शुक्रबार, बैशाख १६, २०७९
नेपालका कुनै दलप्रति विश्वास छैन किनकि उनीहरूको सबै परीक्षण असफल भइसकेको छ !

नेपालका कुनै दलप्रति विश्वास छैन किनकि उनीहरूको सबै परीक्षण असफल भइसकेको छ !

पहिले नारायणहिटीको हुकुमबाट देश चल्थ्यो, अहिले सानेपा, पेरिसडाँडा, च्यासलका दरबारबाट चलिरहेको छ ।


  • स्वदेश नेपाल
  • शुक्रबार, बैशाख १६, २०७९

-लेनिन बन्जाडे 

मान्छे नहेरी पार्टीलाई भोट दिँदा काठमान्डू सहर कति वर्ष पछाडि धकेलियो, हामीले ५ वर्ष भोग्नु भोग्यौं । मुलुक हाँक्ने राजधानी ५ वर्षसम्म फोहोर, धुलो, धुवाँ र बेतितिको कुइरीमण्डलभित्र हरायो । विद्यासुन्दर शाक्यलाई मेयरको टिकट दिएर एमालेले काठमाडौंवासीलाई ठूलो पाप गरेको थियो । र, मलाई विश्वास छ— दलहरूले यस्ता पापहरू अझै गर्दै जानेछन् । किनकि कुकुरको पुच्छर सोझो त हुन्नथ्यो नै, हाम्रो दुर्भाग्य के भने— ढुंग्रो नै बांगिसक्यो ।

उनीहरूले मजस्ता गैरदलीय मान्छेमात्रै होइन, दलहरूका कार्यकर्ता, झोले र लठैतसम्म— सबैप्रति पाप गरेका छन् । जनमत छ भन्दैमा अक्षम, भ्रष्ट र कलंकितहरूलाई टिकट दिएर उनीहरूले वर्षौंदेखि हामीमाथि पाप गरिरहेकै छन् । बहुदलमा विश्वास गर्ने म अहिले नेपालका कुनै दलप्रति विश्वास गर्न सक्दिनँ । किनकि उनीहरू सबै परीक्षणपछि असफल भइसकेका छन् ।

म १७ वर्षदेखि काठमान्डूमा बस्छु । यहाँका मतदाताको काठमान्डू जति आफ्नो हो, मेरो पनि त्यत्ति नै हो । मेरो यहाँ घरजग्गा मात्रै छैन, मेरो पसिना र रगतले काठमान्डूको माटो भिजेको छ । आधा जीवन यही काठमान्डूको माटोमा बिताएको छु । काठमान्डूवासीले हाल्ने हरेक भोटले मलाई पनि उत्ति नै छुन्छ ।

विद्यासुन्दरले काठमान्डूका हरेक चोकमा हप्तौंसम्म थुपारेका फोहोरको डंगुरले यहाँका मतदाताको नाक र फोक्सो जति पोल्यो, मत हाल्न नपाउने मेरो नाक र फोक्सो पनि त्यत्ति नै पोल्यो । एमालेले विद्यासुन्दरलाई टिकट दिएर गरेको पाप मोचन त भएन नै, यौन दुराचारको बात लागेका केशव स्थापितलाई टिकट दिएर फेरि अर्को पाप गरेको छ । २५ वर्षपछि उनै व्यक्तिलाई दोहोर्‍याउन मरिहत्ते गर्ने एमालेले अब कुन मुखले नेतृत्व परिवर्तन र समृद्धिको कुरा गर्ने होला ?

कांग्रेसको टिकटबाट मेयरमा उठ्न लागेकी सिर्जना सिंहलाई मैले चिन्ने भनेको गणेशमानकी बुहारी, प्रकाशमानकी श्रीमतीको रूपमा हो । व्यक्तिगत रूपमा उनी सक्षम होलिन्/नहोलिन्, म भन्न सक्दिनँ । तर, उनीजस्ता उम्मेदवार पाएर मलाई सिन्कोबराबर पनि खुसी छैन । अझै राजा बोकेर हिँड्ने राष्ट्रिय प्रजातन्त्र (विवेकशील) पार्टीको कुरा गरेर समय खेर फाल्न मन छैन । आफ्नी छोरीको लागि सम्पूर्ण मुद्दा चपाएर थुक्ने प्रचण्डको माओवादी त राजतन्त्रजस्तै लोपोन्मुख भइसक्यो ।

स्थानीय निकायहरू दलविहीन हुनुपर्छ । यी राजनीति गर्ने निकाय होइनन्, काम गर्ने ठाउँ हुन् । आफ्नो गाउँ, सहर आफैं बनाउने निकाय हुन् । भक्तपुरजस्ता ८-१० वटा निकायबाहेक राजनीतिक दलको झन्डामा चुनाव जित्ने करिब सबै पालिकाहरूको हविगत हामीसामु छर्लंग छ ।

पार्टी, कार्यकर्ता र आसेपासे खुसी पार्न सम्पूर्ण कार्यकाल सिध्याइदिने महामानवहरू हाम्रै वरपर छन् । तर, पनि हामी चेत्दैनौं । अझै पनि हामीलाई तिनै एमाले, कांग्रेस, माओवादीहरू चाहिएका छन् । ठूला भनिने दलका शीर्ष नेताका घर आज बिहानसम्मै वडाध्यक्षसम्मको भीडले भरिभराउ थिए । नेताको निगाह कहिले आफूमाथि पर्ला र उम्मेदवार बन्न पाइएला भनेर उनीहरू कयौं दिनदेखि ढोका कुरेर बसे । जनताका काम गर्न रातदिन यसरी खट्ने मान्छे हामीमध्ये कतिले देखे/भेटेका छौं ?

हामीले गाउँका वडा र टोलसम्म पुर्‍याएको लोकतन्त्रको ताजा तस्बिर यही हो, जसले हामीलाई उही पञ्चायतकालीन युगतिर पुर्‍याएको छ । त्यतिबेला नारायणहिटी दरबारको हुकुमबाट देश चल्थ्यो, अहिले सानेपा, पेरिसडाँडा, च्यासलका दरबारबाट चलिरहेको छ ।

दलहरूको यही कुरूप राजनीतिलाई अटेर गर्दै देशभर स्वतन्त्र उम्मेदवारले मलाई आशा जगाएका छन् । स्थानीय निकाय निर्दलीय हुनुपर्छ भन्दै उनीहरूले उठाएका मुद्दाले मलाई तानेका छन् । गाउँ, टोल, समाज र देशलाई बिर्सिएर आफू, आसेपासे र पैसावाललाई पोस्ने दलहरूको चरित्रलाई चुनौती दिन पनि उनीहरूले जित्नुपर्छ । भोट दिँदा पार्टी हेर्ने, अनि ५ वर्षसम्म दुःख पाउँदै ‘देश बनेन’ भनेर गनगन गर्नेहरू अब सुध्रिनुपर्छ ।

हुन त नेपाल मःमः र चाउमिन बढी खपत हुने ठाउँ हो । चुनावमा पनि मःमः र चाउमिन रोज्ने कि नयाँ अर्ग्यानिक रोज्ने— मतदाताले तय गरून् । तर, भोट हाल्दा एकपटक आफ्नो गाउँ, टोल र सहरको अनुहार सम्झिनुहोला ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट