क्षमा र “दहि चिउराको” पक्षमा
केही हप्ता अघि मैले लेखेको ‘बेबी सावर’ र दही चिउराको बारेमा मलाई धेरै पृष्ठपोषण भयो । फेसबुक र पत्रिकामा धेरैले आफ्नो विचारहरू शेयर गरें, यस्तो रमाइलो पनि लाग्यो । तर लेख लेख्दा केही शब्दहरूको चयनको म बाट गल्ती पनि महसुस भयो ।
‘भुँडी देखाएर’ बेबी सावर गरेको भन्ने शब्दमा हाम्रा केही नजिकका साथी, छिमेकी र बन्धुहरूको पनि ‘कडा’ प्रतिक्रिया आयो, कस्तो भुँडी शब्दको प्रयोग गरेको भनेर । मैले पनि पछि अनुभव गरँें कि शायद गाउँ घरमा सहजै प्रयोग गरिने शब्द चाहिँ यसरी धेरै विद्धान र बिदुषीहरूले पढ्ने लेखमा राख्नु उचित थिएन कि । त्यसको लागि म क्षमा याचना नै गर्छु ।
यसरी फेसबुकमा आएका प्रतिक्रियाहरू हेर्दा अंग्रेजी भाषामा लेखिएका पृष्ठपोषणमा प्राय मलाई ‘बेबी सावर बिरोधी, ‘नयाँ तरिकाले मातृत्वको आनन्द मनाउने विरोधी’ ‘पाखे महिला’ पनि भनिएको छ ।
लेखमा केही त्रुटीहरू पनि भएको कुरा पनि लेखिएका छन् । ‘बेबी सावर’ भनेको “लिंग पहिचान गरेपछि रमाइलो गर्ने र उत्सव मनाउने’ होइन कि गर्भवती महिलाले ८–९ महिना भएपछि उनलाई उपहार दिने, रमाइलो गर्ने चलन रहेछ । यसमा चुक भएकै हो, किनभने हाम्रा विदेशी साथीहरूले बिदेशमा जाँदा ‘हामीले हाम्रो भु्रण छोरी रहिछन् भन्ने थाहा पायौ’ र बेबी सावर गर्ने विचारमा छौं, ‘तिमी पनि आउ है’ भनेर भनेका थिए । दुइ तिनवटा ठाउँबाट त्यसरी निमन्त्रणा भएको हुनाले अनुभव भयो कि शायद ‘लिंग पहिचान’ गरेपछि ‘बेबी’ सावर गरिदो रहेछ । । मैले पहिले ‘बेबी सावर’ भनेको के हो, यसको बारेमा केही अध्ययन गर्नु पथ्र्यो । शायद केही विदेशी साथीहरूलाई सोध्नुपथ्र्यो । “लिंग पहिचान भएपछि गरिने रमाइलो र बेबी सावर एकै हो कि होइन” भनेर । त्यो चुकको लागि पनि म ‘क्षमा’ चाहन्छु ।
यो लेख लेख्दा मेरो ध्येय के थियो भने शहरका मध्यम वर्गिय महिला, विभिन्न नायिका, रोलमोडेलहरूले नेपाली संस्कृतीमा भएका समारात्मक पक्षहरू नलिएर गर्भावस्थामा विदेशी ‘बेबी शावर’ को नक्कल गर्दा, गाउँमा महिलाहरू, पनि त्यसैगरी “बेबी शावर’ गर्न खोज्दा यसले समस्या ल्याउन सक्छ ।
यसले हाम्रा घरका बालबालिकाले आफ्ना जात र धर्म अनुसारको परम्परागत चलन नै बिर्सने हो कि भन्ने पनि लागेको हो । यसबाट जागरुक गराउँन यो लेख लेखियो ।
नेपालका विभिन्न जात, धर्म अनुसार गर्भवतीलाई उल्लासको रुपमा मनाउने केही चलनहरू पनि छ । तिनलाई बिर्सेर “गर्भावस्थामा “बेबी सावर’ गरे भने भोलि हाम्रा राम्रा चलन नै हराउने हो कि भन्ने डरले यो लेखेको हो ।
‘बेबी सावर’ को नक्कल गर्नेले यस्ता सामाजिक कुरामा पनि ध्यान दिए कति राम्रो हुँदो हो भनेर मैले भन्छु, दही चिउरा दिउँ गर्भवतीलाई, ‘केक र बेबी सावर’ होइन । -डाक्टर अरुणा उप्रेतीको फेसबुकबाट
अक्कल बिनाको नक्कल ‘बेबी सावर’ – बेबी सावर’ चलनले गर्भवती महिलालाई फाइदा गर्दैन
डा. अरुणा उप्रेती र नम्रता शर्मा -एकचोटि हामीलाई पश्चिमको एउटा गाउँमा एक परिवारले ‘विशेष कार्यक्रम छ, आउनुपर्छ’ भनेर आग्रह गर्यो । उक्त परिवारलाई हामीले चिनेको दस वर्ष भएको थियो । कठोर मिहिनेत गरेर गरिबीबाट उक्सिन दस जनाको त्यो परिवारमा सबैले योगदान गरेका थिए ।
हामी खुसीसाथ त्यहाँ पुग्यौं । ढोकैमा लेखिएको रहेछ— “बेबी सावर” । के रहेछ यो भनेर गम्दै भित्र पसेपछि हामी छक्क पर्यौं ।
घरकी जेठी बुहारी पाँच महिनाकी गर्भवती रहिछन् । उनका वरिपरि जम्मा भएका मानिसहरू गर्भवतीको पेट देखाउँदै, हाँस्दै, रमाउँदै फोटा खिचाउँदै रहेछन् । सत्तरी वर्ष नाघेका सासू–ससुरा पनि संकोच मान्दै बुहारीको उत्साह हेर्दै त्यस माहोलमा रमाउन खोज्दै रहेछन् ।
बेबी सावर’ विदेशमा प्रायः गर्भस्थ बच्चाको लिंग के छ भन्ने थाहा पाएपछि गरिन्छ । केवल महिलाहरू जम्मा हुन्छन्, गर्भवतीलाई उपहार दिन्छन्, भ्रूण छोरा वा छोरी जे हो त्योअनुसारको नीलो वा गुलाबी लुगा आदि दिने र रमाइलो गर्ने गर्छन् । त्यसैले नेपालमा ‘बेबी सावर’ मनाउनुको तुक छैन । किनभने नेपालमा भ्रूणको लिंग पहिचान गर्नु कानुनी अपराध हो ।
नेपाली समाजले भ्रूण पहिचान गरेर, अपराध गरेर, रमाइलो गर्न थालेको हो कि भन्ने प्रश्न मनमा आउँछ । हामी विदेशका राम्रा बानी, अनुशासन, सरसफाइ, समयको वास्ता गर्ने र किताब पढ्ने बानी, आफ्ना सांस्कृतिक महत्त्वका वस्तुहरूको वास्ता गर्ने, स्वस्थ खाना खाने आदिको चाहिँ वास्ता गर्दैनौं । हाम्रो संस्कृति र कानुनसँग नमिल्ने ‘बेबी सावर’ चाहिँ धुमधामसँग मनाउने प्रयत्न गर्छौं । केक काट्छौं । जबकि केकले गर्भवती महिलालाई बेफाइदा गर्न सक्छ, शरीरमा चिनीको मात्रा बढाउँछ, भ्रूणलाई खराबी गर्न सक्छ । ‘कामकुरा एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेको सायद यही होला ।
हाम्रो संस्कृतिमा हरेक समुदायका महिलाहरू गर्भवती भएपछि सुरक्षा दिन, उनको स्वास्थ्यको ख्याल राख्न अनेक चलन छन् । गर्भवतीलाई ‘दही–चिउरा’ खुवाउनु त्यस्तै एउटा चलन हो । ‘दही–चिउरा’ खान दिने भनेर अनेकथरीका स्वास्थ्यकर भोजन पनि दिइन्छ । घरमा खाना भाग लगाउँदा ‘दोजिया’ अर्थात् ‘दुई जीउकी’ का लागि भनेर भोजनको केही बढी भाग दिइन्छ । नेवार समुदायमा पनि गर्भवतीका लागि विशेष खाना बनाइन्छ । तर, ‘भुँडी देखाएर’ फोटो खिच्ने–खिचाउने चलन छैन ।
‘बेबी सावर’ जस्तो चलनले गर्भवती महिलालाई फाइदा गर्दैन । गर्भको व्यापारीकरण भयो । नेपालका सिने नायिकाहरूले गर्भावस्थाको फोटो खिचाएर राखेपछि सहरका नेपाली गर्भवती महिलाहरूलाई पनि भुँडी देखाएर फोटो खिचेर राख्ने इच्छा बढ्न सक्छ, बढिरहेको छ ।
‘बेबी सावर’ का नाममा अनेक महिला–पुरुष जम्मा भई ‘भुँडीको फोटो’ खिचेर सामाजिक सञ्जालहरूमा राखेको देखिन्छ । तर वास्तवमा ‘वेबी सावर’ को अर्थै नबुझी, यस्तो ठाउँमा को–को जम्मा हुन्छन् भन्ने नबुझी, त्यसको प्रतीकात्मक अर्थ नबुझी नक्कल गर्दा, अनेक फोटा राख्दा विदेशीहरू कति हाँस्दा होलान् !
धेरैजसो नेपाली महिलालाई गर्भावस्थामा योगासन गर्नुपर्छ भन्नेबारे थाहा छैन, स्वास्थ्यकर खानेकुरा खानुपर्ने कुरा वास्ता गरिन्न, गाउँघरका महिलाहरूलाई कामको बोझले गर्भावस्थामा गाह्रो भएको वास्ता गरिन्न, तर ‘नक्कल गरेर बेबी सावर’ गर्नचाहिँ हामी खप्पिस हुँदै गएका छौं ।
डाक्टर अरुणा उप्रेतीको फेसबुकबाट