि सबैले सधैं लाग्नै पर्छ । ज्यानको बाजी लगाई देशका लागि लडेका अमरसिंह थापाले भनेका थिए ‘सिंहका बच्चाहरू आपसमा घारघुर गर्दछन् तर कसैसँग परी आउँदा दब्दैनन् ।’ यही नै क्षत्री वीर योद्धाको धर्म र परम्परा पनि हो । देश रक्षाको लागि वीरको जति योगदान छ त्यो भगवान् देवीले दिएको सकारात्मक आशिष हो भनी उनले आपूm जुन स्थानमा पुगे त्यहाँ मठमन्दिर बनाए । देवदेवीको मूर्ति स्थापना गरी प्रतिष्ठा र व्यवस्था गरेकाले उनी धार्मिक आस्थाका धरोहर पनि थिए भन्न सकिन्छ ।

देशका विभिन्न जिल्ला र किल्ला, गढीमा राखिएका देवताका साथै काठमाडोंैका विभिन्न स्थानमा बनाएर राखिएका मन्दिरको ठूलो महत्व छ । उनले मन्दिर, मठ, पाटी, पौवा, किल्ला, गढी आदि बनाई इतिहास तयार गरेको पाएका छौं । देश जोगाएर, बनाएर वीरताको काम गरेकोले नै तत्कालीन नेपाल सरकारले राष्ट्रिय विभूतिजस्तो सम्मानित पदमा उनलाई राखेको हो ।

उनको नाम र काम अमर रहनेछ र राख्नु पनि पर्दछ । उनको सालिक बनाई राख्न सबैले महत्व दिनुपर्छ । इतिहासका ठूला किताब भए पनि त्योभन्दा ठूलो पहिचान र अमर बनाउने देखिने सालिक नै हो । राष्ट्रिय विभूति अमर रहिरहने छन् हाम्रा राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापा ।

प्रतिक्रिया
सम्बन्धित समाचार