मङ्लबार, बैशाख १३, २०७९
तपाइको भोट नै तपाईको काल हुनसक्छ, आवेगमा निर्णय नगरौं आवेशमा गल्ती नगरौं !

तपाइको भोट नै तपाईको काल हुनसक्छ, आवेगमा निर्णय नगरौं आवेशमा गल्ती नगरौं !


  • स्वदेश नेपाल
  • मङ्लबार, बैशाख १३, २०७९

-उत्तम पुडासैनी

निर्वाचनको टिकट बितरणमा मनोमानी भएको भन्दै बिभिन्न नगर तथा गाउँमा आक्रोश सिर्जना भएको छ । जिम्मेवारीबाट राजिनामा दिन, पार्टी परित्याग गर्ने र स्वतन्त्र उम्मेदवारीका घोषणाहरु भैरहेका छन ।

नेतृत्वतहको अपरिपक्वता र पार्टीमा मौलाएको चरम गुटबन्दीको परिणती हो यो । निर्वाचनको संघारमा आएर पार्टी कृयाकलाप बिरुद्ध भैरहेका असन्तुष्टि र नाराबाजीको असर संघारमै आईपुगेको निर्वाचनमा कस्तो हुन्छ भन्ने सामान्य बिवेक हुनु पर्दैन ?

को पाण्डव को कौरव, कसमा गरौं गौरव ? भनेजस्तै को ठिक र को बेठिकको चर्चा यसबखत नगरौं । यद्यपी बिभिन्न राजनीतिक पार्टीमा मौलाएको निषेधको राजनीति र यस्का मतियारहरुमा मौलाएको दम्भ राजनीतिक कुसंस्कारको चरमउत्कर्ष तर्फ अघि बढ्दैगर्दा कुनैपनि पार्टीभित्र असन्तुष्टि बढ्नु अस्वभाविक होईन ।

आर्थिक चलखेल, मानवीय अवमूल्यन, निषेधको संस्कृती, इतिहास बोकेका कार्यकर्ताप्रतिको अन्याय जस्ता कुराहरुले पार्टीभित्र बितृष्णा पैदाहुनु अस्वभाविक होईन । तर के एकै झड्का पार्टी परित्यागका लागि पर्याप्त हो त ?

इतिहास बोकेका, ईमान्दार र जनाधार भएका ब्यक्तिहरु लोभी पापीको दम्भका अगाडि घुँडा टेक्ने की डटेर अघि बढने ? पार्टी परित्यागको घोषणामात्रले पनि आफूले पार्टीप्रति गरेको लगानी अनि मेहेनत क्षणभरमै माटोमा मिल्छ भन्ने सामान्य हेक्का राख्नु पर्दैन ? पार्टी कसैको बपौती हो र ? स्वतन्त्र उम्मेदवारीको घोषणा आधिकारिक उम्मेदवारीलाई हराउने भन्दा माथी उठ्न सक्ला त ? यस्ता कृत्यले जो कोहीको पार्टीप्रतिको लगानी, त्याग अनि बलिदानी र इतिहासलाई समाप्त पार्नुभन्दा ज्यादा केही हुनै सक्दैन ।

बुझ्नुपर्ने सत्यता के हो भने असारमा धान नरोप्नेले मंशिरमा बाली भित्र्याउने अधिकार राख्ला त ? हिजो कस्तो ब्यक्तिलाई नेतृत्व दियौं ? आज उनीहरुबाट कस्तो अपेक्षा राख्नुहुन्छ ? अह्म प्रश्न यही हो । ओखर रोपेर आँपको आशा राख्न सकिन्न ।

देशैभरी पार्टी परित्याग र आधिकारिक उम्मेदवारीका बिरुद्धमा स्वतन्त्र उम्मेदवारीको घोषणा चाहिं पार्टी हित बिरुद्ध होईन र ? उस्ले गल्ति गर्यो भने मैले सच्याउने की उस्को भन्दापनि ठुलो गल्ति गर्ने ? सोच्नु बान्छनिय हुनेछ । आवेगमा निर्णय नगरौं आवेशमा गल्ती नगरौं । यस्को हानी केवल तपाईंलाई हुनेछ । मात्र तपाईंलाई ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट